scheduleबिहिवार श्रावण १४ गते, २०७८

एक्काइसौं शताब्दिका चुनौति र अ‍बको नेतृत्व

महेन्द्र आचार्य

एक्काइसौं शताब्दिका महान वैज्ञानिक स्टिफन हकिङले आफ्नो जीवनको उत्तर्राद्ध पृथ्वीको आयुसम्बन्धि एउटा भविष्यवाणी गरे । उनका अनुसार पृथ्वीको आयु अब लामो छैन । बढ्दो तापक्रमको कारण अबको एक शताब्दिपछि पृथ्वी मानव जीवनको लागि उपयुक्त नहुने हुनाले मानव अस्तित्व रक्षाको लागि ब्रमाण्डका अरु ग्रह वा उपग्रहमा बासस्थानको सम्भावना खोज्नुपर्ने र सीमित व्याक्तिलाई त्यहाँ स्तानान्तरण गरेर भएपनि मानव अस्तित्व रक्षा गर्नुपर्ने उनको मत रहेको छ । उनको यस मतमा सहमत छन् विश्वका धनीमध्येका एक एलन मस्क र आफ्नो कम्पनि SpaceX मार्फत् चन्द्रमामा मानव बस्ती बसाउने एउटा महत्वाकांक्षी परियोजनामा लगानी गरिरहेका छन् ।

यता पृथ्वीमा महाप्रलयको अनुमान भइरहँदा संसारलाई नै कायल पार्नेगरि कोभिड-१९ को महामारी फैलिएको छ । कोभिड-१९ जति घातक छ त्योभन्दा बढी घातक छ यसले पार्ने आर्थिक प्रभाव र त्यसले निम्त्याउने चरम गरिबी । विश्व बैंकको प्रारम्भिक प्रक्षेपणअनुसार कोभिड-१९ को कारणले सन् २०२० मा थप ८८ देखि ११५ मिलियन मानिस चरम गरिबीमा धकेलिने छन् ।

सम्रगमा सन् २०२० मा चरम गरिबीमा रहने मानिसको संख्या ७०३ देखि ७२९ मिलियनको बीचमा रहने अनुमान विश्व बैंकको रहेको छ । यो संख्या विश्वको कुल जनसंख्याको करिब १० प्रतिशत हुन आउँछ । विश्वको सबैभन्दा ठूलो प्रजातन्त्र भारतमा ५३.५ मिलियन मानिस चरम गरिबीमा बाँचिरहेका छन् जसको प्रतिव्यक्ति आय दैनिक रू दुई सय भन्दा पनि कम छ ।

विश्चको सबैभन्दा शक्तिशाली पुँजीवादी मुलुक अमेरिकामा सन् २०२० मा गरिबी दर ९.२ प्रतिशत रहने प्रक्षेपण गरिएको छ । सन् २०१९ मा यो दर ११.१ प्रतिशत रहेको थियो । धेरै मानिसहरूलाई अमेरिकामा गरिबी छैन भन्ने भ्रम रहन्छ । यो तथ्यांकले धेरैलाई आश्चर्यमा पार्न सक्छ । अमेरिकाका ५० प्रतिशत गरिबहरूको कुल सम्पति भन्दा ४०० धनी परिवारको कुल सम्पति धेरै छ । यसले पुँजीवादी समाजमा आर्थिक असमानता कति विकराल छ भन्ने प्रष्ट पार्छ । बरु कम्युनिष्ट मुलुक चीनमा उदारवादी नेता देङ च्या पिङको उदयपछि गरिबी गुणात्मक रुपले घट्दै गएको छ । सम्रगमा विश्वमा आर्थिक, सामाजिक र राजनीतिक असमानता कम हुनुको साटो झन् गहिँरिंदै गएको छ ।

महेन्द्र आचार्य

६ जनवरी २०२१ बुधबार अमेरिकी संसद भवन क्यापिटल हिलमा राष्ट्रपति डोनाल्ड ट्रम्प समर्थकहरूको हिंसात्मक प्रदर्शनले संसारलाई लज्जित बनाएको छ । यो घटना आधुनिक लोकतन्त्रको लागि सबेभन्दा ठूलो खतरा हो । हुन त एक्काईसौं शताब्दिमा अमेरिकाजस्तो देशमा ट्रम्पको उदय हुनु नै आफैंमा अनौठो घटना थियो । ट्रम्पजस्तो सनकी, लहडी, महिलाविरोधी व्यक्ति उग्रराष्ट्रवादको नारा उचालेर सत्तामा पुग्नु लोकतान्त्रिक पद्धतिमाथिकै उपहास हो ।

अमेरिकामा मात्र नभएर विश्वको ठूलो प्रजातन्त्र भारतमा मोदीजस्तो कट्टर हिन्दुवादी शासक र नेपालमा केपी ओलीजस्तो व्यक्तिवादी शासक सत्तामा पुग्नु एउटा संयोग मात्र हो या विश्वमै लोकतन्त्रमाथि चुनौति थपिएको हो त्यो त समयले नै बताउनेछ । तर एउटा कुरा चाँहि के प्रष्ट हो भने लोकतन्त्रमा केही समस्या आएको चाँहि पक्कै हो । अहिलेको परम्परागत लोकतन्त्रले अबको युगको आवश्यकता पुरा गर्न सक्दैन । तसर्थ अहिलेको सीमित लोकतन्त्रको पुनर्परिभाषा वा थप व्याख्या जरुरी भईसकेको छ ।

वर्तमान समयमा हामी चुनौतिको पहाडले घेरिएका छौँ । समयका चुनौतिहरू बहुआयामिक छन् । नेपालको सन्दर्भमा कुरा गर्ने हो भने बढ्दो सामाजिक आर्थिक असमानता, लोकतन्त्रको स्थायित्व, बढ्दो बेरोजगार, पर्यावरण संरक्षण, लैङ्गिक समानता र सामाजिक न्यायका मुद्दाहरू बढो पेचिलो बन्दै गएका छन् ।

एक्काईसौं शताब्दिका यि चुनौतीलाई सामना गर्न र चुनौतिलाई अवसरमा बदल्न युग सुहाँउदो नेतृत्व आवश्यक पर्छ । हामीले चयन गर्ने नेतृत्वले हाम्रो भविष्य कस्तो हुने निर्धारण गर्छ । एक्काईसौँ शताब्दिका चुनौतिलाई कुशलतापूर्वक सामना गर्न कस्तो नेतृत्व आवश्यक पर्छ । यो नै आजको बहसको मूल बिषय हो ।

व्यक्तिवादी होइन, सामुहिक नेतृत्व

२१औँ शताब्दिको नेतृत्व व्यक्तिवादी अहंकारबाट मुक्त हुनुपर्छ । सामुहिक प्रयासबाट मात्र वर्तमान समयका बहुआयामिक चुनौतिहरू सामना गर्न सम्भव हुन्छ । अहिलेको युगमा एउटा व्यक्ति वा नेताले जादुको छडि घुमाएर समस्याको समाधान गरिदिन्छ र समाजमा कायापलट ल्याईदिन्छ भन्ने कल्पना गर्नु केवल भ्रम मात्र हो । मैले यस्तो गरेँ, म नभई यो सम्भव छैन, म नभई हुँदैन, अरुले गर्न सक्दैनन्, नेतृत्वमा म मात्रै हुनुपर्छ भन्नेजस्तो सोच भएको नेताले अबको समाजको नेतृत्व गर्न सक्दैन ।

अझ राजनीतिमा त त्यो कोरा कल्पना मात्र हुन्छ । नेपालको राजनीतिमा व्यक्तिवादी अहंकार ज्यादा छ । नेपालमा उमेर पुगेका नेताहरू आफ्नो विकल्प छैन भन्ने सोच राख्ने र वैकल्पिक नेतृत्व तयार पार्न उदासिन रहने प्रवृत्तिले राजनीतिले राम्रो डेलिभरी दिन नसकेको मात्रै हैन राजनीतिप्रति नै आम जनतामा वितृष्णा पैदा गरेको छ ।

सामूहिक क्षमता, सामूहिक सीप, सामूहिक कौशल र सामूहिक प्रयासबाट मात्र आम जनतामा पैदा भएको वितृष्णा, समाजमा देखा परेका विकृति र समाजमा रहेको गतिहिनता र दिशाहिनताको सही निरुपण गर्दै समाजलाई अग्रगमनको दिशामा अघि बढाउने र जनताको विकास र समृद्धिको सपना साकार पार्न सम्भव हुन्छ ।

अध्ययनशील एवंम गतिशील

समाज परिवर्तनशील र गतिशील हुन्छ । समाजका अन्तरविरोध र समस्या पनि गतिशील हुन्छन् । समाजको नेतृत्व गर्ने मानिसले समाजको सुक्ष्म ढंगले अध्ययन गर्नुपर्छ । समाजमा घट्ने हरेक घटनाले समाजमा प्रभाव पार्ने गर्छन् । २१औँ शताब्दिको नेतृत्व गर्ने नेताले राष्ट्रिय अन्तराष्ट्रिय परिवेश, विज्ञान र प्रविधिको क्षेत्रमा आएको परिवर्तन, सामाजिक आर्थिक क्षेत्रमा भएका परिवर्तनको बारेमा निरन्तर अध्ययन गर्नुपर्ने हुन्छ ।

निरन्तरको अध्ययनले मानिसको सोचको दायरालाई फराकिलो बनाउँछ । यसले मानिसलाई बिषयलाई बहुआयमिक ढंगले सोच्न र समस्यालाई सही तवरले पहिचान गर्ने र त्यसको निरुपण गर्ने क्षमताको विकास गर्छ । अध्ययनशील नेताले समाजको मनोविज्ञान बुझेर आफुलाई त्यसअनुसार निरन्तर परिमार्जित र परिष्कृत गर्ने हुनाले गतिशील हुन्छन् । अध्ययनशील र गतिशील नेताले मात्र सही तरिकाले समाजको नेतृत्व गर्न सक्छ ।

पर्यावरणणीय समस्याप्रति सचेत

२१ औँ शताब्दिमा पर्यावरणणीय समस्या सबैभन्दा ठूलो चुनौति बनेको छ । जलवायु परिवर्तन, विश्वव्यापी तापमानमा वृद्धि, बढ्दो प्रदुषण जस्ता चुनौतिलाई सामना गर्न दिर्घकालीन सोच भएको, वातावरण संरक्षणप्रति प्रतिवद्ध र विकासको स्पष्ट दृष्टिकोण भएको नेता आवश्यक पर्दछ ।

पूर्वाधार विकासको नाममा वातावरण विनास गर्ने र गाउँगाउँ र भिरपाखामा बाटो खन्नु मात्रै विकास हो भन्ने सोच राख्ने नेतृत्वबाट हामीले सोचेको विकास र समृद्धिको युगको नेतृत्व सम्भव छैन । दिगो विकासको अवधारणालाई आत्मसाथ गर्दै प्राकृतिक स्रोत साधनको विवेकपूर्ण उपभोगमार्फत् विकास र पर्यावरणणको सन्तुलन कायम गर्न सक्ने नेता समयको माग हो ।

विचार र दृष्टिकोणमा स्पष्टता

तत्कालीन समयको फाइदा हेरेर भीडको पछाडि लाग्ने नेताले समाजमा रुपान्तरण ल्याउन सक्दैन । गणेशमान सिंहले भनेजस्तै नेता भिडको पछि लाग्नु हुँदैन चाहे ऊ आफ्नो विचारमा अडिग रहँदा एक्लै किन नपरोस् ।

क्षणिक स्वार्थको लागि आफ्नो आदर्शबाट विचलित हुने व्यक्ति नेता बन्न सक्दैन । सामाजिक मुद्दाहरूमा स्पष्ट दृष्टिकोण राख्ने र प्रष्ट विचार भएको नेताले समाजलाई सही दिशानिर्देश गर्न सक्छ । देशको नेतृत्व गर्ने राजनीतिक दल र त्यसको नेतृत्वमा रहेका नेताहरूमा राज्यको शिक्षा नीति, स्वासथ्य नीति, आर्थिक नीति, परराष्ट्र नीति, सामाजिक सुरक्षाका सवालहरू र पूर्वधार नीति लगायतका बिषयमा स्पष्ट धारणा नहुनु र यिनै मुद्दाहरूलाई आफ्नो फाइदाको लागि अनावश्यक तोडमोड गर्ने प्रवृत्तिले देश समाज र आम नागरिकले ठूलो मुल्य चुकाउनु परेको छ ।

गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य, रोजगारजस्ता आधारभूत आवश्यकताका बिषयमा राजनीति गर्ने र यी बिषय प्राप्तिको लागि सशस्त्र युद्धमार्फत् हजारौँको बलिदान दिँदापनि यि मुद्दा ज्यूँका त्यूँ रहनु राजनीतिक नेतृत्वको बेइमानी र असक्षमता हो । तसर्थ सामाजिक बिषयहरूलाई राजनीतिक चलखेलको बिषय नबनाई यस्ता मुद्दाहरूमा स्पष्ट धारणाका साथ उभिने र दिर्घकालीन समाधानका उपाय खोज्न सक्ने नेता अहिलेको आवश्यकता हो ।

लोभ, डर र भयबाट मुक्त

असल नेता लोभ, डर र भयबाट मुक्त हुनुपर्छ । समाजको अगुवाई गर्ने नेता व्यक्तिगत फाइदाको लोभमा फस्नुहुँदैन । अहिलेका नेताहरूले व्यक्तिगत स्वार्थलाई केन्द्रमा राखेर राजनीति गरिरहेको हुनाले राजनीतिक परिवर्तनबाट आम जनताको जीवनमा महसुस हुने गरी परिवर्तन आउन सकेको छैन । समाज परिवर्तनको लागि हिँड्ने मान्छे डर र भयबाट टाढा हुनुपर्छ ।

समाज रुपान्तरण सजिलो काम हैन । मानिसको सोचमा परिवर्तन ल्याउने, बर्षौदेखि चलिआएको परम्परा र प्रणाली र सत्ताको बिरुद्दमा आवाज उठाउने काम आफैमा जोखिमपूर्ण हुन्छ । लोभ, डर र भयबाट मुक्त व्यक्ति मात्र समाजको हितको लागि व्यक्तिगत स्वार्थ त्यागन र परिआएको खण्डमा जीवन उत्सर्ग गर्न तयार हुन्छ । वर्तमान समयमा समाज रुपान्तरणको लागि लोभ, डर र भयबाट मुक्त भएर समाजलाई योगदान पुर्‍याउन सक्ने त्यागी नेताको आवश्यकता रहेको छ ।

नैतिकता र इमानदारिता

अहिलेको राजनीतिमा देखा परेको एउटा मुख्य समस्या नैतिकता र इमानदारिता संकट पनि हो । राजनीतिमा नैतिकताको संकट भएपछि नेता जनताको मुद्दाबाट टाढिदै जान्छ । नैतिकता र इमानदारिता नभएको नेता भष्ट्रिकरणको बाटोमा जान्छ । हामीले राजनीतिमा गर्वको साथ नाम लिन सक्ने निकै कम नामहरू छन् जसले राजनीतिक आदर्शलाई आफ्नो जीवनको कठिन समयमा पनि जोगाएका छन् । नेल्सन मण्डेला, मार्टिन लुथर किङ, महात्मा गान्धी, अब्राहम लिंकन, बिपी कोइरला, मदन भण्डारी जस्ता केही सीमित नेताहरूको नाम हामी आज पनि निकै श्रद्धाका साथ लिने गर्छौँ । पछिल्लो समयमा नेपालको राजनीतिमा आदर्श र मूल्यको खडेरी परेको छ ।

राजनीतिमा देखा परेको अहिलेको विचलन राजनीतिलाई आदर्श नभई पेसाको रुपमा लिने र पद र प्रतिष्ठालाई लेनदेनको बिषय बनाउने परिपाटीले गर्दा हो । राजनीतिलाई शुद्धीकरण गर्ने हो भने नैतिकता र इमानदारितासहित जनताको सेवामा प्रतिवद्ध युवा नेतृत्वको राजनीतिमा सकारात्मक हस्तक्षेप जरुरी छ ।

२१औँ शताब्दिको युग विज्ञान र प्रविधिको युग, विज्ञान र प्रविधिले मानिसको कामलाई सहज त बनाएको छ तर मानिसबीचका सम्बन्धहरूलाई जटिल बनाएको छ । विज्ञान र प्रविधिले विकासको नयाँ परिभाषा तयार पारेको त छ तर साथसाथै नयाँ नयाँ चुनौति पनि थपेको छ । २१औँ शताब्दिका बहुआयमिक चुनौतिलाई सामना गर्न राजनीतिक कौशलतासहितको इमानदार राजनीतिक नेतृत्व आवश्यक पर्दछ । राजनीतिक नेतृत्वको भ्रष्टिकरण र राजनीतिमा बढ्दो अपराधीकरणले गर्दा राजनीतिबाट जनताले जुन परिवर्तन चाहेका छन् त्यो अपेक्षा पुरा हुन सकेका छैनन् ।

अहिलेको राजनीतिक नेतृत्वबाट अबको समाजको सहि नेतृत्व सम्भव छैन । २१औँ शताब्दिको समाजको चेतना स्तरलाई नेतृत्व गर्न प्रविधिको ज्ञान भएको, अध्ययनशील एवम् गतिशील, पर्यावरणणीय समस्याप्रति सचेत, लोभ, डर र भयबाट मुक्त, नैतिकवान र इमानदार नेतृत्व जरुरी छ । अहिलेको राजनीतिक गतिरोधलाई अन्तय गर्न राजनीतिक र सामाजिक मुद्दाहरूमा स्पष्ट दृष्टिकोण भएको, व्यक्तिवादी सोचबाट मुक्त जुझारु युवा नेतृत्वको जबरजस्त हस्तक्षेप आवश्यक छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय