scheduleबिहिवार श्रावण १४ गते, २०७८

दाई ! ठाकुर-महतोले यस्तै गर्ने हुन भन्ने के तपाईहरूलाई ज्ञान थिएन ?

डम्बर खतिवडा

यो प्रश्न हिजोआज मैले बारम्बार सामना गर्नु पर्दछ । मैले मात्र हैन, अन्य धेरैले गर्नु हुँदो हो । जसले यस्तो प्रश्न गर्दछन्, उनीहरूको एक दृढ पूर्वधारणा हुन्छ– ‘ट्रयाक रेकर्ड हेर्दा उनीहरूले गर्ने नै यस्तो हो, तपाईहरू पो हुस्सु, त्यति पनि पूर्वानुमान गर्न नसकेर एकता गर्नु भाथ्यो ?’

यो प्रश्नको मलाई कुनै उत्तर दिने इच्छा हुँदैन । चुपचाप सुन्छु । भरसक ‘इग्नोर’ गर्न सक्छु । उहाँहरू आफ्नै इतिहास, गौरव, संघर्ष र छवि भएको मानिस हो । न मेरो योगदानले र सहयोगले त्यो बनेको हो, न मजस्ताले आलोचना गर्दैमा समाप्त हुनुहुन्छ । जीवनमा मुस्किलले १ वर्ष संगत नगरेका मानिसबारे धेरै चर्को आलोचना र खनीखत्रो विरोध गर्ने अधिकार हामीलाई छैन । त्यो एक राजनीतिक प्रवृत्ति हो, नेपालको । त्यसलाई यदि कसैले दण्डित गर्न सक्दछ भने जनताले नै सक्दछन् । हामी सक्दैनौं । म सक्दिनँ ।

यस्तो हुन सक्दछ भन्ने पूर्वानुमान त किन नहुनु, भलिभाँती थियो । तथापि मान्छेले त्यही प्रयत्न गर्दछ, जो ‘अप्सन’ छ । अप्सनमै नभएको चिजमा ‘टिक’ लगाउन सकिन्न । त्यो मानव जीवनको सीमा हो । हाम्रा राजनीति प्रयास शुद्ध, चोखा र उन्नत छन् भन्ने मेरो कहिल्यै दाबी रहेन । मानव जीवन स्वयम् अनेक विसंगति र विरोधाभाषले जेलिएको हुन्छ, त्यसबाट पूर्णतः मुक्त भएर कुनै ‘पवित्र प्रयास’ हुन सक्दैन ।

मानौं कि हामीले त्यो एकता गर्दैनथ्यो, के अर्को कुनै ठूलो उपलब्धि यही एक वर्षबीच हासिल गर्ने सम्भावना थियो त ? बिल्कुलै थिएन ।

मानव जीवनको विरोधाभाष, असंगति र दुर्भाग्यले मलाई बारम्बार अल्वेयर कामुको दर्शनशाास्त्र याद दिलाउँछ । यदाकदा यस्तो लाग्छ कि संसारमा सबै चिन्तक अर्थहीन छन्, केवल कामु सत्य छन् । सबै दर्शन झुठा हुन्, कामुको ‘विसंगतिवाद’ मात्र सही छ ।

युवा उमेरमा म यो दार्शनिक धारलाई सबैभन्दा वाइयात, फजुल, निरासाजक र अर्थहीन ठान्थेँ । ‘मानिसले चाहेपछि जे पनि गर्न सक्दछ, त्यो सही उद्देश्य र ठीक तरिकाले गर्नुपर्दछ’ भन्ने लाग्दथ्यो । ‘सिसिफसको कथा’ साँच्चै नै निरासाजनक प्रतित हुन्थ्यो । जिन्दगीभरि ढुंगो घसेट्नु, ढुंगो कहिल्यै चुच्चोमा नपुग्नु, त्यस्तो पनि हुन्छ र जस्तो लाग्दथ्यो । तर, हैन रहेछ । सृष्टि, प्रकृति र मानव जीवनमा कहिँ न कहिँ, कुनै न कुनै मात्रामा ‘अब्जर्डिटी’ हुँदो रहेछ । ‘आफू ताक्छु मुडो, बञ्चरो ताक्छ घुँडो’ भन्ने उखान त्यसै बनेको हैन रहेछ ।

मानव जीवनको आर्दश औसत उमेर १०० वर्षलाई मानिन्छ । त्यो भिन्नै कुरा हो कि नेपालको कालीकोट जिल्लामा औसत उमेर ३५ वर्ष मात्र छ । कुनै समय नेपालमै इटहरी खनारका वीरनारायण माझी १४१ वर्ष बाँचे भनेर ठूलै हल्लीखल्ली भएको थियो । सही थियो वा गलत थाहा भएन । धर्मशास्त्रले भगवान कृष्ण १२९ बाँचेका थिए भन्छ । १०० लाई नै आधार मान्दा आधा उमेर बाँचिसकिएछ । केही महिना भयो ५० वर्ष कटेँ ।

Dambar_Khatiwada_Photo
डम्बर खतिवडा

 

आधा शताब्दी जीवनलाई फर्केर सम्झिँदा महाभारतमा बनेको टिभी श्रृंखलाभन्दा लामो लाग्दछ । हामीभन्दा धेरै जीवन बाँचेकालाई कस्तो लाग्दो हो ? वीरनारायण माझीलाई विगत सम्झदा कस्तो लाग्थ्यो होला ? राजनीतिकरुपले पञ्चायतको जगजगी भएको युगबाट मैले आफ्नो मष्तिष्कमा अनुभूतिहरू संग्रह गर्न थाले, आज गणतन्त्र आएको दशकभन्दा धेरै भइसक्यो ।

त्यो बेग्लै समय र युग थियो । सिंगानका लत्का चुहाउँदै, कट्टु तान्दै, स्लेटको कालो पाटी र कमेरोको सेतो माटो बोकेर पहिलो दिन शिशुकक्षा प्रवेश गर्न जाँदा सरहरूले प्रार्थनाको लाइनमा उभ्याएर ‘श्री मान गम्भीर नेपाली’ गाउन लगाएको, प्रार्थनाको अन्त्यमा ‘श्री ५ महाराजधिराज सरकारकी जय, श्री ५ बडामहारानी सरकारकी जय’ भन्न लगाएको अहिलेसम्म बिर्सन सकेको छैन । त्यो दिनदेखि आजसम्म ठाकुर–महतो समूहसँगको १ वर्षको संगत, नियत र नियतिबारे लेख्न पर्दा ‘हैट, यो मान्छेको जीवन भनेको विचित्र कै चिज रहेछ’ भन्ने लाग्दछ ।

मानव जीवनमा नियतिको प्रभावबारे दुई धारणाहरू सहजै उपलब्ध छन् । पूर्विया अन्धविश्वासमा ‘भावीले छैठीको दिन जे लेख्यो, त्यही हुन्छ’ भनिन्छ । आधुनिक दर्शनमा कार्ल मार्क्स त्यही कुरालाई नयाँ ढंगले भन्दछन् कि मानव जीवनको भूमिका ‘निश्चित ऐतिहासिक परिबन्द’ ले निर्धारण गर्दछ । झटट् हेर्दा यी दुई कुरामा आकाश–जमिनको फरक छ । कहाँको रुढीवादी मान्यता, कहाँको भौतिकवादी दर्शन । तर, ‘विसंगतिवाद’ को दृष्टिकोणबाट कुरा एउटै हो । भावीले लेखेको कारणले होस् वा ऐतिहासिकताले सीमा निर्धारण गर्दिएको कारण परिणाममा मानिस परिकल्पित जीवनको तृष्णाबाट बञ्चित नै हुने भयो ।

आज फर्किएर हेर्दा आफ्नो व्यक्तिगत तथा राजनीतिक जीवनमा म थुप्रै असंगति पाउँछु । यद्यपि म जाबोको जीवन अनुभवले धेरै सार्वजनिक अर्थ राख्दैन भन्ने थाहा छ । जीवनमा कतिपय यस्ता काम पनि गरियो, आज सम्झिदा नगरेको भए हुन्थ्यो, बेकार गरियो भन्ने लाग्दछ । कतिपय त्यस्तो काम गरिएन, जो सम्भावनाको नजिक थिए, बेकार गरिएन छ भन्ने लाग्दछ । कतिपय कुराले पश्चाताप पनि हुन्छ । तर, त्यही ससाना गल्तीलाई हृदयको भार बनाएर बाँकी जीवनलाई अपराधबोधमा बिताउन पनि किञ्चित मन हुँदैन । भो, व्यक्तिगत जीवनका कुरा आज नगरौं ।

राजनीतिक जीवनमा मलाई सबैभन्दा धेरै लाग्ने आरोप ‘कुनै समय त पनि त कम्युनिष्ट थिइस्, अहिले त्यही कम्युनिष्टको विरोधमा लेख्न, बोल्न लाज लाग्दैन ? तँ चाहिँ कति नै गतिलो र दूरदर्शी मानिस होस र ? यदि हुन्थिस् त हिजो किन कम्युनिष्ट भइस्, अहिले किन कम्युनिष्टको विरोध गर्दछस्, तैले कम्युनिष्ट छोडेर बनाउन खोजको वैकल्पिक शक्ति चाहिँ खै बन्यो, अलिअलि बने पनि कुन गतिलो बन्यो ? कम्युनिष्टहरूको आलोचना त गरिस् तर, झन निर्गतिलो ठाउँमा फसिस्’ भन्ने हो । मेरो नजिकका मित्र र आफन्तहरूले बारम्बार यही भनिरहेका हुन्छन्, जो सुन्दासुन्दा हैरान हुन्छु, तर सुन्दिन भनेर काम थुन्न मिलेन ।

नवकिशोर वयमै कम्युनिष्ट पार्टीको संगतमा पुग्नु मेरा लागि भावीले छैटीको दिनको लेखेको थियो वा कार्ल मार्क्सले भनेझैं ऐतिहासिकताले सीमा निर्धारण गरेको थियो म भन्न सक्दिनँ । तर, यति भन्छु कि त्यो पक्कै एक विसंगति थियो । यदाकदा यसरी पनि सोच्छु– के त्यो मैले जानाजान गरेको कुनै पाप वा अपराध थियो ? कुनै राजनीतिक अवसरवाद थियो ? जस्तो कि मान्छेले त्यसरी करार गर्दिन चाहन्छन् । खै किन हो, मेरो हृदय त्यो स्वीकार गर्न कहिल्यै राजी हुँदैन ।

कुनै समय कम्युनिष्ट आन्दोलनमा लागे बापत् वा त्यसलाई छोडेबापत् बाँकी जीवन हिनता र अपराधबोधले ग्रसित भएर बाँच्नु पर्छ, बचपनको त्यो संगत नै मेरो जीवनको अभिशाप थियो भन्ने म स्वीकार गर्न सक्दिनँ । तर, एउटा कुरा स्वीकार गर्दछु, पक्कै त्यो ‘अब्जर्डिटी’ थियो । म त्यस्तो बेलामा कम्युनिष्ट पार्टीमा लागेँ, जतिखेर समाजमा मुश्किलले ५ प्रतिशत मानिस कम्युनिष्ट थिए, त्यस्तो बेला कम्युनिष्ट पार्टी छोडेँ, जतिखेर समाजमा ६५% बढी कम्युनिष्ट मतदाता तयार भइसकेका थिए । के यो विसंगति हैन ? पक्कै हो ।

जुन दिन मैले कम्युनिष्ट पार्टीसंगको विश्वास गुमाएँ, चानचुने तरिकाले हैन, भित्र हृदयबाटै गुमाएँ । मैले पार्टीसँग मात्र हैन, त्यो विचार, दर्शन, त्यसको वैश्विक गौरवको परम्परासँगै विश्वास गुमाए । लाग्यो कि एउटा बलियो वैकल्पिक राजनीतिक शक्ति देशलाई जरुरी छ, जनतालाई जरुरी छ । अरु धेरै कारणले जरुरी छ, कम्तीमा हामी जस्तो सोच भएका मानिसको लोकतान्त्रिक राजनीतिक अभ्यासको थलोका लागि भए पनि जरुरी छ ।

एक बलियो वैकल्पिक राजनीतिक शक्ति विना कांग्रेस–कम्युनिष्टबाटै नेपाल एक सभ्य, सुशासित, समृद्ध मुलुक बन्ला भन्ने स्वीकार गर्न मेरो हृदय मरे मान्दैन । यो कुनै पूर्वाग्रहजस्तो लाग्दैन । विगत ३ दशकको व्यवहारसिद्ध अनुभव र ज्ञान हो जस्तो लाग्दछ ।

तर, वैकल्पिक शक्ति निर्माणको क्रममा कतिपय रणनीतिक चरण मिल्न/मिलाउन नसकेको अर्को विसंगति फेरि म स्वीकार गर्दछु । हुन त इतिहासको जसअपजस मूल नेतृत्वकर्ताहरूसँग जोडिएको हुन्छ । इतिहासले न म जस्तालाई जनता समाजवादी पार्टी बनाएको जस दिन्छ, न फुटाएको अपजस नै दिन्छ । हामी त साक्षी किराना मात्र हौं ।

तर, यो पनि अर्को विसंगति नै हो कि महन्थ ठाकुर–राजेन्द्र महतोलाई जनता समाजवादी पार्टीबाट निष्कासन गरेको सार्वजनिक प्रेस–वक्तव्यमा हस्ताक्षर गर्ने ठाउँमा समयले मलाई पुर्‍यायो । यस्तो कुरा जीवनमा म न कहिल्यै कल्पना गर्थेँ, इच्छा राख्थेँ । न यस्तो कामका लागि मसंग कुनै बलियो स्वामित्व र बैधता नै थियो, कानुनी अधिकार थियो, त्यो भिन्नै कुरा । कानुनी अधिकार र आन्दोलनको विरासतबाट प्राप्त हुने बैधता फरक-फरक कुरा हुन् । जीवनमा यस्ता अनिच्छित काम पनि गर्नुपर्दो रहेछ, संयोग, सार्वजनिक दायित्व र भूमिकाले गर्दा ।

यहाँनेर म अर्का दार्शनिक मिसेल फुकोलाई सम्झिन चाहन्छु, जस्ले संकथन सिद्धान्त (डिस्कोर्स थ्यौरी) संश्लेषण गरेका थिए । उनको विचारमा संकथन आफैमा ‘बैधता’ हैन, बैधता निर्माणको प्रारम्भ मात्र हो । त्यतिखेर मात्र संकथनले बैधता हासिल गर्दछ, जब त्यसले ‘शक्ति निर्माण’ गर्दछ । वैकल्पिक राजनीति र शक्तिको संकथन प्रारम्भ गर्न थोरबहुत भूमिका गरियो तर शक्ति निर्माण नहुँदा त्यसको बैधता स्थापित भएन । अझै भएको छैन । यो काम अझै प्रयोग र परीक्षणकै चरणमा छ ।

सिद्धान्ततः मैले भेटेका, संगत गरेका, संवाद र अन्तक्रिया गरेका ९० प्रतिशत मानिस देश र जनतालाई एउटा बलियो वैकल्पिक राजनीतिक शक्ति जरुरी छ भन्ने स्वीकार गर्दछन् । जब शक्तिको तहमा यो आउँदैन, तबसम्म त्यो बाटोमा हिंड्न वा सहयोग गर्न चाहिँ सकिँदैन भन्ने उनीहरूको भनाई हुन्छ । राजनीतिक शक्ति आकासबाट झर्ने वा धर्ती फुटेर निस्कने चिज त हैन । कसैले बलियो बनाइ सक्छ, अनि साथ दिन्छु भन्नु पनि एक प्रकारको अवसरवाद नै हो । तर, कतिलाई हामी त्यो आरोप लगाउ जबकि समाजको अधिकांश हिस्साको मनोविज्ञान नै त्यस्तै छ ।

तसर्थ, पूर्वसपा र पूर्वराजपाको एकता नै गलत थियो भन्ने मलाई अहिले पनि लाग्दैन । अझ कतिपयले नयाँ शक्तिको गठन र संघीय समाजवादीसँगको एकता नै गलत थियो भन्ने गर्दछन् । यो तर्कमा पनि मलाई विश्वास छैन । बिल्कुल फरक, नयाँ र गैरराजनीतिक मान्छेहरूबाट वैकल्पिक शक्ति बन्न सक्थ्यो भन्ने सुनिन्छ, त्यसको अभ्यासका लागि त ‘विवेकशील–साझा’ छँदैछ । यो अभ्यास सफल भए छ भने पत्याउला । अन्यथा नयाँ शक्तिका ४ वर्षले भने यो तर्कलाई पनि पुष्टि गर्दैनथ्यो ।

नेपालका गैरराजनीतिक सार्वजनिक व्यक्तित्वका सोच र सीमा मैले पनि नजिकबाट थोरै नियालेको छु । नयाँ शक्ति निर्माणको अवधिमा थोरबहुत सङ्गत गर्ने अवसर पनि पाए । रामेश्वर खनालजस्तो उच्चकोटीको प्रशासकले ‘राजनीति मेरो क्षेत्र हैन रहेछ’ भनेको हामी सबैले सुनेका छौं । नयाँ शक्तिमा हुँदा अभिनेत्री करिश्मा मानन्धरलाई हामी बारम्बार ‘जय ललिताको उदाहरण’ भन्थ्यौं र हिम्मत नहार्न अनुरोध गर्दथ्यौं । खै, पार लागेन । जनजाति समस्यामा राम्रो अध्ययन गरेका प्राध्यापक तथा सार्वजनिक वौद्धिक परशुराम तामाङसँग निक्कै ठूलो अपेक्षा राख्थ्यौं ।

तर, व्यवहारले हाम्रो अपेक्षा पुष्टि गरेन । खनाल, मानन्धर वा तामाङ वा यस्तै दर्जनौ व्यक्तिसँग अहिले मलाई कुनै गुनासो छैन । सन्दर्भवश उदाहरण पेश गरेको मात्र हुँ । किनकि त्यो उनीहरूको जीवनको सीमा थियो । भगवानले भन्नुस् वा प्रकृतिले हरेक मान्छेका लागि कार्य विभाजन गरेको हुन्छ । मैले लाख प्रयत्न गर्दा पनि जीवनमा बाँसुरी बजाउन कहिल्यै जानिनँ । मेरै गाउँमा एक जना फुच्चे केटा थिए– कृष्ण दर्जी । उनी १० वर्षको उमेर नपुग्दै संसारकै उत्कृष्ट भन्न मिल्ने गरी राम्रा बाँसुरी बाधक भइसकेका थिए । बाँसुरीमा औंला राख्ने बित्तिकै जस्तोसुकै धुन निकाल्न सक्थे ।

हरेक नागरिकलाई राजनीति गर्ने अधिकार छ, तर हरेक नागरिक राजनीति गर्न जन्मिएका हैनन् । मानव जीवनमा गर्नुपर्ने कार्यका अनेक क्षेत्र छन् । त्यसमध्ये राजनीति एउटा क्षेत्र हो । यति हुँदाहुँदै पनि मानौं कि शुद्ध, नयाँ र गैरराजनीतिक व्यक्तित्वबाटै वैकल्पिक शक्ति बन्न सक्थ्यो, त्यो बाटो हाम्रा लागि थिएन । हामी त उहिल्यै कम्युनिष्ट भएर ‘बिटुल्ली’ सकेको मानिस थियौं । हामी आफूलाई नयाँ, शुद्ध र गैरराजनीतिक दाबी गर्ने अधिकार राख्दैनथ्यौं ।

यी यावत परिस्थितिबीच जनता समाजवादी पार्टी निर्माणको बाटो गलत थियो भनेर म स्वीकार गर्न सक्दिनँ । तर, विसंगति त फेरि यो बाटोमा पनि देखियो । वर्ष दिन नपुग्दै, ठाकुर–महतोले त्यही बाटो रोजे जो उनीहरूको ‘ट्रयाक रेकर्ड’ हेरेर मानिस शंका गर्थे । तर, ‘अब त्यस्तो हुँदैन’ भनेर हामी मानिसलाई आश्वास्त पार्न खोज्थ्यौं । मानिस सही सावित भए । हामी गलत सावित भयौं ।

ठाकुर–महतो किन एकतामा आए, किन फेरि १ वर्ष नपुग्दै फुटको बाटो रोजे ? हाम्रो जीवनको जस्तै यो उनीहरूको जीवनको पनि विसंगति हो । यति छिटो फुट्नु थियो त हिजो एकताका लागि किन त्यति मेहनत गर्नु थियो ? एकताका लागि त्यत्रो मेहनत गरिसकेपछि फेरि यति छिटो किन फुट्नु थियो ?

आखिर ओली सरकारमा जानु नै थियो, हाक्काहाक्की भनेरै गएको भए के हुन्थ्यो ? पार्टीको बैठकमा उपस्थिति भएर बहुमत पुर्‍याएरै गएको भए पनि हुन्थ्यो ? आफ्ना बाध्यता र बुझाई भनेर हात मिलाएरै छुटको भए पनि हुन्थ्यो । यो कारबाही गरागरको नाटकसम्म किन पुग्न पर्थ्यो ? यो कारबाही गरागर त एक कानुनी बाध्यता हो । बाटो फरक भएपछि पार्टीको बैधानिक सूचीबाट नाम हटाउनै पर्‍यो । मुख्य कुरा त बाटो फरक पर्नु हो ।

ठाकुर–महतोले त्यस्तो बिन्दुमा पुगेर ओलीलाई काँध हाले, जसपाका लागि त त्यो बेइज्जतीको विषय भयो भयो, स्वयं उनीहरूका लागि पनि कुनै सम्मान र फाइदाको विषय भएन । पार्टी र आन्दोलनलाई घाटा भयो, भयो । उनीहरूलाई चाहिँ खै के फाइदा भयो ? त्यही दुईचार महिने मन्त्री ? त्यस्तै चिजलाई उपलब्धि भन्ने हो भने न जीवनमा कहिल्यै चाहिएको थियो, न चाहिएको छ ।

 

रेशम चौधरी छुटे ? नागरिकता अध्यादेश लागु भयो ? संविधान संशोधन भयो ? संसद विघटनलाई समर्थन गर्नु छ, संसदीय दलको नेता हुन् किन मरिहत्ते ? जब संसद नै नहुने नीतिलाई समर्थन गर्नु छ, प्रतिनिधिसभा विघटनको पक्षमा उभिनु छ, कहाँको दुईतिहाईले संविधान संशोधन गर्दछ ?

अर्को पाटोबाट हेर्दा संसद विघटन गरिसकेको ओली सरकारलाई ठाकुर–महतोको समर्थनले के नै आड र बैधानिकता दिन्छ, दिएको छ ? ओलीको पनि झनै बदनाम भएको छ । हामीलाई पनि घाटा, उनीहरूलाई पनि घाटा, ओलीलाई पनि घाटा, देश, जनता र आन्दोलनलाई पनि घाटा ।

मानौं कि संसद पुनर्थापना भयो र वैकल्पिक सरकार बन्यो, मन्त्रीपद १ महिना नपुग्दै गयो । वैकल्पिक सरकार बनेन, ओली सरकार नै रह्यो, आफ्नै पार्टीले कारबाही गरिसक्यो, ओलीलाई समर्थन दिन संसद पद नै हुँदैन । मानौं कि मंसिरमा निर्धारित चुनाव हुने भयो, पार्टी र चुनाव चिन्हकै ठेगान छैन ।

ओलीसँग सहमति गरेर सूर्य चिन्हमै हृदयश त्रिपाठी मोडेलमा लड्ने हो भने मधेशी मतदाताले के भन्लान् ? जताबाट नापे पनि घाटैघाटा छ, फेरि पनि ठाकुर–महतोले यस्तो काम किन गरे ? मन्त्री खाने लोभले मात्र उनीहरूले त्यसो गरेका हुन भन्न सकिन्न । राजनीतिक दृष्टिकोणले मैले यसको अर्थ अहिलेसम्म बुझ्न सकेको छैन ।

तर, गैराजनीतिक उत्तर भने सबैका सामु हाजिर छ । त्यो हो, भूराजनीतिक दबाब । वैकल्पिक शक्ति निर्माणको प्रक्रियामा यो पाटोलाई हामीले अवज्ञा गर्दै आएका रहेछौं । यसले सृजना गर्न सक्ने व्यवधानबारे यथोचित मूल्यांकन गर्न सकेका रहेनछौं । नेपालका सबै राजनीतिक दलहरूको उपल्लो तहको रडाको र विवादमा कुनै न कुनै प्रकारको भूराजनीतिक प्रभाव हुँदोरहेछ । सिद्धान्ततः यो विश्लेषण पढिन्थ्यो, सुनिन्थ्यो । यसपटक आँखा अगाडि नै देखियो । नजिकबाट अनुभव गरियो ।

तर, बुझ्नु पर्ने अर्को पाटो पनि छ, यो न कुनै नयाँ कुरा हो, न नयाँ प्रवृत्ति, न जसपामा मात्र भएको घटना । २००७ सालपछि कांग्रेसमा बीपी विरुद्ध मातृका कांग्रेसले यो प्रवृत्ति भित्र्याएको थियो । एकीकृत महाकाली सन्धिताका एमालेमा यो प्रवृत्तिको राम्रो अभ्यास भयो । माले–एमाले विभाजन भयो । माओवादी आन्दोलन तितरबितर हुनुमा पनि यो प्रवृत्तिको हात छ । बारम्बार मधेशी जनाधिकार फोरममा भएको विभाजन पनि त्यसैको कारण थियो । पछिल्लोपटक प्रधानमन्त्री ओली आफैं यो खेलमा संलग्न छन् । उनले एकीकृत र निक्कै शक्तिशाली भइसकेको नेपाल कम्युनिष्ट पार्टीलाई फेरि एकपटक धुजाधुजा पारी दिएका छन् ।

तसर्थ दोष जति ठाकुर–महतोको काँधमा हाल्नु उचित हुँदैन । यो त २००७ सालपछि मातृका कोइरालाले भित्र्याएकै प्रवृत्तिको निरन्तरता हो । कम्युनिष्टहरू बढे, ‘नेपाल चीनको पोल्टामा गयो’ भन्दै भारत र बाँकी विश्वले टाइट गर्ने, कांग्रेस बढे, चीनले बेवास्ता गर्ने, यो जटिलतामा हामी हिजो पनि थियौं, अहिले पनि छौं, सायद भोलि पनि हुन्छौं । यसपालिको लक्ष्य मुख्य नेकपा थियो, नेकपाको फुट भूकम्प हो, जसपाको फुट पराकम्प मात्र हो । भुकम्पले धुजाधुजा भएकाहरू त अनुहार देखाएरै हिंडिरहेका छन्, हामी पराकम्पले हल्लाएका मात्रहरू कति लजाउनु पर्ने ?

ठाकुर–महतो कदमले जसपा पङ्क्तिमा अवश्य निरासा जन्माएको छ । पार्टी र आन्दोलनको छवि धूमिल भएको छ । तर, यो कुनै पश्चाताप, हिनताबोध र आत्मग्लानी पालिरहनु पर्ने विषय भने हैन । यो एक अर्को ‘अब्जर्डिटी’ नै हो, जो सृष्टि, प्रकृति र मानव जीवनकै एक हिस्सा हो । स्वयं सृष्टिमै विसंगति भन्ने भाव छ भने त्यो हाम्रो जीवनमा कुनै न कुनै रुपले दोहोरिरहन्छ । छैठीको दिन भावीले लेखेको भने पनि, ऐतिहासिकताले सीमा निर्धारण गरेको भने पनि, त्यो नियतिको मात्रा र गुणमा कुनै भिन्नता आउँदैन । हामीले भोग्नै पर्छ ।

यस्तो भोगेर, सामना गरेर सफल भयौं भने मात्र हामी गन्न लायक मान्छे हुनेछौं । यति नै चुनौतिले निरास भयौ र लत्तो छोड्यौं भने प्रकारान्तले ठाकुर–महतो प्रवृत्तिलाई साथ दिए सरह हुने छ । साथीहरू ! हामी पक्कै त्यसो त गर्ने छैनौं ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय