scheduleसोमवार आश्विन ११ गते, २०७८

एनआरएन अमेरिकाको चुनावमा देखिएको विकृत नेपाली राजनीतिको झल्को

सन्तोष लामिछाने

गैर आवसीय नेपाली संघ अमेरिकाको राष्ट्रिय समन्वय समिति अर्थात् एनआरएन एनसीसी अमेरिकाको यही मे २९-३० मा हुने निर्वाचनको भोटर रजिस्ट्रेसन, प्रचार प्रसार र विगतमा भएका भोटिङ र छिटै हुने लागेको भोटिङ र काम गर्ने शैलीमा विकृत नेपाली राजनीतिको झल्को टड्कारै देखिएको छ ।

विषयमा पूरै प्रवेश गर्नुअघि यो पंक्तिकार के स्पष्ट पार्न चाहन्छ भने यो स्तम्भ नेपालीहरूको संगठित संस्थाको बारेमा नकारात्मकता फैलाउन लेखिएको होइन । कुनैपनि व्यक्ति, संस्था, कार्यशैलीको तर्कसंगत टिकाटिप्पणी हुनुले सुधारको बाटोमा अग्रसर गराउन सकिने भएकोले यो लेख त्यही नियतले अभिप्रेरित छ । यहाँ उठाइएको विषय मूलत: संस्थाप्रति नभएर संस्कारप्रति लक्षित छ ।

प्रथम त, यो पंक्तिकारले २०२१-२०२३ को एनआरएन अमेरिकाको मेम्बरशीप भेरिफिकेसन कमिटीमा बसेर लगभग १०० घण्टा जति समय स्वयम्सेवा गरेको र त्यो कमिटीबाट सार्वजनिकरुपमा सम्प्रेषण गरेका कुराका आधारमा केही कुरा राख्छु ।

एनआरएनए अमेरिकाको मेम्बरशीप बनाउने प्रक्रिया नै परिष्कृत गर्नुपर्ने देखिन्छ । हो, केही अभियन्ताले अरुलाई मेम्बर बन्न प्रेरित गर्नु राम्रो हो । तर त्यसको निहुँमा पैसै अभियन्ताहरूले हाल्ने अर्थात् पहिला आफैंले भोटर छान्ने, आफैं चुनावमा उठ्ने अनि त्यसरी बनाएका भोटरले कुन उमेद्वारलाई छान्छन् ?

यहाँ त संस्थाले राम्रा-राम्रा र प्रवासी नेपालीको हितमा हुने एजेन्डा ल्याएर मन जितेर मेम्बरशीप आकर्षण गर्ने भन्दा, चुनावमा आफू जित्न मेम्बरशीप बनाउने नियतले काम गरेको देखिन्छ । कतिपय अवस्थामा त अभियन्ताले त्यसरी पैसा खर्च गरेर बनाएको भोटरको लगइन क्रेडेन्सियल पनि आफैंले राख्ने अनि आफैंले भोट हाल्ने प्रवृत्ति देखिन्छ । यस्तो नियतले समाजसेवा होइन स्वयंसेवा गरिएको बुझिन्छ ।

यसपाली भेरिफिकेसन गर्दै गर्दा धेरै काम गर्नुपर्‍यो । करीब १हजार ७ सय जति मेम्बरशीप आवेदन रिजेक्ट पनि भए । सायद पहिला अलि राम्ररी सोचेर आइटी संरचना बनेको भए सायद यति धेरै समय खर्च हुन्न थियो होला । अनि आइसीसीले पनि फेस रिकग्निसनदेखि सेल्फ भेरिफिकेसन हुने सिस्टम ल्याउने जोड गरेको बुझिन्छ । संस्थाका संरचनामा भएका कुनै पनि कमीकमजोरीलाई हटाउन ल्याइने सबै कुरा जो जसबाट आए पनि स्वागतयोग्य हुन्छ । तर के हेक्का राख्नु पर्छ भने वर्तमान समयमा भएको विधान र संरचनालाई प्रयोग गरेर भविष्यमा परिष्कृत गर्दै जाने हो ।

यो पाली भेरिफिकेसन गर्दा आएका अप्ठ्याराहरू भेरिफिकेसन कमिटीले रेकर्ड गरेको छ र त्यो फाइनल गरेर भविष्यमा आउने सम्बन्धित पक्षलाई सुधारको लागि दिइने योजना छ । तर सबैको नियत र संस्कार राम्रो हुने थियो भने अहिलेको सिस्टमबाट पनि एउटै मान्छेका दुइवटा मेम्बरशीप हुने, एउटै पेमेन्ट कार्ड वा गिफ्ट कार्डबाट कैयौं मान्छेको मेम्बरशीप फी तिरिदिने, अरुको आइडी जम्मा गरेर बिचौलियाले कयौं मेम्बर बनाउने, विद्यार्थीहरूलाई मेम्बर बनाउने जस्ता विकृति देखिन्न थियो होला । त्यसैले सिस्टम अझ बलियो त बनाउँदै जानुपर्छ तर संस्कार बदलिनु झनै महत्वपूर्ण छ । संस्कार बदल्न पहिला अभियन्ता र उमेद्वारहरूले पहलकदमी लिन जरूरी छ ।

अहिले चुनाव प्रचारका गतिविधि हेर्दा बेहुला जस्तो खादा र माला लगाउँदै उमेद्वारहरूको जन्तिनै लिएर हिंड्ने- होटल, मासुभात, मदिरामा खर्च गर्ने तरिका देख्दा सादा जीवन उच्च विचार बोक्ने अभियन्ताहरूको खडेरी देखिन्छ । एनआरएनको चुनावी शुल्क लगभग ४२५ उमेदवारबाट करिब एक लाख ८१ हजार डलर उठेको छ, तर नेपालमा कोभिड महामारीको सहयोगार्थ एनआरएनबाटै आयोजना गरिएको गोफन्डमा जम्मा तीस हजार डलर पनि जम्मा भएको रहेनछ । हुन त धेरैतिर रकम उठाइदै गरिएकोले हुन सक्छ, तर पदमा उठ्न औसत ४२५ डलर खर्च गर्न तत्पर उम्मेदवारहरूले मात्र औसत सय डलर मात्र हाले पनि ४२ हजार डलर त यत्तिकै कट्नु पर्ने हो ।

त्यसमाथि एक उमेदवारले कम्तिमा औसत अरु दुई जनालाई त प्रेरित गर्न सक्नु पर्ने होइन र ? यसो एक, दुई, पाँच वा दशै हजार हालेर शो अफ गरे नै पनि दान भनेको एउटा हातले दिएको अर्को हातले थाहा पाउनु हुन्न भन्छन् । यहाँ त नियत नै मान, सम्मान पाउन देखिन्छ, साँचो अर्थमा समाजसेवा गर्ने अभिप्राय देखिन्न । कस्तो नेतृत्व हावी हुँदै छ ? केमा प्राथमिकता छ ? पद, प्रतिष्ठा, खादा, माला, शक्ति आर्जन ? अमेरीका आएर पनि पुरानै नेपाली राजनीतिक पारा देखिएकोले अहिलेका कतिपय अभियन्ताको भोलि नेपाल फर्केर नेपालकै राजनीति गर्ने प्रहशन हो कि भन्ने शंका उत्पन्न हुन्छ ।

एनआरएनए जस्तो नन-प्रफिट संस्थाको चुनावमा गैरकानूनी शैलीमा सन्तान, इस्टमित्र, बफादार सेवकहरू खटाई ल्यापटप लिएर मान्छेका घरघर आफ्नै अगाडि भोट हाल्नु पर्‍यो भन्दै जाने गरेको विगतमा देख्न र सुन्न पाइएको छ । यो भोटरहरूको दमन र दवाब हो र एनआरएनले यसको कानून, कानून कार्वान्वयनसम्बन्धि पाटो आफ्नै आचारसंहिताअनुसार अनुशासनको कारबाही गर्ने नसक्ने हो भने संस्थालाई मुद्दा पर्‍यो भनेर रोइलो गर्नुको कुनै अर्थ हुँदैन । अमेरिका जस्तो देशमा आएर निकृष्ट शैलीमा चुनाव जित्ने प्रपञ्च गर्नेहरूले आफू चुनाव जिते वा हारेपनि मुद्दा मामिलामा नजाऔं, हामी-हामी जस्तोसुकै गैरकानूनी काम पनि गरौँ, आफैंले बनाएको विधान मिचौं, आफू बसेको देशको कानून पनि मिचौं, तर पुलिस र कानुनलाई नभनौ भन्नु ढोंग होइन र ? सफा, शुद्ध, संस्थाको हितकारी रहन्छु भन्नुको केही अर्थ हुन्न जब त्यो असली अर्थमा व्यवहारमा गरेको देखिन्न ।

एनआरएनए चुनावमा पैसा हुने अभियन्ताहरूले १-२ लाख डलरसम्म खर्च गर्न कस्सिएका छन् रे भनेर पनि सुनिएको छ । तडक भडक हेर्दा त्यो असत्य होला भन्न सकिन्न । फजुलमा जाने त्यो पैसाले २-४ वटा शहरमा नेपाली कम्युनिटी सेन्टरको लागि जग हाल्न २५-५० हजार डलर सहयोग गरे हुने हो । धेरै नेपालीलाई त्यसबाट वर्षौसम्म फाईदा हुन्थ्यो । घाँसीले कुवा खनाएको झैँ नाम रहन्थ्यो । २ वर्षे पदको न्यानोको लागि खसी, रक्सी, मेम्बरशीप फी, होटेल फी, प्रचारप्रासार फीमा किन यति अदूरदर्शी काम गरेको होला भन्ने यो पंक्तिकारलाई लागिरहन्छ ।

ती त भए केही विसंगतिका कुरा । नेपालीको बलियो र ठूलो संगठन भएको कारण मैल संस्थाको लागि स्वयम्सेवीको रुपमा काम गर्दा धेरै राम्रा साथीभाइसँग चिनिने मौका पाएको पनि छु । निरन्तर संस्थाको र नेपाली समुदायको हितको लागि काम गरिरहने साथीहरू पनि देखेको छु । तर अहिले चुनावको परिप्रेक्ष्यमा के भन्न चाहन्छु भने कुनैपनि शरीरको हात, खुट्टा वा टाउको बाहेकको अन्य अंग बलियो भएर हुन्न । ती पनि बिल्कुल बलिया हुनुपर्छ तर सबैभन्दा बलियो टाउको हुनुपर्छ अर्थात् शीर्ष तहमा नेतृत्व गर्ने व्यक्ति ।

अहिले एनआरएनएको नेतृत्वमा पनि विगतमा समाजसेवामा निरन्तर लागिपरेको, भिजनरी र संस्थालाई राम्रो संस्कार दिन सक्ने व्यक्ति चाहिएको छ । मेरो आंकलनमा एनआरएन अमेरिका अहिले यस्तो डिलमा आइपुगेको छ कि अलि राम्रो संस्कार राख्न सक्ने व्यक्ति आएको खण्डमा संस्था अलि माथि आउँछ नत्र यो संस्थालाई नयाँ पुस्ताले सधैंको लागि ‘राम राम’ भन्ने अवस्थामा पुर्‍याउने व्यक्तिहरू नेतृत्वमा हावी हुने लक्षण पनि देखिन्छ ।

सबै उम्मेद्बारले आफ्नो नियत राम्रै रहेको भन्दै आउनुभएको छ । नियतलाई प्रश्न गरेर प्रमाणित गर्न गाह्रो भएपनि अहिलेसम्म गर्दै आएको काम र अनुभवको आधारमा क्षमता र संस्कारको मुल्यांकन गरेर आफ्नो अमूल्य मत संस्थाको सुधारको लागि सबैले प्रयोग गर्नुपर्ने आवश्यकता देखिन्छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय