scheduleबुधवार आषाढ़ २ गते, २०७८

चिनियाँ फ्यानसँग जोन सेनाले माफी मागे, यस्तो छ कारण

एजेन्सी, ११ जेष्ठ । अमेरिकी अभिनेता एवं व्यवसायिक कुस्तिबाज (professional wrestler) जोन सेनाले आफ्ना चिनियाँ फ्यानसँग माफी मागेका छन् ।

यही महिनाको सुरुतिर फ्र्यान्चाइज एक्शन मुभी ‘फास्ट एण्ड फ्युरिएस-९’ को प्रबर्द्धन गर्न ताइवान गएका बेला फ्यानसँगको एक अन्तर्वार्ताका क्रममा ताइवानलाई ‘देश’ भनेर सम्बोधन गरेका थिए । तर ताइवानलाई देश भनेर उनले गरेको सम्बोधनबाट चिनियाँ फ्यान भने निकै रुष्ट हुन पुगेका छन् ।

विश्वकै ठूलो चलचित्र बजारका फ्यानहरु रुष्ट बनेपछि सेनाले आफ्नो उक्त सम्बोधनलाई लिएर माफी मागेका छन् । उनले मंगलबार चिनियाँ भाषामा नै माफी मागेका छन् । चिनियाँ सामाजिक सञ्जाल वेइबोमा तीव्र आक्रोश पोखिन थालेपछि उनले माफी मागेका हुन् ।

‘मैले फास्ट एण्ड फ्युरिएस-९ का लागि कैयौं अन्तर्वार्ता दिएको थिएँ र एउटा अन्तर्वार्तामा गल्ती बोले’, भिडियोमार्फत् विवादित बनेको शब्द उल्लेख नगरी उनले भने, ‘म एउटा महत्वपूर्ण कुरा भन्न चाहन्छु- मैले चीन र चिनियाँहरुलाई सम्मान गर्छु । म मनैदेखि माफी माग्न चाहन्छु ।’

जोन सेनाले माफी मागेको भिडियो वेइबोमा हालसम्म २४ लाखभन्दा बढी हेरिएको छ । तर सेनाले माफी माग्दै पोष्ट गरेको भिडियोले समेत चिनियाँलाई पूर्ण रुपमा खुशी बनाउन सकेको छैन ।

‘महोदय, चिनियाँ भाषामा नै ताइवान चीनको अंग हो भन्नुहोस्, नत्र हामीले यसलाई स्वीकार्दैनौं’, सेनालाई ताइवान चीनको अभिन्न अंग भएको कुरा थाहा नभएको भन्दै एक वेइबो प्रयोगकर्ताले लेखेका छन् ।

सेना अभिनित ‘फास्ट एण्ड फ्युरिएस-९’ मे २१ तारिखमा चीनमा रिलिज भइसकेको छ । रिलिज भएयता हालसम्म उक्त फिल्मले चीन, रुस र दक्षिण कोरियासहितका बजारबाट १८० मिलियन डलर कमाइ गरिसकेको अनुमान गरिएको छ ।

चीन अन्य वस्तु एवं सेवा झैं चलचित्र लगायतका मनोरञ्जन क्षेत्रको प्रमुख बजार हो । तर चीनले यसलाई आफ्ना आलोचकविरुद्ध औजारको रुपमा प्रयोग गर्दै आएको कतिपयको बुझाइ छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय