scheduleबुधवार आषाढ़ २ गते, २०७८

कोभिड–१९ विरुद्ध लामो संघर्षको रणनीति

काठमाडौं, २६ जेठ । यो कुरा अब अलिक चर्को स्वरमै भन्नुपर्ने भएको छ कि कोभिड–१९ महाव्याधिको भाइरस समाप्त हुन मानिरहेको छैन । एक दर्जन बढी प्रजातिका प्राणीमा हुर्किरहेको कारणले सार्स–कोभिड–२ लाई निर्मल पार्न सम्भव नभएको हो । कुनै समय एक मात्र समाधानका रुपमा चर्चा गरिएको ‘वैश्विक बथान उन्मुक्ति’ (ग्लोबल हर्ड इम्युनिटी) असम्भव कुरा हो ।

अधिकांश देशसँग पर्याप्त खोप छैन । खोप सुविधा प्राप्त गरिरहेका सीमित भाग्यशालीहरुले पनि सजिलै लिइरहेका छैनन् । फलस्वरुप, खतरनाक भेरियन्टहरु फैलिन पाउनु अगाडि नै पर्याप्त मानिस प्रतिरोधात्मक क्षमतायुक्त हुन पाएका छैनन् । तसर्थ सन् २०२० मा जस्तै फेरि विभिन्न भेरियन्टले संसारलाई घेराबन्दी गर्न सक्दछ ।

भाइरस मर्नुको सट्टा आगामी वर्षभरि झन फैलिने संभावना छ । हिजोका सफलताका केही कथाहरु फेरि नाजुक हुँदैछन् । गम्भीर प्रकोपको शिकार हुँदैछन् । कडा सीमा नियन्त्रण, आइसोलेसन, परिक्षण र छिटो पत्ता लगाउने विधिद्वारा महाव्याधिलाई बाँधेर राखेका स्थानमा पनि खोपको अभाव छ । ताइवान र भियतनाम यसका उदाहरण हुन । सन् २०२१ को मेसम्म यी देशले राम्रै नियन्त्रण गरेका थिए । अहिले स्थिति उल्टो हुन थालेको छ ।

जनसंख्याको ठूला अंशलाई खोप दिइसकेको देशहरु पनि नयाँ भेरियन्टहरुको शिकार हुने संभावना छ । चिली, मंगोलिया, सेसेल्स र संयुक्त अधिराज्यका धेरै सघन प्रभावित क्षेत्रमा त्यस्तै भइरहेको छ । भाइरस त्यहाँ छँदैछ । प्रतिरोधमा हामी पनि त्यही छौं भन्नका लागि के गर्ने होला ?

महाव्याधिलाई जित्न पैसा र स्रोतसाधन भएर मात्र हुँदैन । उपयुक्त विचार र रणनीति चाहिन्छ । सन् १८५४ मा जतिखेर जिवाणु सिद्धान्त नै पत्ता लागेको थिएन, चिकित्सक जोहन स्नोले लण्डनका इनारको पानीमा हैजाको स्रोत छ भन्ने पत्ता लगाएर त्यसलाई रोकेका थिए । उनले समुदायका नेताहरुलाई सबै इनारको पानी पम्पले तानेर फाल्दिन आग्रह गरेका थिए । त्यसपछि हैजाको प्रकोप अन्त्य भएको थियो ।

सन् १९७० को दशकमा अफ्रिका र भारतमा विफर व्यप्त थियो । नाइजेरियाको एक अस्पतालमा काम गर्ने महामारी विशेषज्ञ विलियम फोगेले आफूलाई दिइएको थोरै खोपले सबै रोगी निको पार्न नसकिने बुझे । उनले खोप दिने नयाँ तरिका अबलम्बन गरे । उनले समाजमा राम्रो सम्बन्ध भएकालाई हैन, रोग लाग्ने जोखिम धेर लाग्ने संभावना भएका व्यक्तिलाई खोप दिए । यो रणनीतिले एक दशकपछि बिफर निर्मल हुन संभव भयो । एक्काइशौं शताब्दिमा छिटो सबैलाई खोप दिने हो भने कोभिड–१९ इतिहास हुन सक्दछ ।

इन्फुइन्जा र दादुराको महामारीमा जस्तै कोभिड–१९ को महामारीबाट सामान्य अवस्थामा फर्किने औजार नभएका हैनन । सबैभन्दा महत्वपूर्ण कुरा जोखिम धेर भएको ठाउँमा छिटो खोप पुर्याउनु नै हो । जहाँ संक्रमण दर धेरै छ र खोपको आपुर्ती कम छ, त्यो अन्त्य हुनु पर्दछ । विफर नियन्त्रण गर्न अमेरिकाले प्रयोग गरेको यो तरिका फेरि एकपटक नयाँ तरिकाले लागू गर्नु पर्दछ ।

प्रविधिको पहिचान र प्रयोगमा सरकारहरुले व्यापक ध्यान दिनु पर्दछ । संभावित संक्रमितहरुलाई बेलैमा सुचना दिने सुचना प्रणाली प्रयोगमा ल्याउनु पर्दछ । ती देश जसले खोप कार्यलाई ढिलो र सुस्त बनाउँछन्, त्यहाँ नयाँनयाँ भेरियन्ट विकास हुने जोखिम बढ्दछ । कोभिड–१९ प्रतिरोध गर्ने अन्तर्राष्ट्रिय प्रणालीलाई अझ छिटो मर्मत गर्न जरुरी छ । बढ्दो राष्ट्रवादको यो अवधिमा देशरुमा मिलेर काम गर्ने स्थिति बनाउनु पर्दछ ।

महामारीको बेला अलि बढी चमत्कारिक सोच हुने पर्दछ । सन् २०२० को प्रारम्भतिर चीनको बुहानमा देखिएको यो भाइरस यसरी फैलिन्छ भन्ने कसैले सोचेन । त्यतिखेर सरकारले भाइरसलाई सिमानामा नै रोक्ने तथा गर्मी बढ्दै जाँदा आफै कमजोर हुने सोचेका थिए । तापक्रम जाँच गरेर संक्रमति पत्ता लगाउन सकिन्छ भनेर सोचेका थिए । भइरहेकै औषधिले रोग निको पार्न काम गर्ने छ भन्ने सोचेका थिए । तर यस्ता सबै अनुमान गलत सावित भए । सामाजिक दुरी कायम गर्ने, मास्क लगाउने जस्ता वैज्ञानिक सुझाब स्वीकार गर्न समेत सरकारहरुलाई गह्रो भएको छ ।

कोभिड–१९ ले एकदमै अवान्छित भूराजनीतिक क्षणमा आक्रमण गर्‍यो । बढ्दो राष्ट्रवाद र लोकरिज्याइँवादको युगमा महाव्याधिको प्रतिरोधका लागि वैश्विक सहकार्य निक्कै अप्ठ्यारो काम थियो । ब्राजिलका जायर बोल्सोनारो, रुसका पुटिन, टर्कीका एर्दोगान, युकेका बोरिस जोहन्सन र अमेरिकाका डोनाल्ड ट्रम्पको संर्कीणतावाद उस्तै थियो । यिनीहरुले संकटलाई हल्कासंग लिए । वैज्ञानिक सुझाबहरु मानेनन र अन्तर्राष्ट्रिय सहकार्यका लागि अनिच्छुक रहे । वैश्विक नेतृत्व लिन सक्ने दुई देश चीन र अमेरिका नै कोरोनाको उत्पति र फैलावटबारे एकअर्कालाई आरोपप्रत्यारोप गर्नतिर लागे ।

प्रयोगशालाबाट दूर्घटना भयो वा जनावरबाट भाइरस मानिसमा सर्यो जस्ता विवादलाई पन्छाएर चीनले सुचना व्यपाक बाँड्न पथ्र्यो । चिनियाँ अधिकारीले त्यसो गरेनन । उनीहरुले अन्तर्राष्ट्रिय यात्रा अनुमतिलाई भाइरस देखिएको निक्कै पछिसम्म कायम राखे । यसो नगरिएका भए सायद भाइरस यति छिटो फैलिने थिएन । अमेरिकाले सम्बन्धीत विशेषज्ञहरुको प्रारम्भिक चेतावनीबाट संभावित संकटको गम्भीरतालाई स्वीकार गरेन, बरु बेवास्ता गर्यो । ट्रम्प प्रशासनले कोभिड–१९ कुनै प्रष्ट जोखिम मानेन बरु एक अमूर्त संकट जस्तो व्यवहार गर्यो ।

अमेरिकाले केही सिमित गरे पनि चीनबाट हुने सबै यात्रा रोकेन । युरोपबाट हुने यात्रा नियन्त्रण गर्नु अघि लामो प्रतिक्षा गर्यो । अग्रपंक्तिका स्वास्थ्यकर्मीको सुरक्षा र औजार, उपकरणको उत्पादनतिर ध्यान दिएन । यहाँसम्म कि राजनीतिज्ञहरुले मास्क लगाउनु र नलगाउनुलाई समेत आफ्नो राजनीतिक पहिचानको बिषय बनाए । यस्ता मुर्खता, ढिलासुस्ती र गन्जागोलले समेत भाइरसलाई छिटो फैलिने अवसर दियो र मृत्यु धेरै हुन पुग्यो । अमेरिका विश्व जनसंख्याको ४ प्रतिशत मानिस बस्ने धनी, शक्तिशाली र अनुसन्धान संस्थाहरु धेरै भएको देश थियो । तर, विश्वसंक्रमणको २५ र मृत्यको २० प्रतिशत यही भयो ।

केही देशका सरकारले भने शुरुवात देखिनै गम्भीरतापूर्वक लिए । ताइवान जो सन् २००३ को सार्सबाट अनुभवी भएको थियो, होसियार भयो । यसले तुरुन्तै वुहानबाट हुने यात्रा रोक्यो, सीमा नियन्त्रण गर्यो, समन्वय केन्द्र खोल्यो । सामाजिक दुरी र मास्क प्रोत्साहित गर्यो । आइसोलेशन र परिक्षणलाई तीव्र पार्यो । सन् २०२१ को मेसम्म ताइवानमा कोभिड–१९ बाट जम्मा १२ जनाको मात्र मृत्यु भएको थियो । भियतनामले पनि त्यस्तै होसियार अपनायो । मेसम्म त्यहाँ ३२ जनाको मात्र मृत्यु भयो ।

बिफर र पोलिया उल्मूलनका उदाहरणबाट सिक्दै विश्वले तीव्र सहकार्य गर्न जरुरी थियो । महामारी बीच यस्तो राजनीति होला भनेर कसैले सोचेको थिएन तर अमेरिकी राष्ट्रपति ट्रम्पले त विश्व स्वास्थ्य संगठनबाटै आफूलाई बाहिर झिके । ट्रम्पजस्ता स्वार्थी नेताहरुको कारणले समेत संक्रमण र मृत्यु सोचेभन्दा धेरै भयो ।

खोपको विकास महाव्याधि बीचको उज्यालो पक्ष हो । अहिलेसम्म आइपुग्दा थुप्रै प्रकारको खोप विकास भइसकेका छन् । तर, अन्तर्राष्ट्रिय सहकार्यको अभावमा खोपको उत्पादन र वितरण उचित हुन सकेको छैन । निम्न तथा मध्यम आय भएका देशले खोपको उत्पादन, खरिद वा आपुर्तीमा कुनै उल्लेखनीय काम गर्न सकेका छैनन । नेपाल, भुटान, केन्या, रुवान्डाजस्ता देशहरुमा खोपको व्यापक अपर्याप्तता छ । विश्व स्वास्थ्य संगठनले यस कार्यमा उचित भूमिका गर्न सकिहरेको छैन ।

यो वर्ष संक्रमण फेरि तीव्र हुँदैछ । बथान उन्मुक्तिको सपना मृततुल्य भएको छ । कतिपय देशले यो अवधारणमा विश्वास गरेर संक्रमण हुन छोडिदिए । जस्तो कि स्वीडेन । त्यहाँ धेरै मृत्यु भयो । डेनमार्क, फिनलैण्ड र नर्वेजस्ता देश शुरुमा यस्तो सोचबाट प्रभावित भए । तर, यो गलत रणनीति हो भनेर ती देशले करिब एक वर्षपछि मात्र बुझे । आज प्रष्ट भएको छ कि बथान उन्मुुक्तिको सही हैन, हामीले खोप रणनीति नै अपनाउनु पर्दछ । अमेरिकाले मात्र अहिले ३ वटा भ्याक्सिन उत्पादन गरिसकेको छ । मोर्डना, फाइजर र जोहन्सन एण्ड जोहन्सन । विद्यमान भेरियन्टमा लागि यी खोप एकदमै प्रभावकारी देखिएका छन् । तर, नयाँनयाँ भेरियन्ट विकास हुँदै गएमा खोपको प्रभावकारिता नरहन सक्दछ ।

एक धनी, शक्तिशाली र आधुनिक वैज्ञानिक देश भएको कारण कोभिड–१९ विरुद्धको लामो संघर्षमा अमेरिकाको अत्याधिक भूमिका हुन्छ । अमेरिकाले विश्व स्वास्थ्य प्रणालीमा सहकार्य गर्नु पर्दछ, साँघुरो राष्ट्रवादी दृष्टिकोणमा अल्झिएर हुँदैन । अमेरिकाले आफ्नो जनसंख्यालाई मात्र खोप पुर्याएर धर पाउँदैन । उसले विश्वका अल्पविकसित तर तीव्र संक्रमण र संक्रमणको जोखिम भएका देशलाई खोप सहायता गर्नु पर्नेछ । तर कोभिड–१९ मा अमेरिकी भूमिका र प्रयास मात्र पर्याप्त हुने छैन । अहिले अन्तर्राष्ट्रिय प्रणाली भाँचिएको अवस्था छ । प्रणालीलाई कसरी ठीकठाक गर्ने भन्ने समस्या आजको मुख्य चुनौति हो ।

विश्व स्वास्थ्य प्रणालीमा सबैभन्दा ठूलो आवश्यकता गति बढाउनु हो । महामारीमा समय निक्कै महत्वपूर्ण हुन्छ । तीव्र संक्रमणभन्दा अगाडि नै यसलाई रोक्न सकिने अवसर हुन्छ । कोभिड–१९ को तीव्र संक्रमणको एक कारण ढिलो निर्णयकर्ताहरु पनि हुन । पछिल्ला निगरानी प्रविधि रोग पत्ता लगाउने डिजिटल प्रणाली, सहभागितामुलक निगरानी प्रणाली, खोज सुचना प्रणाली धनी देशमा मात्र हैन, जतातातै उपलब्ध छन् ।

कोभिड–१९ इतिहासकै सर्वाधिक भयानक महाव्याधि भने हैन । तर, हामीले भाग्यमा भर परेर हुँदैन । वितेको डेढ वर्षमा हामीले मानिस–जनवार सम्बन्ध, विश्वव्यापी हवाइ यात्रा र विश्वव्यापीकरणले हामीलाई कसरी शिकार बनाउन सक्दछ भन्ने सिकायो । तसर्थ हामीले आफ्नो जीवनशैली, प्राकृतिक संसारसंगको सम्बन्ध, रोगथामका उपाय र आकस्मिक अवस्थामा विश्वव्यापी स्वास्थ्य प्रणालीबारे आफ्ना तरिकामा गहिरो परिवर्तन गर्नु पर्दछ । विश्वका सबै लोकप्रिय नेताले यो पाटोबाट सोच्न जरुरी छ । वैश्विक महामारीको समयमा राष्ट्रका सिमाना, राष्ट्रवाद र स्वस्वार्थले कुनै काम गर्दोरहेनछ भन्ने शिक्षा सबैलाई भएकै हुनु पर्दछ ।

(फोरेन अफेयर्सबाट संक्षेपीकरणसहितको भावानुवाद)

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय