scheduleशुक्रवार आश्विन १ गते, २०७८

अमेरिकामा बन्दुक हिंसा बढ्दो: पाँच महिनामा २७० वटा गोलीकाण्ड

एजेन्सी, ३१ जेष्ठ । भर्खरै सार्वजनिक गरिएको एक तथ्याङ्क अनुसार अमेरिकामा यस वर्षको जनवरीयता अघिल्लो वर्षको तुलनामा झण्डै ४० प्रतिशतले गोली काण्डका घटनामा वृद्धि भएको छ।

सिएनएनगन भाइलेन्स आर्काइभले संकलन गरेको तथ्याङ्कले यस वर्षको जनवरीदेखि हालसम्म २७० वटा आम प्रकृतिका गोलीकाण्ड (mass shooting) का घटना घटेका छन् । जुन संख्या २०२० को सोही अवधिमा घटेका गोलीकाण्डभन्दा झण्डै ४० प्रतिशतले बढी हो । त्यस्तै २०१९ को सोही अवधिमा घटेका गोलीकाण्डभन्दा उक्त संख्या ६५ प्रतिशतले बढी हो ।

गत वर्षको जनवरीदेखि जुनसम्ममा १९४ वटा गोलीकाण्ड घटेका थिए भने २०१९ मा सोही अवधिमा १६४ वटा गोलीकाण्ड घटेको तथ्याङ्कले देखाउँछ ।

तथ्याङ्क अनुसार शुक्रबारदेखि आइतबार दिउँसोसम्म अमेरिकाका ६ राज्यमा भएका भिन्नाभिन्नै गोलीकाण्डमा कम्तिमा ९ जनाको मृत्यु भएको छ । सिएनएनले चार वा सोभन्दा बढी मानिसमाथि गोली चलाइने घटनालाई आम प्रकृतिको गोलीकाण्डको रुपमा परिभाषित गरेको छ । यो परिभाषा अनुसार अमेरिकामा २०१३ यता २ हजार १२८ पटक गोलीकाण्ड भएको देखिन्छ । यसबाट औसतमा हरेक दिन एउटा गोलीकाण्ड भएको प्रस्ट हुन्छ ।

यस वर्षको जनवरीदेखि मे महिनासम्ममा २४७ वटा गोलीकाण्ड भइसकेका थिए । अमेरिकाका विभिन्न स्थानमा भएका ती गोलीकाण्डमा २८३ जनाको ज्यान गएको थियो भने १ हजारभन्दा बढी मानिस घाइते भएका थिए ।

कतिपय तथ्याङ्कले अमेरिकामा विश्वमै सबैभन्दा बढी गोलीकाण्डका घटना हुने गरेको देखाउँछन् । त्यस्तै गोली चलाउने व्यक्तिले प्राय: अवस्थामा आत्महत्या गर्ने वा प्रहरी वा सर्वसाधारणबाट मारिने गरेको पाइन्छ ।

सन् २०१७ को अक्टोबर महिनामा लास भेगासमा भएको गोलीकाण्डमा हालसम्मकै धेरै मानिसको ज्यान गएको थियो । ६४ वर्षीय स्टेफेन प्याडकले एक होटेलबाट सांगीतिक महोत्सवमा सहभागीमाथि सेमी अटोमेटिक राइफलबाट गोली चलाउँदा ६० जनाको मृत्यु भएको थियो भने गोली लागेर तथा घटना लगत्तै भएको भागदौडमा परी ८६७ जनाको मृत्यु भएको थियो ।

उक्त घटनाको १ घण्टापछि प्याडक आफ्नै कोठामा मृत फेला परेका थिए । उनले गोली हालेर आफैंलाई मारेका थिए । तर उनले गोली चलाउनुको कारण हालसम्म खुलेको छैन ।

त्यस्तै, २०१६ को जुन १२ मा ओरल्याण्डोस्थित पल्स नाइटक्लबमा भएको गोलीकाण्डमा परी ४९ जनाको मृत्यु भएको थियो । सो घटनामा २९ वर्षीय ओमर मटीनले सेमी अटोमेटिक राइफल र पिस्टोलबाट गोली चलाउँदा ५३ जना घाइते भएका थिए । तीन घण्टाको मुडभेडपछि प्रहरी कारबाहीमा मटीन मारिएका थिए । इस्लामिक स्टेटसँग आबद्ध मटीनले एक महिनाअघि इराकमा अमेरिकी सेनाको कारबाही मारिएका अबु वाहिबको बदला लिन उक्त घटना घटाएका थिए ।

अमेरिकामा भएका अन्य चर्चित गोलीकाण्डमा सन् २००७ मा भर्जिनियाको एक क्याम्पसमा भएको गोलीकाण्ड (३२ जनाको मृत्यु/२३ घाइते ), २०१२ मा कनेक्टिकटस्थित स्यान्डी हुक विद्यालयमा भएको गोलीकाण्ड (मृतक- २७, घाइते- २) र २०१७ मा टेक्सासस्थित एक चर्चमा भएको गोलीकाण्ड (मृतक-२६, घाइते- २०) पर्छन् ।

यसबाहेक, अन्य गोलीकाण्डमा परी कयौंले ज्यान गुमाएका थिए । जस्तै, १९९१ मा टेक्सासको एक विद्यालयमा भएको गोलीकाण्डमा परी २३ जनाको मृत्यु र २७ जना घाइते भएका थिए । साथै, २०१९ मा टेक्सासकै एल पासो वालमार्ट गोलीकाण्डमा २२ जनाले ज्यान गुमाएका थिए भने २४ घाइते भएका थिए ।

तथ्याङ्क हेर्दा बन्दुक हिंसा (gun violence) का कारण हरेक वर्ष हजारौं अमेरिकीको मृत्यु भएको देखिन्छ । त्यस्तै बन्दुक हिंसाबाट घाइते हुनेको संख्या समेत उत्तिकै धेरै छ । रोग नियन्त्रण तथा रोकथाम केन्द्र (Centers for Disease Control and Prevention) को पछिल्लो तथ्याङ्क अनुसार सन् २०१८ मा राइफल, पेस्टोल (firearms) जस्ता हतियारबाट ३८ हजार ३९० जनाको मृत्यु भएको थियो । यसमध्ये आत्महत्या गर्नेको संख्या सबैभन्दा धेरै अर्थात् २४ हजार ४३२ थियो ।

सन् १९९९ देखि २०१७ सम्ममा firearms बाट मृत्यु हुनेको दर प्रति लाख १०.३ बाट बढेर १२ पुगेको थि्यो । अर्थात् समग्रमा बन्दुक हिंसा (आत्महत्या समेत) बाट हरेक दिन १०९ जनाको मृत्यु भएको थियो । साथै, सन् १९६८ देखि २०११ सम्ममा झण्डै १४ लाख मानिसहरुको बन्दुकसम्बन्धी घटना (आत्महत्या, दुर्घटना, हत्यासहित) मा परी मृत्यु भएको तथ्याङ्कले देखाउँछ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय