scheduleबिहिवार श्रावण १४ गते, २०७८

कमरेड ! तपाईंहरूलाई इतिहासले कसरी माफ गर्न सक्ला ?

डा. रामचन्द्र लामिछाने

२०३७ सालतिर होला, खाना खाएर सुत्दा हामी घरका ५ जना मात्रै थियौं । तर बिहान उठ्दा घर भरी मानिसहरू सुतेको देख्दा दङ्ग परे । राती बासै बस्ने गरी को ईष्टमित्रहरू आउनु भएको रहेछ मनमा कुरा खेले । राती कहाँ के भएछ, वरीपरी विवाह, पूजाजस्ता सामाजिक कार्यहरू पनि केही भएका छैनन् । कसरी यति धेरै मानिसहरू आउनु भयो भन्ने मनमा लागि नै रह्यो । एकछिन पछि सबै जना उठ्नु भयो । तर ५/७ जना मानिसमा एक जना पनि चिनेको छैन । सबै जना हँसिला, फरासिला कस्तो अचम्म । बुबाले चिनाउनु भयो । नाम याद भएन तर काका भन्नु पर्छ भन्नु भयो । हात मिलाउनु भयो ।

त्यो भन्दा पहिला कसैसँग हात मिलाएको याद छैन । आमाले खाना बनाउनु भयो । सबै जना खाना खाएपछि वहाँहरू पनि आर्मीले बोक्ने जस्तो खैरो झोला बोकेर निस्कनुभयो भने म, दिदी र भाइ पनि स्कुल जाने तयारी गर्‍यौं । स्कुल जाने बेलामा बुबाले हामीलाई एकै ठाउँमा राखेर भन्नु भयो- कसैले घरमा को आएका थिए भनेर सोधे भने माझठाना मामाको गाउँतिरका मानिस आएका थिए गए भन्नु । उहाँले यस्तो भनेर सिकाउनु भयो ।

काकाहरू बेलाबेलामा आइरहनु हुन्छ वहाँहरू आएको कुरा कसैलाई नी भन्न हुन्न भनेर सिकाउनु भयो । त्यसपछि निरन्तर काकाहरू आउने जाने क्रम निरन्तर चल्यो । वहाँहरूको नाम अगाडी कमरेड भनेर सम्बोधन गरिन्थ्यो । विस्तारै गाउँका अरु छिमेकीहरू आउन थाल्नु भयो वहाँहरूलाई पनि कमरेड भनेर सम्बोधन गरिन्थ्यो । हामी ससाना केटाकेटीहरू पनि वहाँहरूको सिको गर्दै कमरेड भन्थ्यौं, उप नामहरू राख्थ्यौं । चीन भनेको एकदम राम्रो र विकसित देश भन्थौं, भारत सामान्य देश हो भन्थ्यौं ।

काका कमरेडहरूका विचार, कुरा गर्ने तरिका, शब्द चयनहरूले हामीलाई निकै प्रभावित पार्दथ्यो । फुर्सदमा वहाँहरूले हामीलाई आफ्ना कुराहरू सिकाउनु हुन्थ्यो, कम्युनिष्ट भनेको कस्ता हुन्छन्, पञ्च काँग्रेस भनेका कस्ता हुन्छन् भनेर सिकाउनु हुन्थ्यो । वहाँहरूका कुरा राम्रा लाग्थ्यो तर कति बुझियो कति बुझिएन होला तर आज फर्केर हेर्दा ती कुराहरूको मनमा गहिरो छाप परेको रहेछ ।

राजा ठीक होइनन राजा फालेर गणतन्त्र ल्याउनु पर्दछ भन्नु हुन्थो । राती-राती घरमा आउने मानिसहरू देख्दा ती मानिस कम्युनिष्ट हुन् र ति साँच्चै आफन्त हुन् जस्तो लाग्थ्यो । त्यतिबेला कागतमा चिठी लेखेर स्टिच गरी पठाउने चलन थियो जसले त्यसरी चिठी पठाउनु हुन्छ वहाँ पनि कम्युनिष्ट हो भन्ने थाहा पाउन थाल्यौं ।

यसरी हाम्रो गाउँमा को-को कम्युनिष्ट हो सबै चिन्न थाल्यौं । काका कमरेडहरू आउँदा कहिले बाल कथा, कहिले सचित्र चीन, डकर्मीको कथा, जनताका गीतहरू, भुत प्रेतको कथा, सिन्धुलीको व्यथा जस्ता किताबहरू पनि ल्याइदिनु हुन्थ्यो । हामी जनताका गीतहरू गाउथ्यौं । कहिले काही जनताका गीतहरू सुन्ने कार्यक्रम हुन्थ्यो र गाउँ भरीका कम्युनिष्टहरू एक ठाउँमा जम्मा भएर टेप रेकर्ड खोजेर सबैले चन्दा उठाएर ब्याट्री किनेर गीत हुरु सुन्थ्यौं । ती गीतहरू सुनेपछि बुबाले गाउँदै हिंडनुपर्छ भन्नु हुन्थ्यो । ‘शीतल पर्‍यो छाया, गरिबले गरिबलाई गर्नु पर्दछ माया’, ‘भेडी गोठमा गोठालाले बजाउँदा बाँसुरी, ल्युसुन तिम्रो सम्झनाले तान्यो बेसरी’, ‘हिमाल मुनि नी बैनी छहरे छाँगो’ … जस्ता गीतहरू गाउँदै हिड्थ्यौं ।

बुवाहरू मात्रै होइन, आमाहरू पनि संगठित हुन थाल्नु भएको थियो र दिनभरीको कामधन्दा सकाएर बेलुका गाउँभरीका काकीहरू, ठुली आमाहरू, दिदीहरू भेला भएर छलफल गर्ने गर्नुहुन्थ्यो । पुरुषहरूले बनाएका पोस्टरहरू गोबरले टाँस्दै रातभरी हिंड्नु हुन्थ्यो ।

एकदिन अचम्म लाग्यो, भिर्चोक स्कूलमा हामीलाई सामाजिक पढाउने तुलसा थापा म्याडम (हाल संघीय सांसद हुनुहुन्छ) पनि घरमा आउनु भएको थियो । वहाँलाई देख्दा वहाँ पनि कम्युनिष्ट हुनुहुँदो रहेछ भन्ने लाग्यो । त्यसपछि वहाँ हरिस र अजितासहित नियमित जस्तो आउनेजाने गर्नु हुन्थ्यो । कतिपटक म वहाँलाई पुर्‍याउन हाम्रो घरबाट वहाँको डेरासम्म पनि गएको याद छ । बुवा अर्ध भूमिगत हुनु हुन्थ्यो । आमाले एक्लै खेतीपाती, हाम्रो देखभाल, पार्टीको सेल्टरमा आउने कमरेडहरू र पार्टीको काम सबै जिम्मेवारी पुरा गर्नु भएको थियो । हामीहरूलाई घरमा कमरेडहरू आउँदा एकदम खुशी लाग्थ्यो सम्बन्धहरू आत्मिय हुन्थे ।

डा. रामचन्द्र लामिछाने

आज फर्केर सम्झिँदा अचम्म लाग्दछ । गाउँबेंसी गरेर खर्चको जोहो गर्नपर्ने निम्न मध्यम वर्गीय परिवारमा दैनिक अतिथीहरूको आगमन, त्यसको व्यवस्थापन एक दम निस्वार्थ भएर व्यवस्थापन गर्दा मेरा बाआमालाई कति गाह्रो भयो होला । तर कहिल्यै गुनासो गर्नु भएन । सधै गौरव नै गर्नुभयो । आमाले सधैं भन्नु हुन्थ्यो- हामीले अलिअलि दुःख गरेर के हुन्छ र ? हाम्रो पार्टीको सरकार आयो भने देशभरीका हामी जस्ताका सुदिन आइहाल्छन् ।

दुई वर्षअगाडि अस्पतालमा भेट भएका माननीय यज्ञ सुनुवारलाई बाटो नबिराउनु है बाबु, पार्टीको जिम्मेवारी ठूलो छ भन्दा माननीय ज्यु भावविहोल हुँदै ढोग्नु भएको थियो । आमा गत वर्ष दम र थाइराइड क्यान्सरले गर्दा स्वर्गबास हुनु भयो ।
२०४० सालमा हाम्रो परिवार कास्कीबाट पर्सामा बसाइ सरेर गयो । गादीको रंगपुरमा कम्युनिष्टहरू थिएनन् । बुवाले त्यहाँ सम्पर्क खोज्नु भयो । केही मशालका साथीहरू सम्पर्कमा आउनु भयो र २०४३ सालतिर अरु पार्टीका कमरेडहरू सम्पर्कमा आउनु भयो । उहाँ निरन्तर संगठन बिस्तारमा लाग्नु भयो । २०४३ सालमा पञ्चायतको चुनाव उपयोग गर्दै युवा संघको चुनावमा सभापतिमा निर्विरोध जित्नु भयो र समाजसेवा गर्न थाल्नु भयो । वहाँको निस्वार्थ सेवाले समाजमा गहिरो छाप परेको आज पनि त्यहाँ प्रसंशा गरिन्छ ।

पञ्चायत विरोधी आन्दोलनमा हामी अग्रमोर्चामा लाग्यौं र बुवा बहुदल आएपछि संगठन निर्माण गर्न गाउँगाउँ जानु भयो । यो कथा लामो छ । समग्रमा वहाँले करिब १६ वर्ष निरन्तर पर्सा जिल्ला कमिटीमा काम गर्नु भयो र कहिल्यै प्राप्तिको आस गर्नु भएन र हामीलाई पनि पार्टीबाट कहिल्यै केही आस नगर्नु भनेर सिकाउनु भयो ।

हामीहरूले पनि अनेरास्ववियुमा आबद्ध भएर निष्टापूर्वक काम गर्‍यौं । बुवाले आफनो दक्षता र क्षमतामा उभिनु पर्छ, सिफारिश र कोटो नखोज्नु भन्नु भएको छ ।

यो कथा निकै लामो छ तर यहाँ किन उठान गरिएको भने यो एक प्रतिनिधि कथा मात्रै हो । यस्ता कथा ७७ जिल्ला ७५३ पालिकाका सबै वडाहरूमा छन् । मेचीदेखि महाकाली र तराइदेखि हिमालसम्मका गरिब, भोका, नाङ्गा, दलित, मधेशी, हेपिएका, चेपिएका हामीजस्ता हजारौंको गाँस काटिएर, हजारौं आमा दिदीहरूको सिउँदो उजारिएर, रत्न बान्तवा, ऋषि आजाद, फणिन्द्र तिमिल्सिना जस्ताहरूको जीवनको आहुति, केपी शर्मा, राधाकृष्ण मैनाली, सिपी मैनाली, मदन भण्डारी, माधव नेपाल, झलनाथ खनाल जस्ता हजारौंको जवानीको कुर्वानी दिएर बनेको नेकपा हो ।

स्मरण होस्- यो कसैले एक दिनमा चमत्कार गरेर बनेको पार्टी होइन । यो पार्टीमा आवद्ध हुने र आवद्ध नभए पनि सद्भाव र माया गर्ने हजारौंको त्याग र बलिदानको परिणाम हो यो । हामीलाई भनिन्थ्यो- पार्टीको सदस्यता लिन कति स्टेज पार गर्नु पर्दछ । कम्युनिष्टहरू अरु भन्दा किन फरक छन् भनेर प्रमाणित गर्नु पर्दछ । अध्ययन गर्नु पर्दछ । माओका रेड बुक बोकेकै कारण कति विद्यार्थी साथीहरू अंगभंग भएका छन् । हँसिया-हथौडा झण्डाका कारण ज्यान गएका छन् । यो पार्टी कसैले एक रातमा भाषण गरेर बनेको होईन । निश्चितरुपमा नेतृत्वको त्याग र तपस्या प्रेरणादायी छ । एक-एक सदस्य बनाउन यसका नेता र अगुवा कार्यकर्ताको लगानी थियो तर जब विस्तारै पार्टीले शक्ति आर्जन गर्‍यो तब यस पार्टीमा तटस्थ र अन्य पार्टीका नेता कार्यकताहरू पनि आकर्षित भए ।

सर्वहाराको नेतृत्व स्थापित गरेर सामाजिक न्यायसहितको राज्य व्यवस्था निर्माण गर्ने पवित्र उद्देश्य राखेर हिंडेको पार्टीमा क्षणिक स्वार्थका लागि समाजका टपरटुइँयाहरूले सहज प्रवेश पाउन थाले भने पार्टी भित्रकै कतिपय नेता तथा कार्यकर्ताहरू पनि निकै चलाख बनेर पार्टीको आदर्श, क्रान्तिकारी छवि, कम्युनिष्ट आदर्श आदिलाई तिलाञ्जली दिन थाले । पञ्चहरूको क्रुर पञ्जाबाट बचेको पार्टी दलाल र विचौलीयहरूसँग हार्‍यो । सम्पूर्ण नेपाली र नेपालको हित गर्ने समाजवादको विरुद्ध नवउदारवादीहरू हावी भए ।

नेकपा एमाले बृहत नागरिक जनचेतना जगाउँदै नागरिकहरूलाई संगठित गर्दै बहुदलीय जनवादको सैद्धान्तिक मान्यतामा देशैभरी फैलिएको थियो भने नेकपा माओवादी आफ्ना क्रान्तिकारी कार्यक्रममार्फत् सामन्तवादको समुल नष्ट गर्दै अगाडि बढिरहेको बेलामा २०६२ सालमा दुई ठूला पार्टीहरूको रुपमा स्थापित भएदेखि नै नेपालका कम्युनिष्ट समर्थकहरूमा एक प्रकारको आशा र भरोशा पलाएको थियो ।

तत्कालीन नेतृत्वको अहमता, अदूरदर्शीता र गैरजिम्मेवारी पनले गर्दा त्यतिखेर नै एकीकृत हुन पर्ने कम्युनिष्टहरूबीच एकता हुन सकेन । एकता नहुनुमा दुवै पार्टीको नेतृत्वमा वैचारिक अन्यौलता र अस्पष्टता थियो । यदि त्यतिबेला एकीकृत भएको भए नेपालको शासकीय स्वरुप नै फरक हुन्थ्यो र नेपालको राजनीतिक चरित्र बदलिएको हुन्थ्यो । तर बिडम्वना देशमा कम्युनिष्ट संगठन र जनमत मजबुद भयो तर कम्युनिष्ट आदर्श, निष्ठा, आन्दोलन, पहिचान कमजोर भयो । दोस्रो संविधानसभाको चुनावसम्म त कम्युनिष्ट शक्ति यति कमजोर भयो की कम्युनिष्टहरू पुँजीवादीहरूको पिछलग्गु मात्रै भए र उनीहरूकै एजेण्डाअनुसारको संविधान बनाए । संविधान बनेपछि पनि कम्युनिष्टहरूको राम्रै उपस्थिति बनेको थियो तर देश र जनताप्रतिको जवाफदेहीहिनता र सिद्धान्तहिनताका कारण केही समय सरकारमा बसे पनि जनतामा कम्युनिष्ट सरकार भन्ने कुनै अनुभूति भएन । एक प्रकारले कम्युनिष्ट भनेको फगत एउटा नाम बाहेक केही होइन भन्ने सन्देश प्रवाह भयो । कम्युनिष्ट र काँग्रेसमा केही फरक नै रहेन ।

सायद त्यसप्रकारको महसुसीकरण भएर होला- २०७४ सालमा पार्टी एकीकरणको प्रयास भयो र निकै नाटकीयरुपमा पार्टी एकीकरण पनि भयो । एकीकरण जस्तो पवित्र कार्यलाई देशैभरीबाट स्वागत गरियो र एउटा भरपर्दो पार्टीको रुपमा स्थापित भई सरकार समेब वन्यो । त्यो सरकारबाट नागरिकहरूले निकै अपेक्षा गरेका थिए । हिजो कम्युनिष्ट पार्टीलाई गाँस काटेर हुर्काएकाहरू, सदियौंदेखि सामन्ती थिचोमिचोमा परेका दलितहरू, गरिबहरू, रुढीवादी र अन्धविश्वासी परम्पराले सताइएका महिलाहरू, मान सम्मान र पहिचान खोजिरहेका जनजाति, मधेशी, मुसलमानहरू यस पार्टीलाई भोट हाल्ने र नहाल्नेहरू, रोजगारीको नाममा विदेशीको अपमान सहँदै कष्टपूर्ण जीवन यापन गरिरहेका युवाहरू सबैले अब त सुदिन आउने भए भनेर आशा गरेका थिए तर त्यस्तो केही भएन ।

सरकार नवउदावादको बाटोमा निरन्तर अगाडि बढ्यो । कम्युनिष्ट आदर्श, सिद्धान्त सरकारका कार्यक्रममा कतै देखिएन । २०५१ सालमा सरकारलाई सफल बनाउन पार्टीको पनि त्यत्तिकै भूमिका थियो । त्यतिबेला सरकार र पार्टीको सम्बन्ध नङ र मासुको जस्तो थियो । सरकारका हर क्रियाकलापहरू पार्टीले अनुमोदन गर्दथ्यो । यतिसम्म की एकजना सहायक स्तरको कर्मचारीको नियुक्ति पनि बल्खुको रेकर्डमा हुन्थ्यो । त्यसप्रकारको अभ्यासले पार्टी र सरकारलाई जोडेको थियो । तर यसपटक पार्टीको साख, सिद्धान्त र व्यवहारअनुसार सरकारका क्रियाकलापहरू पार्टी पंक्तिले अनुभूति गर्न सकेन ।

जनताको बहुदलीय जनवाद सरकारको नीति तथा कार्यक्रममा देखिएन । सरकार जनताको बहुदलीय जनवादप्रति उदासीन देखियो र नवउदारवाद मै रमायो जुन सरकारको गम्भीर भुल थियो । चिनियाँ कम्युनिष्ट पार्टीले सरकार सञ्चालन गर्दछ र पार्टीको नीति अनुसार सरकारका नीति तथा कार्यक्रमहरू तय हुन्छन् । पार्टीले पारित गरेका कार्यक्रम लागू गर्नु सरकारको कर्तव्य हो । तर यहाँ त सरकारको नीति अनुसार पार्टी चल्ने हो की पार्टीको नीति अनुसार सरकार चल्ने भन्ने नै निकै अन्यौल रह्यो । सम्भवत एकीकरण प्रक्रियामा नै रहेकोले माओवादीसँगको सैद्धान्तिक मतभेदले सोचेजस्तो भएन होला तर अब त सिंगो एमालेलाई एकताबद्ध बनाउने कुरामा कुनै वहाना वा तर्क कुतर्कले पुष्टि गर्दैन त्यसकारण फरक तरिकाले सोच्नै पर्दछ । गुमाएर जितिँदैन ।

एक-एक सदस्यको महत्व एमालेले बुझ्न पर्दछ । महान सहिदहरूको त्यागको अगाडी तपाईंहरूको पद त्याग निकै सानो त्याग हो । कमरेडहरू एकपटक स्मरण गर्नुहोस्- कमरेड पुष्पलालसँग न त सत्ता थियो न शक्ति नै । थियो त केवल विचार थियो, एक शक्तिशाली विचार । त्यो यस्तो शक्तिशाली विचार थियो जसले गर्दा ५ जनाले शुरु गरेको पार्टी सिंगो देशमा फैलियो र देशको प्रमुख शक्तिको रुपमा स्थापित भएको थियो ।

तपाईंहरूको नेतृत्वमा शक्ति छ, सत्ता छ, नेताहरू हुनुहुन्छ तर विचार धर्मराउँदा शक्ति घट्दो छ । यदि केही वर्ष मन्त्री, प्रधानमन्त्री हुन्छौं भनेर राजनीतिमा होमिनु भएको थियो भने त तपाईंहरू नाफामा हुनुहुन्छ र अझै केही वर्ष नाफा नै आर्जन होला तर देश र जनताको लागि हो भने भर्खर योगदान दिने आधार तयार भएको छ । यतिबेला स-साना कुराको इख साँधेर पार्टीलाई धुजा-धुजा बनाउनु भनेको देश, भावी पुस्ता र अग्रजहरूप्रतिको अक्षम्य अपराध हो ।

नेकपा मालेमा संगठित भएका कुनै पनि नेता कार्यकर्ता व्यक्तिगत प्राप्तिमा विश्वास गर्दछन् भन्ने कुरामा कसैले नी विश्वास गर्न सक्दैन तर त्यत्रो लामो त्याग र बलिदानको इतिहास भएका नेताहरू आजको पदको लागि मरिहत्ते गरेर पार्टी तहसनहस गर्ने अवस्थामा पुग्दा तपाईंहरूलाई कसरी क्षमा गर्न सकिएला र ? हामी नागरिक हिजो पनि निहत्था थियौं, निरीह थियौं । आज हामी सार्वभौम छौं की भन्ने लागेको थियो तर हामी त झन ठूलो रैति भएका रहेछौं । हिजो हामीले घृणा गर्नेहरूले रैति बनाएका थिए र उनीहरू विरुद्ध कम्मर कसेर लडेका थियौं तर आज त आफुले विश्वास गरेका, आफुले भरोसा गरेकाहरूबाट हामी रैति भएका रहेछौं । हामी स्वयम्सँग लड्ने नैतिक आधार समेत गुमाएका छौं ।

के यस्तो अवस्थामा हामी तपाईंलाई क्षमा गर्न सक्छौ ? यो देशका भोटरको लागि कम्युनिष्ट पार्टी जुटनु र फुटनुले हाम्रो दैनिकीमा केही फरक पर्दैन । कम्युनिष्ट भएर हामीले स्वाभिमानपूर्वक बाँच्न सिकेका छौं र हामी हाम्रो जीवन स्वाभिमानपूर्वक बाँच्न सक्दछौं । कम्युनिष्ट पार्टी ठूलो हुनु र सानो हुनुले हामीलाई फरक पर्दैन तर निष्टावान छ की छैन त्यो महत्वपूर्ण कुरा हो । पार्टी सानै भए पनि नेकपा मसाल र नेमकिपाका कार्यकर्ताहरू सदैव आफनो पार्टी र नेताहरूप्रति गर्व गर्न सक्दछन् । त्यही कुरा अरुहरूलाई पनि लागु हुन्छ । मुख्य कुरा नेताको चरित्र र पार्टीका नीतिको को हो ।

प्रधानमन्त्री, मुख्यमन्त्री, मन्त्री, सांसद, मेयर, उपमेयर, वडाअध्यक्ष लगायतका पदाधिकारी नभई पनि हामी बाँच्न सक्दछौं र परिवार पाल्न सक्दछौं । समस्या त तपाईंहरूलाई नै होला कमरेड जो पदको लागि हर तिकडम गर्नु हुन्छ र त्यसलाई कम्युनिष्ट र क्रान्तिको नाम दिनु हुन्छ । तपाईंहरू जब यतिका जनताहरूले माया गरेको पार्टीलाई संरक्षण गर्ने हैसियत राख्नु हुँदैन र कम्युनिष्ट आन्दोलनको रक्षा गर्न सक्नु हुन्न भने तपाईंहरूलाई नै नेता मानेर यो देश र जनताको मुक्ति कसरी हुन्छ कमरेड ? तपाईंहरूको क्षमता, योग्यता पनि प्रष्ट देखिदैछ ।

तपाईंको तर्क र कुतर्कमा तपाईंहरूका हुक्के, बैठकेहरूले वाहवाही गर्लान् तर नेपाली सर्वहारावर्गले सर्वथा धिक्कार्ने छन् । यो २१औं शताब्दी हो र यो पञ्चायतको अँध्यारो रात्री होइन । यो सूचना तथा प्रविधिको युग हो । के गर्दा देशमा सामाजिक न्यायसहित समाजवाद आउँदछ र के गर्दा आउँदैन अब सबैलाई धेरै थोरै थाहा छ ।

कमरेडहरू आत्मरतिमा नरमाउनुहोस्, एक अर्कालाई मान सम्मान गर्नुहोस् । प्रतिकूलतालाई अनुकूलतामा बदल्नु नै नेतृत्व हो । व्यक्तिगत इगोलाई शान्त गर्नुहोस् र विगतमा संयुक्तरुपमा सहकार्य गर्दा तपाईंहरूबीच सौहार्दपूर्ण सम्बन्ध भएका दिनहरूलाई सम्झिनुहोस् र त्यहीबाट एकताको प्रस्थान गर्नुहोस् । सुखानीका सहिदहरू, ऋषि देवकोटा आजाद, रत्नकुमार वान्तवा लगायतका सहिदहरूलाई सम्झिनुहोस्, सम्झिनुहोस् त्यो कम्युनिष्टहरूको अन्तराष्ट्रिय गीत जुन सबै कार्यक्रममा तपाईंहरूले सँगै गाउनु भएको थियो । याद गर्नुहोस्, कसैको अभावमा कोही अपुरो हुँदैन तर एकअर्काको सहयोगमा दुवै भरिपूर्ण हुन सक्नु हुन्छ । प्राविधिक कुरा होइन भावनालाई साक्षी राख्नुहोस् ।

गल्ती दुवैतिरबाट भएका छन् । फुटमा गुमाउने तपाईंहरूले नै हो । इमान्दार हुनु भयो भने जुटमा सारा देशले जित्छ । हामीले बचपनदेखि देखेका सपनाहरू साकार हुन्छन् । तपाईंहरूलाई आश्रय दिएर यो पार्टी हुर्काएका बुढा बाबुआमाहरूको मुहारमा खुसी आउँछ । सदियौंदेखि सामन्ती कुसंस्कारको शिकार भएका दलित, महिला, जनजाति, मधेशी, मुस्लिम लगायतका शोषित पीडितहरूमा खुशी छाउँछ । बेइमानीहरू त हामीले धेरै भोग्दै आएका छौं । आत्मसमीक्षा गर्नुहोस् ।

पञ्चायतसँग योभन्दा कडा लडाइ लड्नु भएको हो । सहयोद्धाहरूलाई मान सम्मान गरेर सहकार्य र सम्झौता गर्दा र साझा दृष्टिकोणसहित आन्दोलनप्रति प्रतिबद्धतासहित अगाडि बढ्दा तपाईंलाई हरूवा भनिँदैन । इतिहासले तपाईंहरूलाई विजेता भनेर पुष्पलाल, मदन भण्डारी र मनमोहन झै पुज्ने छ । समयको सही सदुपयोग गर्नुहोस् । अहमता त्याग्नुहोस् ।

स्मरण होस्- तपाईंहरूसँग मिल्नुको विकल्प छैन तर नागरिकहरूका लागि तपाईंहरूका हजारौं विकल्प छन् । अमहता र कुण्ठामा रमाउनु हुन्छ की हजारौं कार्यकर्तालाई खुशीयाली दिन गौरवशाली सम्झौता रोज्नु हुन्छ, रोजाइ तपाईंहरू कै ।

(लामिछाने पोखरा महानगरपालिकाको शहरी योजना आयोगका उपाध्यक्ष हुन्)

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय