scheduleसोमवार आश्विन ११ गते, २०७८

चर्चित अमेरिकी कम्पनीले ह्याकरलाई फिरौतीस्वरुप ११ मिलियन डलर बुझायो

एजेन्सी, २७ जेष्ठ । ब्राजिलियन मासु प्रशोधन केन्द्र जेबिएसको अमेरिकी शाखाले फिरौतीस्वरुप ह्याकरलाई ११ मिलियन अमेरिकी डलर (१ करोड २८ लाख नेपाली रुपैयाँ) तिरेको छ ।

द वाल स्ट्रिट जर्नलले जेबिएसको अमेरिकी शाखाका सिईओलाई उदृत गर्दै ह्याकरलाई डिजिटल मुद्रा बिटकोइनमार्फत् ११ मिलियन डलर बुझाएको समाचार छापेको छ । आगामी दिनमा ह्याकिङमार्फत् केन्द्रको गतिविधि थप अवरुद्ध नहोस् भनेर उक्त रकम बराबरको फिरौती प्रदान गरिएको समाचारमा उल्लेख छ ।

‘अपराधीहरुलाई पैसा बुझाउँदा निकै दु:ख लाग्यो तर हामीले हाम्रा ग्राहकका लागि राम्रो काम गर्‍यौं’, बुधबार जेबिएस युएसए होल्डिङ इन्कका सिईओ आन्द्रे नोगुइराले भने । जेबिएसका अधिकांश प्लान्टमा काम सुचारु भएपछि फिरौती रकम दिएको उनको भनाइ थियो । भविष्यमा हुन सक्ने ह्याकिङ रोक्न र किसान, रेष्टुरेन्ट र किराना पसलमाथि पर्न सक्ने असर कम गर्न फिरौती रकम दिएको नोगुइराले बताए ।

गत हप्ता ह्याकरले जेबिएसलाई निशाना बनाएका थिए । उनीहरुले कम्प्युटर प्रणालीमा प्रवेश गरी समग्र प्रणालीलाई नियन्त्रण गरेपछि फिरौती रकम मागेका थिए । ह्याकिङ भएपछि जेबिएसका क्रियाकलाप अबरुद्ध हुन गएको थियो । फलस्वरुप, अमेरिकी बजारमा ढिलो गरी मासु आपूर्ति भएको थियो । त्यस्तै अस्थायी रुपमा मासुको अभाव देखिएपछि मूल्य समेत बढेको थियो ।

जेबिएस अमेरिकाको दोस्रो ठूलो मासु आपूर्तिकर्ता कम्पनी हो । उक्त केन्द्रमा अमेरिकामा खपत हुनेमध्ये झण्डै २० प्रतिशत मासु प्रशोधन हुने गर्छ ।

यसअघि मे महिनाको सुरुमा ह्याकरहरुले कोलोनियन पाइपलाइनलाई निशाना बनाएका थिए । ह्याकिङलगत्तै कैयौं ग्यास स्टेशनमा इन्धन अभाव देखिएपछि पाइनलाइन कम्पनीले फिरौती स्वरुप ४.४ मिलियन अमेरकी डलर बिटकोइन मार्फत् बुझाएको थियो ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय