scheduleशुक्रवार आश्विन १ गते, २०७८

कोटेश्वरमा तीन नेताले बनाए विपक्षी गठबन्धनको रणनीति, नेपाल पनि दृढ

काठमाडौं, १ असार । एमाले वरिष्ठ नेता माधवकुमार नेपालको निवासमा सोमबार साँझ विपक्षी गठबन्धनका तीन शीर्ष नेताले लामो संवाद गरे ।

भेटमा काँग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमाले वरिष्ठ नेता नेपालले आपसी सहमतिलाई निश्कर्षमा पुर्‍याउन आवश्यक रणनीति तय गरेको बताइएको छ ।

विपक्षी गठबन्धनलाई कमजोर बनाउन बाह्य शक्ति केन्द्र र सरकारले चाल्न सक्ने सम्भावित कदमहरुबारे विश्लेषण गर्दै त्यसबारे रणनीति बनाउन नेताहरुले समय खर्च गरेको प्रचण्ड निकट एक नेताले जानकारी दिए ।
राष्ट्रियता, लोकतन्त्र, जनजीविका र जनचासोका विषयलाई केन्द्रविन्दूमा राखेर अघि बढेकाले अन्तिम समयसम्म त्यसैलाई बोक्ने एउटा तार्कि निष्कर्षमा पुग्न तीनै नेता सहमत भएका छन् ।

उनीहरुले देश असाधारण अवस्थामा पुगेको र केपी ओली प्रवृत्ति कायम रहे देश थप जोखिममा फस्ने निष्कर्ष निकालेका छन् । गठबन्धनका नेताहरुबीच एक-आपसको विश्वासलाई थप बलियो बनाउँदै गठबन्धनलाई स्थानीय तहसम्म जीवन्त बनाउनेबारे नेताहरुले छलफल गरेका छन् ।

बैठकमा सहभागी कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काका अनुसार पारस्परिक सम्बन्ध र गठजोडमा कुनै पनि हालतले अविश्वास पैदा हुन नदिने सहमति भएको छ । त्यसैगरी कहिँ कतैबाट भ्रम पैदा गर्ने कोशिस भएमा त्यसमा विश्वास नगर्नेसमेत उनीहरुबीच एकमत कायम भएको छ ।

हाल सर्वोच्च अदालतमा विचाराधीन प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दालाई प्रभावित बनाउन सरकारको तर्फबाट आउनसक्ने दबाब र धम्कीलाई भेटघाटले त्यस्तो प्रयास गलत हुने ठहर गरेको छ ।

निर्वाचन आयोगले जसपाबारे गरेको फैसलाबारे पनि नेतात्रयले आपत्ति जनाएका छन् । उनीहरुले ओलीको नेतृत्वमा लोकतान्त्रिक संस्थाहरुलाई संकुचित बनाउँदै पत्रु बनाउने काम भइरहेको निष्कर्ष निकालेका छन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय