scheduleबुधवार आषाढ़ २ गते, २०७८

दरबार हत्याकाण्डको २० वर्ष पूरा, कस्ता थिए युवराज दिपेन्द्र ?

मनिष शर्मा

आजकै दिन २० वर्ष अघि २०५८ जेठ १९ गते राति तत्कालीन राजा वीरेन्द्रको वंशविनाश हुने गरी नारायणहिटी दरबार हत्याकाण्ड भयो । राजपरिवारकै वंशविनाश हुने गरी भएको उक्त हत्याकाण्ड लाई नेपाली इतिहासकै कालो दिन मानिन्छ ।

त्यो दिन हरेक महिनाको तेस्रो शुक्रबार हुने पारिवारिक पार्टी थियो । त्यसमा उपस्थित मानिसहरू तत्कालीन राजा वीरेन्द्र वीरविक्रम शाह, बडामहारानी ऐश्वर्य राज्यलक्ष्मी देवी शाह, युवराज दिपेन्द्र वीरविक्रम शाह, अधिराजकुमारी श्रृति राज्यलक्ष्मी शाह तथा अधिराजकुमार निराजन शाहलगायत शाही परिवार तथा नातेदार गरी २१ जना सहभागी थिए ।

त्यो कालरात्रिमा १० जनाको हत्या भएको थियो भने केही घाइते भए, नेपालीहरूका लागि सधैं दुर्भाग्यपूर्ण र दु:खद स्मरण भएर उक्त कालरात्रि रहिरहनेछ ।

हत्याकाण्डका केही प्रत्यदर्शीहरूले घटनाका सम्बन्धमा छानबिन गर्न गठित तत्कालीन प्रधानन्यायाधीश केशवप्रसाद उपाध्यायको अध्यक्षतामा गठित उच्चस्तरीय छानबिन समितिलाई बयान दिएका थिए जसको आधारमा युवराज दिपेन्द्रले सनकमा पारिवारिक भतेरमा गोली चलाएर नरसंहार मच्चाएको मानिन्छ ।

युवराज दिपेन्द्रलाई अचेत अवस्थामा नै राजा घोषित गरिएको थियो। राजा घोषित भएको ३ दिनपछि उनको अचेत अवस्थामा नै निधन भयो। दरबार हत्याकाण्डबारे छानबिन गर्न बनेको समितिले युवराज दीपेन्द्रले प्रेमिका देवयानीलाई परिवारजनले स्वीकार नगरेको कारणले गर्दा दिपेन्द्रले नै राजपरिवारको नरसंहार गरेको निष्कर्ष निकाल्यो । तर जनता मान्न तयार भएनन् । र, मानेका पनि छैनन् । आखिर किन ?

मनिष शर्मा

हिमाल खबरपत्रिकामा पत्रकार रुपा जोशी लेख्छिन्, ‘यथार्थ स्वीकार्नु कसरी ? कसरी पत्याउने आफ्नै बाबु मार्न छोराको हात तम्सिन्छ भनेर ? कसरी पत्याउने आफ्नै कोखमा ९ महिना पालेको ज्यानले आफैँलाई नै गोली हान्छ भनेर ? कसरी चित्त बुझाउने एउटा दाईले आफूसँगै स्नेहपूर्वक हुर्केका बहिनी र भाइलाई गोलीको वर्षाले खत्तम पार्छ भनेर ? अनि आफ्नै फुपू, काका र फुपाजू ? कसरी ? किन ?’

दरबार हत्याकाण्ड युवराज दीपेन्द्रकै हातबाट भएको थियो भन्ने आधारहरु तत्कालीन प्रत्यक्षदर्शी शाही नातेदारहरूको बयानबाटै पुष्टि हुन्छ । अर्कोतर्फ दरबारभित्र हुने पारिवारिक कलहको बारेमा थाहा नहुने आम नेपाली जनताले त युवराजले नै हतियार चलाएका हुन् भन्ने पत्याउन मुस्किल नै हुने भयो । दरबार हत्याकाण्डबाट सर्वाधिक पीडित व्यक्ति राजा वीरेन्द्रका छोरी ज्वाइँ कुमार गोरख शमशेर राणाको कुरा पनि कसैले सुनेनन् र मान्न तयार भएनन् ।

नेपाल पाक्षिकसँगको अन्तर्वार्तामा उनले भनेका छन्, ‘कहिले सोच्छु कि युवराजले आफुले जे चाह्यो, त्यो सारा पाएको मानिस, यो केसमा चाहिँ भनेको जस्तो नभएको, त्यसमा बाधाविरोध आएको हुनाले र बाधा भन्ने कुरा सारा जीवनमा कहिल्यै नदेखेको हुनाले उसको सन्तुलन बिग्रेको हुन सक्छ ।’

उनले अगाडि थपेका छन्, ‘देवयानी भन्ने एउटा केटीभन्दा पनि आफ्नो इच्छामा बाधा दिएको झोक हुन सक्छ । देवयानीसङ्ग विवाह योजनामा युवराजका निम्ति प्रेमभन्दा पनि इगो बढी निर्णायक भए जस्तो लाग्छ ।’

त्रिभुवन सदनमा भएको पार्टीमा युवराज दीपेन्द्र, निराजन, पारस, गोरख, राजीवसङ्ग कुरा गर्दैगर्दा ह्विस्कीले भुइँमा ढले । राजा वीरेन्द्र हलमा प्रवेश गर्नुअघि नै दीपेन्द्र ह्विस्कीका कारण ढलिसकेका थिए। ढलेका दीपेन्द्रलाई पारस, निराजन, राजीव र गोरखले झ्याइँकुटी पार्दै उनको कोठामा पुर्‍याएर सुताए ।

कोठामा पुगेपछि दीपेन्द्रले बाथरुममा गएर उल्टी गरे। फर्किएर आएपछि आफ्नि प्रेमिका देवयानीसँग फोनमा कुरा गरे । उनले आर्मीले लगाउने टाटेपाटे कम्ब्याट ड्रेससँगै, खुट्टामा बुट र हातमा पञ्जा लगाए । आफू सुत्ने रुममै रहेको दराजबाट चार थान हतियार झिके र सबै हतियार भिरेर पार्टी हुँदै गरेको स्थान पुगे ।

दीपेन्द्र वीरेन्द्र नजिक पुगे। उनले एमपी फाइभ अटोमेटिक सब मेशिन गनबाट कोठाको सिलिङ मा फायरिङ गरे। त्यसपछि वीरेन्द्रको पेटमा ताकेर मेशिन गनबाट फायर गरे, तीनवटा गोली वीरेन्द्रको पेटमा लागेको थियो। दीपेन्द्रले फेरि वीरेन्द्रलाई गोली हाने। वीरेन्द्र नजिक पुगेका गोरखलाई पनि गोली हाने।

दीपेन्द्रका काका धीरेन्द्रले ‘ए बाबु भयो, पुग्यो तिमीले चाहेको भई सक्यो’ भन्दै बन्दुक समाउन खोज्दा उनैलाई ड्याम्म गोली हानिदिए । दीपेन्द्रले श्रुतिलाई पनि त्यहीँ गोली हाने। दीपेन्द्रले अधिराजकुमारी शारदा, शान्ति, शाहज्यादी जयन्तीलाई पनि गोली ठोके।

दीपेन्द्रले कोमललाई पनि गोली हानेका थिए। राजा वीरेन्द्रले आँखा बन्द गरेपछि कि म यसलाई मार्छु या म मर्छु भन्दै रानी दीपेन्द्रको खोपीतर्फ जाँदै गर्दा उनको पछि पछि दीपेन्द्र र निराजन जाँदै थिए भन्ने प्रत्यक्षदर्शी केतकी चेस्टरको भनाइ छ । रानी ऐश्वर्यले दीपेन्द्रको हातको हतियार खोस्न खोज्दा उनलाई दर्जनौं गोली हानिएको र पछि पछि आउँदै गरेका भाइ निराजनलाई पनि गोली हानिएको बताइएको छ ।

त्यसपछि युवराज दीपेन्द्रले बायाँ हातमा रहेको पेस्तोल आफ्नो कन्चटमा टाँसे र ट्रिगर दबाए र उनी पनि ढले । मुमा बडामहारानीको निर्देशनमा उनको अङ्गरक्षकले नै दीपेन्द्रमाथि गोलि प्रहार गरेको कुरा पनि जनमानसमा रहेको छ ।

उच्चस्तरीय छानबिन समितिलाई दिएको जवाफमा केतकी चेस्टर भन्छिन्, ‘जुन बेलामा बडामहारानी (ऐश्वर्य) सरकार लम्केर बगैंचामा सवारी भयो, त्यसकै एक सेकेन्डमा निराजन चाहिँ दौडीदौडी उहाँको पछि लागेको मैले देखेको थिएँ। मैले त्यो बेलामा बाहिर सवारी भएको देखेँ। लमक लमक बगैंचातिर दुईचोटी मैले भाउजु भाउजु हुन्न भाउजु भनिकन बिन्ति गरें। तर उहाँको मुहारबाट थाहा पा थिएँ कि म बन्दुकै लिन्छु कि म (ऐश्वर्य) मर्छु भन्ने मेरो मनमा लागेको त्यति हो। निराजन चाहीं उहाँको पछिपछि सुरक्षा गर्न गएको भन्ने मलाई लाग्यो ।’

अत्याधुनिक हतियारको साथ युवराज दीपेन्द्र

युवराज दीपेन्द्रलाई ह्विस्कीले लागेको नाटक मात्र गरेको र उनको राजा वीरेन्द्रलाई मात्र मारेर राजा बन्ने योजना गरेको तर धिरेन्द्रले रोक्न खोज्दा रगत उम्लिएर फेरि गोली चलाएर हत्याकाण्ड मच्चाएको केतकीको भनाइ छ ।

दरबार हत्याकाण्डबाट सर्वाधिक पीडित व्यक्ति राजा वीरेन्द्रका छोरी ज्वाइँ कुमार गोरख शमशेर राणाको कुरा पनि कसैले सुनेनन् र मान्न तयार भएनन् । नेपाल पाक्षिकमा विजयकुमारसङ्गको अन्तर्वार्तामा उनले आफ्नो पीडा पोखेका छन् ।

‘जेठ १९ को त्यो भयानक रात मलाई अझै पनि सपनाझैँ लाग्छ । कतिपल्ट सोच्छु, त्यस्तो घटना घटेकै थिएन, त्यस्तो केही भएकै छैन । तर यो पत्याउनै नसक्ने कुरा नै मेरो जीवनको वास्तविकता भएको छ ।’

उनी भन्छन्, ‘मैले कहिल्यै सोचेको थिइनँ- हाम्रो शान्त, सुखी र सानो परिवारमा अचानक यसरी सर्वनाश होला भनेर । त्यस रातले मबाट जे खोसेर लग्यो, मेरो बच्चालाई जुन जीवन बाँच्न बाध्य तुल्यायो, त्यसको तपाईं कल्पना मात्र गर्न सक्नुहुन्छ, कति पीडाजनक र दु:खद छ ।’

युवराज दीपेन्द्रको २९औं जन्मदिनको अवसरमा २०५७ असार १३ गते आफ्नो देवयानीसङ्गको प्रेममा बाधा पार्ने सबैलाई समाप्त पार्छु भन्दा गोरखकी श्रीमति श्रुतिले ‘उफ दा’ भनेकी थिइन् । दीपेन्द्रले उनको गर्दन समातेर घिसार्दै भुइँमा थचारेको र त्यसबेला श्रुतिको गर्भमा पाँच महिनाको बच्चा रहेको उनले स्मरण गरेका छन् । उनले भनेका छन्, ‘त्यस पल मेरो हालत कस्तो भयो होला ।’

श्रुति र गोरख

रिसको झोकमा आफ्नो गर्भवती बहिनीलाई घिसार्दै ज्वाइँ र भाइ-बहिनीका अगाडि लात्ती हान्न सक्ने मानिस दीपेन्द्र थिए । गोली चलाउने बेलामा युवराजको अनुहार भेरी फोकस्ड, र उसलाई हेर्दा लाग्थ्यो कि उसको उद्देश्य के थियो । विजयकुमार पान्डेसङ्ग बोल्दै गर्दा उनको गला अवरुद्ध भएको थियो र त्यसको एकछिनपछि आँसु झरेको थियो उनको आँखाबाट ।

कस्ता थिए युवराज दीपेन्द्र ?
राजदरबारमा तीन दशक बिताएका पूर्व सैनिक सचिव विवेककुमार शाह आफ्नो पुस्तक ‘मैले देखेको दरबार’मा लेख्छन्, ‘युवराज दीपेन्द्रको बाल्यकाल पञ्चायत व्यवस्थाको शिखरसङ्ग जुध्यो, राजारानी राजनीतिक र प्रशासनको काममा व्यस्त हुने गरेकोले युवराज शाहीरनर र नानीहरुको रेखदेखमा हुर्किए । यसले गर्दा आमा बाबुको माया कस्तो हुन्छ भन्ने युवराजले थाहा पाएनन् ।’

युवराजमा परपीडक (Sadist) स्वभाव विकास भएको र शाही अङ्गरक्षक, स्कुले साथीहरुलाई पीडा दिँदा आनन्द महसुस गर्ने बानी र जिद्दी स्वभाव विकास भएको विवेक बताउँछन् ।

युवराजमा परपीडक स्वभाव विकास हुनुमा आफ्ना बुवाआमाबाट प्रेम, हेरचाह नपाउनु नै रहेको उनी बताउँछन् । दरबारमा उडिरहेको परेवालाई गुलेलीले हान्ने र भुइँमा खसिसकेपछि मरेको छ या छैन भनेर अझै दुःख दिएर मार्ने, आकाशमा उडेको कागलाई गोली हान्ने, मुसालाई समातेर पुच्छरमा आगो लगाइदिने र तड्पाई-तड्पाई मार्ने गर्दथे ।

वरिष्ठ पत्रकार देवप्रकाश त्रिपाठीद्वारा लिखित इतिहासका तथ्यमा आधारित उपन्यास महानिशामा युवराज दीपेन्द्रको जन्म पछि ज्योतिषीहरुले जन्मकुण्डलीमा कुलनाशक देखेको र प्रष्ट कुलनाशक लेखिदिएको र राजपरिवारको चाहना अनुसार दीपेन्द्रको जन्मकुण्डली बदलिएको उल्लेख गरेका छन् ।

बर्दियामा सिकार खेल्न जाँदा युवराजले पानीमा खेलिरहेका माछा समातेर ल्याइदिन आग्रह गरेको र पानीबाट बाहिर निकालिएको माछालाई इन्जेक्सन दिएर तड्पाउने; त्यस विभत्स दृश्यमा रमाउने कार्य बर्दियामा बसेसम्म कायम रहेको र त्यस्तो दृश्यमा रमाउने परपीडक (Sadist) बानी विकसित भएको थियो ।

२०५६ सालको हिउँदमा युवराज दीपेन्द्र पोखरामा हुँदा आफ्ना अङ्गरक्षकलाई कपडा जुतासहित फेवातालमा हाम फाल्न लगाएको र त्यसपछि राक्षस हाँसेझैं हाँसेको र करिब तीन मिनेटपछि अङ्गरक्षक ले बाहिर निस्केको तत्पश्चात पनि कपडा बदल्ने आदेश नपाएको अनि लुगलुग काँप्दै दीपेन्द्रको पछि पछि लागिरहेको कुरा पनि उल्लेख गरिएको छ ।

युवराज दीपेन्द्रको चरित्र र व्यवहार असमान्य देखिए पनि सार्वजनिकरूपमा उनी फरक रुपले प्रस्तुत हुन्थे । कीर्तिपुरमा वृक्षारोपण कार्यक्रममा युवराज मुख्य अतिथिका रुपमा सहभागी हुँदा कीर्तिपुरका वडाध्यक्ष तथा नगर सदस्यहरुसँग सामूहिक तस्विर खिच्ने र छलफल गर्ने गरेपछि स्थानीय नेताहरुले युवराजसँगको तस्विर आफ्नो घरमा सजाउन थालेका थिए । यस्ता जनतासङ्ग घुलमिल हुने कारणहरुले युवराज जनतामाझ निकै लोकप्रिय हुँदै गएका थिए ।

दीपेन्द्र-देवयानी प्रेम सम्बन्ध
मैले देखेको दरबारमा विवेक शाहले युवराजको देवयानीसङ्गको प्रेम रानी ऐश्वर्यलाई अस्वीकार भएको प्रसङ्ग ल्याएका छ्न् । रानी ऐश्वर्यले दीपेन्द्रको पहिलो प्रेम सुप्रियामा रानी हुने गुण देखेकी थिइनन् भने देवयानीमा पनि उनको रुचि थिएन । नागरिकता नेपाली भए पनि देवयानी आधा भारतीय थिइन् । पशुपति राणा र भारतीय राजपरिवारकी उषाराजे सिन्धियाकी कान्छी छोरी देवयानीसँग दीपेन्द्रको विवाह गर्दा राजनीतिक र वित्तीयरुपमा दरबारमा देवयानी प्रभावशाली हुने विश्लेषण ऐश्वर्यको थियो ।

उषाकी आमा भारतीय जनता पार्टीमा थिइन् भने दाजु माधवराव सिन्धिया काँग्रेस पार्टीभित्र शक्तिशाली थिए । सिन्धिया परिवार राजनीतिकरुपमा मात्रै प्रभावशाली थिएन, वित्तीय हिसाबमा पनि शक्तिशाली थियो। त्यसमाथि दरबारमा तीन पुस्तादेखि भारतीय राजघरानासँग विवाह गरिएको थिएन ।

देवयानीको लालनपालनदेखि पढाइसम्म भारतमा भएको थियो। सुप्रिया र देवयानीलाई ‘नो’ भनेकी रानी ऐश्वर्य भने गरिमा राणालाई बुहारी बनाउन चाहन्थिन् । एसएलसी टपर गरिमासँग दीपेन्द्रको बिहे गर्नुपर्छ भन्ने लाइनमा आमासँगै छोरी श्रुतिको पनि जोडबल थियो। श्रुतिको विवाह गोरखशम्शेर राणासँग भएको थियो, गोरखका काका लोकभक्त राणाकी छोरी गरिमा श्रुतिकी नन्द थिइन् ।

विभिन्न पत्रिकामा पशुपतिशमशेर राणाकी छोरी पुत्री शुद्ध राणाकी सन्तान नहुनु अर्थात् ‘ए’ श्रेणीकी राणा नहुनु, जुद्ध शमशेरकै सन्तानलाई दरबारमा बुहारीका रुपमा भित्र्याउने इच्छा राजारानीमा हुनु, पशुपतिशमशेर को दुई छोरी मात्र हुनु र आफ्नी अर्की छोरीले पनि दुई छोरी जन्माएको कारण देवयानीलाई दरबारमा भित्र्याउन राजी नभएको कुरा पनि आएको छ । देवयानीसङ्ग विवाह गर्ने हो भने युवराज पद त्याग्नुपर्ने र भाइ निराजनलाई युवराज बनाउने भन्ने रानी ऐश्वर्यको कुराले युवराजमाथि मानसिक तनाव बढेको थियो भन्ने बुझिन्छ ।

दरबार हत्याकाण्ड र यसमाथि भ्रमहरु

भुमिगत युद्धमा होमिएका माओवादी नेता बाबुराम भट्टराई ले ‘नयाँ कोतपर्वलाई मान्यता नदिऔँ’ शीर्षकमा कान्तिपुरमा लेखेको लेख जसले राजा ज्ञानेन्द्रलाई हत्यारा शब्दको प्रयोग नै नगरी हत्याराको आरोप लगायो । त्यस लेखले राजसंस्थालाई निरीह पार्ने र माओवादी द्वन्द्वलाई मलजल दिन मद्दत गर्‍यो। त्यस लेखमार्फत् दरबार हत्याकाण्ड भएको मौका छोपी जनतालाई कायम रहेको व्यवस्थाप्रति आशंका उत्पन्न गराउने प्रचण्ड-बाबुराम डिजाइन सफल भयो। त्यस लेख गाउँ सहरमा पुग्न सफल भयो र त्यस दुःखद घटनाबाट मर्माहत भएका नेपाली जनतालाई ज्ञानेन्द्रले आफ्नो दाजुको परिवार र भाइलाई मारेर गद्दीमा पुगेको भन्ने झुट जनतामा बिजारोपण गरियो ।

२०६३ सालमा कृष्ण अविरलद्वारा लिखित पुस्तक रक्तकुन्ड प्रकाशित भयो जसले सनसनी मच्चायो । दरबार हत्याकाण्डलाई काल्पनिक घटनाको रुपमा देखाएको त्यस उपन्यासले हावादारी र गलत कुरा देखाएर तत्कालीन राजा ज्ञानेन्द्रको जनता माझ छवि बिगार्ने कोशिस गरेको आरोप लाग्यो । केही व्यक्तिले त्यस उपन्यास वास्तविकताबाट धेरै टाढा रहेको र भ्रम फैलाउन मद्दत गरेको भन्दा मैले यो पुस्तक लामो अनुसन्धानबाट लेखेको भनेर लेखकले दावी गरे ।

उनले लेखेका एक लेखमा खुलाएका छन्, ‘संकटकालमा दरबार मातहत सेनाको गुप्तचर इकाइले पटकपटक दिएको दुःखको बदलामा ‘रक्तकुण्ड’ लेखेर तत्कालीन राजा ज्ञानेन्द्रको शाख माटोमा मिलाउने काम गरेको मान्छे हुँ ।’

अविरलले नेपालमा गणतन्त्र ल्याउनको लागि ‘रक्तकुण्ड’मार्फत् जनताको आस्था कमजोर बनाइएको बताए । उपन्यास लेख्नुको मुख्य उद्देश्य बताउँदै अविरलले भनेका छन्, ‘राजतन्त्रप्रतिको विश्वास धुलिसात् बनाएर मुलुकमा गणतन्त्रको बीजारोपण गर्नमा रक्तकुण्डको भूमिका थियो ।’ अविरलको भनाइ बुझ्दा कुनै व्यक्तिसङ्ग बदला लिन समस्त पाठकलाई झुक्काएको प्रष्ट बुझिन्छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय