scheduleबुधवार आषाढ़ २ गते, २०७८

नदीजन्य स्रोत र चुरे संरक्षण

डा. महेन्द्र ब. बानियाँ/डा. अर्जुन बानियाँ

राष्ट्रको पूर्वाधार निर्माणमा निर्माण सामग्रीको महत्व परापूर्व कालदेखि रहिआएको छ । हाम्रो सन्दर्भमा फलामे डण्डी, सिमेन्टको अवयवहरू, बिटुमिन, टाईल, मार्बल र फलामे सामग्री आयातित निर्माण सामग्रीहरूमा पर्दछन् भने ढुंगा, माटो, गिटी, बालुवा हाम्रा स्थानीय निर्माण सामग्रीहरू भित्र पर्दछन् ।

पूर्वाधार निर्माणमा प्रयोग हुने आन्तरिक र बाह्य निर्माण सामग्रीहरूको प्रयोग निर्माणाधीन भौतिक संरचनाको किसिममा निर्भर रहन्छ । उदाहरणको रुपमा कन्क्रीट पुल निर्माणमा प्रयोग हुने निर्माण सामग्रीमा प्रमुखतया ढुंगा, गिटी, बालुवाले प्रमुख हिस्सा ओगटेको हुन्छ भने स्टिल पुल निर्माणमा तुलनात्मकरुपमा कम परिमाणमा ढुंगा, गिटी, बालुवाको प्रयोग भएको हुन्छ । त्यस्तै भवन निर्माणमा मुख्य रुपमा ईट्टा, ढुंगा, गिटी, बालुवाले प्रमुख स्थान लिएको हुन्छ । हामीले निर्माण गर्ने पूर्वाधारको किसिम र स्थानीय साधन स्रोतहरूलाई मध्यनजर गरी पूर्वाधारको परिकल्पना गर्न सके वैदेशिक निर्माण सामग्रीको खरीदमा राष्ट्रको ठूलो धनराशि बचाउन सकिन्छ ।

हालै विभिन्न सञ्चार माध्यमहरूमा दिनहुँ प्रकाशित स्थानीय स्रोतहरू ढुंगा, गिटी, बालुवा सम्बन्धि समाचारहरूले आम नेपाली समुदायमा चुरे एक बहस भएर आएको छ । पृथ्वीमा अवस्थित हरेक प्राकृतिक पदार्थको वातावरणमा आ-आफ्नो महत्वपूर्ण भूमिका रहेको हुन्छ । प्राकृतिक अवस्थामा रहेको ढुंगा, गिटी, बालुवाको अत्यधिक दोहन चाहे त्यो चुरेबाट होस् वा चाहे त्यो नदीबाट होस् यसले वातावरणमा नकारात्मक असर गरेको हुन्छ ।

उत्तरको पहाडहरू र दक्षिणको समतल तराईबीच समन्वयको पुलको रुपमा अवस्थित चुरे, भौगोलिकरुपमा अत्यन्त कमजोर तर जैविक विविधताको धनी क्षेत्र मानिन्छ । पूर्वमा ईलामदेखि सुदूरपश्चिममा कन्चनपुरसम्म गरी ३६ जिल्लामा फैलिएको चुरे क्षेत्रले नेपालको कूल १२.७८ प्रतिशत भू-भाग ओगटेको छ भने चुरे पहाडको उचाई १२० मिटर (सप्तरी) देखि १९७२ मिटर (कैलाली) रहेको छ । चुरे पहाडको भू-बनावट कमलो बलौटे माटो र बालुवाले बनेको हुनाले यसलाई युवा अवस्थाको पहाड भनेर पनि चिनिन्छ ।

अत्यधिक भू—क्षय, पहिरो, बढ्दो मानवीय क्रियाकलापहरू, वन अतिक्रमण, जंगल फडानी आदिले गर्दा चुरे संकट क्षेत्रमा सूचिकृत भएको छ । विभिन्न अनुसन्धानले वार्षिक करीब ७ टनप्रति हेक्टरको दरले चुरे क्षेत्रमा भू—क्षय भएको तथ्याङ्क देखाउँछ । चुरेले त्यहाँको स्थानीय बासिन्दाको पर्यावरणीय तथा तराईमा बसोबास गर्ने बासिन्दाको पर्यावरणीय अन्तरसम्बन्ध स्थापित गरी सन्तुलन कायम गरेको छ ।

चुरेमा रहेको वनको पर्यावरणीय महत्व त छँदैछ, यसले जैविक विविधता पनि कायम राख्न मद्दत गरेको छ । बिशेषगरी तराईको भू–जलस्रोतको धरहरा (Tower of Ground Water) भएर चुरेले तराईलाई जल सिञ्चित गर्न प्रमुख भूमिका निर्वाह गरेको छ । चुरे क्षेत्र भौगोलिक, जैविक, जलचक्रिय, पारिस्थितिक बिशेषताले भरिपूर्ण क्षेत्रमा पर्दछ । संकट क्षेत्रमा सूचिकृत भएको चुरे क्षेत्रलाई संरक्षण गर्ने हेतुले आ.ब. २०६६/६७ देखि नेपाल सरकारले राष्ट्रपति चुरे क्षेत्र संरक्षण कार्यक्रम लागु गरी विभिन्न कार्यक्रम सञ्चालनमा ल्याइरहेको छ । उक्त कार्यक्रम अन्तर्गत प्राकृतिक स्रोतहरूको एकीकृत व्यवस्थापन तथा सन्तुलन कायम, स्रोतहरूको उचित व्यवस्थापन गरी स्थानीय जनजीविकालाई सहयोग गर्ने, चुरे र तराईबीचको सामाजिक, आर्थिक र भौगोलिक समन्वयको पुलको कार्य गरी स्थानीयहरूलाई स-शक्तिकरण गर्ने र वातावरणीय प्रणालीको विकास गर्ने कार्यहरू पर्दछन् ।

नेपालको ढुंगा, गिटी, बालुवाको प्रमुख स्रोत भनेको १६४ नदी प्रणालीहरूको जलाधार क्षेत्रभित्रको नदीजन्य सामग्री र चुरेबाट बर्षायाममा निस्किएका खोलानालाहरूबाट बगेर आएको सामग्री नै प्रमुख रहेको छ । नदीजन्य स्रोतहरूको बार्षिक उपलब्धता र उपयोग परिमाणको कुनै तथ्याङ्क एकीन गर्न सकिएको छैन् ।

स्थानीय सरकारहरूले नदीजन्य स्रोतहरूको उपयोग सम्बन्धि प्रारम्भिक वातावरणीय परीक्षण र वातावरणीय प्रभाव मूल्याङ्कन गरी ठेक्का पट्टा व्यवस्थापन गरी आर्थिक आर्जन गरिरहेका छन्, जुन तुलनात्मकरुपमा अत्यन्त न्यून रहेको छ । ठेक्कापट्टा गरेर नदीजन्य निर्माण सामग्रीहरूको निकासी गरेको परिमाण, जिल्लास्थित क्रसर उद्योगहरूबाट गरेको उत्पादन र निकासीहरूको परिमाणको तथ्याङ्क कहिंकतै उल्लेख भएको पाईंदैन । हाल स्थानीय सरकारहरूले घर नक्सा पास दस्तुर बापत उठाएको ठूलो राजश्व रकमले स्थानीय सरकारहरूसँग अनुमति लिएर एकातिर ठूलो संख्यामा घरहरू निर्माण भई ढुंगा, गिटी, बालुवाको ठूलो परिमाण खपत भईरहेको तथ्याङ्कलाई उजागर गर्छ भने स्थानीय सरकारहरूले नदीजन्य स्रोतहरूको ठेक्का पट्टा व्यवस्थापन गरी प्राप्त गरेको न्यून आर्थिक रकमलाई मात्र आधार मान्दा अर्कोतिर नदीजन्य स्रोतहरूको न्यूनतम भन्दा न्यूनतम प्रयोगलाई इङ्कित गर्दछ ।

यी दुई आयामहरू बिचको तालमेल र सन्तुलन भएको देखिदैन । अतः बर्षेनि नेपालको नदीनालाहरूले के कति परिमाणको नदीजन्य निर्माण सामग्रीहरू बगाएर ल्याएको छ, यसको कहिँकतै लेखाजोखा गरेको पाईदैन । नदीजन्य सामग्रीहरूको परिमाण/मात्रा मापन गर्ने संयन्त्रहरूको नगण्य मात्रामा प्रयोग भएको छ ।

ढुंगा, माटो, गिटी, बालुवाको लागि चुरे दोहन वातावरणीय प्रतिकूल हुने विभिन्न अनुसन्धानले पुष्टि गरेको छ । नेपालका सबै नदीहरू तराई झर्नुपूर्व चुरे पहाड भएर बग्ने हुँदा नदीको उच्च बहावलाई नियन्त्रण गर्न चुरेले सहयोग पुर्‍याएको छ । हिमालय, महाभारत पर्वतमा रहेको नेपालका ठूला हिमनदीहरूको उच्च बहावलाई चुरे पहाडसग अलग्याएर कल्पना गरियो भने तराईलाई बाढीमा जलमग्न गराउनु हो, कृषियोग्य जमिनलाई नदीको बगरमा परिणत गर्नु हो ।

तराई कृषिको अन्न भण्डार हो भने चुरे तराईको जल भण्डार हो । यसैले चुरे पहाड बिना तराईको अस्तित्व संकटमा पर्न जाने यथार्थ तथ्यलाई मनन गर्दै चुरे संरक्षण गर्नु आजको आवश्यकता हो ।

हिमनदीहरूको उत्पत्ति स्थानमा भू-सतहको झुकाव धेरै हुने हुँदा नदीहरूको कटान क्षमता धेरै हुन्छ, जसले गर्दा भू-क्षय, पहिरो गएर थुप्रिएको ढुंगा, माटो, गिटी, बालुवालाई सहजरुपमा बगाएर लैजान सक्छ । महाभारतीय पर्वतहरूबीचमा पनि भू-सतहको झुकाव बढी हुने हुँदा नदीको दायाँ बायाँ कटान गरी भू-क्षय हुने, अत्यधिक बर्षा, अव्यवस्थित डोजर बाटो निर्माण, वन फडानीको कारणले निम्त्याएको पहिरोले अकस्मात नदी थुनिन गई हुने विस्फोटले पनि ठूलो भू-क्षय निम्त्याउँछ ।

हिमालबाट नदीको बहावसँगै आएको ढुंगा, माटो, गिटी, बालुवा पहाड हुँदै तराई र अन्तिममा बङ्गालको खाडीमा विसर्जन हुन्छ । नेपाल र भारत स्थित पश्चिम हिमालयबाट बर्षेनि ६८० देखि ३५२० मेघाटन (१.७ देखि ९.० मि.मि. प्रति वर्ष सतह भू-क्षय) माटो, बालुवा नदीहरूले बगाई बङ्गालको खाडीमा पुर्‍याउँछ भने पूर्वी हिमालबाट बर्षेनि ६०० देखि २७९० मेघाटन (१.३ देखि ५.९ मि.मि. प्रति वर्ष सतह भू-क्षय) माटो, बालुवा नदीहरूले बगाई बङ्गालको खाडीमा पुर्‍याउँछ ।

नेपालको ठाडो सतह भएका नदीहरूको अनुसन्धानबाट नदीको बहावले ल्याउने माटो र बालुवाको परिमाणको करीब ५० प्रतिशतदेखि सत प्रतिशत तौल बराबर नदीको भू-सतहमा ढुंगा र गिटीको परिमाण बगाएर ल्याएको हुन्छ । यो तथ्याङ्कले नेपालभित्रको ठूलो परिमाणको ढुंगा, माटो, गिटी, बालुवा बर्षेनि नदीहरूले बगाई बङ्गालको खाडीमा जम्मा गरिरहेको स्पष्ट देखाउँछ ।

बर्षेनि बगाएर थुपारेको माटो, बालुवा, गिटीले गर्दा समुद्रको पिंध सतह माथि आईरहेको छ । पिण्ड संरक्षणको सिद्दान्त अनुसार हिमाल, पहाडबाट निस्केको ढुंगा, माटो, गिटी, बालुवा पिण्ड तराई हुँदै बङ्गालको खाडीमा जम्मा हुन्छ । हिमालयको भू-क्षय, पहाडको भू-क्षय र कटानको कारणले नदीहरूको बहावसँगै आएको ढुंगा, माटो, गिटी, बालुवा थेग्रिएको सतहले ईण्डियन प्लेटमा दवाब सृजना हुन गई ईण्डियन प्लेट तिब्बतियन प्लेटमा छिर्न गएको कारणले नेपालको हिमालयको उचाई बढन गएको अनुसन्धानबाट प्रमाणित भईसकेको छ ।

यसै प्रक्रियाको कारणले सगरमाथाको उचाई ८६ से.मि. बढेको तथ्याङ्क हालै नेपाल सरकारले प्रमाणित गरिसकेको छ । यो प्राकृतिक प्रक्रिया निरन्तर चलिरहने प्रक्रिया हो, यसलाई शत प्रतिशत रोक्न सकिँदैन साथै रोक्नु पनि हुँदैन । प्राकृतिक प्रक्रियालाई कायमै राख्दै सन्तुलित मात्रामा प्राकृतिक स्रोत साधनको उच्चतम प्रयोग गर्नु आजको आवश्यकता हो ।

बङ्गालको खाडीमा बगेर जाने ढुंगा, माटो, गिटी, बालुवा जस्ता प्राकृतिक स्रोतहरूको प्राप्तिको लागि नेपालको भौगोलिक अवस्थाको पूर्ण उपयोग गर्नुपर्ने देखिन्छ । बिद्युत उत्पादनका सम्भाव्य बोकेका खोलानाला नदीहरूलाई छुट्टाछुट्टै स्थानमा बिद्युत उत्पादनको लागि प्रयोग हुने साना ठूला बहुउपयोगी जलाशयहरूको निर्माण गरेर बगेर खेर जाने प्राकृतिक स्रोतहरूलाई एकीकृत गरी प्रयोग गर्न सकिन्छ ।

नदीजन्य सामग्रीहरूको परिमाण/मात्रा जम्मा गर्न सकिने स्थानहरूको पहिचान गरी त्यस्ता स्थानहरूमा नदीजन्य सामग्रीहरू ढुंगा, माटो, गिटी, बालुवाको मापन गर्ने संयन्त्रहरूको जडान गरी बर्षेनि भू-क्षय भई आएको परिमाण र खपत भएको परिमाणलाई अनुगमन गर्न सकिन्छ, जसले गर्दा हाम्रो चुरे दोहन कम हुन जान्छ । संरक्षण गर्न नसकी खेर गई बङ्गालको खाडीमा पुगेको नदीजन्य सामग्रीहरूलाई अध्ययन अनुसन्धानको माध्यमबाट नियन्त्रण गरी प्रयोग गर्न सके चुरे दोहनको अध्याय समाप्त पार्न सकिन्छ ।

(बानियाँ बन्धुहरू जापानको साईतामा विश्वविद्यालबाट रिभर–ईन्भाइरोमेन्ट ईन्जिनियरिङमा र जियो–ईन्भायरोमेन्ट ईन्जिनियरिङ बिषयमा विद्यावारिधी गरेका हुन्)

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय