scheduleबिहिवार श्रावण १४ गते, २०७८

खोप नश्लवाद र विभेद स्वीकार्य हुन सक्दैन

चेतन भगत

हालै संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटरेसले ट्वीट गरे– ‘धनी देश र क्षेत्रमा कम आयस्तर भएका देशको तुलनामा ३० गुणा ज्यादा र छिटो खोप मिलिरहेको छ । खोप कार्यक्रमका लागि यो अनुचित मात्र छैन, सबैका लागि जोखिमपूर्ण पनि छ ।’

अर्को एक लेखमा विश्व स्वास्थ्य संगठनका प्रमुखले विद्यमान खोप संकटलाई ‘शर्मनाक असमानता’ भनेका छन् । उनले भनेका छन् कि अहिलेसम्म लगाइएको ७५ प्रतिशत खोप केवल १० देशभित्र छ । कम आयस्तर भएका देशमा मात्र ०.३ प्रतिशत खोप गएको छ ।

मानव जातिका तमाम उपलब्धिका बाबजुद कोभिड–१९ खोपको विश्व अवस्था निरासाजनक छ । यस कार्यमा एक मात्र वैश्विक प्रयास छ– विश्व स्वास्थ्य संगठनको ‘कोभ्याक्स’ । कोभ्याक्स गरिब देशहरूलाई कोरोना विरुद्धको खोप उपलब्ध गराउने कार्यक्रम हो । तर, यो कार्यक्रम आफैं खोप अभावको सामना गरिरहेको छ ।

कयौं गरिब देशमा अहिलेसम्म एक डोज पनि खोप पुगेको छैन । कोभ्याक्सको मुख्य निर्भरता भारतको सीरम इन्टिच्युट अफ इन्डिया थियो । भारतमै कमि भएपछि यसले खोप दिन सकेको छैन । स्थिति निक्कै नराम्रो छ ।

खोप अभाव भएका देशमा कोरानाबाट हुने मृत्यु अझै धेरै छ । अमेरिका, युके र इजरायलले आफ्नो करिब आधा जनसंख्यालाई खोप दिइसकेका छन् । खोपपछि ती देशको मृत्युदरमा ९० प्रतिशतले कमी आएको छ । त्यहाँ जनजीवन सामान्य हुँदै गएको छ । कयौं देशले भने समयमै खोपको सोर्सिङ र प्रि–अर्डर गर्न सकिरहेका छैनन् ।

चेतन भगत

उदारहणका लागि भारतले सन् २०२० मै खोप उपलब्धताको योजना बनाउन सक्थ्यो । तर, त्यो गरिएन । आज भारतको स्थिति नाजुक हुँदै गइरहेको छ । आज करिब १०० देशसँग कुनै खोप छैन, तर कतिपय देशमा भने शतप्रतिशत आपूर्ति भइरहेको छ । मानव जातिको स्तरका लागि यो कुनै राम्रो कुरा हैन ।

हामी सबै मानव जाति हौं । कुनै खास देशको नागरिक भएबापत् बाँच्ने अधिकार धेरै हुनु, अर्को देशका लाई नहुनु यो हाम्रो नश्लवादी सोचको अँध्यारो पाटो हो । यसलाई खोप नश्लभेद भन्न सकिन्छ ।

केही मुट्ठीभर फर्मास्युटिकल कम्पनी र सक्रिय सरकारहरूको हातमा विश्व संकटको समाधान केन्द्रित भएको छ । ठूला फर्मा कम्पनीले खोपको अनुसन्धान गरे । यो श्रेयका लागि उनीहरूलाई पुरापुरा सम्मान छ । तर, यो शानदार आविष्कारको बाबजुद विश्व संकट जहिँको त्यहीँ छ ।

के खोप केही देशको पेवा हो ? के खोप कुनै लक्जरीको वस्तु हो ? मानौं कि पोलियो वा बिफरको खोप केही सीमित देशमा मात्र दिइएको भए आज के हुन्थ्यो? के त्यसबापत् हामी ती अनुसन्धानकर्तालाई उत्तिकै सम्मान गर्न सक्थ्यौं ?

विद्यमान खोप संकट ठूला फर्मा कम्पनीहरूको मात्र दोष हैन । यो संसारभरिका सबै देशका सरकार, संयुक्त राष्ट्र संघ र विश्व स्वास्थ्य संगठनको पनि दोष हो । कयौं देशका सरकारहरू लालफित्ताशाही, खोप राष्ट्रवाद र परिस्थितिको गम्भीरतालाई नबुझ्ने कारणले दोषी छन् । संयुक्त राष्ट्र संघ र विश्व स्वास्थ्य संगठन कमजोर सक्रियताका लागि दोषी छन् । उनीहरूले स्थितिलाई कम आँके । उत्पादन साझेदारीको योजनाबाट बाहिर बसे ।

आज पनि कोभ्याक्स कार्यक्रम फर्मा कम्पनीको सहायतामा आधारित छ । ठूला कम्पनीलाई त्यसले व्यवसायिक कार्य दिन सकेको छैन । यो समस्यालाई फर्मा कम्पनीबाट पेटेन्ट समस्या हटाएर समाधान गर्न सकिन्छ । जसरी हुन्छ खोपको उत्पादन बढाउनै पर्छ । त्यसका लागि बौद्धिक सम्पति अधिकार कायम राख्ने कम्पनीले यो छोड्नै पर्छ ।

यो काम कसैको नैतिक आग्रहबाट सम्भव छैन । यसका लागि फर्मा कम्पनीहरूलाई बौद्धिक सम्पति अधिकार छोडेबापत् केही मुनाफायुक्त भुक्तानी गर्नैपर्ने हुन्छ । यो कार्यमा समन्वयको अभाव हो । अन्यथा सबै देशले बहुमूल्य खोपका लागि उचित बजार मूल्य दिन सहमति जनाउने छन् ।

संयुक्त राष्ट्र संघ, विश्व स्वास्थ्य संगठन तथा विश्व व्यापार संगठनजस्ता र विश्वका प्रभावशाली नेताहरूले पेटेन्ट रिलिज गर्ने रकम निर्धारण गर्न पर्दछ ताकी खोप निर्माता कम्पनीलाई अनुसन्धान लागत तथा मुनाफा भरपाई गर्न सकियोस् । यो रकम जनसंख्याका आधारमा सबै देशले भुक्तान गर्न सक्दछन् । पेटेन्ट रिलिज गर्ने बित्तिकै संसारभरिका औषधि कारखानामा तीब्र गतिले खोप उत्पादन गर्न सकिन्छ ।

कसैले भन्ला यस्तो बेला पनि फर्मा कम्पनीहरूले पैसा कमाउन खोज्नु नैतिक हो ? तर, यो नैतिकताको चर्चा र उपदेश गर्ने समय हैन । हामीलाई खोप कार्यक्रमको तिब्रता चाहिएको छ । त्यो कसरी सम्भव हुन्छ, अहिले सबैले त्यतातिर सोच्नु पर्दछ । सबै देशले जनसंख्या अनुपातका आधारमा तिर्ने हो भने यसको रकम प्रतिव्यक्तिमा धेरै ठूलो हुने छैन । सरकारहरूको राज्यकोषमा अलिक भार पर्दा केही बिग्रने हैन ।

खोप योजना राम्रो नबन्ने हो भने आगामी ३ वर्षमा पनि यो काम पुरा हुने छैन । धनी देशहरू यो सोचिरहेका छन् कि पहिले आफू बाहिर निस्कौं । यो मुर्खता मात्र हो । जहाँ खोप पुग्ने छैन, त्यहाँ नयाँनयाँ भेरियन्ट विकास भइरहने छ । त्यो फेरि विश्वभरि फैलिँदैन भन्न सकिन्न । खोप नलगाइएको क्षेत्रमा हुने नयाँ भेरियन्टको विकास र विस्तार सबैका लागि उत्तिकै जोखिमपूर्ण हुन्छ ।

विश्व स्वास्थ्य संगठनको कोभ्याक्स कार्यक्रमका लागि तुरुन्तै एक राम्रो योजना बन्नु पर्दछ । गरिब देशले पनि खोपको मूल्य तिर्न सक्दछन् । तिर्नु पनि पर्दछ, सबै चिज सधै अनुदानमा भर पर्नु राम्रो हैन । विश्वभरिका सबै मानिसमा यथाशीघ्र खोप पुर्‍याउने योजना हुनै पर्दछ ।

हामी सबै एकै मानव जाति हौं । कुनै देशका नागरिकलाई ज्यादा बाँच्ने अधिकार हुने, अरु देशकालाई नहुने यो खोप नश्लवाद र विभेद स्वीकार्य हुन सक्दैन ।
दैनिक भाष्करबाट ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय