scheduleबिहिवार श्रावण १४ गते, २०७८

जसपा संकटः एक बलियो सम्भावनामाथि नाटकीय प्रहार

डम्बर खतिवडा

हामी बारम्बार भन्ने गर्दछौं– विचारले मात्र शक्ति बन्दैन । यो भनाईको अर्को पाटो उत्तिकै जोडदार हुन्छ– ‘शक्तिले मात्र विचारलाई न्याय गर्दैन ।’ हाम्रो राजनीतिमा ‘विचार’ र ‘शक्ति’ बीच विचित्रको विरोधाभाष छ । शक्ति बनाउन खोज्यो, विचार बेपत्ता हुन्छ । विचार रक्षा गर्न खोज्यो शक्ति बेपत्ता हुन्छ । विचार र शक्तिको एकत्व विना बलियो राष्ट्र, गतिशील अर्थतन्त्र, सुसंस्कृत समाज र सुशासित राज्य बनाउन सकिन्न ।

नेपालमा ३ प्रकारका परम्परागत शक्ति रहे । सम्वर्द्धनवादी राजावादीहरू– जो अहिले सर्वाधिक कमजोर छन् । तथापि यो शताब्दिऔं लामो शासकीय सोच हो । साम्यवादीहरू– जसको बारेमा कुनै एक निश्चित ठहरमा पुग्न अब असम्भव हुँदै गएको छ । ओलीदेखि आहुतिसम्म, प्रचण्डदेखि विप्लवसम्म, मोहनविक्रम सिंहदेखि नारायणमान बिजुक्छेसम्म यतिधेरै ‘भेराइटिज’ छ, कुनलाई आधिकारिक मान्ने, कसलाई आधार लिएर विश्लेषण गर्ने, कस्को सिद्धान्त र व्यवहारलाई साम्यवादको मूलधार मान्ने, सधैंको अन्यौल छ । पछिल्लो ३ वर्षको ओली अभ्यासलाई साम्यवादीहरूको प्रतिनिधित्वमुलक केन्द्र मान्ने हो भने त्यसको तस्वीर निक्कै दुर्दान्त हुन्छ ।

आफूलाई ‘प्रजातान्त्रिक समाजवादी’ ठान्ने तर, ‘उदार लोकतान्त्रिक’ अभ्यास गर्ने कांग्रेस छ । कांग्रेस एक स्थिर र सदावहार शक्तिका रुपमा छ । तर, कांग्रेसमा पनि विचार र शक्तिबीच विरोधाभाष छ । कांग्रेसको जुन संगठन र जनमत छ, त्यो शक्ति साँच्चै देश र जनताका लागि कुनै सुनिश्चित सोचमा योजनाबद्ध ढंगले परिचालित भए देश कस्तो हुन्थ्यो होला ? दुर्भाग्य, त्यस्तो कहिल्यै भएन । हुने सम्भावना पनि छैन ।

यो देशमा यी ३ वटै राजनीतिक धार र अभ्यासबाट ‘फ्रस्टेट’ मान्छेको संख्या सानो छैन । मेरो अनुमानमा करिब १५ प्रतिशत जुनकुनै बेला छ । यदि यसले संगठित रुप लिने हो भने २५–३५ प्रतिशत जनमत प्रभावित गर्न सक्दछ । यो धार हाराहारीको शक्ति बन्न सक्दछ । तर, यस्तो ‘वैकल्पिक शक्ति’ चाहनेहरूको दीगो र विश्वसनीय राजनीतिक केन्द्र नै बन्न सकेन । बारम्बार प्रयास भए, अझै भइरहेकै छन्, तर अनुभवहरू त्यतिधेरै सुखद र परिणाममुखी छैनन् ।

यसक्रममा दुईवटा ठूला समस्या देखिएका छन् । पहिलो– ‘ठूलो माछाले सानो माछालाई खान्छ’ भने जस्तो अलिकति आशा पलायो, थोरै बलियो भयो कि त्यसमाथि राज्य र ठुला दलहरूको यति धेरै चौतर्फी प्रहार हुन्छ– त्यसलाई थेग्न/थिग्रिन नै गाह्रो हुन्छ । दोस्रो– त्यही भित्र केही यस्ता विकाउ, अधैर्य, क्यारिअरिष्ट र भडुवाहरू निस्किदिन्छन, जसले उठ्नै नसक्ने गरी बेइज्जत गर्दिन्छन् । यी नयाँ भनेका पनि उस्तै हुन् भन्ने भान पार्दिन्छन् ।

नयाँ शक्ति निर्माणको अवधिमा संयोगवंश काकरभिट्टाको एक कार्यक्रममा डा. देवेन्द्रराज पाण्डेसँग भेट भएको थियो । २०४६ पछिको अवस्थामा ‘लोक दल’ बनाउँदाका अनुभवहरू सोधेको थिएँ । केहीबेरको छोटो कुराकानीमै पाण्डेले निष्कर्षतः भन्नु भएको थियो– ‘त्यो समय उपयुक्त थिएन, भर्खरै लोकतन्त्र आएको थियो, लामो समय संघर्षबाट आएका दलका रुपमा कांग्रेस र कम्युनिष्ट पार्टीप्रति जनतामा मोह थियो । अब सम्भव छ । तर, यो काम सजिलै हुँदैन, केही ‘एक्सपेरिमेन्ट’ बाट गुज्रिनु पर्दछ । मैले पनि एउटा प्रयोग गरेको थिए भनेर सम्झिदा गौरव नै लाग्दछ ।’

Dambar_Khatiwada_Photo
डम्बर खतिवडा

कांग्रेस, कम्युनिष्ट र राजावादी धारभन्दा बाहिरबाट केही शक्तिसहितका दलहरूको उदय नै नभएको चाहिँ हैन । नेपाल सदभावना पार्टी, मधेशी जनाधिकार फोरम, तराई–मधेश लोकतान्त्रिक पार्टी त्यसका उदाहरणहरू थिए । यद्यपि ती दलका आफ्नै प्रकारको चरित्र, सीमा र अवधारणा थिए । ती मूलतः तराई केन्द्रित, मधेशको सवालमा आधारित थिए । राष्ट्रिय राजनीतिमा ती दलहरूको आफ्नै प्रकारको विशिष्ठ स्थान र भूमिका रह्यो । तर, उपत्यका तथा पहाड, हिमालमा त्यतिको वैकल्पिक शक्ति पनि आजसम्म बनेन । देशको सबै क्षेत्र र भागलाई जोडेर, देशकै नेतृत्व गर्ने शक्ति बन्न त्यो अभ्यास पर्याप्त थिएन ।

त्यसो त कपितयले वैकल्पिक विचार र शक्तिको उपदेयतामाथि नै प्रश्नचिन्ह खडा गर्दछन् । किन त्यो बाटो लाग्ने ? किन दुःख र मेहनत खेर फाल्ने? कांग्रेस र कम्युनिष्ट भए पर्याप्त छ त ? यी दलमा जे खराबी छ, हाम्रो सामाजिक चिन्तन र संस्कृतिको कारणले यी भन्दा राम्रो दल बन्न, बनाउन नै सकिँदैन भने ती नयाँ पनि यिनै खराबीसहित कै दल बन्ने हुन ? त्यसो भए, समय, जीवन र स्रोतसाधान नयाँ दलहरू बनाउन किन खेर फाल्ने ?

एक दृष्टिकोणले, बिशेषतः व्यवहारवादी दृष्टिकोणबाट यो तर्क गलत हैन । आजसम्म नयाँ र वैकल्पिक राजनीतिक शक्ति बनाउने जेजति प्रयास भए, मेहनत र लगानी अनुरुपको दीगो शक्ति बनेन । कुनै न कुनै रुपमा पुरानै चरित्र पुनरावृति भयो । यहाँसम्म कि विल्कुल ‘शुद्ध र नयाँ’ हरूको प्रयास विवेकशील–साझामा समेत टुटफुट, अविश्वास, पार्टी प्रवेश गर्ने र छोड्नेको अस्वभाविक उपक्रम र पदीय रडाको देखियो । जसले वैकल्पिक शक्ति नबनोस् भन्ने चाहना राख्नेहरूको मनोविज्ञानलाई नै पुष्ट्याई दिन मद्दत गर्‍यो ।

तर, यति कारणले मात्र वैकल्पिक विचार र शक्ति निर्माणको उपदेयता समाप्त भएको हो भन्ने चाहिँ हैन । कुनै पनि राजनीतिक विचार र आन्दोलनले लामो प्रक्रिया र समयको माग गर्दछ । संसारमा आकस्मिक रुपमा उदाएका भारतको ‘आप’ तथा फ्रान्सको ‘इन मार्के’ जस्ता दलहरू एकदमै थोरै छन् । सन् २०१४ बाट भारतमा भाजपाको उदय भएको मान्ने हो भने सन् १९२७ मा आरएसएस बनेको समयदेखि जोड्दा झण्डै एक शताब्दि हुन्छ ।

नेपालमा वैकल्पिक शक्ति निर्माणको कोर्स कस्तो होला ? यसबारे दुई धारणा प्रारम्भदेखि नै थिए । पहिलो धारणा थियो कि यो आकस्मिकरुपमा छोटो समयमा नै उदित हुन सक्दछ । दशरथ रंगशालमा नयाँ शक्ति पार्टीको तामझामपूर्ण उदघाटन त्यही सोचको प्रतिफल थियो । व्यक्तिगत रुपमा मलाई यो चिन्तनमा कहिल्यै विश्वास लागेन । रणनीतिक चरणहरू मिल्न, मिलाउन सकेको भए, थोरै समयमा अलिक धेरै परिणाम चाहिँ आउँथ्यो होला, तर त्यो पनि हुन सकेन ।

विवेकशील–साझाका साथीहरूमा पनि नेपालजस्तो सानो देशमा सूचना र प्रविधिको युगमा छिट्टै परिणाम आउँछ भन्ने विश्वास थियो । आजको विन्दूमा आइपुग्दा त्यो कोर्स सही सावित हुन सकेको देखिन्न । यसले लामो बाटो नै तय गर्ने बुझिन्छ ।

कुनै पनि समाजमा कुनै राजनीतिक शक्तिको जन्म सामाजिक चरित्रभन्दा बाहिरबाट हुँदैन । नेपालजस्तो देशमा राजनीतिक शक्ति निर्माणमा मुख्य पाटो स्कुलिङ, संगठन र आन्दोलन बन्दै आएको छ । वैकल्पिक शक्ति निर्माणका लागि फरक खालको संगठन बन्न समाजमा कुनै खाली ठाउँ उपलब्ध छैन । टोलटोलसम्म कांग्रेस र कम्युनिष्टमा विभाजित समाज छ । स्कुलिङ र लामो सम्पर्कका कारण मानिस नयाँ कुरा सोच्न चाहिरहेको देखिन्न । नयाँ मान्छे नयाँ पार्टीमा कहाँबाट ल्याउने ? समाजमा कि कांग्रेस छन्, कि कम्युनिष्ट छन्, अलिअलि पूर्वपञ्च र राजावादी परिवार छन्, त्यहाँभन्दा बाहिर समाज नै छैन । यो तितो सत्य हो, तर, स्वीकार गर्नु र सोही अनुरुपको रणनीति बनाउनुको विकल्प पनि छैन ।

अहिले कम्युनिष्ट धार यति धेरै नैतिक, वैचारिक र संगठनात्मक समस्यामा फसेको छ– आश्चर्यको कुरा के छ भने मानिसहरू नयाँ विकल्प सोच्नुको साटो तिनै गुटमध्ये कुनै एउटा गुटको पक्षपोषण गरेर हिंडेका छन् । यो व्यवहारिक जटिलतालाई ध्यान दिँदा मिल्न सकिनेसम्म मिल्न खोज्नु कुनै नराम्रो हैन । ‘एकता नै गलत थियो’ भन्ने सोचले ‘एकता नै गर्नु हुँदैन’ भन्ने ठाउँमा पुर्‍याउँछ, त्यो पनि ठीक सोच हैन । आजसम्म आइपुग्दा वैकल्पिक शक्ति निर्माणको सन्दर्भमा निम्न व्यवहारिक निष्कर्षमा पुग्न सकिन्छ ।

एक– नेपालमा छोटो समयमै र छिटो सत्तामा पुग्ने र देश परिवर्तन गर्ने शक्ति बन्न लगभग असम्भव देखिन्छ । यसको बाटो अरु देशको भन्दा अलिक लामै हुन्छ । केही दशक समय यसले लिने रहेछ ।

दुई– विलकुल नयाँ राम्रा र असल मान्छे, जन्मेलान पार्टीमा आउलान् भन्ने आशा गरेर यस्तो शक्ति बन्ने रहेनछ । वैकल्पिक विचार र राजनीतिलाई न्याय गर्न सक्ने असल र सक्षम मान्छेहरू समाजमा त्यसै, आफैं जन्मिने कुनै ‘चान्स’ छैन, लामो स्कुलिङबाटै त्यो निर्माण गर्नु पर्दछ । विशेषतः नयाँ पुस्ताबाट ।

तीन– ‘पुराना मानिस आउँ तर नेतृत्व कुनै अमुक नयाँ व्यक्तिलाई मान’ भन्ने सोचबाट पनि सम्भव छैन । स्कुलिङ, संगठन र आन्दोलनको आकार विना यहाँ कसैले कसैलाई नेतृत्व मान्दैन । नेपाली समाज एक यस्तो जब्बर समाज हो, जहाँ हरेक राजनीतिकर्मी ‘नेतृत्वको लागि सबैभन्दा योग्य व्यक्ति मै हो’ भन्ने भ्रममा बाँचेको हुन्छ । क्षमताभन्दा उमेर, वरिष्ठता र चर्चालाई मानिसले महत्व दिन्छन् । जसले गर्दा क्षमतावान नयाँ नेताहरूको उदय कुनै पनि धारका पार्टीमा सजिलो छैन ।

चार– संकीर्णता र अधैर्यता अर्को ठूलो समस्या छ । को कहाँ कतिखेर सत्ताको प्रलोभनमा, कुन पद र कति पैसामा बिकीदिने हो, कुनै भर छैन । नबिकेकै हुन सही तर को कतिखेर निरास भएर लत्तो छोडेर हिंड्ने हो, यसै भन्न सकिन्न । यस्ता व्यक्तिहरूको एउटा संख्या समाजमा हुन्छ हुन्छ, तिनीहरूले पुरै पार्टी, मिसन र आन्दोलनको माहोल बिगार्दिन्छन् । काखी बजाउने र खुच्चिङ गर्नेहरूले मौका पाइहाल्छन् । ‘हेरियो तिमीहरुको वैकल्पिक शक्तिको हविगत पनि’ भन्ने मनोविज्ञानको लहर चल्छ । यस्तो प्रचार र मनोविज्ञानले अन्ततः पुरानै शक्तिलाई फाइदा गर्दो रहेछ । यो समस्यालाई सामान्य ठानेर नगुज्रिकन दीगो, भरपर्दो वैकल्पिक शक्ति निर्माण गर्न नसकिने रहेछ ।

पाँच– हिमाल, पहाड, तराई, वा उपत्यकाको फरकफरक क्षेत्रीय प्रयासले मात्र वैकल्पिक राष्ट्रिय शक्ति बन्न नसक्ने रहेछ । सानो क्षेत्रीय शक्ति वा दबाब समूह बन्न सक्दछ, तर हामीलाई चाहिएको कांग्रेस, कम्युनिष्टलाई विस्थापित गर्न सक्ने, देशका सबै भागमा फैलिएको, राष्ट्रकै नेतृत्व लिन सक्ने वैकल्पिक शक्ति हो । त्यसका लागि प्रादेशिक, सामुदायिक, आञ्चलिक तथा क्षेत्रीय भावनाहरूको एकत्व र समष्टिगत नेतृत्व हुनुपर्ने रहेछ । समग्र राष्ट्रिय समुदायहरूको प्रतिनिधित्व र सक्रियता भएको राष्ट्रिय नेतृत्व समूह बिना देशकै नेतृत्व गर्न सक्ने वैकल्पिक राजनीतिक शक्ति बन्न असम्भव छ ।

यी ५ मानकबाट हेर्दा जनता समाजवादी पार्टी निर्माणको ‘मोडालिटी’ ठीकै थियो भन्ने लाग्दछ । विस्तारै यसले समाजको शक्ति–केन्द्रित सोचलाई भत्काउँदै थियो । यो पार्टीप्रति समाज सकारात्मक र नरम हुन थालेको थियो । यो पार्टी कुनै न कुनै दिन सत्तामा आउँछ वा बलियो सत्तासाझेदार हुन्छ भन्ने दृष्टिले राष्ट्रिय अन्तर्राष्ट्रिय शक्तिहरू सन्तुलित व्यवहार गर्न थालेका थिए । पार्टी कार्यकर्ताहरूको समाजिक तथा राजनीतिक पहिचान बढेको थियो । पार्टी एकताको बिगत एक वर्षमा संगठनको पनि तीव्र विकास भइरहेको थियो ।

हो, विचार र एजेण्डाको प्रष्ट स्कुलिङ भइसकेको थिएन । कोरोनाकाल, लामो लकडाउन र एकताको छोटो अबधिले गर्दा वैचारिक कार्यक्रमहरू त्यति धेरै भएनन् । समायोजनको कार्यले राम्रो गति लिएन । तर पनि हिमाल, पहाड, मधेशको राम्रो संयोजन थियो । अब चाहिँ हुन्छ कि क्या हो भन्ने लाग्न थालेको थियो । मानिस आशावादी थिए ।

तर, २०७७ चैत्र ५ गते बिहानदेखि जसपाभित्रको माहौलमा एकाएक नाटकीय परिवर्तन आयो । त्यस अघि ससना लक्षणहरू थिए, तर कमजोर थिए । पुस ५ गतेको कदमलाई सबै शीर्ष नेताहरूले ‘प्रतिगमन’ मानेका थिए । ओलीगमन विरुद्ध पार्टीले देशभरि प्रदर्शन गर्‍यो । कतिपय ठाउँका प्रदर्शन त निक्कै ठूला पनि थिए । पार्टीका कार्यक्रममा जनसहभागिता, सक्रियता उल्लेखनीय रुपमा बढेको थियो ।

त, चैत्र ५ गते बिहान एकाएक प्रयोगात्मक असफलता (एक्पेरिमेन्टल फेलर) को बिन्दू आयो । किन त्यस्तो भयो ? विगत १ वर्षसम्म सबै उत्साहित थिए, सबै ओलीतन्त्र विरुद्धको संघर्षमा एक थिए, सबै वैकल्पिक शक्ति निर्माण हुन्छ भनेर खुशी थिए । एकअर्काप्रतिको सम्मान थियो । राजनीतिक लाइन एउटै थियो । चैत्र ५ गतेको निर्धारित बैठक सबै सदस्यहरू बैठक स्थलमा उपस्थित भएपछि हठात रोकियो ।

त्यही दिनबाट सबै चिज गडबड हुन थाल्यो । राजनीतिक लाइन दुईटा भए । ठाकुर–महतो समुहले आफैंले प्रतिगामी भनेको र चर्को आलोचना गर्दै आएको ओली सरकारसंग सहकार्य गर्ने निर्णय गरे । पार्टी कार्य समितिमा बहुमत नपुग्ने हुँदा बैठक नै बस्न नदिने नीति लिए । बल्लबल्ल जेष्ठ ४ गते दुई अध्यक्षको संयुक्त वक्तव्यबाट जेष्ठ ८ र ९ गतेका लागि बैठकको मिति तोकियो तर त्यो पालना भएन ।

जसपाको एउटा पक्षको भेला र बैठकमा ओलीका विशेष सहयोगी महेश बस्नेत र सञ्जीव झा देखिन थाले । ठाकुर–महतो निमित्त जस्तो भए । बस्नेत–झाले सबै चिज त्यहाँ लिड गर्न थाले । तटस्थताको भ्रम दिन थालियो, भित्रभित्रै कुरा अर्कै थियो । ठाकुर–महतो समूहले वैशाख २७ गते नै ओली सरकारलाई विश्वासको मत दिने थियो, तर माधव नेपाल पक्षको अनुपस्थितिले दिएनन । कतिपयलाई ‘तटस्थता’ को नाटक ठीकै हो कि भन्ने भ्रम थियो । त्यो जेष्ठ ७ गतेको मध्यरातबाट च्यातियो ।

ठाकुर–महतो समूह ओलीलाई साथ दिन सम्पूर्णतः समर्पित भयो । पार्टी फुटाएर भए पनि ओलीलाई साथ दिने मनस्थितिमा उनीहरू पुगे । जो पार्टी एकता, लक्ष्य, उद्देश्य, भावना र कार्यदिशाको ठीक विपरित थियो । ओलीलाई साथ दिन यो पार्टी बनेकै हैन । यो पार्टीको निर्माणको लक्ष्य नै फरक छ । ओलीलाई काँध हाल्न यसको एकता भएकै हैन । फेरि एकाएक साथीहरूमा त्यो नाटकीय परिवर्तन किन आयो ? विगत एक वर्षमा यो पार्टीमा यस्तो सोच वा बहस कहिँकतै थिएन । पार्टीको संस्थागत प्रक्रियाभित्र ओलीलाई साथ दिने कसैले कल्पना नै गर्दैनथ्यो । यदि यस्तो गर्नु थियो त एकता मै किन आउनु थियो ।

कुनै आवेगमा आरोप लगाउन भनिरहेको छैन । जताबाट नापे पनि, जसबाट सूचना लिए पनि, जति धेरै ‘भेरिफाई’ गरे पनि घटनाको चुरो कार्तिक ५ गते मध्यरातको ओली–गोयल भेटमै पुग्यो । दर्जनौं कोणबाट बुझ्दा पनि लहरो त्यही पुग्छ । यहाँसम्म कि स्वयम् ठाकुर–महतो निकटस्थहरू भन्छन् कि यो घटनाबाट वास्तवमा स्वयं ठाकुर–महतोजी पनि खुशी छैनन् । एक सामरिक तथा रणनीतिक घटनाका रुपमा यो सबै खेल भइरहेको छ । केही महिना ओलीलाई साथ दिएजस्तो गर्ने, हुने/मिल्ने सानातिना काम गराउने, प्रकारान्तले ओलीलाई नै ‘पजल’ बनाउने खेलका रुपमा यो सबै भइरहेको छ रे !

राजनीति पनि कहि यस्तो अवसरवादी खेल हो र ? अझ रोचक कुरा त के छ भने– अन्तिम परिणाम अझै आएको छैन भनिदैछ । अन्तिम परिणाम आउन अझै ६ महिनादेखि १ वर्ष लाग्न सक्ने भनिदैछ । त्यो अन्तिम परिणाम भनेको हो ? के गर्न खोजेको हो ? के हुन्छ त्यसपछि ? कसैले खुलाएको छैन ।

यहाँनेर आइपुगेर वैकल्पिक विचार र शक्ति निर्माण अभियानमा एउटा अर्को फ्याक्टरको भूमिकाबारे सोच्नु पर्ने देखिन्छ । नेपाल भित्रभित्रै भारत–चीन र अमेरिकाको त्रिकोणात्मक स्वार्थ संघर्षमा फसिसकेको देश रहेछ । यो कुनै सैद्धान्तिक विश्लेषण र सम्भावनाको कुरा नभएर व्यवहारिक यथार्थ बनिसकेको रहेछ । दोस्रो शीतयुद्ध भनिएको समकालीन विश्व राजनीतिको प्रभावबाट नेपाल भित्रभित्रै जकडिसकेको रहेछ । यो फ्याक्टरलाई ध्यान नदिइकन, यो पक्ष जनतालाई नबुझाईकन, यसका प्रभावलाई सन्तुलन र न्युनिकरण नगरिकन वैकल्पिक शक्तिको निर्माण सम्भव नहुने रहेछ ।

ओलीले ठाकुर–महतोलाई फकाएर विश्वासमा लिन सक्ने कुरा एक इञ्च पनि विश्वास गर्न सकिन्न । त्यसका कारणहरू भिन्नै छन् । रणनीतिक, सामरिक र नाटकीय छन् । स्वयं डिजाइन गर्नेहरू संक्रमणकालीन योजनामा छन् । यो गेमप्लानको अन्त्य कसरी हुन्छ, कसैमा प्रष्टता छैन ।

जसपा कुनै आन्तरिक अविश्वासको कारण असफल भएको हैन । कतिपय मान्छेले भने जस्तो दुई अध्यक्षको इगो वा पार्टी नेताहरूको अहंको शिकार भएको हैन । वास्तविकता भन्दा यो पार्टीभित्र नेतृत्व, विश्वास र कार्यदिशाको कुनै समस्या नै थिएन । विचार र एजेण्डामा कुनै समस्या थिएन । कार्यशैलीको थोरै समस्या थियो । नत्र विगत १ वर्ष यो पार्टी एकमत जस्तो थियो । सबैको सबैप्रति विश्वास र सम्मान थियो । सबैमा उत्साह थियो । आउने निर्वाचनसम्म कांग्रेस, कम्युनिष्टको हाराहारीको एउटा बलिया शक्ति बन्ने सबैमा आत्मविश्वास थियो ।

जनतालाई यो कुरा नढाँटी भन्न जरुरी छ कि जसपा अनाहक भूराजनीतिक जटिलताको शिकार भयो । थाहा छ आज जो मानिस यो काममा प्रयोग भए, उनीहरूको पनि राजनीतिक जीवन राम्रो हुने छैन । इतिहासले उनीहरूलाई कठघरामा उभ्याउने नै छ । तर, दुःखद पक्ष, एउटा बलियो सम्भावनामाथि निर्घात प्रहार भने भयो । यसलाई नयाँ तरिकाले पुनर्गठन गर्नुको अब अर्को कुनै विकल्प छैन ।

हुनतः युरोपका साना देशहरू दोस्रो विश्वयुद्धसम्म यो रोगबाट मुक्त थिएनन् । पछि तिनीहरूले राम्रै प्रगति गरे । सिंगापुर पनि भूराजनीतिको व्यापक जटिलता भएकै देश थियो । तर, पनि प्रगति गर्‍यो । विश्वको शक्ति सन्तुलन र भूराजनीतिक जटितलताका हिसाबले नेपालले आउँदो दशक निक्कै ठूलो संकट झेल्नुपर्ने सम्भावना देखिन्छ । यहीबीच बलियो आन्तरिक एकता र सन्तुलन कायम गर्न सक्ने हो भने सायद हाम्रा लागि नयाँ अवसर पनि आउनेछन् ।

(खतिवडाको नियमित स्तम्भ ‘अग्रपथ‘ हरेक हप्ताको आइतबार प्रकाशन भएकोमा सर्भरसम्बन्धी कामले यो हप्ता मंगलबार प्रकाशन गरिएको छ । अर्को हप्ताबाट आइतबार नै प्रकाशन हुनेछ- सं.)

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय