scheduleसोमवार श्रावण ११ गते, २०७८

बुद्ध, बुद्धत्व र आधुनिक समाज

मोहन तिम्सिना

गौतम बुद्धको नाममा सबै नेपालीले गौरवबोध गर्दछन् । यसमा कुनै विवाद छैन । तर बुद्ध को हुन् ? बुद्धत्व के हो ? यस सम्बन्धमा भने व्यापक विवाद छ । कोही बुद्धलाई नास्तिक (भौतिकवादी) मान्छन् त कोही आस्तिक । कोही ‘शान्तिवादी’ मान्दछन् त कोही ‘द्वन्दवादी’ । कोही ‘साम्यवादी’ मान्दछन् त कोही ‘व्यक्तिवादी’ । कोही ध्यानको ‘टेक्निक’को आविष्कारक मान्दछन् त कोही ‘भगवान’ ।

किन बुद्धका बारेमा यति धेरै परस्पर विरोधी धारणा आएका होलान ? यो बिषयमा अति कम चर्चा हुन्छ । कमसेकम नेपालीहरूका लागि ‘बुद्ध नेपालमा जन्मिएका हुन्’ मात्र भनेर कर्तव्य पुरा हुँदैन । बौद्ध ज्ञानको सही समझदारी र अभ्यास पनि उत्तिकै जरुरी हुन्छ ।

आस्तिक कि नास्तिक ?

बुद्धले धर्मको कुरा गरे । पुर्वजन्म र पुनर्जन्मको कुरा गरे । गुरु–शिष्य परम्पराको कुरा गरे । दिक्षा, दान र निर्वाणको कुरा गरे । यस आधारमा ईश्वरवादीहरूले बुद्धलाई आस्तिक भनिदिए । अर्कोतिर उनै बुद्धले ईश्वर, आत्मा, परमात्मा, स्वर्ग, नर्क जस्ता धारणाको खण्डन गरे । उनले वैदिक वर्णव्यवस्था र कर्मकाण्डको पनि विरोध गरे । यहि कुरालाई हेरेर भौतिकवादीहरूले बुद्धलाई नास्तिक (भौतिकवादी) भनिदिए ।

मोहन तिम्सिना

बौद्ध ज्ञानका अगाडि यस्तो विभाजनको कुनै अर्थ छैन । बुद्ध यो ‘संसार’ र ‘व्यक्ति’ लाई नै सास्वत मान्दैनन् । उनको विचारमा ‘व्यक्ति’ र ‘संसार’ को स्वतन्त्र अस्तित्व नै छैन । यो त हाम्रा इन्द्रियहरूको प्रक्षेपण मात्र हो । यो ‘अविद्या’ हो । व्यक्ति वा संसारको आत्यन्तिक स्वभाव ‘शुन्य’ छ, ‘अनिर्वचनीय’ छ । जसलाई भाषामा व्यक्त गर्न सकिन्न । यो हाम्रा तर्क र बुद्धि भित्र अटाउने बिषय नै होइन । केवल अनुभूतिको बिषय हो ।

बुद्धको यो कुराले ईश्वरवाद र भौतिकवाद दुवैको एकैचोटी खण्डन गर्दछ । जब संसार नै सास्वत् छैन भने ‘सृष्टिकर्ता ईश्वर’ को धारणा त खण्डित भयो नै, ‘भौतिक तत्व नै सत्य हो’ भन्ने भौतिकवादी धारणा पनि खण्डित भयो ।

बुद्ध ‘नास्तिक’ भएका कारण वैदिक साहित्य र कर्मकाण्डको विरोध गरेका थिएनन् । वैदिक युग ‘भक्ति योग’ मा आधारित थियो । बुद्धले ‘ज्ञान योग’ को उपयोग गरे । दुवैले निश्कर्ष र परिणाम एउटै दिए पनि यिनीहरूको विधि फरक थियो । अर्कोतिर बुद्धको समयसम्म आउँदा वैदिक परम्पराभित्र विकृति देखा परिसकेका थिए ।

बुद्धले ‘भक्ति धारा’ का विकृतिको खण्डन गरेका थिए । यही आधारमा बुद्धलाई नास्तिक देख्नु दृष्टिदोष मात्र हो । बुद्ध एक तपस्वी थिए । जो पूर्वीय सभ्यतामा पैदा भएका ज्ञात–अज्ञात सयौं बुद्ध–पुरुष (व्यक्ति) मध्येका एक थिए । जो आस्तिकता र नास्तिकताको बुद्धिविलाशभन्दा माथि उठेका थिए । जसले ‘निरपेक्ष सत्य’ अनुभूति गरेका थिए । यस्तै व्यक्तिहरूलाई हाम्रो सभ्यताले ‘भगवान’ उपाधि दियो ।

शान्तिवादी कि द्वन्दवादी ?

केही ‘लोकतन्त्रवादी’ हरूले प्रचार गरेजस्तो बुद्ध ‘शान्तिवादी’ होइनन् । केही ‘कम्युनिष्ट’ हरूले प्रचार गरेजस्तो ‘द्वन्दवादी’ पनि होइनन् । बुद्ध ‘समाज’ लाई तात्विक ईकाई नै मान्दैनन् । केवल ‘व्यक्ति’ लाई तात्विक इकाई मान्दछन् । ‘व्यक्ति’ लाई पनि ‘शून्य’ भावमा हेर्दछन् । जब व्यक्तिलाई ‘शून्य सत्य’ बोध हुन्छ, तब जीवनमा शान्ति आउँछ भन्ने उनको मान्यता हो । त्यसैले बुद्धको शान्तिको अर्थ सामाजिक शान्ति होइन, मानसिक शान्ति हो ।

‘द्वन्दवाद’ शब्द कार्ल मार्क्सले प्रयोग गरेका थिए । भौतिकशास्त्री सिमोन लाप्लासको ‘वैज्ञानिक निर्धारणवाद’ को सिद्धान्तलाई मार्क्सले ‘द्वन्दवाद’ का नाममा व्याख्या गरेका थिए । लाप्लास र मार्क्स दुवैले हरेक घटनाका पछाडि कारण हुन्छ र त्यो सम्बन्धित पदार्थमै हुन्छ, जसलाई वस्तुगत अवलोकनबाट जान्न, तर्क र गणितमा अभिव्यक्त गर्न सकिन्छ भनेका थिए । उनीहरूको यो नियम ‘पदार्थ नै सत्य हो’ भन्ने आधारभूत बुझाईमा आधारित छ ।

बुद्धले पनि कार्य–कारण सम्बन्धको चर्चा गरेका छन् । बुद्ध पनि संसार र जीवन कार्य–कारण सम्बन्धको चक्र (भवचक्र) हो भन्दछन् । उनले कार्य–कारण सम्बन्धको नियमलाई ‘प्रतित्यसमुत्पाद’ नाम दिएका छन् । जुन सुनिश्चित तार्किक पद्धतिमा नै खडा गरिएको छ । तर बुद्ध पदार्थलाई ‘सत्य’ मान्दैनन् । बुद्ध ‘वैज्ञानिक निर्धारणवाद’ को सिद्धान्त भन्दा धेरै गहिरो र विपरित कुरा गर्दछन् । उनको कार्य–कारण सम्बन्धले स्थुल पदार्थलाई अतिक्रमण गर्दछ ।

बुद्ध सुक्ष्म तरंग जगतका कार्य–कारणका कुरा गर्दछन् । बुद्धको कार्य–कारण सम्बन्धको नियम मार्क्स-लाप्लासले भने जस्तो बुद्धि, तर्क र गणितबाट जान्न सकिने बिषय नै होइन । यो तपस्चर्याको अलौकिक प्रक्रियाबाट केवल अनुभूत गर्न सकिने बिषय हो । यसै अनुभूति भित्र ‘पुर्वजन्म’ र ‘पुनर्जन्म’ को चक्र आउँछ । अब पाठकहरू आफैं भन्नु होस्, मार्क्स–लाप्लासको ‘द्वन्दवाद’ र बुद्धको ‘प्रतित्यसमुत्पाद’ एउटै हो ?

‘वैज्ञानिक निर्धारणवाद’ को सिद्धान्तलाई आधुनिक विज्ञानले खण्डन गरिसकेको छ । यथार्थमा बुद्धको कार्य–कारणको नियम मार्क्स–लाप्लासको नियमको ठिक विपरित छ । बरु यो क्वान्टम भौतिकीको नियमको निकट छ । तर यहाँ पनि बुद्ध जुन गहिराईमा पुगेका छन्, क्वान्टम भौतिकी त्यहाँसम्म पुगेको छैन । त्यसैले बुद्धलाई ‘द्वन्दवादी’ मान्नु केवल अविद्या हो ।

बुद्धलाई ‘द्वन्दवादी’ मान्नेहरूको अर्को भ्रम के छ भने, यिनीहरू केवल बुद्धलाई मात्र ‘द्वन्दवादी’ मान्दछन् । अन्य तपस्वीहरूलाई मान्दैनन् । यथार्थमा सबै तपस्वीहरूको विश्वदृष्टिकोण एउटै हो । शिव, कृष्ण, महावीर, कविर, नानक, लाओत्से, जिजस, मोहम्मद, ओशो, सदगुरुलगायत जति पनि तपस्वीहरू छन्, उनीहरू सबैले कार्य–कारणको सुक्ष्म नियमको व्याख्या गर्दछन् । तर यो मार्क्स–लाप्लासको जस्तो ‘वैज्ञानिक निर्धारणवाद’ मा आधारित छैन । यो त्योभन्दा धेरै सुक्ष्म र विपरित छ । त्यसैले कुनै पनि तपस्वीहरू ‘द्वन्दवादी’ होइनन् । बुद्ध ‘प्रथम द्वन्दवादी’ हुन् भन्ने कम्युनिष्टहरूका कुरा अविद्या हो ।

व्यक्तिवादी कि साम्यवादी ?

बुद्धले ‘व्यक्ति’ मा ध्यान केन्द्रित गरेको हुनाले केही मानिसहरूले बुद्धलाई ‘उदारवाद’ सँग तुलना गरिदिए । अनि बुद्धले ‘संघम शरणम गच्छामी’ भनेको हुनाले केही कम्युनिष्टहरूले बुद्धलाई ‘साम्यवादी’ भनिदिए । यथार्थमा बुद्ध ‘नीतिशास्त्री’ नै होइनन् । त्यसैले उनलाई ‘उदारवाद’ र ‘साम्यवाद’ सँग जोड्नु पनि अविद्या मात्रै हो ।

यथार्थमा बुद्धको भूमिका वैज्ञानिकको जस्तो हो, जसले प्रकृति र जीवनको आत्यन्तिक स्वभावको खोजी गरेका छन् । एक अर्थमा बुद्धलाई ‘व्यक्तिवादी’ भन्न सकिएला । तर उदारवादीहरूले वकालत गर्ने ‘व्यक्तिवाद’ र बुद्धको व्यक्तिवाद फरक छ । उदारवादीहरू ‘व्यक्ति’ को अहंकारको भरणपोषण गर्दछन् । तर बुद्ध ‘व्यक्ति’ को अहंकारलाई भष्म पारेर व्यक्तिलाई शून्य (निर्वाण) मा पुर्‍याउन चाहन्छन् । त्यसैले बुद्धको अभिमुखीकरण नै फरक छ ।

साम्यवादीहरूको ‘साम्यवाद’ र बुद्धको ‘संघ’ पनि एउटै होइन । साम्यवादीहरूको साम्यवादको उद्देश्य भौतिक सुख हासिल गर्नु हो । भौतिक सुख हासिल भएपछि मनुष्यका अन्य समस्या आफैं समाधान भएर जान्छन् भन्ने साम्यवादीहरूको बुझाई हो । त्यसैले साम्यवादीहरू ‘आवश्यकताको संसारबाट स्वतन्त्रताको संसारमा फड्को हान्ने’ कुरा गर्दछन् ।

तर बुद्धको ‘संघ’ को उद्देश्य आत्मिक सुख (निर्वाण) हासिल गर्नु हो । बुद्ध, आवश्यकता र स्वतन्त्रता, भौतिक सुख र आत्मिक सुखबीच विभाजन रेखा कोर्दैनन् । अर्थात् बुद्धको दृष्टिमा आवश्यकता र स्वतन्त्रता परिपुरक छन् र संगसंगै यात्रा गर्दछन् । त्यसैले बुद्धले ‘संयक दृष्टि’ देखी ‘संयक समाधी’ सम्मको ‘अष्ठांगिक’ कार्यक्रम बनाएका छन् । यसले स्पष्ट देखाउँछ, बुद्ध ‘व्यक्तिवादी’ वा ‘साम्यवादी’ हुन् भन्नु पनि अबिद्या नै हो ।

बुद्ध र बुद्धत्व

बुद्ध कुनै ‘व्यक्ति’ होइन, ‘अवस्था’ हो । बुद्धत्व कुनै ‘संरचना’ होइन, ‘प्रकृया’ हो । बुद्धलाई बुझ्न ‘बुद्ध दृष्टिकोण’ नै जरुरी हुन्छ । स्वयं बुद्ध बन्ने प्रकृयामा प्रवेश गर्नु पर्दछ । तर मानिसहरू कि त भौतिकवादी भएर कि त ईश्वरवादी भएर बुद्धलाई हेर्ने कोशिश गरिरहेका छन् । यही गल्तीले बुद्ध र बुद्धत्वबारे उनीहरूको व्याख्या ‘दृष्टिविहिनहरूले हात्तीको व्याख्या गरेजस्तै’ भएको छ ।

भौतिकवादीहरूलाई त ‘बुद्धत्व’ स्वीकार्न उनीहरूको सिद्धान्तले नै दिँदैन । यिनीहरूको दृष्टिमा ज्ञान भनेको आँखा खोलेर, वस्तुगत अवलोकन गरेर मात्र हासिल हुन सक्छ । त्यसैले भौतिकवादीहरू बुद्धको ‘विपस्यना’ लाई एक ‘टेक्निक’का रुपमा मात्र स्वीकार्छन् ।

तर यथार्थमा ‘बुद्धत्व’ भनेको आँखा बन्द गरेर, इन्द्रीय, मन, तर्क, बुद्धि र स्वयंलाई अतिक्रमण गर्दा मात्र हासिल हुन्छ । विपस्यना ध्यान विधि ‘मन सुधार्ने टेक्निक’ मात्र होइन, तपस्वी विश्वदृष्टिकोणको अभिन्न अंग हो ।

अन्त्यमा

तपस्वीहरूका बोधयुक्त धारणालाई आजभन्दा सय वर्ष अगाडिको विज्ञान (शास्त्रीय विज्ञान)ले खण्डन गर्दथ्यो । तर आज विज्ञान स्वयं उल्टिएको छ । आधुनिक विज्ञानका विधाहरूले एकातिर शास्त्रीय विज्ञानका प्रस्थापनालाई खण्डन गरिरहेको छ । अर्कोतिर तपस्वी ‘बोध ज्ञान’ लाई अनुशरण गरिरहेको छ । त्यसैले आजको आधुनिक समाजका लागि शास्त्रीय विज्ञान होइन, ‘बौद्ध ज्ञान’ र आधुनिक विज्ञान चाहिँ मार्गदर्शक हुन् ।

तर हाम्रो समाजमा विचित्रका ‘विकासवादी’हरू छन् । जो ‘बुद्ध नेपालमा जन्मिएका थिए’ भनेर त दोहोर्‍याई रहन्छन् । तर उनीहरूलाई बुद्धत्वप्रति चासो छैन । उनीहरूलाई जम्माजम्मी बुद्ध जन्मभूमिमा धेरै पर्यटक आकर्षित गरेर ‘आर्थिक वृद्धि’ गर्नुछ । उनीहरूले देख्ने बुद्धको उपादेयता यति नै हो ।

बुद्ध–पर्यटनको सम्भावनाबारे चिन्तन गर्नु गलत होइन । बुद्धको बिषयलाई यतिमै सीमित गर्नु चाहिँ गलत हो । बुद्धलाई हामी पैसा कमाउने हतियार मान्छौं कि जीवन बनाउने अमुल्य ‘अमृत’ ? खास प्रश्न यो हो । बुद्धलाई केवल पैसा कमाउने हतियारका रुपमा पेश गर्नु लज्जास्पद र तुच्छ कुरा हो । बुद्धबाट त हामीले जीवन बनाउने अमुल्य ‘अमृत’ ग्रहण गर्ने हो ।

बुद्ध भन्दछन्, धनले सुविधा दिन सक्छ, सुख (आनन्द) दिन सक्दैन । जसले भौतिक सुख (धन सुख, पद सुख, शरीर सुख) प्राप्तिलाई जीवनको लक्ष्य मान्दछ त्यो जीवनको उल्टो बाटो हो । यस्तो सोचले नै व्यक्तिगत र सामाजिक पर्यावरण धरापमा पर्छ ।

धन त कमाऊ, तर यसैलाई लक्ष्य नबनाऊ । धन जीवनको साधन मात्र हो । निर्वाण (स्वयंको बोध) चाहिँ जीवनको लक्ष्य हो । त्यसैले स्वयंको बोध हासिल गर्ने कुरालाई लक्ष्य बनाऊ ।

यसैका लागि बुद्धले संयक दृष्टि, संयक आजीविकादेखि संयक समाधिसम्मको ‘देशना’ गरेका थिए । तर आज बुद्धकै नाममा, उनकै जन्मभुमिमा धनवादी धारणाको फेसन चलेको छ । यो बुद्धविरोधी धारणा हो ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय