scheduleशुक्रवार आश्विन १ गते, २०७८

को हुन् इजरायलको नयाँ प्रधानमन्त्री बन्न लागेका बेनेट ?

एजेन्सी, ३० जेष्ठ । नफताली बेनेटले आइतबार साँध इजरायलको ३६ औं प्रधानमन्त्रीको रुपमा सपथग्रहण लिँदैछन् ।

सन् १९७२ मा हाइफामा जन्मिएका बेनेट दक्षिणपन्थी राजनीतिज्ञ हुन् । क्यालिफोर्नियाबाट इजरायल बस्न आएका आप्रवासीको कोखमा उनको जन्म भएको हो । धर्म निरपेक्ष घरमा हुर्केका उनले आफूलाई आधुनिक यहुदी धर्म (Modern Orthodox) को अनुयायी मान्छन् । कुनै बेला इराजयली सेनाको युनिट सयरेट मट्कल र मग्लानमा कम्पनी कमाण्डरको रुपमा काम गरिसकेका उनले जेरुसलेमस्थि हेब्रु विश्वविद्यालयबाट कानुनमा डिग्री हासिल गरेका छन् ।
सन् १९६७ मा अर्थात् छ दिने युद्ध (Six-Day War) को एक महिनापछि बेनेटका बाबुआमा सान फ्रान्सिस्कोबाट इजरायल आएका थिए । उनका पुर्खा पोलिश, जर्मन र डच मूलका यहुदी थिए । पहिलो विश्वयुद्ध सुरु हुनु २० वर्ष पहिला नै मावलीतर्फका हजुरबा-हजुरआमा सान फ्रान्सिस्कोमा बसाइँसराइँ गरेका थिए । पोल्याण्डमै बसेका आमातर्फका अन्य आफन्तको भने दोस्रो विश्वयुद्धताका जर्मन सेनाले हत्या गरेको थियो ।
सन् १९९० मा बेनेट इजरायली सेनामा भर्ना भएका थिए । त्यसपछि उनी इजरायली सेनाले गरेका विभिन्न कारबाहीमा सहभागी भए । कमाण्डो अफिसरको रुपमा उनले गरेको एउटा कार्य भने निकै विवादास्पद बनेको थियो । सन् १९९६ मा इजरायली सेनाले लेबनानमा गरेको सैन्य कारबाहीका क्रममा उनको नेतृत्वमा रहेको युनिट मोर्टार हमलामा पर्‍यो । लगत्तै उनले सहयोगका लागि खबर गरे । तर उनको नेतृत्वमा रहेको युनिटलाई कभर दिन भन्दै गरिएको गोलाबारीमा एउटा बम संयुक्त राष्ट्रसंघको परिसरमा खस्दा उक्त परिसरमा आश्रय लिएर बसिरहेका निशस्त्र १०६ जना लेबनानीको मृत्यु भएको थियो ।
उक्त घटनालगत्तै अन्तर्राष्ट्रिय निन्दा र कुटनीतिक दबाब बढेपछि इजरायली सेनाले आफ्नो कारबाही बीचमै रोक्नु परेको थियो । त्यति बेला बेनेटले गलत लेखाजोखा गरेका कारण उक्त घटना घटेको धेरैको बुझाई ।
बेनेट धोकाधडीविरुद्धको हाइटेक कम्पनी सिओटाका सह-सस्थापक समेत हुन् । विश्वविद्यालयबाट डिग्री हासिल गरेपछि उनले १९९ मा सिओटा कम्पनी स्थापना गरेका थिए । पछि सोही कम्पनीको सिईओ भएर कैयौं वर्ष न्युयोर्कमा बसे । सन् २००५ मा आरएसए सेक्युरिटीले १४५ मिलियन अमेरिकी डलरमा उक्त कम्पनी किनेपछि उनी करोडपति (multi millionaire) बनेका थिए ।
यसै वर्षको जुन महिनामा बेनेटले अमेरिकी फिनटेक कम्पनी पायोनिअरमा गरेको लगानीबाट ५ मिलियन डलर कमाएको फोर्ब्सले अनुमान गरेको छ। राजनीतिमा प्रवेश गर्नुपूर्व उनले सो कम्पनीमा लाखौं डलर लगानी गरेका थिए ।
पछि बेनेटले सफ्टवेयर व्यवसाय छाडेर इजरायली राजनीतिमा प्रवेश गरे । सन् २००६ मा बेन्जामिन नेतान्याहुको पार्टीमा आबद्ध भएका उनी २००८ सम्म नेतान्याहुको चिफ अफ स्टाफ भएर काम गरे । त्यसपछि उनले सन् २०११ मा अयेलेट शकिदसँग मिलेर माइ इजरायल नामक अभियान सुरु गरेका थिए । उक्त अभियानले मध्य-दक्षिणपन्थी समर्थकमाझ यहुदी राष्ट्रवाद (Zoinism) को भावना वृद्धि गर्ने, धार्मिक तथा धर्म निरपेक्ष समुदायबीच निरन्तर संवाद बढाउने जस्ता कुरालाई जोड दिँदै आएको छ । लगत्तै लिकुड पार्टी छोडेर द जुइस होम नामक दलमा प्रवेश गरेका उनलाई एक वर्षपछि दलको प्रमुख नेतामा चयन गरिएको थियो । इजरायली संसद केनेसेटका लागि सन् २०१३ मा भएको चुनावमा सो दलले १२ वटा सिट जित्न सफल भएको थियो ।
सांसदमा निर्वाचन भएपछि अमेरिकी नागरिकता त्यागेका बेनेटलाई सोही वर्षको मार्चमा अर्थ तथा धार्मिक सेवासम्बन्धी मन्त्रीमा नियुक्त गरिएको थियो । सन् २०१८ मा जुइस होम फुटाएर नयाँ दल न्यु राइट दल बनाउनेमध्ये उनी पनि थिए । तर अर्को वर्ष भएको संसदीय चुनावमा थोरै मतले मात्रै थ्रेसहोल्ड पार गर्न असमर्थ भएको थियो । संसद विघटन भएपछि अर्को वर्ष भएको निर्वाचनमा जुइस होम, न्यु राइट र नेशन युनियनको गठबन्धनले सात सिट जितेको थियो । त्यसपछि उक्त गठबन्धनमा संलग्न दललाई एकीकरण गरी यामिना पार्टी बनाइएको र नयाँ दलले यसै वर्षको मार्चमा भएको चुनावमा ७ सिट जितेको थियो । उक्त चुनावलगत्तै मे ९ मा बेनेट र यश एटिडका नेता यार लपिडबीच नयाँ सरकार गठन गर्ने सहमति भएको थियो ।
बेनेट इजरायली र प्यालेस्टिनीबीचको द्धन्द्ध समाधानका लागि प्रस्तावित दुई राज्य समाधान (two-state solution) का कट्टर विरोधी हुन् । ‘उनीहरु (प्यालेस्टिनीहरु) ले कहिल्यै पनि राज्य पाउने छैनन् भन्ने कुरालाई सुनिश्चित गर्न मैले सकेको सबै गर्ने छु’, कुनै बेला उनले भनेका थिए । डोनाल्ड ट्रम्म अमेरिकाको राष्ट्रपति भएपछि निकै आशावादी भएका उनले उक्त प्रस्ताव असंभव नभएको बताउँदै ‘प्यालेस्टिनी राज्यको युग सकियो’ भनेका थिए ।
यसबाहेक, निजी क्षेत्रमाथि हुने सरकारी नियमन कम गर्नुपर्ने र निजी क्षेत्र आर्थिक विकासको इन्जिन भएको बेनेटको धारणा रहँदै आएको छ । वृद्धवृद्धा र अपाङ्गता भएका व्यक्ति लगायतका जोखिममा रहेको जनसंख्यालाई सामाजिक सहायता प्रदान गर्नुपर्ने पक्षमा उनी देखिन्छन् । साथै, व्यवसायी घराना, श्रमिक युनियन र रक्षा मन्त्रालयले इजरायली अर्थतन्त्रको घाँटी समाएको र यिनीहरुको एकाधीकार तोड्नुपर्ने पनि उनको धारणा रहेको छ । सीमान्तकृत वर्गका लागि समान अवसर तथा शिक्षा प्रदान गरेर असमानता हटाउन सकिने उनको विश्वास छ ।
बेनेटका एक श्रीमति र चार सन्तान छन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय