scheduleसोमवार आश्विन ४ गते, २०७८

बेमौसमी चुनावः गाग्रीमा पानी छैन तिहुनमा झोल

अभि गाउँले

जब मानिस र प्रकृतिबीचको सन्तुलनको तुलो तलमाथि हलचल हुनथाल्छ, तब त्यसको परिणाम र परिमाण तुलनात्मकरूपमा भयावह र महंगो पर्न जान्छ । यसको ज्वलन्त उदाहरण अहिलेको वर्तमान र वर्तमानले झेलिरहेका परिणतिहरू हुन् । मानवजातिका लागि अभिशाप बनेर आएको कोरोना महामारीले उग्र रूप लिन थालेपछि मानव अस्तित्व नै संकटमा पर्न सक्ने त्रासदी बढिरहेको छ ।

नाभिकीय अम्ल र प्रोटिनबाट निर्माण हुने जुनसुकै प्रकारको भाइरस जीवकोषिकामा प्रवेश गरिसकेपछि यसले कतिसम्म प्रभाव पार्न सक्छ भन्ने कुरा उक्त भाइरसको गुण र उत्परिवर्तन क्षमतामा निर्भर रहन्छ भने यसले महामारीको विकराल रूप लिन्छ वा सीमित प्रभाव पार्छ भन्ने कुराचाहिँ भाइरसको ‘रिप्लिकेसन’ अर्थात् भाइरसको वृद्धिमा भर पर्छ ।

हामीले के बुझ्न जरुरी छ भने कुनै पनि भाइरस आफैंमा महामारीको स्वरूप होइन । किनभने घातक भाइरसहरूमा हावाबाट सहजै एकअर्कोमा स्थानान्तरण हुने क्षमता कमजोर हुन्छ । कोरोनाकै केसमा पनि हावाका माध्यमबाट फैलन सक्ने वैज्ञानिक अनुसन्धानले प्रमाणित गरे तापनि जीवकोषिकामा जति लामो समयसम्म यो भाइरस टिक्न सक्दछ त्यति हावामा जीवित रहन सक्दैन ।

अभि गाउँले

यसरी हेर्दा, व्यक्तिका माध्यमबाट भाइरसको फैलावट हुनेहुँदा यसमा व्यक्ति नै सबैभन्दा बढी जिम्मेवार रहन्छ । तसर्थ भाइरसले दुई वा दुईभन्दा धेरै व्यक्तिहरूको निरन्तर सम्पर्क पाएपछि मात्र यसले महामारीको भयंकर रूप लिन सक्छ । यदि समयमै सचेत बन्न जान्यौँ र प्रभावकारी उपचार प्राप्त गरेर यसको निराकरण गर्न सकियो भने कुनै सरूवा रोग महामारीमा रूपान्तरण हुने क्षमता कम राख्दछ ।

अहिले संसारभर हाहाकार मच्चाइरहेको कोरोना भाइरस वैज्ञानिक युगको ठूलो चुनौती बन्न पुगेको छ । यो चिन्ताको विषय मात्र नभई मानसिक चिन्ताको कारक पनि बनेको छ । किनकि कोरोना संक्रमणले भन्दा पनि कोरोनाले सिर्जित समस्याहरूसँग जुध्न हम्मेहम्मे परिरहेको छ । कोरोनाकै कारण भौतिक र मानसिक दुवै खाले समस्याहरूको पहाड दिनप्रतिदिन चुलिँदै गएको छ ।

अहिले विश्वको प्रमुख समस्या साझा छ । सबै देशहरू कोरोनाको दोस्रो लहरसँग जुधिरहेका छन्, नेपाल पनि सकिनसकी अघि बढिरहेको छ । तर फरक केमा छ भने अरू देशमा सरकार र खोप मिलेर कोरोनासँग भिडन्त गरिराखेका छन् भने हाम्रोमा स्वयं कोरोना संक्रमित र स्वास्थ्यकर्मीले जीवन र मरणको लडाइँ लडिरहेका छन् । यस्तो दुःखान्त घडीमा पनि सरकार ‘गोहीको आँसु’ समेत चुहाउँदैन । थाहा छैन यो स्वार्थीपनले कहिलेसम्म आँखा चिम्लने हो, बर्बाद बनाउने हो ।

सरकार छैन भनौँ भने अल्पमतको सरकार छ । तर छ भनौं त छाम्दा पनि भेट्टाउन मुस्किल छ । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत गुमाएपछि राजनीतिको मेलोमेसो पनि घुम्यो भन्ठानेको तर सत्ताको भूमरी न रहेछ, केन्द्रविन्दू त्यै रहेछ । समस्या त्यहीँ रहेछ तर विडम्बना ! समाधान अन्तै रहेछ ।

सत्ता भनेको लुकाउन खोज्ने र खोस्न खोज्नेको तानातान र हानाहान मात्रै हो भन्ने प्रमाणित भएको छ । सत्ताधारी र विपक्षीले एकले अर्कोलाई लगाउने आरोप भनेकै परिवर्तनविरोधी र सत्तालिप्सा अनि जनताको नजरमाचाहिँ दुवै पक्ष सत्ताको लोभी, पद र प्रतिष्ठाको प्यासी अनि त्यसपछि परिस्थिति गडबड हुनु त स्वभाविक ठानिन्छ ।

प्रधानमन्त्री ओलीका पछिल्ला बेइमानीहरूको साक्षी मात्र बस्न सकिन्छ तर त्यसको विरोध वा समर्थनको कुनै औचित्य नै छैन । यहाँ संविधानको धाराको लामो व्याख्याले हुने भए, विधिको शासनको महापुराण सुनाएर सुनुवाइ हुने भए र नैतिकताको पाठ पढाउँदा सिक्ने भए आज यो तिक्तता आउने थिएन ।

देशको कार्यकारीको हरेक कामलाई सम्मान गर्नुको सट्टा दुत्कार्नुबाहेक अर्को बाटै रहेन । तानाशाही प्रवृत्तिको मनोवृत्ति जहिले पनि वर्तमानको रमझम र जयजयकारको भोगी हुँदोरहेछ । उसले इतिहासको कालकोठरीमा आफ्नो कोटा सुरक्षित बनाइसकेको हुन्छ, जसले ‘म मरे डुमै राजा’ भने जसरी आफ्नो शासनकलाको विद्रुपता प्रदर्शन गरिरहन्छ । जसरी एउटा कमिला प्वाँख पलाएपछि ऊ जरूर उड्छ र जरूर मर्छ पनि । ओलीको पतनको बाटो पनि त्योभन्दा पृथक छैन ।

कहिलेकाहीँ के भ्रम हुँदोरहेछ भने बल आउट भए पनि प्याराफिटबाट फुटबल खेल हेर्दै गरेका दर्शकले ‘गोल’ भनेर हुटिङ गर्न पुग्छ्न् । तर रेफ्रीले लामो सिठी नफुकेपछि त्यहाँ गोल भएको ठानिँदैन किनकि यथार्थमा त्यहाँ गोल नै भएको हुँदैन । त्यसैगरी ओलीले भकुन्डोलाई हातैले समातेर भए पनि राजनीतिक गोल गरेका छन्, त्यसले वैधता पाउनेवाला छैन । ठूल्ठूला सभाहल निर्माण सम्पन्न अगावै उद्घाटन गर्दै हिँड्ने गफाडी प्रधानमन्त्रीले कोरोना संक्रमितका लागि अस्थायी अस्पतालसम्म तयार पार्न नसक्नु यो कतिसम्मको निकम्मापन हो ?

वास्तवमा अहिले कोरोना महामारीको त्यस्तो युद्ध मैदान तयार भएको छ, जहाँ सरकार र राजनीतिक दलहरूले आफ्नो खेल कौशलता प्रस्तुत गरेर जनताको मन जित्ने सुनौलो मौका जुरेको छ । राजनीतिलाई साँच्चिकै धर्म ठान्ने हो भने आफ्नो धर्म निभाउने ‘संकटको महायज्ञ’ पनि यही नै हो तर यसैलाई सत्ताको ‘विवाह-मण्डप’ बनाउने चालबाजी नहोस् जसले बलिरहेको आगोमा घ्यू थप्दछ ।

अहिले प्रधानमन्त्री ओलीले प्रतिगमन गरे, त्यसलाई सच्याइ पाऊँ भन्दै अदालत धाउने बेला हो कि जनताको जीउधनको सुरक्षाको ग्यारेन्टी गराइपाऊँ भनेर बिन्तीपत्र बुझाउन जाने हो ? प्रधानमन्त्रीले संसद भंग गरेर शक्ति प्रदर्शन गराउने हो कि राष्ट्रिय सहमति कायम गरेर कोरोना महामारीसँग लड्ने बेला हो ? कुनै अमुक नेतालाई प्रधानमन्त्री बनाउन दिनरात दौडधुप गर्ने हो या देश र जनता बचाउन पहलकदमी लिने हो ?

मधेसका नेताले सत्ताको ‘पान’ चबाएर मधेसी जनतालाई पिच्च थुक्ने कि इतिहासले एकपटक प्रदान गरेको अवसर सदुपयोग गर्ने ? सरकारको लाज छोप्न आफ्नै ‘धोती’ धितो राखेर जोखिम मोल्ने फ़ेरि मन्त्रीका लागि ओलीको पाउ मोल्ने ? हिजो आफैंले ‘वाइल्ड कार्ड इन्ट्री’ गराएर ओलीको सत्ता कवज बनेकाहरू आज फेरि ओलीकै कोर्टबाट नकआउट हुँदाको तीतो पल राजनीतिमा कलंकको रूपमा रहनेछ ।

चतुर शासकहरू जनताका जायज मुद्दाहरूलाई पनि सम्बोधन नगरी त्यसलाई सत्तासंकटको पहरेदार बनाउन खप्पिस हुन्छन् भन्ने कुरा नागरिकता अध्यादेशले छर्लङ्ग पारेको छ । आफ्नै देशको नागरिकता नपाएर विभिन्न समस्यामा अल्झिइरहेका धेरै नेपालीहरू छन् । तर राष्ट्रिय सरोकारका गहन मुद्दामा एकल निर्णय गर्दा त्यसका दीर्घकालीन असर र आइपर्ने परिस्थितिहरूका बारेमा नसोच्नु नै गम्भीर त्रुटिपूर्ण छ ।

कोभिड १९ को चौतर्फी असर उत्कर्षमा पुगिरहँदा नेपालको राजनीति पनि पतनको चुचुरोमा पुगेको छ । घरमा थुनिएका जनता घरमै र अस्पतालमा थलिएका बिरामी अस्पतालमै निस्सासिएर प्रताडित हुनुपरेको छ । समयको नियति सबैले भोग्नुनैपर्छ तर सरकारले गर्नुपर्ने र गर्नसक्ने काम थाती राखेर अनावश्यक काममा हात हाल्नु खेदजनक छ ।

अबको एक वर्ष कोभिड वर्षका रूपमा लिएर खोप अभियानलाई उच्च प्राथमिकतामा राखेर देशव्यापी अभियान चलाउनुपर्ने बेला कामचलाउ सरकारले आगामी छ महिनामा मध्यावधि निर्वाचन घोषणा गर्नु आफैंमा बदनियतपूर्ण काम हो । कोरोनाको दोस्रो लहरको लगभग अन्ततिर तेस्रो लहरलाई स्वागत गर्ने तरिकाले चुनाव गराउनु देश जनताप्रतिको निर्मम कदम र गलत निर्णय हो ।

खोप र स्वास्थ्य सामग्री अनुदानमा माग्ने अर्थतन्त्रले चुनाव पनि अनुदानमै त गराउने होला नि । हैन भने गाग्रीमा पानी छैन तिहुनमा झोल किन गर्दैछ यो सरकारले ?

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय