scheduleबुधवार आषाढ़ २ गते, २०७८

ए लोक ! तँ भोकै बस्

कविता
अभि गाउँले

ए लोक तँ भोकभोकै बस् मै खानेछु अघाउनेगरी
छ महिनामै फिर्छु तेरो आँगनी तँलाई फकाउनेगरी
चाहिन्नँ अरू के अपुग छ र दिए हुन्छ औँठाछापा
नआत्ति कत्ति मै हुँ भरोसा आउँछु म सघाउनेगरी

नजिकैछ हाम्रो चाडबाड खाउँला पिउँला रमाउँला
पैसाको त बाढी आउँछ हातहातमा दाम थमाउँला
बल्लतल्ल पाको टिकट खेर जान दिऊँ म कसरी
गरौंला लगानी फिक्करै नगरी उतै गएर कमाउँला

बल्न छाडे जनताका चुला छाडे जब नेताले गति
न जनता यहाँ न नेता सहि सुध्रिएन दुवैको मति
छान्नुपर्ने चुनिन्छन् जहिल्यै चोरलाई हुन्छ चौतारो
अति भएपछि खति हुन्छ आउँछ बाधा कति कति

‘धोती र टोपी’ मिलेका हुन्छन् कुर्सी छुन पाएपछि
के चाहियो र तिनलाई पनि त मन्त्री हुन पाएपछि
वर्ण विभेद जाति विभेद नसुल्झिँदै सुँइकुच्चा भो
कैलोमैलो टल्किन्छ जब सत्ताले हात धुन पाएपछि

एकजना पनि संविधानलाई कति ठूलो भारी भाको
देख्दिन ऊ एकैठाउँ कहिले वारि कहिले पारी गाको
कति खान्छौ खाऊ भयो के गर्नु खै हिसाब किताब
कराउँछ पाप धुरीबाट एक दिन जनता मारी खाको ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय