scheduleबुधवार आषाढ़ २ गते, २०७८

सत्ताको स्वार्थ, अध्यादेशको इरेजर

क्यान्सरजस्तो प्राणघातक रोगलाई देशकै कार्यकारीको नामसँग जोडेर हेर्नु गलत हो तर यहाँ मानसिक अवस्था र मनोदशाको कोणबाट अर्थ्याउन खोजिएको छ । प्रधानमन्त्री खड्गप्रसाद ओली शारीरिक रूपमा हेर्दा मृगौलाका बिमारी त हुन् नै, अझ सत्ता, राजनीति र महत्वाकांक्षाका छिद्राहरूबाट हेर्दा उनी त्यस्ता ठूलै ‘मानसिक रोगी’ हुन् जसको उपचार ‘नेपालमा सम्भव’ छैन ।

यो रोगको नेपालमा किन उपचार छैन भनेर भन्दा उपचारमा प्रयोग हुने सबै ‘उपकरणहरू’ नेपालमै उपलब्ध छन्, बन्छन् पनि तर त्यसलाई’ प्रयोग गर्ने ‘दक्ष जनशक्ति’ दोस्रो देशबाट आयात गर्नुपर्छ । यसको अर्थ यही हो कि ओलीलाई कुर्सीको क्यान्सर छ । जसको उपचार सत्ताको डबलडोजले मात्र सम्भव छ । सत्ताको डबलडोज भनेको ओलीका निम्ति ‘अनन्त शासन’ हो । त्यसका लागि बाह्य शक्तिको आशिर्वाद निरन्तर आवश्यक पर्दछ जो क्षीण सम्भावनाहरूका बीच अडिएको छ ।

लोकतन्त्रका निम्ति अतुल्य योगदान दिएको एक राजनीतिज्ञमाथि यति सजिलै सत्तालिप्साको आरोप लगाउन मिल्छ ? सकिन्छ ? जसले कर्म गर्छ उसले फल अवश्य पाउँछ । यसमा शंका छैन । तर प्रश्न यहाँ छ कि देशका लागि कर्म गरेको हुँ भनेर हुँकार गर्दै हिँड्ने फेरि फल आफ्नै पोल्टामा मात्र किन ? कि प्रधानमन्त्री ओलीलाई चौध वर्ष जेल सजाय भोगेका कारण चौधै वर्ष शासनभोग गर्न दिइनुपर्ने हो र ?

अभि गाउँले

नेपालको संविधानले त त्यतातिर कल्पना गरेको छैन होला । प्रधानमन्त्रीलाई हेरेपछि संविधान हेर्नै नपर्ने हो तर संविधानलाई हेरेपछि प्रधानमन्त्रीलाई त मरिकाट्टे हेर्नै नसकिने के अचम्म भाको हो !

देशको प्रधानमन्त्री स्वयं संविधानको पालक हुनुको नाताले त्यो स्वत: झल्किनुपर्ने ठाउँमा आकाशको घाम भन्दा तलाउमा बनेको घामको आकृति तेजस्वी हुन्छ र ?

प्रधानमन्त्री ओली अहिले स्वदेशी ऊर्जाबाट सञ्चालित हैनन् बरू विदेशी शक्तिहरूको रिमोटबाट परिचालित हुन् भन्न यथेष्ट प्रमाण दिइरहन आवश्यक छैन । यो कसरी प्रमाणित गर्न सकिन्छ भने ओलीलाई सत्तामा टिकाइराख्ने राजनीतिक, नैतिक, संवैधानिक र कानुनी सबै धरातलहरू भासिँदा पनि फेरि ओली नै किन ‘सुपरपावर’ ?

जहाँसम्म लाग्छ अहिलेको ज्वलन्त राजनीतिक बहस र समस्या यही प्रश्नको उत्तरको खोजीमा केन्द्रित छ । भेटिन्छ वा भेटिँदैन त्यो फरक पाटो हो जुन कुरा अझै केही समय पर्खनुपर्छ । तर आफ्नो देशको सरकार आफ्नै देशको राजनीतिक प्रणालीमा चल्दैन, देश र जनताको आवश्यकतालाई नजरअन्दाज गर्छ भने हामीले त्यसैको विरूद्धमा सशक्त आवाज उठाउनुपर्छ, प्रतिरोध गर्नैपर्छ ।

प्रधानमन्त्री ओली ‘विश्वको उत्कृष्ट संविधान ०७२’को मलामी जान तयार भएकै हुन् त ? ‘जन्ती पनि गइयो, चौरासी व्यन्जन पनि चाखियो अब मलामी पनि गइन्छ, एक छाक छोडिन्छ’ भन्ने ‘टुहुरो’ मानसिकताले काम गरेको हो ?

हिजो संविधान घोषणा गर्नुलाई पनि कुर्सीको अस्तित्वसँग जोड्ने आज त्यही संविधानलाई मासेर ‘अनन्त सत्ताको खेल’ खेल्ने संयोग मात्रै हो कि सौदाबाजी हो ? देशको संविधान मिच्न र थिच्न नभई विधिको शासनलाई जीवन्त दिन बनाइन्छ । संविधान पद र प्रतिष्ठा जोगाउन हैन लोकतन्त्रमा जनताको सर्वोपरी हितको लागि कार्यान्वयन गरिन्छ । संविधान शासक बलियो बनाउन हैन शासनप्रणालीलाई चुस्त दुरूस्त राख्न समुचित प्रयोग हुनुपर्छ ।

संविधान सत्तालाई बचाउन संशोधन गरिन्न तर देश र जनतालाई सन्तुलनमा राख्न र अधिकारशाली बनाउन संसोधित हुन्छ । तर ओलीले सत्तास्वार्थलाई इरेजर बनाएर संविधानका धाराहरू केरकार गरेका छन्, जो व्यवस्थाको विरूद्धमा खडा भएको छ ।

देश एक हिसाबले आवधिक निर्वाचनमा गैसकेको छ । निर्वाचन हुन्छ वा ओलीको सत्ता पल्टिन्छ त्यो अदालतको हातमा छ यद्यपि निर्णय जे आउला त्यसको बारेमा जनमत बन्ला नै । यो संकटको बेला निर्वाचन सिंहदरबारलाई चाहिएको छ, ओलीलाई चाहिएको छ तर जनतालाई अहिले नै चुनाव चाहिएको छैन । समयको माग र सान्दर्भिकता पनि यसमा देखिन्न ।

आँखै अगाडि विश्वासको मतको तिलान्जली दिएका ओलीमा चुनावी जीतको अहंकार भने पक्कै पलाएको आभास हुन्छ । किनकि अबको चुनावले स्वयं केपी ओलीको सरकारलाई निरन्तरता दिने ठोकुवा यदाकदा सुन्न पाइन्छ । उत्तर कोरियाका तानाशाह किम जोङले पनि पाँच वर्षमा आवधिक चुनाव गरेकै हुन्छन्, तर जीत उनकै हुनुपर्छ, सत्ता उनकै पेवा हुन्छ ।

झट्ट हेर्दा त्यो निर्वाचनलाई लोकतन्त्रको सुन्दर पक्ष मानिन्छ तर एउटा तानाशाहले लोकतन्त्रमाथि कतिसम्म मजाक गर्नसक्छ भन्ने उदाहरण बुझ्न सकिन्छ । के ओली पनि किम जोनकै तानाशाही पथमा लम्किरहेका हुन् त ? अरूका काँधमा बसेर तुजुक देखाउने, अरूकै काँध भिजाउने, अरूलाई नै रिझाउने तर देश र नागरिकलाई चाहिँ बिझाउने ?

ओली ‘ओलीप्रवृत्ति’का लागि आदर्श हुन् । बा हुन् । शिखर पुरूष हुन् । मानौँ ओली पार्टीका निम्ति ‘धर्मशास्त्र’ सरह हुन् । कसलाई डाम्ने कसलाई छाम्ने अनि को च्याप्ने र को फ्याँक्ने सबै कुराको अधिकार ओलीमै निहित । ओली कतिसम्म दूरदर्शिता बोकेका नेता हुन् भन्ने कुरा चार/पाँच जना हनुमन्तेहरूलाई बाहेक कसैलाई थाहा छैन ।

ओलीलाई पनि भक्तहरूले सधैं गुलाम गरेकोमा मन प्रफुल्ल हुन्छ, रमाउँछ । कहिलेकाहीँ त यस्तो पनि लाग्न थालेको छ कि प्रधानमन्त्री ओलीले राजनीतिमा दासप्रथाको चलन चलाउँदै आफ्नो सत्ताको भोक मेट्ने गरेका छन् । देशको ढुकुटीबाट झिकेर दुईचार कौडी बाँडेर कुरूवाहरू पाल्ने प्रधानमन्त्रीलाई जनता पाल्न के सरोकार ।

देशको प्रधानमन्त्रीले आफू बलियो हुनका लागि जनताका ‘जेन्युइन मुद्दा’ बोकेका राजनीतिका दल र नेतालाई छानीछानी सत्ताको बली बनाउने दुष्कर्मको जति निन्दा गरे पनि अपुग हुन्छ । सकिन्छ भने सिङ्गो पार्टीलाई आफ्नो कित्तामा समाहित गराउन सक्नुपर्छ सकिँदैन भने कमजोर भागमा सत्ताको तीर चलाउने अपराध गर्नु अनुचित लाभका निम्ति गरिने कुकृत्य हो । अहिले जनता समाजवादी पार्टी अस्तित्वको संकटमा उभिएको छ । विषयगत बाटोबाट हेर्दा एकै दलभित्र सत्तामा जाने र नजाने दुवै पक्षको अधिकारको कुरा हुन्छ होला तर राजनीतिक दलले आफ्नो अधिकार पद र कुर्सीमा देख्छ तर जनताका अधिकार देशको शासन प्रणालीमा लुकेको हुन्छ ।

कुनैबेला बालुवाटारले दल विभाजनको ‘चट्याङ’ हान्दा हस्याङफस्याङ गर्दै एउटै गुफामा जम्मा भएर कार्यगत एकता गरेका मधेशवादी दलहरू अहिले जुन ‘गुफा’ ले ओत र सुरक्षा दुवै दियो त्यही गुफा भत्काएर तितरबितर हुनु सैद्धान्तिक विचलन र पदलोलुपता नभए अरू के हुन्छ ? आज सत्ता र शक्तिमा हुँदा अरूलाई फुटाउने र टुटाउनेले अप्रत्यक्ष रूपमा जनताका मुद्दालाई कमजोर पारेका हुन् ।

के तराईबासी नेपालीका समान समस्या र आवश्यकता हैनन् र ? विभेद र अन्यायमा पनि असमानता छ ? मानौँ महन्थहरूले एउटा र उपेन्द्रहरूले अर्को समूहका जनताको प्रतिनिधित्व गरेका छन् । मधेशका ८/१० जना नेता मन्त्री हुँदैमा तराईको सामाजिक, आर्थिक, सांस्कृतिक र राजनीतिक लगायत थुप्रै समस्याहरूको हल हुन सक्छ ?

अब राजनीतिमा वैचारिक विविधता हुनु र फरक मत राख्नु गुट र झुण्डको स्वरूपमा लिन थालिएको छ । दलभित्र आउने अनेक विचार र धारणाहरूलाई पार्टीको विधिविधान र नीति नियमको कसिमा राखेर निचोड निकाल्नुपर्छ । सबै खाले मतहरूलाई अल्पमतमा नपर्नेगरि यथोचित सम्बोधन गरेर नेतृत्वले ठोस निर्णय लिन जान्नुपर्छ ।

अहिलेको परिप्रेक्ष्यमा नेपालका राजनीतिक दलभित्रको आन्तरिक कलह ‘राजनीतिक महामारी’कै रूपमा विस्तार भएको छ । एउटा दलमा फुटको सम्भावनाले अर्को बलियो दल सहजै संक्रमित हुने यो डरलाग्दो राजनीतिको रोगको निदान समयमै हुन नसके निकट भविष्यमै नेपालमा बहुदलीय प्रजातन्त्र विलुप्त हुने प्रवल सम्भावना छँदैछ ।

निश्चित समयका लागि सत्तालाई राजनीतिको मेरूदण्डकै रूपमा लिइन्छ भलै समयक्रममा यसको आकार र प्रकारमा फेरबदल आइरहन्छ । तर विडम्बना के छ भने सत्ता नै मेरूदण्ड खुस्किएर बिजोग अवस्थामा पुगेको छ । राजनीति कहिलेकाहीँ भौतिक र बौद्धिक द्वन्द्वको मारमा पर्दोरहेछ जहाँ जसको शक्ति उसकै भक्ति गर्ने वातावरण बन्दोरहेछ । बलिदानीबाट प्राप्त जनताको शासनकालको उमेर हज्जारौं वर्ष लामो हुन्छ तर गलत शासकले आफ्नो उमेर आफैं दोहन गर्छ ।

प्रधानमन्त्री ओलीप्रति सधैं असहिष्णु र अनुदार बनिरहन यहाँ कसैलाई पनि रहर छैन । प्रधानमन्त्रीजीलाई के हेक्का हुनुपर्‍यो भने एउटा गलत कामले हजार असल कर्महरूलाई ढाकछोप गरिदिन्छ ।

समाज यही मानसिकतामा अघि बढेको छ र तपाईं स्वयं त्यही समाजको प्रतिनिधिपात्र हो । आलोचना पचाउन नसक्नु नै तपाईंभित्रको कमजोरी हो, अहंकार हो । जहिलेसम्म तपाईंमा अहमताले बास गर्छ तहिलेसम्म यो देशले उच्च शीर बनाउन सक्दैन किनभने तपाईंसँग विदेशीहरू सत्ताको कोसेली लिएर आउँछन्, अनेक प्रलोभका बाकसहरू बोकेर आउँछन् । सामन्त गोयल जस्ता लोकतन्त्रका लागि ‘यमदूत’ बनेर आइदिन्छन् र आफ्नै ढाडमा घन बजार्न बाध्य पारिदिन्छन् ।

तपाईंलाई अन्तिम बिन्ती छ, तपाईंको भौतिक शरीर यस पृथ्वीमा हुँदै तपाईंका काम र देशप्रतिको योगदानको मुक्तकण्ठले प्रशंसा गर्न पाइयोस्, यहाँ मरेपछि त शत्रुले पनि आँसु बगाउँछन्, बिलौना गर्दछन् । यो कोरोनाको महासंकटमा जनतालाई प्रसन्न पार्ने काम गर्नोस् जसले तपाईंको आयुमा आयु थपून् । सायद कोरोना महामारीको नै तपाईं र हाम्रो अन्तिम संकट सावित होओस् । जाँदाजाँदै, युगौँयुगसम्म नेपाल र नेपालीले सम्झिरहने असल नायक बन्नका लागि प्रधानमन्त्री ओलीलाई सद्बुद्धी प्राप्त होस्, दिव्यता प्राप्त होस्, शुभकामना छ अशुभ नहोस्, नगिरियोस्, अझै स्खलित र पतित नहुनोस् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय