scheduleबुधवार आषाढ़ २ गते, २०७८

विश्वभर ५९ ल्याबमा कोरोना जस्तै खतरनाक भाइरसको अनुसन्धान भइरहेको खुलासा

एजेन्सी, २२ जेष्ठ । अमेरिकासहित पश्चिमी मुलुकले चीनको वुहानस्थित एक प्रयोगशाला (ल्याब) बाट कोरोना भाइरस चुहिएर विश्वभर फैलिएको हुन सक्ने दाबी गर्दै आएका छन् । अमेरिकी राष्ट्रपति जो बाइडेनले गुप्तचर निकायलाई यससम्बन्धमा ३ महिनाभित्र अनुसन्धान गरी प्रतिवेदन तयार गर्न निर्देशन दिइसकेका छन् ।

केही वैज्ञानिकले विश्वभर भाइरसबारे अनुसन्धान हुने बताउँछन् । भाइरसबारे अनुसन्धान हुने ल्याबमा दुर्घटना हुन सक्ने संभावना पनि उत्तिकै हुन्छ । कुनै भाइरस चुहिएर महामारीको रुप लिन पुग्छन् ।

यसैबीच बेलायतको चर्चित पत्रिका द फाइनान्शियल टाइम्सले शुक्रबार एउटा समाचार प्रकाशित गरेको छ । उक्त समाचारमा विश्वभर कम्तिमा ५९ वटा ल्याबमा (यसमध्ये केही प्रयोगशाला निर्माण हुने क्रममा रहेका) खतरनाक जैविक अनुसन्धान भइरहेको उल्लेख छ ।

समाचार अनुसार खतरनाक जैविक अनुसन्धानका लागि सञ्चालन भइरहेका वा निर्माणाधीन ५९ ल्याब विश्वका २३ मुलुकमा रहेका छन् । चीनको वुहानस्थित प्रयोगशाला एउटा यस्तै प्रकृतिको ल्याब हो ।

हाल बेलायत, अमेरिका, चीन, भारत, गेबोन र आइभरी कोस्ट जस्ता २३ मुलुकका ल्याबमा खतरनाक जैविक अनुसन्धान भइरहेको छ ।

जर्ज मेसोन युनिभर्सिटीका जैविक प्रतिरक्षा (biodefence) का प्राध्यापक ग्रेगरी कोबलेन्त्ज र लण्डनस्थित किङ्स कलेजका प्राध्यापक फिलिपा लेंतोजले जैविक अनुसन्धान भइरहेका ल्याबबारे अध्ययन गरेका थिए । हाल ४२ वटा प्रयोगशालाबारे विवरण हासिल भएको र यसमध्ये ५० प्रतिशत प्रयोगशाला पछिल्लो १० वर्षमा निर्माण गरिएको कोबलेन्त्ज र लेंतोजको भनाइ छ ।

‘यस प्रकारका काम जति धेरै हुन्छन्, त्यति नै धेरै दुर्घटना हुने खतरा हुन्छ’, लेंतोजले भनिन् । त्यस्तै अमेरिकाका रुटगर्स युनिभर्सिटीमा केमिकल बायोलोजीका प्राध्यापक रिचर्ड एब्राइटले फाइनान्शियल टाइम्ससँग कुरा गर्दै भने- ‘धेरै ल्याब भएपछि मानिसहरु खतरनाक जीवाणुको सम्पर्कमा आउने संभावना पनि धेरै हुन्छ र खतरा पनि सोही मात्रामा बढ्छ ।’

कोबलेन्तज र लेंतोजका अनुसार ५९ ल्याबमध्ये एक चौथाइमा मात्रै उच्चस्तरीय बायोसेक्युरिटीसम्बन्धी व्यवस्था छ । त्यस्तै एक तिहाइमा यस्तो व्यवस्था मध्यम खालको र ४१ प्रतिशतमा निम्नस्तरको रहेको छ ।

केही समयअघि अमेरिकी पत्रिका न्युयोर्क म्यागाजिनमा प्रकाशित लामो लेखमा वुहान ल्याबबाट चुहिएर विश्वभर कोरोना भाइरस फैलिएको हुन सक्ने संभावना रहेको उल्लेख गरिएको थियो । यस्तो घटना अन्य प्रयोगशालामा समेत घटेको पनि लेखमा दाबी गरिएको थियो ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय