scheduleशुक्रवार आश्विन १ गते, २०७८

लालु यादवको राजनीतिक जीवनका रमाइला ५ किस्सा

काठमाडौं, २८ जेठ । लालु यादव भारतका चर्चित राजनीतिज्ञ हुन् । उनी २९ वर्षको उमेरमा पहिलोपटक लोकसभाको सदस्य निर्वाचित भएका थिए । सन् १९९० मा उनी बिहारको मुख्यमन्त्री भए । सन् २००४ मा उनी केन्द्रीय सरकारको रेलमन्त्री भएका थिए ।

उनकी पत्नी रावडीदेवी ३ पटक विहारको मुख्यमन्त्री भएकी थिइन् । उनका छोरा तेजस्वी अहिले बिहार विधानसभा विपक्षी दलको नेता छन् ।

लालु राष्ट्रिय जनता दलका अध्यक्ष समेत हुन् । पशुचारा घोटाला काण्डमा जेल जीवन बिताएका लालबारे थुप्रै रोचक किस्साहरु सुनिन्छन् । प्रस्तुत छ– लाल यादवको राजनीतिक जीवनका रमाइला ३ वटा किस्सा ।

किस्साः १
सन् १९९० मा भाजपा नेता लालकृष्ण आडवाणीले सोमनाथ–अयोध्या रथयात्रा गरेका थिए । रथयात्रा जब बिहार प्रवेश गर्यो, मुख्यमन्त्री लालुले रथयात्रामा रोक लगाएर आडवाणीलाई पक्राउ गरे । नजरबन्दमा राखिएका आडवाणी बारम्बार बेचैन हुन्थे ।

उनले लालुलाई आफ्नी पत्नी कमला आडवाणीसँग कुराकानी गर्ने व्यवस्था मिलाई दिन अनुरोध गरे । लालुले नजरबन्दमै आडवाणीका लागि हटलाइन टेलिफोन जडान गर्दिए । नजरबन्दमा राखिएका कैदीलाई यस्तो सुविधा दिने प्रचलन थिएन ।

अडवाणीलाई हटलाइन फोन सुविधा दिइएको पत्रकारहरुलाई थाहा भयो । भारतभरि हल्ला चल्यो । कैद नियम तोडेको आरोप बीपी सिंहको सरकारमाथि लाग्यो । यसबारे लालुले सार्वजनिक प्रतिउत्तर दिनुपर्ने भयो ।

लालुले पत्रकार सम्मेलनमा भने– ‘आडवाणीजीले पत्नीसंग दिनमा दुईपटक कुराकानी गरेको सही हो । तर, हटलाइन जोडिएको सही हैन । आडवाणीजीसँग पत्नीसँग टाढैबाट संवाद गर्न सक्ने दिव्यशक्ति छ भने म के गरौं ।’

सबै हाँसे । घटना ढिसमिस भयो ।

किस्साः २
सन् १९९७ मा लालु पशुचारा घोटाला काण्डमा गिरफ्तार हुने निश्चित देखिएपछि पत्नी राबडीदेवीलाई मुख्यमन्त्री बनाए । उनको व्यापक आलोचना भयो । त्यसको प्रतिउत्तरमा लालुले सन् १९९७ जुलाई ७ तारिखको साँझ भएको राष्ट्रिय जनता दल विधायक समितिको बैठकको घटनाक्रम सार्वजनिक गर्दिए । उनका अनुसार संसदीय दलको बैठकमा उनले राजीनामाको घोषणा गरे । संसदीय दललाई नयाँ नेता चुन्न आग्रह गरे । तर, सबै एक अर्काको मुखामुख गर्न थाले । कसैले कसैका नाम लिएन ।

ठीक त्यही बेला कांग्रेसका तत्कालीन राष्ट्रिय अध्यक्ष सीताराम केसरीको फोन आयो । अरु नै कुनै कारणले केसरीले उनलाई फोन गरेका थिए । हालखबर सोध्दा लालुले स्थितिको जानकारी केसरीलाई दिए– मुख्यमन्त्रीबाट राजीनामा गर्दैछु । नयाँ संसदीय दलको नेता छान भनेको साथीहरु कोही तयार भएका छैनन् ।

केसरीले हाँसिमजाकमा भन्दिए– ‘कोही तयार हुँदैन भने आफ्नै श्रीमतिलाई बनाऊ न ।’

रावडीदेवी त्यतिन्जेल सामान्य गृहिणी थिइन् । उनी राजनीतिमा आउने र मुख्यमन्त्री हुने कसैले कल्पना गरेको थिएन । केसरीसँग फोनमा कुरा गरिसकेर उनी संसदीय दलको बैठकमा आए ।

बैठकलाई सोधे– केही प्रस्ताव आयो ? केही निर्णय भयो ?

फेरि कोही बोलेन । झोकैझोकमा उनले भने– कोही बोल्दैनौं भने म मेरो श्रीमतिलाई मुख्यमन्त्री बनाइदिन्छु ।

राष्ट्रिय जनता दल संसदीय दलको बैठकमा एकाएक नारा लाग्यो– रावडी देवी कि जय । र, जोडजोडले ताली बज्यो । तिनै रावडीदेवी पछि ३ पटक विहारको मुख्यमन्त्री भइन् ।

किस्साः ३
सन् २००४ को लोकसभा निर्वाचनमा राष्ट्रिय जनता दलको २२ सीट आयो । केन्द्रमा सरकार बन्न उनको समर्थन महत्वपूर्ण थियो । उनी कांग्रेस नेतृ सोनिया गान्धीलाई समर्थन गर्न चाहन्थे । तर, सोनिया भने डा. मनमोहन सिंहलाई अघि सार्दै थिइन् । सोनियाले बारम्बार आग्रह गरिन्, तर लालु मनमोहन सिंहलाई समर्थन गर्न राजी भएनन् ।

हैरान सोनियाले साँझ मनमोहन सिंहलाई लालुको निवासमा लिएर गइन् । उनले सोधिन्– मेरो साटो मनमोहनजीलाई सर्मथन गर्न तपाईलाई के गाह्रो छ ?
लालुले तुरुन्तै जवाफ दिए– जो प्रधानमन्त्री हुने हो, उसले एकपटक अनुरोध गरेको छैन, म कसरी समर्थन दिउँ ।
सबै हाँसे । मनमोहनले तुरुन्तै लालुलाई समर्थनका लागि अनुरोध गरे, उनले समर्थन दिए ।

यसबारे लालुले बारम्बार भन्ने गर्थे– मनमोहनजीले यो कहिल्यै नभुलून् कि म उनको साटो सोनियाजीलाई प्रधानमन्त्री बनाई दिन सक्थे ।

किस्साः ४
लोकसभा सदस्य भएको बेला संसदमा बोल्दाबोल्दै एकपटक भाषणमा लालुुको मुखबाट चिप्लियो– बिहारका सडकहरु ओम पुरीको अनुहार जस्ता छन् । तुरुन्तै हेमा मालिनीका गालाजस्तो बनाउनु पर्‍यो । संसदमा हाँसो छायो ।

पछि हेमा मालिनीसँग भेट हुँदा यो प्रसंग उठ्यो । लालुले प्रसंगलाई हाँसोमा उडाउँदै भन्दिए– चिन्ता नगर्नुस् बेहनजी, म धर्मेन्द्रजीलाई बिहारका सडकमा चुम्मा गर्न दिने छैन ।

किस्साः ५
बिहारमा बारम्बार बाढी आइरहन्थ्यो । बर्षात्मा कोशी, बलान र गंगाकिनारका बस्तीमा व्यापक क्षति पुथ्थ्यो । मुख्यमन्त्रीका रुपमा उनी बाढीको अनुगमनमा जान्थे । तर, सरकारले गर्ने सहयोग जनताका लागि अपर्याप्त हुन्थ्यो । बाढी पीडित बारम्बार असन्तुष्ट हुन्थे ।

एकपटक उनी गंगाकिनारका बस्तीमा बाढीको क्षति अनुगमन गर्न गएका थिए । असन्तुष्ट बाढी पीडितको भीडले उनलाई घेर्यो । लालुलाई कुनै अनिष्ट घटना हुन सक्ने गन्ध आयो । तुरुन्तै हाते माइक समातेर उनी भाषण गर्न थाले- आदरणीय जनसमुदाय ! तपाईहरुलाई थाहा छ कि गंगा जलको कति महत्व हुन्छ । एक लोटा गंगा जल लिन मानिस कयौं टाढा बाट आउँछन् र घरमा छर्किएर पवित्र बनाउँछन् । आज यहाँ सिंगै गंगामाता तपाईको घरमा पसेर घर पवित्र बनाइ दिएकी छन् । यो भन्दा ठूलो भाग्य के हुन्छ ?

बाढी पीडितले खुशी हुँदै जोडजोडले ताली बजाए । कुनै अप्रिय घटना हुन पाउँदै लालु त्यहाँबाट हिंडे ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय