scheduleबुधवार आषाढ़ २ गते, २०७८

बदलिएको व्यवस्थाका नबदलिएका नेता

दिवस खनिया

अहिले देश महामारीले आक्रान्त बनेको बेला राजनीतिभित्र मानवता खरानी बनाउने खेल भइरहेको छ । जनता दुखेका बेला नेता कुर्सीको परेड खेल्दैछन् ।

पीडाको कोलाजभित्र पद, पैसा र पाखुरी प्रदर्शनका बेमौसमी खेल भइरहेका छन् । दुःख, पीडा, अभाव, गरिबी भाइरलमा अनुवाद भएका छन् । आँखाको आँसु, चाउरिएको निधार, फाटेको मजेत्रो, काटेको घाउ कमेडी निर्माणका हटकेक कथा भएका छन् ।

एउटाको कलेजो रेटिएको दृश्य अर्काका लागि माड र जाँड जोहो गर्ने साधन बनेको छ। हेर्दा सबै छन् तर सबैभित्र एक्लो बाँच्नु नेपाली नियति बनेको छ ।

सीताका संरक्षक राम थिए, अपहरित हुँदा एक्लै थिइन् । द्रौपदीका पाँच पति थिए, निर्वस्त्र हुँदा कोही थिएनन् । राजा दशरथका चार पुत्र थिए, सास जाँदा पुत्रविहीन रहे । रावणको लंका राज्य समृद्ध थियो । सेना बलशाली थिए । सुनैसुनको भण्डार थियो । तर लङ्का खरानी हुन कसैले रोकेन । अभिमन्यू राजखलकका थिए तर चक्रव्यूहबाट छुटाउने कोही भएन ।

हो, नेपालमा तीन करोड जनता छन् । घरैपिच्छे नेता छन् । एकाध किलोमिटरमा प्रदेश छन् । वडा सदस्यदेखि मुलुकको कार्यकारी प्रधानमन्त्रीको हातमा आईफोन, आईप्याड छ । गाडीघोडा छन् । निजी सचिव छन् । प्रेस सल्लाहकार छन् ।

माथिदेखि तलसम्म दिनरात बैठक बसेको बसेकै छ । निर्देशन दिने काम तीब्र भएकै छ । आकाश पाताल जोड्ने योजना छन् । सरकार ढाल्ने र बनाउने पासा मिल्काइएका छन् । महामारीले मरेका जनताको लासको धुँवाले आकाश धर्ती रंगिरहँदा, एकमुठी सासका लागि जनता भड्किरहँदा यहाँ सत्ताको छिनाझम्टी चलिरहेको छ ।

प्रधानमन्त्री हुन पूर्वप्रधानमन्त्रीहरु नै लाइनमा छन् । कुनै योजना छैन, विचार छैन । ठेगानाविनाको चिट्ठीजस्तै लक्ष्यविहीन भागबण्डा छ। फेरि त्यो कुर्सीमा जानुपर्ने औचित्यको पुष्टि छैन ।

 

एकथान कुर्सीका लागि अन्तिम भोज चलिरहेको छ। सबैलाई थाहा छ- नेपालमा ठूलो मानिस बन्नु भनेको मालिक हुनु हो। कुर्सी कर्तव्य नभएर मनोरञ्जन हो। अरु देशका राजनेता कुर्सीमा पुगेपछि दुब्लाउँछन्। यहाँ कोमामा पुगेकालाई कुर्सी थमायो भने चोला फेर्छन्।

चार दशकदेखि एउटै पुस्ताका नेताहरुको राजनीतिक म्युजिकल चियर्समा अबिराम सहभागिता छ। जेलनेल, तोडफोड, हत्या-हिंसा, लुटपाटको सफल नेतृत्व सत्ता सञ्चालकका न्यूनतम योग्यताभित्र पर्छ । उनीहरुलाई चीन, रुस, अमेरिका, क्यूवा, पेरुका राजनीतिक इतिहास कण्ठ छ । मार्क्स, लेनिन, माओका दर्शन घाँटीघाँटीसम्म अक्षरश ज्ञान छ। तर जन्म दिने बाउको धोतीटोपी कुन रङ्गको पत्तो छैन ।

आमाले वर्षौंदेखि भोगिरहेको दमव्यथा र गानोगोलाको हेक्का छैन। छोराको सपना थाहा छैन। नातिपुस्ताको भविष्यसँग दरकार छैन ।

तीनपुस्ताको भविष्यप्रति सचेतता र सजगता नै राजनीतिको पहिलो र अन्तिम गन्तव्य हो भन्ने नर्सरी ज्ञान उनीहरुलाई छैन । नेता भनेको तीन करोड जनताको व्यवस्थापक हो। उसले आफ्नो छोराजस्तै सवै युवालाई शिक्षित र समृद्ध बनाउने बाटो खन्नुपर्छ। नेता नभई राजनेता बन्नुपर्छ। राजनेताले देशको भविष्य हेर्छ, नेता चुनावको भोटमा सीमित हुन्छ।

महात्मा गौतम बुद्धले भन्नु भएजस्तै तीनथरि मानिसलाई कहिल्यै बिर्सनु हुँदैन। पहिलो जसले संकटको बेला साथ दिन्छ। दोस्रो जसले संकटका बेला साथ छोड्छ र तेस्रो जसले तपाईंलाई संकटसम्म पुर्‍याउँछ।

जग रोएका बेला हाँस्नेहरुको भाग्य कस्तो लेखिएको हुन्छ? चरम भोकले तड्पिएर मर्न आँटेकी बालिकाको मृत्यु पर्खिएर बसेको एउटा गिद्धको फोटो सबैले देखेको हुनुपर्छ। यो फोटो यस शताब्दीकै चर्चित फोटोग्राफी हो।

सन् १९९३ मा सुडानमा लिइएको यो तस्वीर उतार्ने फोटो पत्रकार थिए- केविन कार्टर। फोटो सार्वजनिक भएपछि उनी चर्चाको शिखरमा रहे। यही फोटोले उनलाई पुलित्जर पुरस्कार दिलायो। कार्टरले त्यो सम्मानको आनन्द धेरै समय लिन पाएनन्। फोटो खिचेको केही महिनामा ३३ वर्षको उमेरमा उनले आत्महत्या गरे।

दुनियाँभर केविनको ख्याती चलिरहेकै बखत उनलाई फोन गरेर कसैले सोध्यो- ‘फोटो खिचेपछि त्यो बालिका कुन अवस्थामा थिइन् ? ‘ उनले जवाफ फर्काए- ‘खै, थाहा भएन किनकी मेरो फ्लाईट ढिला हुँदै थियो।’

यो जवाफपछि प्रश्नकर्ताले जंगिदै भने- ‘त्यसदिन त्यहाँ दुईवटा गिद्ध थिए। जसमध्ये एउटाको हातमा क्यामेरा थियो।’ फोटो पत्रकार कार्टरलाई यो संवादले यति विचलित बनायो कि अन्त्यमा आत्महत्या रोजे। कामना गरौं- कोभिडको महामारीले नेपालका नेताहरुको अवस्था यही स्थितिमा नपुगोस् ।

बिग्रिएको घडीले पनि दिनको दुईपल्ट एक्युरेट समय बताउँछ। तर बद्लिएको व्यवस्थाका नबद्लिएका नेताहरुले जिन्दगीभर आफ्नो नामबाहेक अरु केही साँचो बताउने भएनन् ।

नेताहरुलाई आफू मालिक भएको भ्रम छ । हुन पनि पदमा आसीन हुनासाथ २/३ सय किलोका माला लिएर कार्यकर्ता आरती उतार्न तयार हुन्छन्। नेपाली जनतामा यस्तो राजनीतिमेनिया छ कि चना चटपटे बेच्नेलाई पनि सिंहदरबारकै स्वाद छ। यस्तो महामारीमा पनि नेताकै नौटंकी बिकेको छ।

पत्रकारको ऊर्जा नेता पछ्याउनमै खर्च भइरहेको छ। घर बन्धकी राखेर खाडीमा बेल्चा चलाउन गएको एउटा श्रमिक युवा थप ऋण खेपेरै भएपनि नेताका नाममा टिकट किनेर पठाउँछ । विमानस्थलमा नेतालाई खादा ओढाउँछ । अन्तिममा नेतासँग कुम जोडेको फोटो फेसबुकमा अपलोड गरेपछि सन्तोषको सास फेर्दै मनमनै मख्ख पर्छ- ‘आफू नेता नभएर के भो, नेता त मैले चलाएको छु।’

अर्कातिर मोबाइल फोनको हरियो थिचे उठ्छ, रातो थिचे काटिन्छ बाहेकको ज्ञान नभएका नेताहरु आईफोनको पारखी भएका छन्। अरु त परै छाडौं एउटा सामान्य म्यासेज पढ्न र पठाउने कला पनि उनीहरुमा देखिँदैन।

हो, देश पनि तिनीहरुका लागि त्यही मोबाइल सेटजस्तै भएको छ। नजान्नेले मोबाइल थिचेर त्यसको प्याड थिलथिलो बनाए झैं नेताहरुको प्रयोगले देशको आकार अमिबाजस्तै बन्न पुगेको छ। नेता कस्तो हुनुपर्छ? जनताको कर्तव्य के हुन्छ? एउटा जापानको प्रसंग ।

स्वामी विवेकानन्द जापान भ्रमणमा थिए। सहर घुम्दाघुम्दै उनले स्याउ किने । स्याउ किनेर फर्किनै लाग्दा एउटा बालक आएर बाटो छेक्दै उभिएर स्वामीसंग भन्छ- ‘त्यो स्याउ मलाई दिनुस्। मसंग धेरै पैसा त छैन तर पनि म तपाईंलाई परेको मूल्य चुकाउँछु।’

स्वामी आश्चर्य पर्दै सोध्छन्- ‘किन बाबु ?’

बालक जवाफमा भन्छ- ‘त्यो साहुले स्याउ बेच्दा केही बिग्रिएको स्याउ पनि हालेको छ। तपाई हाम्रो पाहुना हो। भोलि आफ्नो देश गएर भन्नु हुनेछ- जापानी ठग हुँदा रहेछन्। म यसो हुन दिन्न। यसैले कृपया तपाईसंग रहेको त्यो स्याउ मलाई बेच्न आग्रह गर्दछु।’

बालकको अगाध देशभक्तिबाट ओतप्रोत विवेकानन्दले प्रतिज्ञा गर्दै भने- ‘होइन बाबु म त्यो भन्ने छैन। बरु आफ्नो देशभरि घुमेर भन्नेछु, जापानका साना-साना बच्चामा समेत अगाध देशप्रेम हुँदोरहेछ ।’ हाम्रो राजनीतिले नयाँ पुस्तामा यो सन्देश भर्ने कहिले?

माओ कि बाइडेन? यसो भनेर गाई त्रिशुल खेलाउने हो भने अधिकांश माओवादी कार्यकर्ताहरुको रोजाई बाइडेन पर्नेमा शंका छैन। कार्यकर्ताहरुलाई मार्क्स, लेनिन, ख्रुश्चेभदेखि माओ नामको चालिसासम्म कण्ठ गराएका नेताहरुका लागि युरोप अमेरिका बाहेक अरु मुलुक अछुतजस्तै हुने गरेका छन् ।

नेताहरुले कार्यकर्तालाई जिन्दगीभर उत्तर कोरिया, क्यूबा र चिनियाँ साँस्कृतिक क्रान्तिको पाठ पढाएर जाँचमा भने अमेरिका, जापान, स्वीटजरल्याण्ड र दक्षिण कोरियाको प्रश्न सोध्ने गरेका छन्। संसार कुन गतिमा अघि बढिरहेको छ? अबको बिकास मोडल कस्तो हुनुपर्छ? नेपालको अर्थतन्त्रलाई छिमेकी, क्षेत्रीय हुँदै विश्व अर्थतन्त्रमा कसरी जोड्न सकिन्छ? यस्ता खालका चिन्तन राख्ने राजनीतिक प्राणीको संख्या पुरै शून्य छ।

राजनीति इमान्दारी र नैतिकतामा फल्छ, फुल्छ। नेता पारदर्शी हुन्छ भने हाकिम अपारदर्शी। नेताले समन्वय गर्छ भने हाकिमले तोकादेश गर्छ। यदि नेता हौसिएर हाकिम हुन खोज्यो भने उ त खरानी हुन्छ नै, देश पनि अवन्नतिको पातालमा भासिन्छ।

(खनिया टेलिभिजन कार्यक्रम निर्माता तथा प्रस्तोता साथै सामाजिक अभियन्ता हुन्)

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय