scheduleबुधवार आषाढ़ २ गते, २०७८

युरोपका ‘महत्वपूर्ण क्षेत्र’ मा हुने साइबर हमला दोब्बरले वृद्धि

एजेन्सी, २७ जेष्ठ । गत वर्ष युरोपका महत्वपूर्ण क्षेत्रमाथि साइबर हमला दोब्बरले वृद्धि भएको छ । युरोपियन युनियन एजेन्सी फर साइबरसेक्युरिटी (एनिसा) का अनुसार २०२० मा साइबर हमलाका घटना दोब्बरले वृद्धि भएको हो ।

एनिसाका अनुसार गत वर्ष व्यापक प्रकृतिका ३०६ वटा साइबर हमला भएको र यसमध्ये अधिकांश हमलामा ‘महत्वपूर्ण क्षेत्र’ (critical sectors) लाई निशाना बनाइएको थियो । जुन संख्या अघिल्लो वर्ष (२०१९) मा १४६ थियो ।

तथ्याङ्कले अस्पताल र स्वास्थ्य सेवामा हुने साइबर हमलामा ४७ प्रतिशतले वृद्धि भएको देखाउँछ । अपराधिक साइबर सञ्जालले महामारीको बेला सबैभन्दा महत्वपूर्ण मानिएको स्वास्थ्य लगायतका क्षेत्रलाई निशाना बनाएर कमाउने उद्देश्य राखेको एनिसाले बताएको छ ।

एनिसाको तथ्याङ्कले साइबर हमलाको बढ्दो विश्वव्यापी प्रभावको गम्भीरतालाई देखाउँछ । यस्तो हमला प्राय: फिरौती रकम माग्नका लागि प्रयोग गरिने सफ्टवेयर (ransomware) मार्फत् हुने गरेको पाइन्छ । यस खाले हमला केही समययता अमेरिकामा समेत भएको छ । जस्तै, कोलोनियन पाइपलाइन र मासु प्रशोधन केन्द्र जेबिएसमा भएको साइबर हमलालाई लिन सकिन्छ ।

मे महिनाको सुरुमा ह्याकरहरुले कोलोनियन पाइपलाइनलाई निशाना बनाएका थिए । ह्याकिङलगत्तै कैयौं ग्यास स्टेशनमा इन्धन अभाव देखिएपछि पाइनलाइन कम्पनीले फिरौती स्वरुप ४.४ मिलियन अमेरिकी डलर बिटकोइन मार्फत् बुझाएको थियो । त्यस्तै गत हप्ता ह्याकरले जेबिएसलाई निशाना बनाएका थिए ।

साइबर हमलाकारीले जेबिएसको कम्प्युटर प्रणालीमा प्रवेश गरी समग्र प्रणालीलाई नियन्त्रण गरेपछि फिरौती रकम मागेका थिए । ह्याकिङ भएपछि जेबिएसका क्रियाकलाप अबरुद्ध हुन गएको थियो । फलस्वरुप, अमेरिकी बजारमा ढिलो गरी मासु आपूर्ति भएको थियो । त्यस्तै अस्थायी रुपमा मासुको अभाव देखिएपछि मूल्य समेत बढेको थियो । साइबर हमलापछि जेबिएसले ११ मिलियन मिलियन अमेरिकी डलर बिटकोइन मार्फत् बुझाएको थियो ।

महामारीका कारण अनलाइन सेवा अपरिहार्य बन्दा यसबाट साइबर हमलाकारीले फाइदा लिन खोजेको प्रस्ट हुन्छ । मानिसहरु घरभित्रै बस्न पर्ने अवस्थाले उनीहरुसँग कम्प्युटर प्रणाली महत्वपूर्ण क्षेत्रका जोखिमहरु अन्वेषण गर्ने समय हुने भएकाले समेत हमलामा वृद्धि हुन पुगेको एनिसाका एपोस्टोलोस मालाट्रासको भनाइ छ ।

बेलायती फर्म सोफोसले व्यवसायका बारेमा गरेको सर्वेक्षणले र्‍यानसमवेयर हमलाको औसत खर्च समेत एक वर्षको अवधिमा दोब्बरले बढेर १.८५ मिलियन डलर पुगेको निष्कर्ष निकालेको छ । यस्तो खर्चमा बिमा, व्यवसायमा हुने क्षति, क्लिनअप र साइबर हमलाका लागि दिइने भुक्तानी समावेश छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय