scheduleसोमवार आश्विन ४ गते, २०७८

किन आवश्यक छ वैकल्पिक राजनीति गर्नेहरुको साझा फोरम ?

दिवस खनियाँ

हाल नेपालको परिवेश नियाल्दा आम नागरिकमा राजनीतिप्रतिको वितृष्णा बढ्दै गएको अनुभूत हुन्छ । राजनीति केवल सत्ता स्वार्थ र व्यक्तिवादी बन्दा त्यसका बाछिट्टाहरु समाजका हर क्षेत्रमा परेको र जसले गर्दा परिणामत: अहिलेको राजनीतिक संस्कार, शैली र प्रणाली नै गलत हो कि भन्ने महसुस हुने गरेको देखिन्छ । आजको यस आलेखमा मुलत: वैकल्पिक राजनीति, वैकल्पिक राजनीति गर्न खोजेकाहरुको भूमिका तथा उनीहरुमाथि उठेका केही प्रश्नहरुलाई चर्चा गर्ने प्रयास गरिएको छ ।

वास्तवमा राजनीति नै राज्यको एउटा यस्तो केन्द्रबिन्दु हो, जसको प्रभावले सबै क्षेत्र, तह र तप्कामा एउटा तरङ्ग प्रवाह गर्दछ । मुलुकमा प्रशस्त अवसर र सम्भावनाहरुको ढोका तब मात्र खुल्दछ जब केन्द्रबिन्दुबाट सकारात्मक तरङ्ग प्रवाह हुन्छ । यदी केन्द्रबिन्दुबाट नकारात्मक तरङ्ग प्रवाह भएमा स्वभावत: सम्भावना र अवसरहरु संकुचित हुन पुग्दछन् । सत्य यो हैन कि, सबै कालखण्डमा एउटै कुरा प्रधान रहन्छ । सत्य त यो हो कि, एउटा युगमा एउटा कुरा प्रधान हुन्छ, त्यो कालखण्डमा आवश्यकता अनुसार विचार, संगठन, आचरण र गोरेटो निर्माण भएन भने मानव समाज उन्नति र प्रगतिको बाटोमा लम्कन सक्दैन ।

हाम्रो सन्दर्भमा कुरा गर्नु पर्दा, नेपालमा प्रथमतः भौगोलिक एकीकरण, त्यसपछि लोकतान्त्रीकरणको लागि थुप्रै आन्दोलन, युद्ध र संघर्ष नेपाली जनताले गरिसकेका छन् । अहिले नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रात्मक युगमा प्रवेश गरिसकेको छ । भौगोलिक एकीकरण ताका प्रयोग गरिएको फौजी संगठन, विचार र व्यवस्था अथवा लोकतान्त्रीकरणका लागि उठाइएको विचार, संगठन र परिपाटीबाट वर्तमान समस्याहरूको हल हुन सक्दैन । त्यसैले नेपालमा नयाँ विचार, नयाँ संगठन र नयाँ भिजनसहितको वैकल्पिक राजनैतिक शक्ति अपरिहार्य छ, यही विषयमा छलफल बिमर्श गर्नु नै अहिलेको आवश्यकता हो । मुलुकको अधोगति र अतिगतिको मुख्य निर्धारक तत्व नै समय सापेक्ष विचार, संगठन र भिजन हो । जुन देश समयसँग चल्न सके उनीहरु सफल भए र जुन देश नेपालमा जस्तै सबै कालखण्डमा एउटै विचार र भिजनमा चल्न खोजे उनीहरु असफल हुँदै गए । अहिलेको राजनीतिक वातावरण कुरुप र भ्रस्ट हुनुले माथि उल्लेखित राजनीतिक वितृष्णालाई संकेत गर्दछ । अहिलेको यक्ष प्रश्न यो हो कि, यिनै वितृष्णाको जालोमा रुमली रहने कि सकारात्मक विकल्पको खोजी गर्ने?

हाम्रो समाज कुशासन, भ्रष्टाचार, अपारदर्शिता, अनियमितता जस्ता खतरनाक रोगहरुबाट राष्ट्रिय रुपमै ग्रसित छ, जसले मुलुकको विकास हैन विनाशतर्फ उन्मुख गराउँदछ । आम नागरिक राजनीतिबाट असन्तुष्ट हुनुको मुख्य कारण नै कुशासन हो । एकातर्फ राज्यको स्रोत सिमित छ भने अर्को तर्फ उक्त स्रोतको उचित परिचालन हुन पाउँदैन । सेवाग्राही नागरिकहरु राज्यको झन्झटिलो सेवा प्रवाहबाट रुष्ट छन् । चुनावमा भड्किलो खर्च गरी राज्यसत्तामा हैकम जमाउने उद्देश्यका राजनीतिक पार्टीबाट समृद्धिको उज्वल भविष्य निर्माण हुन सक्दैन । मुलुकको विकट र दुरदराजमा बस्ने नेपालीहरु विकासको सामान्य स्वाद लिन पाउदैनन् भने राज्य सत्ताबाट करोडौ, अरर्बौंको अनियमितता र भ्रस्टाचार हुन्छ । त्यसैले यस्ता विकृत सोच, संस्कार र शैलीबाट उन्मुक्त भएका व्यक्तिहरुको राजनीतिक समूहको आवश्यक छ, जसले जनताको शासक हैन सेवकका रुपमा आफूलाई राष्ट्रको हितमा समर्पित गर्दछ ।

समृद्ध विश्वदेखि अलग्गिएको नेपाललाई आज विकास र समृद्धिको तीव्र गतिमा दौडाउन एक नयाँ सोच, चिन्तन, शैली र संस्कारबाट सुसज्जित युवा र विज्ञहरुको बाहुल्यता रहेको राजनीतिक विकल्पको खाँचो छ । सरकारमा भिजन र वैज्ञानिक विकास अवधारणा हुन नसके कर्मचारीतन्त्र कै निरन्तरता हुने निश्चित छ । त्यसैले राजनीतिक स्थिरता, सुसंस्कार, तीव्र आर्थिक वृद्धि तथा विकास र त्यसको न्यायोचित वितरण गर्ने, समृद्धिको युगलाई असल प्रतिनिधित्व गर्न सक्ने वैकल्पिक राजनीतिको छनौट र विकास गर्न जरुरी छ, जसबाट नेपालको समृद्धि अवश्यम्भावी छ ।

अवश्य पनि आजको युग समृद्धीकरणको युग हो, आज हामी समृद्धिको युगमा यात्रा गर्दैछौं । हिजोको केन्द्रीकृत, एकात्मक र निरंकुश राज्य व्यवस्थालाई अन्त्य गरेसँगै मुलुकको कार्यभार फेरिएको छ । हिजो अधिकार प्राप्तिको लडाइँमा प्रयोग भएका राजनैतिक र वैचारिक हतियारले आजको समृद्धीकरण युगलाई प्रतिनिधित्व गर्न सक्दैनन् । पार्टी भनेको साध्य हैन, साधन हो भन्ने बुझ्नु अपरिहार्य छ । जसरी हामीले एयरपोर्टसम्म गाडीमा यात्रा गर्यौ त्यसरी नै अब एयरपोर्टबाट हवाईजहाजमा यात्रा गर्ने बेला आएको छ । एकीकरणको युगको नेतृत्व एउटाले गर्‍यो, लोकतान्त्रीकरणको युगको नेतृत्व अर्कोले गर्‍यो, अब समृद्धीकरण युगको नेतृत्व गर्न नयाँ सोच, विचार, चिन्तन र शैली सहितको नयाँ वैकल्पिक राजनीतिको आवश्यकता पर्दछ । अबको नेतृत्व कसले र कसरी गर्नुपर्छ भन्ने चर्चा एक्छिनमा गरिने नै छ । त्यो भन्दा अगाडी अहिले विकल्पका रुपमा आएका पात्र र शक्तिबारे चर्चा गर्नु उपर्युक्त हुन जान्छ ।

अब वैकल्पिक राजनीति भन्ने बित्तिकै हाम्रो सन्दर्भमा अगाडि देखिएका मुख्य पात्र बारे कुरा गरौं । केही समय अगाडि कोरोना संक्रमित भई आफ्नो अल्पायुमा नै मृत्युवरण गर्न पुगेका उज्ज्वल थापा वैकल्पिक राजनीतिको सुत्राधार मध्येका एक थिए । विवेकशील नेपाली दलमार्फत् नेपाली युवाहरुलाई राजनीतिक रुपमा विवेकशील बनाउन उनले खेलेको भूमिका सराहनीय छ । उनको त्यस कर्मको युगौं युगसम्म पनि सम्झना रहिन रहने छ । राजनीति कस्तो हुनु पर्छ, राजनीति कसरी गर्ने र केका लागि गर्ने भन्ने महत्वपूर्ण पाठ हामीबीच छाडेर उनी बिदा भएका छन । फरक विचारधारा बोकेर उनले सुरु गरेको वैकल्पिक राजनीतिको जगमा अबका सबै शक्तिहरु अगाडि बढ्न सके अहिले देखिएको राजनितिप्रतिको वितृष्णा पनि स्वत : हल भएर जाने नै छ । उनका विचार, धारणा र कर्मबारे यथेष्ट चर्चा भइ नै सकेको छ ।

वैकल्पिक राजनीति सँगै जोडिएर आउने अर्को नाम हो डा. बाबुराम भट्टराई । चाहे त्यो माओवादीको उदयको सदर्भमा होस् या नयाँ शक्ति हुँदै अहिले उनले बोकेको विचार नै किन नहोस् । कतिपयलाई लाग्न सक्छ उनलाई कसरी वैकल्पिक राजनीतिका पात्रको रुपमा हेर्न सकिएला र ? उनी पनि उही पुराना नेतृत्व कै श्रेणीमा त पर्छन नि! यो प्रश्नको निदान एकछिनमा गर्ने नै छु । त्यो भन्दा पहिला उनले सुरु गरेको वैकल्पिक राजनीतिक विचारबारे चर्चा गरौं । मादोवादीले सुरु गरेको सशस्त्र युद्धबारे सबैको आ-आफ्नै विश्लेषण छ र त्यो स्वभाविक पनि हो । तर माओवादी आन्दोलन कै कारण पनि अहिलेको व्यवस्था आएको कुरामा सायदै मानिसको विमती होला । त्यस आन्दोलनका मुख्य योजनाकार थिए भट्टराई । उक्त आन्दोलनले अवलम्बन गरेको बाटोलाई एकछिन बिर्सिने हो भने फरक विचार र विकल्पसहित उनले नेपाली राजनीतिको पुरानो विकृतिलाई केही हदसम्म पछार्न खोजेको देखिन्छ । उक्त आन्दोलनको एउटा अध्याय पूरा भए पछि नयाँ कालखण्डमा नयाँ सोचका साथ अगाडि बढ्नु पर्छ भन्दै नयाँ शक्तिमार्फत् उनले नयाँ विचारलाई समेट्न खोजेका पनि थिए । तथापि, उनको सोच र विचारलाई मानिसहरुले बुझ्न नसकेका कारण उनको त्यो प्रयास सफल हुन सकेन । र पनि उनी अझै त्यही विचारलाई बुझाउन प्रयासरत् छन् । उनी चाहन्थे पुराना पार्टी भित्रैका पनि नयाँ सोचधारी र बाहिरका पनि राम्रा मान्छेहरु मिलेर एउटा साझा वैकल्पिक शक्ति बनाएर अबको नयाँ युगको नयाँ यात्रा तय गरौं । त्यसमा उनको प्रयास निरन्तर रह्यो । जुन अहिले नेपाली जनताले चाही रहेका छन् ।

वैकल्पिक राजनीति कै पर्यायको रुपमा आउने अर्को नाम हो रबिन्द्र मिश्र । रबिन्द्र मिश्र उनै व्यक्ति हुन् जसले विगत लामो समयसम्म नेपालका नेताहरुलाई सही बाटोमा हिडाउन र जनताका प्रश्नमार्फत् उनीहरुलाई जिम्मेवार बनाउन आफ्नो सञ्चारकर्ममार्फत् लागिपरे । त्यही यात्राका क्रममा बाहिर बसेर कराउने मात्र हैन यदि तपाईं लोककल्याणकारी राज्य र सुसँस्कृत राजनीति चाहनु हुन्छ भने तपाईं आफै राजनीतिमा छिरेर त्यसलाई सुधार्नु पर्छ भन्दै साझा पार्टी गठन गरेर वैकल्पिक राजनितीमा होमिए । परिणामत: गत प्रतिनिधि सभा चुनावमा लामो समयदेखि जरो गाडेर बसेको पुरातनवादी सोचलाई आछ्छु-आछ्छु पार्ने गरी मत परिणाम ल्याइदिए । उनको पनि सोच यही देखिन्छ कि, अब पुरातन विचार, एजेण्डा र भिजनले हैन नयाँ युगको नयाँ सोचका साथ राजनीति अगाडि बढाउनु नै अहिलेको समयको माग हो । त्यसका लागि नयाँ वैकल्पिक राजनीति गर्नेहरुको साझा फोरम आवश्यक छ ।

दिवस खनियाँ

त्यस्तै यही लाईनमा अगाडि आएका अर्का व्यक्ति हुन् रमेश खरेल । उनले सुरु गरेको अभियानको अभिप्राय पनि यस्तै-यस्तै नै हो । स्वर्गीय उज्ज्वल थापाले आफू पछाडि बसेर नयाँ नेतृत्व अगाडि सारेपछि मिलन पाण्डे र रन्जु दर्शनाहरु जस्ता वैकल्पिक राजनीतिका नयाँ पात्रहरु पनि सम्भावनाका साथ यसै मैदानमा खडा भएर उभिएका छन् ।

त्यस्तै मूलधार कै राजनीतिक पार्टी भित्रै पनि नयाँ सोच बोकेका कैयौं नेताहरु छन् । त्यस मध्येका एक पात्र हुन् गगन थापा । उनी पनि वैकल्पिक राजनीतिका पक्षधर हुन् । उनी वैकल्पिक राजनीति गर्न नयाँ शक्ति निर्माण गर्नु भन्दा पार्टीलाई वैकल्पिक धारमा अगाडि बढाउन संघर्ष गर्न चाहेको देखिन्छ । यसै पङ्तिकारसँगको एक अन्तवार्तामा उनले यसबारे आफ्नो धारणा व्यक्त गरेका थिए । उनले वैकल्पिक राजनीतिको विकल्प नभएको र आफ्नै पार्टीभित्र हस्तक्षेपकारी भूमिका खेलिरहेको बताउँदै आएका छन् । उनी जस्तै अन्य पनि मूलधारका केही नेताहरु नयाँ सोच, भिजन र नेतृत्वका साथ अगाडि बढ्नु पर्ने धारणा राख्ने गर्दछन् । यसको अर्थ के लाग्ने गर्छ भने अब वैकल्पिक राजनीतिको विकल्प छैन ।

राजनीतिमा विचार प्रधान हुन्छ, जसलाई मार्गनिर्देशक सिद्धान्त पनि भन्छौं । वैकल्पिक राजनीतिमा होमिएका अभियान्ताहरूले विगतमा प्रतिपादन भएका कुनै वाद र विचारमा टाँसिएर बस्न हुँदैन भन्ने नै यस आलेखको मुख्य विषयवस्तु हो । २१ औं शताब्दीमा सुहाउने पछिल्लो ज्ञान र विज्ञानमा आधारित भएर प्रगतिशील सोच राख्न सक्नुपर्छ । एकाएक विचारको जन्म हुँदैन, विचारको जन्म खुला दिमागले गरिएका विमर्श, छलफल, अध्ययन र बहसबाट हुन्छ, जो एउटा दीर्घकालीन लक्ष्य प्राप्तिका लागि अनुशरण गर्न सकियोस् ।

अन्त्यमा, एकछिन मनन गरौं त, वैकल्पिक राजनीति गर्न अगाडि बढेकाहरुबीच सहकार्य कति आवस्यक छ ? साझा फोरम आवश्यक छ या छैन ? कयौं कालखण्ड देखिका सोच, विचार र एजेन्डाहरुलाई परास्त गर्न छुट्टा-छुट्टै भिड्ने कि एउटै साझा मन्च बनाउने ? एकछिन सोचौं त, माथि उल्लेखित पात्रहरु र अन्य पनि केही राम्रा पात्रहरु सँगै सहकार्य गरेर, अझ भनौं एउटै शक्ति निर्माण गरेर अगाडि बढ्न सकेमा गन्तब्यमा पुग्न कति सहज होला ? परिणाम कस्तो आउला?

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय