scheduleसोमवार आश्विन ११ गते, २०७८

चुरे दोहन र तराई मरुभूमिकरण

डा. अर्जुन बानियाँ

हिमालय क्षेत्रको दक्षिण तराईबाट उत्तरतिर फर्केर हेर्दा तराईको समथर मैदानपछि देखिने उठेको पहिलो उभार तथा महाभारत क्षेत्रबाट दक्षिणतर्फ ओर्लिंदा समथर तराई आइपुग्नुअघिको अन्तिम पर्वतीय क्षेत्र जुन पूर्व पश्चिममा फैलिएर रहेको छ, त्यसलाई चुरे (चुरिया वा शिवालिक) पर्वत भनिन्छ । यो क्षेत्र पाकिस्तानको इन्दुस नदीदेखि नेपाल हुँदै भारतको ब्रम्हपुत्र नदीसम्म फैलिएको छ । नेपालको कूल क्षेत्रफलको १२.७८ प्रतिशत भू–भाग ओगटेको चुरे क्षेत्र पूर्व ईलामदेखि सुदूरपश्चिममा कन्चनपुरसम्म गरी ३६ जिल्लामा फैलिएको छ ।

यो क्षेत्रलाई तराई र महाभारतको सन्धि क्षेत्र मानिन्छ । भू-गर्भविद्हरुको अध्ययनअनुसार करोडौं वर्ष पहिले हिमालय निर्माणको क्रममा ग्रेगर थुप्रिएर चुरे बनेको हो । यसलाई कान्छो पहाडको रुपमा समेत चित्रित गर्ने गरिन्छ । नेपालको उत्तरबाट बगी आउने हिमनदीहरू महाभारत क्षेत्र हुँदै अन्तिममा चुरेबाट तराईतिर बग्ने गर्छन् । चुरे क्षेत्र कमलो माटो र खुकुलो पत्रय चट्टानबाट बनेको छ ।

चुरे क्षेत्रको भू–बनोट, माटोको प्रकृति साथै जैविक विविधता आदि कारणले गर्दा करीब सात वर्षअघि सरकारले संवेदनशील क्षेत्र मानी राष्ट्रपति चुरे संरक्षण कार्यक्रम घोषणा गरी केहि कार्यहरू अघि बढाएको थियो । पचास वर्ष अघिसम्म घना जंगल भएको चुरे क्षेत्र आजभोलि हरेक वर्ष १.७ प्रतिशतका दरले तीव्र वन विनाशको चपेटामा परेको छ ।

यस क्षेत्रमा जनसंख्या वृध्दि सँगसँगै अव्यवस्थित बसोबास, अत्याधिक ढुंगा, बालुवा, गिटी उत्खनन, अनुपयुक्त र अवैज्ञानिक खेती प्रणाली दिनानुदिन बढिरहेको छ । अतिक्रमण गरेर वन विनाश गरी बसोबास गर्नेले आफ्नो वरपरको बन समेत फडानी गरि खेतीपाती गर्ने र जोखिमता अझ बढाउने गर्दछन् । चुरे क्षेत्रका गाउँपालिकाहरूले ढुङ्गा, बालुवा र गिटी उत्खनन गरी बेच्ने गरेका समाचारहरू दिनहुँ सुनिन थालेका छन् भने हालसालै संघीय सरकारले कुनै भरपर्दो अध्ययन बिनानै बजेट घाटा कम गर्न भनेर ढुङ्गा, बालुवा र गिटी निर्यात गर्ने निर्णय गरेकोले यसले चुरे क्षेत्र अहिले भईरहेको विनाश भन्दा तीव्र गतिमा विनाश बढाउने छ । हालका दिनहरूमा चुरे प्राकृतिक स्रोत दोहनको असर चुरे भावर क्षेत्र र तराईका उर्वर समथर जिल्लाहरूमा देखिन थालेका छन् ।

चुरे क्षेत्र अतिक्रमण नरोकिए यसले तराईको सामाजिक, आर्थिक साथसाथै भौगोलिक बनौट नै संकटमा पार्ने निश्चित छ । जसको परिणाम स्वरुप वर्षाको समयमा भू–क्षय, बाढी, पहिरो जाने, नदी कटान तीव्र रुपमा हुने, जमिन भासिएर बस्ती पुरिने जस्ता समस्याहरू देखिनेछन् । चुरेबाट बगेर आएको ढुङ्गा, बालुवा, गिटीले तराईको समथर खेतीयोग्य उर्वरभूमि मरुभूमिकरण हुने जोखिम प्रवल हुने छ ।

यसका साथै पानीका मुलहरू सुक्दै जाने क्रम बढने छ भने जमिनमुनि पानीको सतह घटदै जाने र भू–सतहको पानी रिचार्ज हुन नपाउँदा यस क्षेत्रको पानीका स्रोतहरुः कुवा, ईनार समेत क्रमशः सुक्दै जानेछन् ।

मानिसको चुरेमाथिको निर्भरता कम गराउनुको साटो कहिले विकास त कहिले व्यापार घाटाको नाममा चुरे क्षेत्रमा गरिँदै आएका दोहनहरू दुर्भाग्यपूर्ण छन् । यसले शीघ्र पर्यावरणमा नकरात्मक असर पार्ने निश्चित छ । चुरेमाथिको दोहनले चुरे विनाश त गर्छ नै । साथै छिट्टै नेपालको अन्न भण्डार भनिने तराईलाई समेत मरुभूमिकरण गराउने छ ।

जैविक विविधता, सामाजिक, भौगोलिक, आर्थिक, प्राक्रितिक र पारस्थितकीय ध्यानमा नराखी राजनैतिक अस्थिरता, प्रशासनिक संयन्त्रमा तरलता आईरहेको वर्तमान कमजोर परिस्थितिमा वातावरणीय तथा पर्यावरणीय अध्ययन अनुसन्धान नगरी ल्याईएको ढुङ्गा, बालुवा, गिटी उत्खनन् गरी निर्यात गर्ने निर्णय चुरे क्षेत्र र तराईको भू–भाग र त्यहाँ बसोबास गर्ने मानव बस्ती हितमा हुने छैन ।

अर्बौको लगानीले समेत चुरे संरक्षणमा प्रतिफल नदिइरहेको वर्तमान अवस्थामा, सरकारी तवरबाट आएका यस्ता गैर जिम्मेवारपूर्ण निर्णयले चुरे क्षेत्रको संरक्षणमा थप चुनौतीपूर्ण बनाउने पक्का छ । हाल भईरहेको चुरे प्राकृतिक स्रोत साधनमाथिको अनुचित र अवैज्ञानिक प्रयोग रोकी पारस्थितकिय सन्तुलन कायम राख्दै तराई/मधेशको उर्वर भूमि जोगाउनु आजको तड्कारो आवश्यकता हो ।

(बानियाँले जापानको साइतामा विश्वविद्यालयबाट जियो -इन्भाइरोमेएन्ट विषयमा विद्यावारिधी गरेका हुन्)

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय