scheduleशुक्रवार आश्विन १ गते, २०७८

६ पटक जेल, शिक्षक-वकिल हुँदै मुख्यमन्त्रीसम्म

पोखरा, २९ जेठ । ७१ वर्षीय कृष्णचन्द्र नेपाली पटकपटकको प्रयासपछि गण्डकी प्रदेशका मुख्यमन्त्री बन्न सफल भएका छन् । मुख्यमन्त्री बन्न उनले जति पापड पेल्नुपर्‍यो, उनको राजनीतिक यात्रा पनि त्यतिकै संघर्षपूर्ण छ ।

पोखरेलका पिता गोवर्द्धन शर्मा राणा शासनविरुद्ध क्रियाशील थिए । प्रजातन्त्रको स्थापनापछि उनी नेपाली कांग्रेसको राजनीतिमा छिरे र पार्टीको केन्द्रीय सदस्यसम्मको जिम्मेवारी पूरा गरे ।

तनहुँमा जन्मिए पनि पोखरेलको राजनीति नवलपरासीमा हुर्कियो । तनहुँबाट विद्यार्थी राजनीति सुरु गरे पनि उनले पार्टी राजनीति भने नवलपरासीबाट गरेका हुन् ।

आमाको शिक्षा

२००६ साल मंसिर १३ गते जन्मेका उनी परिवारमा माइला छोराका रुपमा जन्मिए । उनी एक भाग्यमानी छोरा त्यतिबेला ठहरिए जब उनले आमाबाट मातृबात्सल्यसँगै राजनीतिक शिक्षादिक्षा पनि पाइन् । उनकी आमा द्रौपदा शर्मामा पनि राजनीतिक प्रभाव थियो ।

उनको परिवार नै राजनीतिमा हुर्किएको थियो । जेठा दाजु रामचन्द्र पोखरेल संविधानसभा सदस्य हुन् । उनी जिल्ला विकास समिति तनहुँ पूर्व सभापति
पनि हुन् । नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सचिवको रुपमा पनि रामचन्द्रलाई मानिसहरुले चिन्छन् । उनका साइँला भाइ डा. जगदीशचन्द्र पोखरेल राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष हुन् । कान्छा भाइ डा. सुवाशचन्द्र अमेरिका बस्छन् ।

६ पटकसम्म जेल सजायँ

राजनीतिक अग्रचेतनाले उनका पिता गोबर्द्धन प्रजातान्त्रिक आन्दोलनमा लागे । परिणाम निर्वासनमा बस्नुपर्‍यो । २०२२ देखि २०२८ सालसम्म उनले पनि पिताकै साथमा भारतमा निर्वाासित जीवन बिताए ।

राजनीतिसँगै उनी शिक्षण पेशामा पनि क्रियाशील थिए । उनले काभ्रे र तनहुँका स्कुलमा लामै समय पढाए । सोही क्रममा २०३६ सालको जनमतसंग्रहमा बहुदलको प्रचारमा सक्रिय भए । जनमत संंग्रहमा कांग्रेसको पक्षमा लागेर हिँडेकै आरोपमा उनलाई तत्कालीन सरकारले जुम्ला सरुवा गरिदिएको थियो । सरकारी खटनपटन त्यागेर उनी लगत्तै पूर्णकालीन राजनीतिमा क्रियाशील भए ।

२०२८ सालमा नेपाली कांग्रेस तनहुँको जिल्ला सदस्य बनेका उनी प्रजातन्त्र प्राप्तिका लागि ६ पटक जेल परेका छन् । २०३५ सालको विद्यार्थी आन्दोलनमा उनी कास्की कारागारमा दुईपटक गरेर ५ महिना बिताएका छन् ।

२०३७ सालको जनमतसंग्रहका क्रममा फेरि ८ महिना कास्की कारागारमै बसे । उनले २०३८ सालमा निर्वाचनकै क्रममा प्रहरीबाट यातना खेप्दै अर्को २ महिना जेलमा बसे ।

देशमा बहुदलीय व्यवस्था माग्दै २०४२ सालमा नेपाली कांग्रेसले सुरु गरेको सत्याग्रहमा उनी नवलपुरबाट सक्रिय थिए । सोही क्रममा पोखरेल परासी–कपिलवस्तुमा गरेर १ वर्ष जेलमा बिताए ।

उनले २०४६ सालको जनआन्दोलनमा परासी कमान्डर रहेका थिए । सोही बेला केही समय नजरबन्दमा पनि राखिए । त्यसपछि ९ महिना पाल्पा जेल बसे ।

शिक्षादिक्षा
प्रारम्भिक शिक्षा तनहुँको धरमपानीको स्थानीय विद्यालयमै लिएपछि उनी माध्यमिक शिक्षाका लागि भारत पुगे । माध्यमिक शिक्षा विहारको नरकटियागन्जबाट पूरा गरे । त्यसपछि उनी दरभंगाबाट मानविकीमा स्नातक गरेर नेपाल फर्किए ।

पछि उनले त्रिभुवन विश्वविद्यालयबाट कानुनमा पनि स्नातक गरे । उनको पढ्ने रहर त्यतिमै सिमित रहने कानुनमा पनि दख्खल राख्नुपर्छ भनेर उनले त्रिभुवन विश्वविद्यालयबाट स्नातक गरे ।

जीवनमा केही समय शिक्षण गरेका उनी कानुन व्यवसायमा आबद्ध पनि रहे । यसक्रममा उनले प्रजातन्त्रको पक्षमा लागेकै कारण हिरासत र जेलमा परेका राजबन्दीको रिहाइका लागि उनले वकालत समेत गरेका थिए ।

पार्टीको नेतृत्व

२०४८ को अधिवेशनपछि उनी निरन्तर ४ कार्यकाल कांग्रेस नवलपरासीको सभापति भए । २०४८ सालको आमनिर्वाचनमा उनी नवलपरासी क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवार थिए । २०६२/६३ सालको जनआन्दोलनमा उनले नवलपुरको नेतृत्व गरे । त्यो बेला पनि पनि उनी जेल परे ।

कांग्रेसको १२औं महाधिवेशनबाट उनी केन्द्रीय सदस्यमा निर्वाचित भए । २०७० सालको संविधानसभा चुनावमा कृष्णचन्द्र ३ सय २५ मतले पराजित भए । उनले त्यतिबेला नवलपरासी क्षेत्र नम्बर ३ बाट चुनावी मैदानमा उत्रेका थिए ।

चुनावी मैदान

पोखरेललाई निष्ठा र त्यागमा अब्बल मानिन्छ । ०७४ मा उनी प्रदेशसभा सदस्यका लागि पूर्वी नवलपरासी १ (क) बाट मैदानमा उत्रिए ।

उनको विजययात्रा कष्टपूर्ण थियो । उनीविरुद्ध एमाले माओवादी गठबन्धनका उम्मेदवार सूर्यप्रसाद न्यौपाने मैदानमा थिए । तर मत उनको बढी आयो । न्यौपानेलाई ३ सय ८२ मतले पराजित गरी पोखरेल गण्डकी प्रदेश सभा सदस्य बन्न सफल भए ।

गण्डकी प्रदेशमा कांग्रेसका जम्मा १५ सांसद छन् । उनी सुरुदेखि नै प्रतिपक्षी दलको नेताको रुपमा प्रदेशसभामा भूमिका निभाउँदै आएका थिए ।

प्रदेशसभामा कम्युनिष्टहरुको दबदबा थियो । तर पनि उनले प्रतिपक्षी दलको भूमिका निर्वाह गर्न छाडेनन् । प्रदेश सभाका कामकारबाही चुस्त बनाउन होस् वा प्रदेश सरकारलाई जिम्मेवार बनाउन उनले आवाज उठाइरहे ।

बजेट बाँडफाँटमा सरकारको मनोमानी रोक्न र निर्वाचन क्षेत्र पूर्वाधार कार्यक्रममा समानुपातिक सांसदलाई गरिएको विभेदका विषयमा उनले संसदमा आवाज उठाइरहे ।

एक घर एक पिसिआरको नारा लगाउनेदेखि प्रत्येक जिल्लामा पिसिआर मेसिन राख्नका लागि उनले माग राखिरहे । जब माग सुनुवाई भएन तब उनकै नेतृत्वमा प्रदेश सभामा संकल्प प्रस्ताव पेस गरियो । प्राविधिक रुपमा संकल्प प्रस्ताव पास हुन सकेन । तर एउटा जनपक्षीय एजेन्डाको रुपमा उक्त मुद्दा स्थापित भयो ।

कम्युनिष्ट पार्टी फुटेसँगै उनी मुख्यमन्त्रीको दौडमा थिए । लामो प्रयासपछि उनी शनिबार मुख्यमन्त्रीमा नियुक्त हुन सफल भएका हुन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय