scheduleसोमवार आश्विन ११ गते, २०७८

आखिर उज्ज्वलमा के थियो त्यस्तो ?

सुदर्शन खतिवडा

युवा राजनीतिकर्मी उज्ज्वल थापा अस्ताए । ४४ वर्षका मात्र थिए उनी । थोरै बाँचे, तर धेरै सम्झना हुने मानिसमा दर्ज भए । संसारमा अर्बौ मान्छे जन्मिन्छन्, मर्छन् । बिरलै मान्छेको जिन्दगीमा यस्तो संयोग हुन्छ । उज्ज्वललाई कोभिड–१९ भएको समाचार सार्वजनिक हुने बित्तिकै उनको स्वास्थ्य सुधारका लागि प्रार्थना गर्ने अभूतपूर्व लहर चलेको थियो । त्यो लहर न कृत्रिम थियो र प्रायोजित ।

तर, कोभिड–१९ को महाव्याधिले उज्ज्वललाई चिनेन । उज्ज्वलसँग जोडिएका सपनाको मूल्य बुझेन । उज्ज्वलका लागि गरिएका प्रार्थनाको महत्व जानेन । अन्ततः उनलाई लगेरै छोड्यो ।

असल मानिसको आयु कम हुन्छ भनिन्छ । दैवलाई पनि स्वर्गमा असल आत्माहरू नै चाहिने हुँदा धर्तीबाट छिट्टै उठाएर लान्छ भनिन्छ । असल मानिसको आत्मामा ‘धर्तीको बोझ’ बन्ने कुनै आकांक्षा हुँदैन । मानिसलाई दुःख दिएर लामो बाँच्ने कुनै महत्वकांक्षा हुँदैन । केवल केही असल भावना र त्यसका लागि निष्काम कर्मयोगमा आधारित प्रयास गर्ने इच्छा मात्र हुन्छन्, भनिन्छ ।

उज्ज्वल थापाका लागि यी भनाई हुबहु लागू भए । उनी कथित ‘मूलधार’ भनिने राजनीतिक प्रवृत्तिका शक्तिशाली पात्र थिएनन् । उनले कसैले बनाई दिएको विरासत थामेका थिएनन् । न उनको खानदान राजनीतिमा चर्चित थियो । न वंश परम्परामा आधारित शक्ति उनीसँग थियो । न पद, न पैसा, न कुनै ठूलो पार्टी, न कुनै ठूला नेताको आर्शिवाद न कुनै शक्तिकेन्द्रको साथ सहयोग र समर्थन उनलाई थियो ।

उनीसँग कुनै भिन्नै ‘ग्ल्यामर’ थिएन । उनी एक साधारण नेपाली थिए । एक साधारण युवा थिए । यही साधारणभित्र उनको असाधारण व्यक्तित्व थियो । उनी धैर्यवान थिए । विनयी थिए । भद्र थिए । थोरै बोल्थे । मिडियामा धेरै आउन रुचाउँदैनथे । थोरै आउँथे । जब आउँथे, कुनै न कुनै नयाँ अभियान लिएर आउँथे । विचार लिएर आउँथे । दृष्टिकोण लिएर आउँथे । आन्दोलन लिएर आउँथे ।

उज्ज्वलको प्रयास र आन्दोलनमा धेरै मानिसको सहभागिता हुँदैनथ्यो । हज्जारौं मानिस भएका जुलुसको अगाडि उनी हिड्न पाएनन् । लाखौं स्रोता भएका आमसभामा उनले सम्बोधन गर्ने अवसर कहिल्यै पाएनन् । दुईपटक उनी चुनाव लडे । दुवैपटक हारे । दुवैपटक प्रमुख प्रतिस्पर्धी पनि भएनन् । यथार्थमा उज्ज्वल समाजको स्थापित मानकमा एक असफल र गुमनाम मानिसजस्ता थिए । उनको पछाडि न कुनै ठूलो संगठन थियो न उनी राज्यको कुनै ठूलो पदमा पुगे ।

तर, पनि उनको निधनले देशभरि अकल्पनीय स्तब्धता छायो । मानिस भावुक भए, भक्कानिए । सायद कोरोना महाव्याधिको तीव्र संक्रमणको अवधि र कडा लकडाउन हुँदैनथ्यो त उनको शव-यात्रामा हजारौं मानिसले भाग लिने थिए ।

पद, प्रतिष्ठा, पैसा र शक्तिको उरुङमाथि बसेका शक्तिशालीहरू उनको लोकप्रियताको लहर सुँघ्न बाध्य भए । पूर्वराजा ज्ञानेन्द्र शाहदेखि, बहालवाला राष्ट्रपति विद्यादेवी भण्डारीसम्म, प्रधानमन्त्री केपी शर्मा ओलीदेखि देशका एक मात्र खर्बपति विनोद चौधरीसम्मले संवेदना ट्वीट गरे ।

आखिर उज्ज्वलमा के थियो त्यस्तो ? किन यति धेरै भावुक भए मानिस उज्ज्वल थापाको निधनमा ? समाजले किन उनलाई एउटा समयको ‘आइकन’ मान्यो, आदर्श मान्यो ? यसको कारण के थियो ? यो पक्ष खोजिन जरुरी छ । बुझ्न जरुरी छ ।

सबैभन्दा महत्वपूर्ण कुरा– उज्ज्वल कसैले बनाइदिएको बनिबनाउँ बाटोमा हिडेका थिएनन् । उनी कुनै मार्गको यात्री थिएनन् । स्वयं मार्गको निर्माता थिए । उनले बनाएको बाटो ठूलो भइसकेको थिएन तर त्यो निस्कन्टक क्षेत्रमा उनको हिडाई पहिलो पदचाप जस्तो थियो । सफलता, असफलताको मोहभन्दा बाहिर उनी असल कर्म गर्न तयार भए, त्यो नै उनको सबैभन्दा ठूलो साहस र पुँजी थियो । उज्ज्वल आफ्नो मार्गको उज्यालो आफैं थिए । उज्ज्वल आफैं प्रकाश थिए । उनले थोरै नै सही अरुलाई प्रकाशलाई दिन थालेका थिए ।

उज्ज्वलको ‘एप्रोच’ पनि फरक थियो । उनी आफैं धेरै चर्चा र प्रोपागाण्डामा आउन चाहेनन् । चाहेको भए सायद उज्ज्वल आफैं काठमाण्डौंको मेयरको चुनाव लड्न सक्थे । तर, उनले रन्जु दर्शनालाई उठाए । चाहेको भए सायद विवेकशील पार्टी अध्यक्ष पद जीवनपर्यन्त ‘होल्ड’ गर्न सक्थे, तर उनले मिलन पाण्डेलाई अगाडि बढाए ।

ठीक यही चिज समाज र राष्ट्रले ठूला, शक्तिशाली र मूलधार भनिएका दल र तिनका नेतासंग खोजिरहेको थियो । उज्ज्वलले यी उदाहरण निर्माण गर्नुअघि नै समाजमा पुस्तान्तरण र नेतृत्व हस्तान्तरणको बहस तीव्र थियो । तर, कसैले यो आँट गरेन । न ओली न प्रचण्ड, न देउवा र उपेन्द्र, न माधव, न महन्थ, न रवीन्द्र यो ‘क्रेडिट’ उज्ज्वल थापा बाहेक आजसम्म अरु कसैको खातामा ‘डिपोजिट’ भएको छैन ।

कमल थापा अझै राजेन्द्र लिङदेनलाई, पशुपति शमशेर अझै धवल शमशेरलाई विश्वास गर्दैनन्, भरखरै ‘ग्रुमिङ’ गर्न थालेको ठान्दछन्, तर उज्ज्वलले रन्जु दर्शना र मिलन पाण्डेलाई विश्वास गरे । आफू अस्ताए तर केही चम्किला सम्भावना जन्माएर गए । उज्ज्वलले गरेको यो काम हेर्दा सानो हो । तर, प्रवृत्तिका दृष्टिकोणले नेपाली समाजका लागि धेरै ठूलो योगदान हो ।

उज्ज्वलको अर्को योगदान वैचारिक सिफ्ट गर्न समाजलाई योगदान गर्नु थियो । कांग्रेस र कम्युनिष्ट, वामपन्थ र दक्षिणपन्थमा विभाजित समाजमा उनले ‘गतिशील मध्यमार्ग’ को कुरा गरे । ‘गुरु–राष्ट्रको अवधारणा’ मार्फत् देशभक्तिको भावनाको नयाँ भाष्य बनाउन खोजे । सुशासन र समृद्धि शब्दलाई जनजिब्रोमा झुन्डाउन उनको पनि सहभागिता रह्यो । ‘वैकल्पिक राजनीति’ को उदियमान संकथनमा उनले आफ्नो प्रष्ट देखिने अध्याय कायम गरे ।

तारन्तार टिभी अन्तर्वार्ता, चर्काचर्की संवाद र कुनै ठूलो ‘कन्ट्रोभर्सी’ वा ‘प्रोपागाण्डा’ मा आएको मानिसलाई मात्र समाजले ‘नोटिस’ गर्छ भन्ने बुझाई उनले जरैदेखि भत्काइ दिए । उनी सधैं ‘लो प्रोफाइल’ मा बसे, कम बोले, विवादित कुरा बोलेनन् । तर, पनि समाजले उनले नोटिस गर्‍यो ।

यति सानो उमेरमा यति धेरै चर्चामा आएर उदाएको राजनीतिक नक्षेत्र सायद मदन भण्डारीपछि उनै हुन् । दासढुंगा दुर्घटनामा निधन हुँदा भण्डारीको उमेर ४२ वर्षको मात्र थियो । उनी भण्डारीभन्दा दुई वर्ष धेरै बाँचे ।

भण्डारीसँग २००६ मै बनेको कम्युनिष्ट पार्टीको लिगेसी थियो । पुष्पलाल, मनमोहन अधिकारी, मोहनविक्रम सिंह, तुल्सीलाल अमात्य, सीपी मैनालीजस्ता दर्जनौं अग्रजरूहरूले बनाएको मैदानमा भण्डारीले आफ्नो जादुमय खेल देखाएका थिए तर उज्ज्वलसँग त्यस्तो कुनै मैदान थिएन ।

राजनीतिमा ठूला कुरा भए तर साना साना कामहरू पनि भएनन् । उज्ज्वलले तिनै साना कामहरू गरे जुन राजनीतिक रुपान्तरणको लागि ठूला गफभन्दा हजारौं गुणा महत्वपूर्ण छन् । उनी आफ्नो प्रतिज्ञामा सतिसालजस्तै दृढ भएर उभिए । लोभ लालच गरेनन् ।

उज्ज्वल आफैंमा एक नक्षेत्र थिए । उज्ज्वल थिए, उज्ज्वल छन्, उज्ज्वल रहिरहेन छन् । उज्ज्वलले कोरेको वैकल्पिक राजनीतिको मार्ग भावी दिनमा अझ फराकिलो हुने निश्चित छ । उज्ज्वलको भौतिक देह छैन अब यो संसारमा तर, उनले बसाल्न खोजेका नयाँ थितिहरूको संकेत सधैका लागि जीवन्त रहनेछ ।

उज्ज्वलले बाँचुञ्जेल पनि नयाँ राजनीतिक सम्भावनाको लागि अथक योगदान दिए । मरेपछि पनि नयाँ राजनीतिक सम्भावनाको क्षितिज नियाल्नेका लागि उत्प्रेरणा बनेर बाँचिरहनेछन् । विकल्प खोज्नेका लागि उज्ज्वल हिजो पनि थिएनन् आज पनि छैनन् । विकल्प बन्नेहरूका लागि उज्ज्वल हिजो पनि थिए आज पनि छन् ।

मृत्युपछि जीवनमूल्य दिने र मूल्यांकन गर्ने यो समाजले अब जिउँदै हुँदा मान्छे चिन्ने चेष्टा गर्छ कि ?

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय