scheduleबुधवार आषाढ़ २ गते, २०७८

कविता: कोरोना र सरकार

अनिशा खनाल
अनिशा खनाल

आयो लौ बाजा बजाइ, ठुलै संखनाद गर्‍यो उसले
निकम्मा छ सरकार भनी, खबर पुर्‍यायो कसले
गफ के चल्दथे तिम्रा म सामू, मौन छ विज्ञान समेत हारी,
महिनौं पहिले थाहा पाई समेत बस्यौ किन नगरी पुर्व तयारी

जन्जिरले बाँधिएका तिम्रा हात मस्तिष्‍क सबै खाली,
रमे सबै कमिशनमा यहाँ, खरिदमा आफ्नै हालीमुहाली
घुम्छौ अरबका हवाइजहाजमा, करोडौंका गाडी चढेर,
भेन्टिलेटर औषधि किट टार्छौ, सधैं अरु सामू मागेर

मै हूँ भन्‍ने समेत सब झुके, भए निरिह साबित
सबै भ्रष्‍ट दलाल मात्र यहाँ, देखिएनन् कोही सपुत
यसैले होला बिग्रेको देश, तब लाग्यो झन् अधोगति
सत्तरी काटी एकहत्तरै लाग्यौ नेता, कहिले सुधार्छौ मति

आयो पस्यो सहर बजार गाउँ, सबै समाज टोलमा
रहेनन् बाँकी कोही पनि यहाँ, फैलियो सारा संसारमा
बाढी पहिरो भोकमरी कोरोनाले, कति ज्यान गए यहाँ
कहिलेसम्म भोकभोकै बस्‍ने जनता, भयो साह्रै असह्‍य त्यहाँ

बनेन राम्रो अस्पताल एकपनि अझै, महिनौं बितिगयो
जनताको के मतलब तिमीलाई, आफू मात्र बाँचे भयो
लाखौं निर्दोष लग्यो अकालमा, बसौं सबै घरभित्र
आक्रान्तै बनायो कोरोनाले जगतमा, यत्रतत्र सर्वत्र

हात धुनु मिचिमिची सधैं, साबुनपानी प्रयोग गरी
लगाऊँ सधैं मास्क, सफा राखौं घरआँगन वरिपरि
केही हुँदैन यो ज्यानलाई, बसे पालना गरी नियमको
रक्षा गर हे पशुपतिनाथ ! यो सारा सृष्टि जगतको

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय