scheduleबुधवार आषाढ़ २ गते, २०७८

हामी जनता कि जन्ती?

दिवस खनिया

नेपालको पछिल्ला राजनीतिक घटनाक्रमबारे विभिन्न ढंगले विश्लेषण भइरहेका छन् । त्यो स्वभााविक पनि होला । आ-आफ्नो राजनीतिक आस्थाअनुसार लेखक, विश्लेषक, पत्रकारहरुको आ-आफ्नै तर्क–वितर्कहरु पनि चलिरहेकै छन् ।

कसैले कसैको बचाउमा समय खर्चिरहेका छन भने कसैले कसैलाई दोषी करार गरिरहेका छन्। फेरि यसको अर्थ यो नलागोस्, कसैले पनि स्वतन्त्र विश्लेषण गरिरहेका छैनन्। त्यो प्रयास पनि धेरथोर पक्कै भइरहेकै छ । म पनि यहाँनिर आफ्नो मत लेखिरहेको छु । थाहा छैन म कहाँ निर पर्छु। तर, अलमल पक्कै छ।

‘जुनसुकै जोगी आए पनि कानै चिरेका’ भने जस्तै अलमल हुनु स्वभाविक छ । अलमल यहाँनिर पनि छ कि- कसको पक्ष लिनु र कसको विरोध गर्नु ! राजनीतिक वृत्तमा देखिएका निराशाका बाछिटाहरु सामाजिक सञ्जालमा आ-आफ्नै रुप धारण गरेर देखिरहेकै छ । यहाँनिर पनि फेरी अर्को अलमल छ, कुन धारणा बिकेर आएका हुन् ? कुन प्रभावमा आएका हुन् ? कुन दवाबमा आएका हुन् ? र कुन निष्पक्ष आएका हुन् ?

आखिर दोष हो चाहिँ कसको ? नेपालमा ईतिहासदेखि नै ठूला-ठूला क्रान्ति हुँदै आएका छन् । ठूला-ठूला आन्दोलन भएका छन् । तर तिनको परिणाम कहिल्यै पनि जोगाउन सकिएन किन ? सबै आन्दोलन/क्रान्ति जनताका लागि भनिन्छ र पनि किन व्यवहारमा त्यसो हुन कहिल्यै सकेन ? नेपालमा संक्रमणकाल जहिल्यै लम्बिरहन्छ किन ? यसमा दोष के को हो ? मात्र दल र नेताहरुको ? अथवा दोषी अरु पनि छन् ? कसको प्रवृत्ति कस्तो ? को राष्ट्रवादी हो अनि को राष्ट्रघाती ? तमाम जिज्ञासा र उत्तर समेत थरीथरीका छन् । प्रश्न जति छन् त्यसका उत्तर पनि त्यति नै छन् । त्यसकारण जताततै अलमल छ। सबैका आ-आफ्नै प्रश्न छन्, सबैका आ-आफ्नै उत्तर छन्। फेरी पनि भन्छु, चाहे त्यो प्रभावमा परेर आएको प्रश्न/उत्तर होस् या दबाबमा।

दिवस खनियाँ

यहाँनिर अर्को पनि प्रश्न उठ्छ, माथि उल्लेखित तमाम प्रश्न भन्दा महत्वपूर्ण र मुख्य प्रश्न त यो छ कि, पछिल्ला परिघटनाहरुमा हामी जनताको चाहिँ दोष कति छ ? कसैकसैले यो मुख्य प्रश्नको पनि उत्तर खोजिरहेका छन् र लेखिरहेका छन् । तर यो प्रश्न जति महत्वपूर्ण छ त्यति नै यसलाई ओझेलमा पार्ने प्रयास भएको छ ।

ओझेलमा यिनैले पारिरहेका छन् जो प्रभावमा र दबाबमा छन् । थाहा छैन म कति यो प्रश्नबारे लेख्न सक्छु तर पनि प्रयास गरेको छु । बाँकी मुल्याङ्कन तपाईं पाठकहरुलाई नै छोड्दै केही विचार लेख्ने प्रयास गर्दैछु । मुल्याङ्कन यस अर्थमा कि, मैले चाहे पनि नचाहे पनि जुन प्रभाव र दवाब हामी जनतामाथि लादिएको छ ।

काल्पनिक हैन एकछिन यथार्थ हेरौं- २००७ सालमा प्रजातन्त्र आयो, स्वागतमा ताली पड्काउने हामी जनता नै हो। २०१७ सालमा पञ्चायत आयो, त्यसको स्वागतमा दियो-बत्ती बालिएकै थियो। सानो हिस्सा होस् या ठूलो, त्यो दियो-बत्ती बाल्ने पनि जनता नै थिए । २०३७ सालमा जनमतसंग्रहको परिणाम आयो, त्यसमा पनि खुशी मनाउने जनता नै थिए। गुणगान गाइएकै थियो ।

अहिलेकै नेताहरु मध्येका कतिपयले त पञ्चायतको सत्ताभोग पनि मज्जैले गरेकै थिए। २०४७ सालमा प्रजातन्त्रको पुनर्बहालीका निम्ति भएको आन्दोलनमा फेरि ज्यान हत्केलामा राखेर आन्दोलनको मोर्चामा होमिने पनि जनता नै थिए । आन्दोलन सफल पनि भयो र दिपावली मनाइयो पनि। २०५२ सालमा देशमा गृहयुद्ध सुरु भयो, त्यसमा पनि मृत्यु स्वीकारेर रणमैदानमा होमिने जनता नै थिए। हजारौंको ज्यान लिने र दिने सबै जनता नै थिए ।

२०५८ माघ १९ को दरबार हत्याकाण्डपछि बनेका राजा ज्ञानेन्द्रलाई वर्षौसम्म भगवानको अवतार ठान्ने पनि जनता नै थिए र उनैको गुणगान गाइएको पनि थियो। सक्नेले त्यो बेला पनि मोज गरे, नसक्नेले सहजतापूर्वक लिएका पनि थिए। अनि २०६२–६३ को आन्दोलनमा फेरि त्यही राजतन्त्रको दाहसंस्कारका लागि सडकमा कुर्लिने पनि जनता नै थिए।

यो इतिहासकोको यथार्थले के भन्छ भने, हामी जनता राम्रो/नराम्रो दुवै अवस्थामा दिलोज्यान दिएर लागेका थियौँ। आखिर किन र के का लागि ? यी सबै घटनाहरुमा जनतालाई उक्साउने धेरै नेताहरु अहिलेकै थिए। उनीहरु जे भनेर उक्साउँथे हामी त्यही भनेर सहजै उक्सिन्थ्यौँ। उनीहरुले आफ्नो अभिष्ट पूरा गर्न हामीलाई उक्साउँथे र हाम्रो उक्साहटमार्फत् उनीहरु आफ्नो अभिष्ट पुरा गर्थे/गरी रहेका छन् । तर हामीले हाम्रो अभिष्ट पूरा गर्ने तर्फ कहिल्यै सोचेनौं किन ?

यो बीचमा थुप्रै सरकार फेरिए । आन्दोलनमा होमिए पछिको बदलास्वरुप अधिकांशले सत्ताभोग गरेँ, अर्थोपार्जन पनि गरे । हामीलाई नै उक्साएर घर नहुनेले महल जोडे, साइकल नहुनेले पजेरो किने, सिंहदरबार नदेखेकाले त्यहीं अड्डा जमाए। दुब्लाहरु मोटा भए। फोहोरीहरु सुकिला–मुकिला भए। दुईछाक खान नपाउनेहरु सुनको पलङमा सुत्ने हैसियतमा पुगे। यस्तै-यस्तै धेरै ‘परिवर्तन’ भए।

हामीले ७ दशकभन्दा लामो सयम राजनीतिक अकर्मण्यतामै बिताइसकेका छौं । ००७ सालमा जन्मिएका कतिपय युवाले देह त्यागिसके । ०३६ सालमा जन्मिएको नागरिकले अधिकांश ऊर्जा हत्या–हिंसा, काटमार, आन्दोलन, बन्द–हड्ताल र राजनीतिक परिवर्तनकै नाममा गुजारि सकेको छ । ०४६ सालमा जन्मेको युवाले आन्दोलनकै बीचमा आफ्नो उमेर घटाइ रहेको छ। ०६२ सालको आन्दोलनमा जन्मिएको बालकले ०७८ साल सम्म आइपुग्दा न निर्धक्क स्कुल जान पाएको छ, न सँगै बसेर बेरोजगार आमाबुबाले आफ्नो सुन्दर भविष्य निर्माणका सपना–योजना बुनेको सुन्न पाएको छ।

विकास र शान्ति भएपछि देश फिरौंला भनेर २०६२–६३ ताका खाडी गएको युवा वर्षौं बित्दा पनि नेपाल आउने बहाना पाइरहेको छैन। बजार हिँडेकी छोरी सुरक्षित रुपमा घर आउँछ कि आउन्न भन्ने चिन्ता अहिले पनि कायमै छ। आमाको उध्रेको चोली फेर्न, श्रीमतीको पेटभरि खाने सपना साकार पार्न परदेश हिँडेको युवाको लास दिनहुँ ‘कफिन’ मा प्याक भएर आइरहेको छ। घर–छिमेकको उद्योग सञ्चालन भएमा काम पाउँला भनेर बसेका जनता उल्टै बन्द भएको जीर्ण भवन हेर्न बाध्य छन्। लोकतन्त्र, गणतन्त्र आएपछि आफ्ना सन्तानलाई पनि सजिलै डक्टर, इन्जिनियर बनाउँला भनेर सोचेको परिवारका सपना महँगीले किचिरहेको छ।

यी तमाम निराशा र यथार्थलाई बेवास्ता गर्दै फेरि पनि हामी सत्तास्वार्थकै लागि राजनीतिक इमान गुमाइ रहेकाहरुलाई नै साथ दिन पक्ष-विपक्षमा बाँडिन विभक्त छौं । कहिल्यै हामीले राजनीतिक आस्था भन्दा माथि उठेर राजनीतिक संस्कार र वैधता गुमाइरहेका नेताहरु विरुद्ध खबरदारीका निम्ति सडक तताएका छौं त? हामीले ल्याइदिएको परिवर्तनमा धेरै सुकिला-मुकिला भए तर कहिल्यै हामीले आफ्नै लागि आवाज उठाएका छौं त? अहँ, छैनौँ । उठाएका छौं त केवल निर्देशन पालना गर्न र चाकरी स्वीकार्न ।

जसलाई ठूला बनायौं उनीहरु मध्य क–कसका छोरा तपाईं–हामी सँगै चुहिने छानोमा बसेर पढेका छन्? बन्द चिनीमिल चल्नुपर्छ भनेर होस्, पश्चिम सेती समयमै बन्नुपर्छ भनेर या कर्णालीमा बिजुली चाहियो, कालीगण्डकीको त्रास रोक्नुपर्‍यो, सीमा मिच्न दिनुहुन्न भन्ने सवालमा कतिले आन्दोलन स्वीकारेका छौं? कतिले ज्यान दिएका छौं ?

हो, हामी नेताहरुको निर्देशन पर्खिरहेका छौं। तर, हामीले ल्याइदिएको परिर्वतन संस्थागत गर्ने आवश्यकता नेताहरुले कहिल्यै महसुस गर्दैनन् । हामीले खुन-पसिना बगाएको गुन तिर्ने आवश्यकता बोध कहिल्यै गर्दैनन् । हामी त केवल हनुमान, हामी त केवल ठिङ्ग्रिङ्ग उभिइ रहेको रोबट जस्तो भएर आदेश मानिरहेका छौं। चाकरी गरिरहेका छौँ ।

नेपालले थुप्रै पटक सत्ताकै लागि आफ्नो गौरवपूर्ण इतिहासमा ठूलठूला क्षति व्यहोर्दै आएको छ । यहाँ भएका ठूला-ठूला क्रान्तिहरु सत्ताकै खातिर भएका छन्। फरक यत्ति हो, कहिले ती क्रान्ति सत्ता टिकाउनका लागि त कहिले सत्ता फाल्नका लागि भएका छन्। १९०० आसपासमा भएका कोत पर्व र भण्डारखाल पर्व होऊन् या त्यसभन्दा अघि–पछि भएका तमाम घृणित दुर्घटनाहरु सत्ताकै लागि भए ।

आफ्नै बाउलाई ‘पागल’ घोषित गरी सत्या हत्याउने प्रताप मल्ल हुन् या रोलक्रममा रहेका राणाजी हुन् वा शाहकालीन राजा-सबैले वंशविनास, हत्या, धोकाधडी केवल सत्ता र शक्तिकै लागि गरे । विशेषतः जन-सर्वोच्चता, न्यायिक स्वतन्त्रता, विधिको शासन, जहाँनिया तानाशाही व्यवस्थाको अन्त्य एवं राष्ट्रिय स्वाधीनताका लागि भएका जनआन्दोलन २००७, २०४७ र २०६२–६३ लाई नेपाली राजनीतिका महत्वपूर्ण परिघटनाका रुपमा हेरिएको छ ।

यी सबै राजनीतिक व्यवस्था र शासनसत्ता परिवर्तनकै लागि भएका थिए। ती सबै परिघटनाहरुको परिणाम पवित्र थियो भन्न सकिन्न। तर, पछिल्लो पटक भएका महान राजनीतिक आन्दोलनकै बलमा स्थापित सुन्दर, शान्त नेपालमा आज हामी स्वतन्त्रताको सास फेरिरहेका छौं।

विभिन्न कालखण्डमा भएका थुप्रै त्याग, तपस्या र बलिदानबाट नेपालको इतिहास बनेको छ। अहिले हामी तमाम योद्धाहरुको बलिदान एवं खुनपसिनाले निर्माण गरेको त्यही अटल, अविचलित, स्वतन्त्र र स्वाभिमानी इतिहासको ब्याज खाइरहेका छौं। निर्लज्ज बाँचिरहेका छौं। इतिहासले अधूरै छाडेका सपनाहरु सकार पार्नु त कता हो कता, विगतका वीरताका गाथा रटान गरेर कायरता ओकेलि रहेका छौं। गौरवपूर्ण इतिहासमाथि नांगो नाच नाचिरहेका छौं। शान्त, स्वाभिमानी र अविचलित इतिहासलाई आडम्बरी राजनीतिमा सौदावाजीको विषय बनाइरहेका छौं।

हामीलाई इतिहासले थुप्रै पाठ सिकाइसकेको छ। तर पनि हामी इतिहासको यथार्थतालाई निर्ममता पूर्वक कुल्चिरहेका छौं । २००७ सालमा बिजारोपण भएको प्रजातन्त्र अंकुरित हुन नपाउँदै २०१७ सालमा खोसियो। २०३६ सालको साहसिक आन्दोलनलाई २०३७ सालको जनमतसंग्रहले बलात्कार गरिदियो। २०४६–४७ सालमा पुनर्बहाली भएको प्रजातन्त्र फेरि २०५९ माघ १९ मा अपहरित भयो । र, फेरि २०६२–६३ सालको महान जनआन्दोलन मार्फत गणतन्त्रको जन्म भएको भएको थियो। अहिले फेरी त्यही खेल, त्यही सत्ता मोह र त्यही छक्का पन्जामा देश अड्किएको छ। इतिहासले सिकाएका पाठहरुलाई नजर-अन्दाज गरेकै कारण देशले पटक–पटक समस्या भोगिरहेको छ।

जिम्मेवार नेताहरुका गैरजिम्मेवार अभिव्यक्तिहरुले करिव सात दशकको अनवरत प्रयास र प्रतीक्षापछि संविधानसभा मार्फत जारी गरिएको संविधान र त्यसको गर्भमा अंकुराइ रहेको सुन्दर नेपालको भ्रुणलाई हामी सत्ताको सौदावाजीमा निर्ममता पूर्वक तुहाउने, निमोठ्ने प्रयासमा उद्धत रहेका पो छौं कि भन्ने छनक मिलिरहेको छ । दलहरुले सामान्य विवेक गुमाएकै कारण इतिहासमा ठूलो क्षति व्यहोर्नु परेका उदाहरण पनि ताजै छन्। दलहरुको सामान्य कमजोरीकै कारण अहिले पनि जनताको विकास र समृद्धिको चाहना अवरुद्ध छ। राष्ट्रियता र स्वाभिमान संकटमा छ। संक्रमणकाल लम्बिइरहेको छ। राज्यव्यवस्था लथालिंग छ ।

एउटा नागरिक भएकाले म आफैंलाई दोषी करार गर्छु किनकि मैले राम्रा–नराम्रा दुवैका लागि समान त्याग गरेको छु। मैले चुनावमा कहिल्यै क्षमता र विवेक हेरिनँ। दुई-चार पैसा खर्च गर्न सक्ने, भट्टीमा बसेर रक्सीसँग कुखुरा र खसीका साँप्रा, हुँदा–हुँदा राँगा र भैंसीका तिघ्रा चपाउन खर्च गर्ने गाउँका पटमूर्ख चंखेलाई नेता बनाउन दिलोज्यान दिएँ।

अनि आज उसले अमृत ओकलोस्, नेपाललाई सुन्दर बनाओस्, आर्थिक विकासका योजना बनाओस् र कार्यान्वन गर्न लागोस् भनेर अपेक्षा गरिरहेको छु। अनि म पक्का मूर्ख नभएर के? अहिलेका परिणामको दोषी म आफैं नभएर को त? तर, तपाईं नेपाली जनता म जस्तै हुनुहुन्छ भनेर दावी गर्दिनँ। हामी बिग्रिसकेका छैनौँ। तर सप्रिन अवश्य आवश्यक छ। हामी नेपाली न पर्यौँ, भावनामा धेरै बहकिन्छौँ। तर अब कसैको उक्साहठमा हैन, हाम्रो आफ्नै बिबेकमा पो अगाडि बढ्ने बेला आएको छ कि?

(लेखक टेलिभिजन कार्यक्रम निर्माता तथा प्रस्तोता साथै सामाजिक अभियान्ता हुन्)

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय