scheduleसोमवार श्रावण ११ गते, २०७८

जसपामा सुरु भयो अर्को चरणको स्पष्टीकरणको श्रृंखला

काठमाडौं, १ असार । न फुट्न सक्ने न जुट्न सक्ने अवस्थामा छन् नेपालका दुई प्रमुख दलहरु- नेकपा एमाले र जनता समाजवादी पार्टी ।

प्रधानमन्त्री केपी ओलीले आकस्मिकरुपमा ल्याएको अध्यादेशका कारण रातारात जुटेका तत्कालीन समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी फुट्न खोजे पनि निर्वाचन आयोगले फुटाउन अस्वीकार गरेको छ ।

निर्वाचन आयोगले अल्पमतमा रहेको महन्थ ठाकुर समूहको पक्षमा निर्णय गरेको विपक्षी गठबन्धनका शीर्ष नेताहरुले सोमबार कोटेश्वरमा बसेको बैठकमा निष्कर्ष निकालेका छन् ।

यस्तो अवस्थामा जसपाभित्र पुनः अर्को चरणको स्पष्टीकरणको श्रृ‌ङ्खला सुरु भएको छ । यसअघि विभिन्न चरणले एक पक्षले अर्को पक्षलाई स्पष्टीकरण सोध्ने र कारबाही गर्ने क्रम चलेको थियो ।

निर्वाचन आयोगको विवादास्पद फैसलासँगै जसपाको उपेन्द्र यादव पक्षले पुनः स्पष्टीकरणको अर्को श्रृंखलाको सुरुवात गरेको हो ।

जसपा अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो समूहले अर्का अध्यक्ष उपेन्द्र यादवलाई कारबाही गरेको थियो । उपेन्द्रले पनि ठाकुर, महतो, लक्ष्मणलाल कर्ण, सर्वेन्द्रनाथ शुक्ललाई कारबाही गरेका थिए । दुवै समूहले पार्टीको साधारण सदस्य समेत नरहने गरी कारबाही गरे पनि निर्वाचन आयोगले प्रक्रिया नमिलेको भन्दै अस्वीकार गरेको हो ।

सोमबार यादव समूहले समूहले ठाकुर र महतो समूहबाट संघीय सरकारमा मन्त्री बनेका ११ जना नेतालाई स्पष्टीकरण सोधेको छ । ८ जेठमा सम्पन्न पार्टीको केन्द्रीय कार्यकारिणी समितिको निर्णय नम्बर–४ मा प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा सामेल भए पार्टीबाट स्वतः निष्कासन गरिने निर्णय लिएको थियो । उक्त निर्णयबारे जानकारी हुँदाहुँदै किन सरकारमा सामेल भएको भन्दै उनीहरूलाई स्पष्टीकरण सोधिएको हो ।

पार्टीको नीति र निर्णय उल्लंघन गर्ने तपाईंहरूलाई किन कारबाही नगर्ने भन्दै अध्यक्ष यादवले स्पष्टीकरण माग गरेको पत्र सम्बन्धित मन्त्रीलाई पठाइसकेको छ ।

संसद् विघटन गर्ने अलोकतान्त्रिक, असंवैधानिक र प्रतिगमनकारी कदमलाई पार्टी निर्णय र नीतिविपरीत साथ दिएको, सरकारमा सहभागी भएको, नेता महतोलाई किन दलको नेता बनाइएको, पार्टी विधानमै नभएका काम–कारबाही गरेको जस्ता आरोप स्पष्टीकरण पत्रमा मन्त्रीहरूलाई लगाइएको छ ।

जसपाले महतोको नेतृत्वमा ओली सरकारमा उपप्रधानमन्त्रीसहित नौ मन्त्री र दुई राज्यमन्त्री पाएको छ ।

यसैबीच, जसपा नेता राजकिशोर यादव बिस्तारित मन्त्रिमण्डलमा नपरेपछि नेता ठाकुर र महतोसँग रुष्ट थिए । उनले पछि ओलीसँग सिधै संवाद गरेर मन्त्रीमण्डलमा पर्न सफल भएका छन् । ठाकुरले बोलाएको पछिल्लो पार्टी बैठकमा उनी सहभागी भएनन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय