scheduleसोमवार आश्विन ११ गते, २०७८

उडिरहेको विमानमा पहिलो पटक ड्रोनबाट इन्धन भरियो (भिडियोसहित)

एजेन्सी, २५ जेष्ठ । इतिहासमै पहिलो पटक ड्रोनबाट उडिरहेको अर्को विमानमा इन्धन आपूर्ति गरिएको छ । बोइङ कम्पनीले बनाएको एमक्यू-२५ टि वन नामक ड्रोनले अमेरिकी जल सेनाको एक लडाकु विमानमा पहिलो पटक इन्धन भरेको हो ।

बोइङले इन्धन ढुवानीका लागि बनाएको उक्त ड्रोनको जुन ४ मा परीक्षण उडान गरिएको थियो । उक्त उडान सफलतापूर्वक सम्पन्न भएको बोइङले जनाएको छ । बोइङले सोमबार ट्विटरमार्फत् परीक्षण उडानका क्रममा अमेरिकी जलसेनाको सुपर होर्नेट एफ/ए-१८ लडाकु विमानमा पुन: इन्धन भरिएको जानकारी गराएको छ ।

‘उडानमा नयाँ इतिहास ! हालैको परीक्षण उडानमा चालकरहित एमक्यु-२५ टि वनले अमेरिकी जलसेनाको सुपर होर्नेट एफ/ए-१८ विमानमा पुन: इन्धन उपलब्ध गरायो । चालकरहित विमानले अर्को विमानमा पुन:इन्धन भरेको यो पहिलो घटना हो’, बोइङले ट्विटरमा भनेको छ । ट्विटरमा ड्रोनले इन्धन भरेको भिडियो समेत राखिएको छ।

पछिल्लो समय अमेरिकी जलसेनाले लजिस्टिक व्यवस्थापनमा ड्रोनलाई सामेल गराउने कार्यलाई विस्तार गरिरहेको छ । तर पैसा र जनशक्ति बचाउनका लागि सुरु गरिएको नयाँ कदमको भने संस्थागत रुपमा विरोध हुँदै आएको छ ।

उडिरहेका बेला एक विमानबाट अर्को विमानमा इन्धन भर्ने कार्य उड्डयन क्षेत्रको सुरुवाती चरणबाटै हुँदै आएको छ । पहिलो पटक सन् १९२३ मा अमेरिकी हवाइ सेनाले विमानबाट विमानमा इन्धन भर्ने कार्य थालनी गरेको पाइन्छ । तर लडाइँका बेला भने सन् १९५० को दशकमा कोरियाली युद्धताका विमानबाट विमानमा पहिलो पटक इन्धन भरिएको थियो ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय