scheduleबुधवार आषाढ़ २ गते, २०७८

आईएसकी पूर्व बाल लडाकुले रुँदै भनिन्- ‘लहलहैमा जिहादी बनेँ’

एजेन्सी, २३ जेष्ठ। जिहादीको प्रभावमा परी इस्लामिक लडाकु बनेकी शामिमा बेगमको कथा आफैमा पीडादायक र दर्दनाक छ ।

शामिमा बेगम हाल २१ वर्षकी भइन् । बेगमको जन्म बेलायतमा भएको हो । उनका बाबुआमा बंगलादेशी मूलका हुन् । लण्डन जस्तो सम्पन्न शहरमा जन्मेकी बेगम कलिलै उमेरमा इस्लामिक जिहादीको प्रभावमा परेकी थिइन् । भर्खर किशोर अवस्थामा प्रवेश गरेकी बेगमले बेलायत छोडेर सिरियामा गएको र जिहादी लडाकु बनेको समाचार बाहिर आएपछि विश्व नै चकित बनेको थियो ।

जिहादी शिक्षाको प्रभावमा सन् २०१५ फेब्रुअरीका दिन बेगमसहित उनका साथी अमिरा अबासे र कडिजा सुल्तना एक्कासी बेपत्ता भएका थिए । बेपत्ता भएको केही समयपछि तीनै जना टर्की हुँदै सिरिया पुगेको खबर बाहिर आयो । बेगम हराएको केही समयपछि नै परिवारले उनको खोजी गरेको थियो । छोरी फर्कने आश गरेर उनका बाबुआमाले चारैतिर हारगुहार गरे। तर बेगम नफर्कने पक्का भएपछि बाबुआमा समेत निराश बनेका थिए ।

बेगम सिरियाली सरकारविरुद्ध जिहाद छेड्नका लागि सिरिया पुगेकी थिइन् । त्यहाँ पुगेपछि उनी आईएसआएसका गतिविधिमा निकै सक्रिय बनेर लागेकी थिइन् ।

टर्की हुँदै सिरिया पुगेको छोटो समयमा नै बेगम वैवाहिक सम्बन्धमा बाँधिइन् । उनले नेदरल्याण्डका जिहादी लडाकु यागो रेडिज्कसँग विहे गर्न पुगिन् । सिरिया पुगेको १० दिनमा नै बेगम र रेडिज्कको विहे भएको थियो । बिहे भएपछि दुबै जनाले ३ जना छोराछोरी समेत जन्माएका थिए ।

बेगमले एउटा भावुक अन्तर्वातामा युद्धग्रस्त सिरियाका मानिसलाई सहयोग गर्न भन्दै इस्लामिक स्टेटसँग जोडिएको बताएकी छन् । नयाँ अन्तर्वार्तामा उनले आफ्ना साथीहरुलाई पछ्याउँदै सिरिया पुगेको, त्यतिबेला आफू सानै भएको र धेरै कुरा थाहा नभएको पनि बताइन् ।

सिरियाली शररणार्थी शिविरमा बेगमको अनुभवसम्बन्धी द रिटर्न: लाइफ आफ्टर आइसिस नामक वृत्तचित्रमा उनले लहलहैमा जिहादी बन्न पुगेको टिप्पणी गरेको बेलायती समाचार माध्यमले जनाएका छन् । ‘मलाई थाहा थियो कि यो ठूलो निर्णय थियो तर तत्कालै यो कुरा गर्नुपर्ने जस्तो लाग्यो’, उनले सो वृत्तचित्रमा रुँदै भनेकी छन् ।

‘साथीहरु जाने भएपछि आफू एक्लै हुन चाहिनँ’, बेगमले थपिन् । त्यस्तै आफूले जन्माएका २ छोरीको मृत्युबारे समेत उनले भावुक हुँदै भनिन् -‘जब छोरीको मृत्यु भयो तब मलाई निकै गाह्रो भयो किनभने मैले एक्लो महससु गर्न थाले, सारा विश्व आफ्नै आँखा अगाडि ध्वस्त भए जस्तो लाग्यो र मैले केही गर्न सकिनँ ।’

उत्तरी सिरियास्थित अल रोज शिविरमा रहेकी बेगमले आफू त्यतिबेला गर्भवती भएकाले मात्रै बाँच्न सकेको पनि बताइन् । तर उनले तेस्रो पटक जन्माएका शिशुको एक महिनापछि नै २०१९ मा मृत्यु भएको थियो । छोरीहरुको भने युद्धका क्रममा नै मृत्यु भएको थियो ।

वृत्तचित्रमा बेगमले आफूले जन्माएका शिशुको मृत्यु हुनुको कारण थाहा नभएको बताएकी छन् । तर उनले यसअघिका अन्तर्वार्तामा कुपोषण र रोगले गर्दा आफ्ना छोराछोरीको मृत्यु भएको बताएकी थिइन् । उनीसँगै सिरिया गएका उनका साथीहरु पनि मारिइसकेका छन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय