scheduleबुधवार आषाढ़ २ गते, २०७८

फोहोरमा फेला परेका भाग्यमानी बालक, यस्तो छ सफलताको कथा

एजेन्सी, २३ जेष्ठ । समयले साथ दियो, प्रेरणा मिल्यो र आफूसँग उत्साह छ भने सफल हुनबाट केही कुराले पनि रोक्न सक्दैन । यसको एउटा उदाहरण हुन्, फ्रेडी फिगर्स । फ्रेडी अमेरिकका सफल कम्प्युटर प्रोग्रामर, आविष्कारक र व्यवसायी हुन् । उनी फिगर्स कम्युनिकेशनका संस्थापक समेत हुन् ।

तर फ्रेडीको कथा भने सुन्दा अनौठो लाग्छ । हाल कोरल गेट्समा बस्दै आएका उनको जन्म भने फ्लोरिडाको क्विन्सीमा १९८९ सेप्टेम्बरमा भएको हो । उनलाई जन्मिनेबित्तिकै आमाले समुन्द्री किनारामा बेवारिसे अवस्थामा छोडेकी थिइन । त्यसपछि उनलाई नाथान फिगर्स र बेट्टी माईले आफ्नै सन्तानको रुपमा अपनाएका थिए ।

फ्रेडीले अल्जाइमरबाट पीडित आफ्ना पितालाई बचाउनका लागि दोहोरो सञ्चार गर्न सकिने जिपिएस ट्र्याकरसहितको जुत्ता आविष्कार गरेका थिए । उनले १५ वर्षमा नै क्लाउड कम्प्युटिङ सेवा सुरु गरे भने लत्तगै अर्को वर्ष फिगर्स कम्युनिकेशन सुरु गरे । २४ वर्षको हुँदा उनले ८० वटा सफ्टवेयर प्रोग्राम निर्माण, डिजाइन र कार्वान्वयन गरेका थिए ।

नाथान (बायाँ) र बेटीसँग फ्रेडी (दायाँ)

फ्रेडीसँग चारवटा सर्वाधिकार (patent rights) छन् । जसमा फिगर्स एफ-१ को प्याटेन्ट समेत पर्छ । उनी फ्लोरिडामा युवा कार्यक्रमको प्रायोजन गर्ने, जेष्ठ नागरिकलाई आर्थिक सहयोग गर्ने जस्ता विभिन्न सामाजिक सेवामा संलग्न हुँदै आएका छन् ।

फ्रेडीले ९ वर्षको हुँदा पहिलो पटक कम्प्युटर पाएका थिए । उक्त कम्प्युटर पुरानो थियो, चल्दैनथ्यो । तर त्यही कम्प्युटरको कारण उनीभित्र प्रविधिप्रतिको मोह बढ्दै गयो । तर उक्त मोहकाका रण उनी भविष्यमा एक सफल आविष्कारक, उद्यमी र टेलिकमका अर्वपति हुनेछन् भनेर सायदै कसैले पनि कल्पना गरेका थिएनन् ।

हाल ३१ वर्षका फ्रेडीले अरुलाई एउटा सल्लाह दिन चाहन्छन्- ‘तपाईं को हो भनेर परिस्थितिलाई परिभाषित गर्न नदिनुहोस् ।’

आठ वर्षको हुँदा उनले पिता नाथानलाई आफ्नो जन्मबारे सोधेका थिए । तर पिताले दिएको उत्तर उनका लागि अविस्मरणीय बन्न पुग्यो ।

‘फ्रेड, म तिमीलाई सिधै भन्न चाहन्छु- जन्म दिने आमाले तिमीलाई पाउनेबित्तिकै छोडेकी थिइन्’, नाथानले त्यतिबेला फ्रेडलाई भनेका थिए, ‘मैले र बेटीले तिमीलाई स्याहार केन्द्र (foster care) मा पठाउन चाहेनौं र तिमीलाई आफ्नै सन्तानको रुपमा अपनायौं र तिमी मेरो छोरा हौं ।’

बाल्यकालमा फ्रेडी

फ्लोरिडाको ग्रामीण इलाकामा फोहोर फाल्ने एउटा भाँडो नजिकै बेवारिसे अवस्थामा फ्रेडी फेला परेका थिए । तर नाथान र बेटीले उनलाई आफ्नै सन्तान बनाएर हुर्काए ।

‘उहाँ (पिता) को कुरा सुनेपछि म त फोहोर जस्तै कसैलाई पनि नचाहिने कुरा रहेछु भन्ने सोचेँ’, फ्रेडीले पुरानो कुरा सम्झदै भने, ‘तर उहाँले मेरो काँधमा हात राख्नु भयो र त्यो कुराबाट कहिल्यै पनि दु:ख नमान्नु भन्नु भयो ।’

फ्रेडी जन्मेको बेला नाथान र बेटीको उमेर ५० कटिसकेको थियो । नाथानले मर्मतसम्बन्धी काम गर्थे भने बेटीले खेतमा काम गर्थिन् । फ्रेडीलाई फेला पर्नुपूर्व दुबैजनाले कैयौं बालबालिकाको स्याहारसुसार गर्दै आएका थिए । तर जन्मेको दुई दिनपछि उनीहरुले फ्रेडीलाई आफ्नै छोराको रुपमा अपनाए ।

नाथान फिगर्स र बेटी माई

नाथान र बेटीले आफूलाई सधैँ माया गरेको फ्रेडीले सुनाए । तर क्विन्सीका अरु बालबालिकाले आफूलाई हेप्ने र गिज्याउने गरेको उनको भनाइ छ ।

‘मलाई अरु बालबालिकाहरुले फोहोरमा फेला परेको बच्चा, trash can baby, तिमीलाई कसैले पनि चाहदैनन् जस्ता कुरा भन्थे’, उनले सुनाए । बुबासँग हिडेको बेला समेत नाथानलाई ‘क्यानसँग हिडेको बुढो मान्छे’ भनेर गिज्याउने गरेको पनि उनले बताए ।

फ्रेडीका लागि नाथान र बेटी नै महान ‘हिरो’ र आदर्श व्यक्ति हुन् । आफू पनि बुबा नाथान जस्तै हुन चाहेको पनि उनले बताए ।

‘मेलै मेरा बुबाले सँधै अरु मानिसलाई सहयोग गरेको, सडकमा हिड्दाहिड्दै रोकिएर नचिनेका मानिसलाई मद्दत गरेको र घरबारविहीनलाई खाना दिएको देखेँ’, फ्रेडीले भने, ‘उहाँ अदभूत मान्छे हुनुहुन्थ्यो, उहाँहरुले मलाई अपनाउनु र हुर्काउनु भयो र म पनि उहाँ जस्तै हुन थाहन्छु ।’

सानै उमेरमा सुरु गरेको फ्रेडीको कम्प्युटिङ व्यवसाय विस्तार हुँदै थियो । केही वर्षपछि बाबु नाथानमा अल्जेइमर (सोच्ने र स्मरण शक्ति गुम्ने रोग) रोग देखियो । रोगका कारण नाथान राम्रोसँग लुगा नलगाइकनै बाहिर घुम्न निस्कन्थे तर जुत्ता भने सँधै लगाउथे । बाबु कता गए भनेर थाहा पाउन सजिलो होस् भनेर फ्रेडीले बाबुको जुत्ताभित्र जिपिएससहितको ट्र्याकिङ सिस्टम जडान गरेका थिए ।

छोरी र श्रीमतिसँग फ्रेडी

‘यही भएर मैले ड्याडको जुत्ताको तलुवा काटेँ, सर्किट बोर्ड बनाए र यसलाई जुत्ताभित्र ९० मेगाहर्जको स्पिकर, माइक्रोफोन र वाइर्ड एरिया नेटवर्क कार्डसहित राखे’, फ्रेडीले भने’, ‘त्यसलाई मेरो ल्यापटपमा जोडे । यो कुरा एप्पल म्याप वा गुगल म्यापभन्दा पहिलाको कुरा हो । टमटम र गार्मिन प्ल्याटफर्ममार्फत् ल्यापटपमा त्यसलाई जोडेको थिएँ ।’

‘मेरो बुबा बाहिर गएको बेला ल्यापटपको बटन दबाएर बुबा कता हुनुहुन्छ भनेर सोध्न सक्थे’, फ्रेडीले थपे, ‘उहाँको जुत्तामा भएको लाउड स्पिकरमा मैले भनेको कुरा सुनिन्थ्यो र उहाँले अहिले म कहाँ छु ? कहाँ ? भनेर जवाफ दिनुहुन्थ्यो ।’ त्यसपछि जिपिएस ट्र्याकरको मद्दतले बुबा गएको स्थान थाहा पाउने गरेको र लिएर आउने गरेको उनले सुनाए ।

नाथानको अवस्था खराब हुँदै गएपछि परिवारका केही सदस्यले उनलाई नर्सिङ होममा राख्दा ठीक हुने बताएका थिए । तर फ्रेडीले बुबालाई नर्सिङ होममा पठाउन मानेनन् । बरु बुबालाई सँगै आफैसँग अफिस लैजान्थे ।

सन् २०१४ मा नाथानको ८१ वर्षको उमेरमा निधन भयो । त्यतिबेला फ्रेडी २४ वर्षका थिए । बुबाको निधन हुँदा आफू निकै रोएको पनि उनले सुनाए ।

‘उहाँको निधनले मलाई निकै पीडा भएको थियो’, फ्रेडीले भने, ‘किनभने मेरो ड्याडलाई खुशी बनाउने कुरा मात्रै सँधै चाहेको थियो ।’

फ्रेडीले आफूले आविष्कार गरेको शु ट्र्याकरलाई २२ लाख अमेरिकी डलरमा बेचिसकेका छन् । १९९३ मोडेलको फोर्ड पिकअप ट्रक र फिशिङ बोट किन्ने उनका बुबा नाथानको चाहना थियो । फ्रेडीसँग अहिले यी दुबै कुरा किन्ने पैसा छ र तर नाथान छैनन् ।

(बिबिसी अंग्रेजी संस्करणको सहयोगमा तयार गरिएको)

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय