scheduleबिहिवार श्रावण १४ गते, २०७८

कोरोना संकटः ‘वैज्ञानिक रुढीवाद’ को वर्चश्व

मोहन तिम्सिना

यतिबेला कोरोना महामारी मुलुकभर फैलिएको छ । भाइरसको दोस्रो र तेस्रो प्रजाति सक्रिय रहेको बताइएको छ । जसका कारण पुरै देश लकडाउनमा छ । अस्पतालहरु अस्तव्यस्त छन् । बिरामीहरुको मृत्युको संख्या बढिरहेको छ । जनजीवन निकै कठिन बन्दै गएको छ । ठिक यतिबेला हामी ‘वैज्ञानिक रुढीवाद’ को शिकार भई रहेका छौं ।

वैज्ञानिक रुढीवाद पनि हुन्छ ? के हो वैज्ञानिक रुढीवाद भनेको ? पाठकहरुलाई शुरुमै जिज्ञासा उठ्न सक्छ । जवाफमा भन्न सकिन्छ, हुन्छ । विज्ञानमा आएको परिवर्तनबारे बेखबर हुनु वा विज्ञानका शास्त्रीय मान्यतालाई नै अन्तिम सत्य मान्नु नै ‘वैज्ञानिक रुढीवाद’ हो । कोरोना प्रकरणमा यही भइरहेको छ ।

त्यसो त ‘वैज्ञानिक रुढीवाद’ सबै बिधामा जबरजस्त छ । यस आलेखमा कोरोना प्रकरणमा प्रकट भएको ‘वैज्ञानिक रुढीवाद’ का विविध आयामबारे चर्चा गर्ने प्रयास गरिएको छ ।

संकुचन कि बिस्तार ?
शरीरका साना साना ‘सेल’ वा ‘जिन’ नै जीवनको आधार हुन् भनेर मान्नु, साना साना किटाणुलाई नै मानवीय रोगको सम्पूर्ण जिम्मेवार मान्नु, किटाणु मार्ने औषधि सेवनबाट जीवन स्वस्थ हुन्छ भन्ने मान्नु नै ‘वैज्ञानिक रुढीवाद’ हो ।

मोहन तिम्सिना

कोरोना प्रकरणमा आज एकोहोरो यस्तो प्रचार भइरहेको छ कि कोरोना भाईरस खतरनाक छ । माक्स र सेनिटाइजर लगाएन भने यो सिधै हाम्रो शरीरमा घुस्छ । यसले जो कोहीलाई मृत्युको मुखसम्म पुर्‍याउँछ । रोग पहिचान गर्न पीसीआर टेस्ट अनिवार्य छ । यसबाट बच्न खोप लगाउनु अनिवार्य छ, आदि ।

यस्ता धारणाहरुमा आँशिक सत्यता नभएको होइन । तर यसैलाई सम्पूर्ण सत्य भनेर प्रचार गरिएको छ । जुन सत्य होइन । मानवीय रोगको मुल कारक किटाणु हो भन्ने मान्यता ‘किटाणु सिद्धान्त’ का प्रवर्तक लुई पाश्चर नै मान्दैन थिए । उनले मानवीय रोगका पछाडि सामाजिक र वातावरणीय प्रभाव पनि हुने बताएका थिए । किटाणुले केवल कमजोरलाई मात्र प्रभावित पार्न सक्ने पनि बताएका थिए ।

मानवीय जीवन र रोगका किटाणुहरु अलग–अलग प्रणालीमा विकसित भएका हुन् भन्ने कुरा ‘उद्विकास सिद्धान्त’ का प्रवर्तक चाल्र्स डार्बीन नै मान्दैन थिए । डार्बीनले ‘सबै जीवित प्राणीहरु एउटै ऐतिहासिक धागोमा उनिएका–जेलिएका छन्’, ‘सबै प्राणीहरुको उदगम (पुर्खा) एउटै हुन्’ भनी बताएका थिए । यसको अर्थ, जुनसुकै भाइरस वा ब्याक्टेरिया जस्ता किटाणुहरु जीवनविरोधी होइनन् । तिनीहरु जीवनकै अभिन्न हिस्सा हुन् ।

जीव विज्ञानको आधुनिक धाराले जीवनलाई ‘सेल’ वा ‘जिन’ जस्ता इकाईमा संकुचन गरेर हेर्ने तरिकालाई गलत मान्दछ । साथै, किटाणुको संहारबाट रोग निको हुन्छ भन्ने मान्यतालाई पनि गलत मान्दछ । यसको सट्टा जीवनलाई ‘ब्रम्हाण्डीय सञ्जाल’ को अभिन्न हिस्सा मानिन्छ । मानवीय रोगका लागि शारीरिक, मानसिक, सामाजिक र वातावरणीय कारकलाई बराबर जिम्मेवार मानिन्छ ।

अर्थात्, कुनै किटाणुकै कारणले मात्र मानिसलाई रोग लागेको हुँदैन । यसका पछाडि अरु गैर–शारीरिक कारकले पनि उत्तिकै काम गरेको हुन्छ । त्यसैले आधुनिक जीव विज्ञान भन्छ, कुनै पनि बिरामीको उपचारमा औषधिको भुमिका सहायक मात्र हो, व्यक्तिको आरोग्य क्षमता नै मुल हो ।

व्यवहारिक हिसावले पनि यो कुरो पुष्टी भई रहेको छ । अर्थात, कोरोना भाईरसले सम्पूर्ण मानव जातिलाई असर गरिरहेको भन्ने देखिएको छैन । जतिलाई असर गरेको छ, तीमध्ये ९८ प्रतिशत भन्दा बढी आफैं ठिक भई रहेका छन् ।

जो गम्भीर बिरामी भएका छन्, त्यसमा भाईरस नै मूल जिम्मेवार हो भन्ने आधार छैन । कतिपय केशमा हचुवामा औषधि र खोप प्रयोग गर्दा बिरामीको मृत्यु भएको छ । कतिपयको पुरानो दीर्घरोगका कारण मृत्यु भएको छ । कतिपयको कालगतिले मृत्यु भएको छ ।

यो बाहेक, बिरामीको मानसिक, सामाजिक र वातावरणीय अवस्था पनि रोग र मृत्युको कारक हुन सक्छ । यो तथ्य थाहा पाउन रोगको होइन, बिरामीको बिश्लेषण जरुरी हुन्छ । तर यतिबेला बिरामीको होइन, रोगको बिश्लेषण भइरहेको छ । आधुनिक जीव विज्ञान भन्छ, यो उपचारको उल्टो तरिका हो ।

यो चर्चाको सार के हो भने, कोरोना प्रकरणमा जुन खालको प्रचार भई रहेको छ, यो वैज्ञानिक सोच होइन, ‘वैज्ञानिक रुढीवादी’ सोच हो । पाश्चर र डार्बीनको समयमा विज्ञानमा यान्त्रिक तथा ‘संकुचनमुखी’ (रिडक्सनिस्ट) धारा बलशाली भएकाले उनीहरुको सिद्धान्तलाई ‘यान्त्रिक मोडेल’ मा व्याख्या गरियो । मेडिकल कलेजहरुमा यहि अनुसारको शिक्षा दिईयो । कोरोना प्रकरणमा प्रकट भएको प्रवृत्ति यसैको निरन्तरता मात्र हो । यसमा वैज्ञानिकता छैन ।

युद्ध कि सहजीवन ?
कोरोना प्रकरणको दोस्रो प्रवृत्ति यो हो कि उपचारका वैकल्पिक विधिहरुलाई पुरापुर अस्वीकार गरिएको छ । यस्तो प्रचार गरिएको छ– यो एक युद्ध हो । भाईरसविरुद्धको युद्ध जित्नु छ । यसका लागि अन्तिम हतियार खोप, अक्सिजन सिलिण्डर र भेण्टिलेटर हो ।

सरकार समर्थक वा विरोधीहरु सबै यही माग गरिरहेका छन्– जसरी भए पनि खोप र अक्सिजन सिलिण्डर जुटाउनु पर्यो । ‘समाजसेवी’ बीच अक्सिजन सिलिण्डर जुटाउने प्रतिस्पर्धा नै चलिरहेको छ । अपारदर्शी ढंगले सारा बजेट यसैमा खन्याईएको छ ।

सँगै चीन, भियतनाम लगायतका देशमा परम्परागत औषधि विज्ञानको सहारामा समस्या समाधान गरियो । भारतमा केहि बिशेषज्ञहरुले वैकल्पिक पद्धतिबाट बिरामीहरुको उपचार गरिरहेका छन् । नेपाल मै पनि केही आयुर्वेद विज्ञहरुले आयुर्वेदिक विधिबाट कोरोनाको उपचार गर्न सकिने बताइरहेका छन् । गरिरहेका पनि छन् ।

तर आज यो कुरा सुन्न कोही तयार छैन । यस्तो कुरा गर्नेलाई ‘रुढीवादी’ र ‘अवैज्ञानिक’ संज्ञा दिइन्छ । शास्त्रीय पद्धतिको मेडिकल साइन्स बाहेकका सारा उपायहरुलाई इन्कार गरिएको छ । कहिलेकाही प्रधानमन्त्री ओलीको आयुर्वेद प्रेम त सुन्न पाइन्छ । तर यो ‘प्रहसन’ मा सीमित छ । सरकारको पहलमा कुनै आयुर्वेदीय औषधिको परीक्षण गराइएको छैन ।

निश्चय नै गम्भीर अवस्थाका बिरामीलाई सबै खालका प्राविधिक उपाय लगाएर बचाउने प्रयास गर्नु पर्दछ । तर कोरोना उपचारको नाममा जम्माजम्मी शास्त्रीय मेडिकल साइन्स मात्र अपनाउनु र उपचारका अन्य वैकल्पिक विधि अस्वीकार गर्नु भनेको ‘वैज्ञानिक रुढीवाद’ नै हो । जीव विज्ञानको आधुनिक धाराले यसो गर्न अनुमति दिँदैन ।

आधुनिक जीव विज्ञानले जीवन सम्बन्धी ‘संघर्षवादी दृष्टिकोण’ र ‘निरन्तर विकास’ को डार्बीन मान्यतालाई खण्डन गर्दछ । आज डार्बीनको माथि चर्चा गरिएको ‘सबै जीवित प्राणीहरु एउटै ऐतिहासिक धागोमा उनिएका–जेलिएका छन्’ भन्ने सिद्धान्त मात्र स्वीकार्य छ । ‘संघर्षद्वारा जीवन’ र ‘निरन्तर विकास’द्वारा उद्विकास भन्ने ‘डार्बीनवादी’ र ‘नवडार्बीनवादी’ सिद्धान्त अर्धसत्य सावित भएका छन् ।

जीवशास्त्रीहरु यो ठाउँमा अन्य २ वटा सिद्धान्त जोड्न आवश्यक मान्दछन् । पहिलो, ‘ब्याक्टेरियामार्फत् जिनको वैश्विक विनिमय सिद्धान्त’ (ग्लोबल ट्रेडिङ अफ जिन बाई व्याक्टेरिया) जुन सोरिन सोनिया र मोरिस पानीसेट लगायतले विकास गरेका हुन् । दोस्रो, ‘सहजीवनबाट उद्विकास’ सिद्धान्त (इभोलुसन थ्रु सिमबायोसिस) जुन लिन मार्गुलिसले विकास गरेकी हुन् ।

सोनिया र पानीसेटकोे भनाई अनुसार उद्विकासको प्रारम्भिक प्रक्रियामा ब्याक्टेरियाहरु कुनै अलग–थलग जीव थिएनन् । यिनीहरुको पनि वैश्विक सञ्जाल थियो । उद्विकासको प्रक्रियामा ब्याक्टेरियाहरुले नै वंशाणु गुणलाई वैश्विक सञ्जालमा प्रभावकारी र स्वतन्त्रतापूर्वक सञ्चार गर्ने काम गरेका थिए । निरन्तर चलिरहने यस प्रकारको वंशाणु सञ्चार प्रकृयाले धेरैजसो व्याक्टेरियाहरुको वंशाणु तत्वलाई दैनिक १५ प्रतिशतको दरले परिवर्तन गरिरहेको हुन्छ । यही मान्यतालाई ब्याक्टेरियाको वैश्विक विनिमय सिद्धान्त भनिएको छ । (हेर्नुहोस्, फ्रिटजोफ काप्रा÷पिएर लुजी लुसी, द सिस्टम भिउ अफ लाईफ)

मार्गुलिसले आफ्नो अध्ययनका क्रममा ससानो स्तरमा हुने नयाँ प्रजातीय परिवर्तन पुष्टि हुने खालको तथ्य फेला पारिनन् । बरु, ठूलो स्तरमा छलाङ मार्दै अघि बढ्ने प्रवृत्ति चाहिँ फेला पारिन् । त्यसैले उनी भन्छिन्– उद्विकास भन्ने कुरा धेरैले सोच्ने गरेजस्तो फाटफुट (अनियमित) पनि हुँदैन, यो बिस्तारै घिस्रिँदै सम्पन्न हुने प्रक्रिया पनि होइन, बरु यो त आकस्मिक र नाटकीय (निरपेक्ष) रुपमा हुने प्रक्रिया हो ।

मार्गुलिसका अनुसार, चाहे बोटबिरुवाको जीव कोष होस् अथवा जनावरको, चाहे ढुसीको जीवकोष होस् अथवा मानवको, यी सबै श्रृंखलाबद्ध रुपमा भएका ‘सहजीवनको मिलन’ (सिमबायोटिक मर्जर) को परिणाम हो, जहाँबाट विशाल प्रजातीय फड्को सम्भव हुन पुगेको हो । हरेक जीवित प्रजातिका लागि आफु बाँच्नलाई ‘सहजीवन’ र ‘सहकार्य’ सहितको जीवन अनिवार्य छ । जस्तो कि व्याक्टेरियाले अर्को जीवित प्रजातिसँग समाविष्ट भएर सहजीवनमार्फत् नयाँ पुस्ता फैलाउँछ । मानवले पनि यहि गरिरहेको छ, जसरी प्रकृतिले गरिरहेको छ । (हेर्नुहोस्, विकास बज्राचार्य, आजको विज्ञान)

यो चर्चाको सार के हो भने कोरोना भाइरसलाई दुश्मन मान्ने र उपचारलाई युद्ध मान्ने बुझाई ‘वैज्ञानिक रुढीवाद’ हो । कोरोना भाईरस वैश्विक प्राकृतिक सञ्जालबाट अलग छैन । हामी मनुष्य जाति पनि वैश्विक प्राकृतिक सञ्जालबाट अलग छैनौं । त्यसैले हामीले कुनै किटाणु मारेर विजय प्राप्त गर्ने छैनौं । बरु किटाणु र मानव जातिबीचको प्राकृतिक सहकार्यलाई थप जीवन्त बनाउँदा मात्र दुवैको भलो हुनेछ ।

तर हाम्रा बुजु्रक महानुभावहरु अझै कोरोनाविरुद्धको युद्ध जित्ने कुरा गरिरहेका छन् । विज्ञानका नाममा आफुहरु रुढीवादमा फसेको उनीहरुलाई अत्तोपत्तो छैन । उनीहरुलाई यो पनि पत्तो छैन कि आयुर्वेद, प्राकृतिक चिकित्सा जस्ता वैकल्पिक चिकित्सालाई इन्कार गर्नु पनि ‘वैज्ञानिक रुढीवाद’ नै हो । स्मरण रहोस्– विज्ञानका आधुनिक धाराहरुले स्वास्थ्यसम्बन्धी पूर्वीय ‘आयुर्वेदिक दृष्टिकोण’ लाई हुबहु पछ्याएका छन् ।

कारण र समाधान

कोरोना प्रकरणको तेस्रो प्रवृत्ति भनेको महामारीलाई बिल्कुलै किटाणुजन्य समस्या मान्नु र यसलाई प्राविधिक उपायबाट हल गर्न सकिन्छ भनेर मान्नु हो । यस्तो बुझाई पनि ‘वैज्ञानिक रुढीवाद’ नै हो ।

प्रणाली चिन्तक फ्रिटजोफ काप्रा भन्दछन्– खाद्य उत्पादक बहुराष्ट्रिय कम्पनिहरुद्वारा व्यापक मात्रामा गरिएको वन फडानी, जसले संसारको पर्यावरण खल्बलियो र खल्बलिएको पर्यावरणले जीवनको प्रवाहलाई पनि खल्बल्याई दियो । यसका बहुआयामिक कुप्रभाव मध्येको एउटा, जनावरहरुसँगको ‘सहजीवन’ को प्रक्रियामा बाँचिरहेका भाइरसहरु मानिसमा सरे । मानिसका लागि यि भाइरसहरु ज्यानमारा सावित भए । (हेर्नुहोस, Fritjof Capra – Gaia’s Lessons: A Systemic Analysis of Covid-19, youtube.com)

काप्रा यो पनि भन्दछन् कि यो सबै हुनुमा हाम्रो राजनीति जिम्मेवार छ । विगत तीन सय वर्ष यता भौतिक सुख प्राप्तिलाई लक्ष्य बनाएर सञ्चालित सबैखाले राजनीतिक धाराहरुले नेता र जनता दुवैलाई महत्वाकांक्षी बनाए । ‘असीमित आर्थिक वृद्धि’ को अप्राकृतिक सोचले सम्पूर्ण प्राकृतिक र सामाजिक पर्यावरण ध्वस्त पार्यो । त्यसैको परिणाम आज भुराजनीतिक तनाव, बेरोजगारी, आर्थिक मन्दी, गरिबी, जलवायु परिवर्तन, बाढी–पहिरोदेखि संक्रामक रोगसम्म प्रकट भएका छन् । कोरोना संकट यसैको एउटा हिस्सा हो ।

यसको अर्थ कोरोना संकट किटाणुजन्य समस्या मात्र होइन । जुन अमुक खोप लगाए पछि शान्त होस् । यो त मनुष्य जातिको गलत चिन्तन प्रवृत्तिले पैदा गरेको समस्या हो । यो मुलतः भौतिकवादी सोचको राजनीतिले पैदा गरेको समस्या हो ।

त्यसैले, ठिक छ, खोप त लगाऊँ । तर यो समस्याको दिगो समाधान होइन । दिगो समाधानका लागि त मानव जातिले चिन्तन प्रवृत्ति नै बदल्न जरुरी छ । राजनीति नै बदल्न जरुरी छ ।

तर हाम्रा बुज्रुक महानुभावहरु यहाँनेर पनि ‘वैज्ञानिक रुढीवाद’ को शिकार भएका छन् । ‘उदारवाद कि समाजवाद’ को अर्थहिन लफडा नै ‘वैज्ञानिक रुढीवाद’ को राजनीतिक आयाम हो । हामीले यस खालका शास्त्रीय बहसबाट माथि उठ्दा मात्र कोरोना महामारी लगायतका वैश्विक संकटहरुको समाधान सम्भव हुनेछ ।
७ जेठ २०७८

organicworldview@gmail.com

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय