scheduleबिहिवार श्रावण १४ गते, २०७८

के भित्रभित्रै अर्को ‘खिलराज’ को खोजी हुँदैछ ?

साझापोष्ट टिप्पणी

काठमाडौं, ३१ जेठ । प्रधानमन्त्री ओली नेतृत्वको नेकपा (एमाले) को दशौं राष्ट्रिय महाधिवेशनलाई सर्वोच्च अदालतले ‘वैधानिक निकाय’ मान्न नसकिने निर्णय गरेसँगै ओली समूहमा चर्को अन्यौल र निरासा बढ्नुको साथसाथै नयाँ राजनीतिक विकल्पबारे छलफल प्रारम्भ भएको समाचार छ ।

समाचारअनुसार प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीले निकटस्थसँग गम्भीर परामर्श थालेका छन् । तर, उनी कुनै नयाँ निष्कर्षमा भने पुग्न सकिहरेका छैनन् । सर्वोच्च अदालतको फैसला अगाडि निष्कर्षमा पुग्न सहज भएकोले विकल्पहरुमाथि विश्लेषण गर्ने काम भइरहेको बताइन्छ ।

यसक्रममा दुईवटा सम्भावित स्थितिबारे फरकफरक विकल्पको चर्चा भइरहेका छन् । प्रतिनिधिसभा पुनस्थापना भयो भने के गर्ने ? प्रतिनिधिसभा विघटनको निर्णय सर्वोच्च अदालतले सदर गर्दियो भने के गर्ने ?

प्रतिनिधिसभा पुनःस्थापित भए ओली सरकारलाई जोगाई राख्न दुईवटा चमत्कार एक साथ हुनु पर्दछ । एमालेभित्रको विवाद हल भई माधव नेपाल पक्ष समेटिनु पर्दछ । सँगसँगै जनता समाजवादी पार्टीको वैधानिकता महन्त ठाकुर–राजेन्द्र महतो समूहले प्राप्त गर्नुपर्दछ । यो अवस्थामा मात्र ओली सरकारले निरन्तरता प्राप्त गर्न सक्दछ ।

तर, अहिलेसम्म दुवै कुरा सम्भव देखिएको छैन । शेरबहादुर देउवाको पक्षमा हस्ताक्षर गरिसकेको माधव नेपाल पक्षले हस्ताक्षर फिर्ता लिने कुनै सम्भावना देखिएको छैन । यस्तो स्थितिमा प्रधानमन्त्री ओली सरकारको नेतृत्व छाड्ने, सुवास नेम्वाङलाई नयाँ प्रधानमन्त्रीका रुपमा अघि सार्ने, एमाले नवौं महाधिवेशनबाट निर्वाचित कमिटीलाई अभ्यासमा ल्याउने सोचमा पुगेको बताइन्छ ।

यसो गर्दा पार्टीको नेतृत्व पनि आफ्नै हातमा रहने, सरकारको नेतृत्व आफू निकटस्थमा सर्ने र पार्टी एकता पनि जोगिने ओली पक्षको विश्लेषण छ । तर, एमालेको आन्तरिक एकता भए १२१ सीट मात्र हुन्छ । सरकारमा एमाले बनिरहन जसपाको ठाकुर–महतो पक्षको सहयोग अनिवार्य हुन्छ । ठाकुर–महतो पक्षले पार्टीको वैधानिकता प्राप्त गर्दा उनीहरु पक्षका सांसदमाथि पार्टीले कारबाही गर्ने सम्भावना छ । जसपाले ५–७ जना सांसदलाई कारबाही गर्ने बित्तिकै ठाकुर–महतो समूहको समर्थनले पनि एमालेका लागि बहुमत पुग्दैन ।

ओलीको पहिलो नयाँ रणनीति नेम्वाङलाई अघि सार्ने र एमाले एकता जोगाउने भएजस्तै दोस्रो रणनीति जसपा कब्जा गर्न ठाकुर–महतो समूहलाई हदैसम्मको सहयोग गर्ने रहेको छ । त्यसका लागि जसपा केन्द्रीय कार्यकारिणी समितिका कम्तीमा थप ७ जनालाई ठाकुर समूहमा तान्नुपर्ने हुन्छ, जुन अहिलेसम्म सम्भव देखिएको छैन ।

तर, सम्भावनालाई जीवितै राख्न निर्वाचन आयोगलाई तटस्थ निर्णय गर्न दबाब दिइएको बताइन्छ । निर्वाचन आयोगले आइतबार जसपामा दुवै पक्षको कारबाही अवैधानिक भएको हुँदा पार्टीमा सबै पदाधिकारीहरु जस्ताको त्यस्तै रहेको निर्णय गरेको छ । निर्वाचन आयोगको यस्तो निर्णयले ठाकुर पक्षलाई बहुमत जुटाउन प्रयत्न गर्ने अझै केही समय मौका दिन्छ ।

अदालतले विघटन सदर गर्यो भने चाहिँ के गर्ने ? यसबारे ओली समूहमा दुई मत देखिएको छ । एक– जुनकुनै मूल्यमा तोकिएको समयमा निर्वाचन गर्ने । कोरोना महाव्याधि र अन्य कारणले त्यो सम्भव नभए नयाँ ‘खिलराजको खोजी’ गर्ने । ओली सरकारले गराउने भनिएको चुनाव कोराना र विपक्षी गठबन्धनको अस्वीकारोक्तिको कारण हुन नसकेकमा मंसिरबाट संंवैधानिक शून्यता सुरुवात हुनेछ । त्यस्तो बेला ओली आफैं ठूलो समस्यामा फस्ने छन् ।

एकाथरी विश्लेषकहरुका अनुसार भूराजनीतिक डिजाइन भने कार्तिकसम्म ओलीलाई साथ दिएजस्तो गर्ने र त्यसपछि स्वयम् उनललाई संकटमा फसाएर संवैधानिक शून्यता सृजना गर्ने हुन सक्ने बताइन्छ । त्यस्तो भयो भने मंसिर उता अर्को खिलराजको खोजी शुरुवात हुनेछ ।

‘खिलराज मोडेल’ अहिलेको संवैधानिक व्यवस्था अनुरुप भने हुँदैन । पहिलो संविधानसभाको विघटन हुँदा भिन्नै अवस्था थियो । त्यतिखेर अन्तरिम संविधानमा नै कुनै अप्ठ्यारो आईपरे सात दल र माओवादीको सहमति अनुसार हुने व्यवस्था थियो । अहिले संविधानका त्यस्ता कुनै अवस्था छैन ।

संवैधानिक व्यवस्था त्यस्तो नभए पनि व्यवहारिक जटिलताले त्यतैतिर लैजाने त होइन भन्ने भय सबै पक्षमा सृजना भएको छ ।

एक उच्च स्रोतका अनुसार ‘खिलराज मोडेल’ पुनः अभ्यासमा आउन सक्दछ कि सक्दैन भनेर प्रधान न्यायधीश चोलेन्द्र शमशेर राणाले आफ्ना निकटतम सहयोगीहरुबाट नेताहरुको मुड परीक्षण गरिरहेका छन् । ‘खिलराज मोडेल’ कार्यान्वयनमा आउने सम्भावना भए प्रतिनिधिसभा विघटनलाई सदर गर्दिने हो कि भन्ने चर्चा समेत भइरहेको छ । तर, त्यो त्यति सहज नभएको हुँदा उनी आश्वस्त भने छैनन् ।

अर्को समस्या इजलासको बहुमत कता हुने हो भन्ने रहेको छ । प्रधानन्यायाधीशले चाहेजस्तै निर्णय गर्न इजलासको बहुमत तयार हुने सम्भावना कम रहेको बताइन्छ ।

राजनीति निक्कै जटिल मोडमा पुगेको निष्कर्ष ओली समूहले पनि निकालेको छ । तर, आगामी बाटो के हो भन्ने बिषयमा सबैतिर अन्यौल छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय