scheduleबिहिवार श्रावण १४ गते, २०७८

नेटोलाई चीनको जवाफ- ‘हाम्रो विकासका कारण कसैमाथि खतरा पैदा भएको छैन’

एजेन्सी, १ आषाढ । उत्तर एटलान्टिक सन्धि संगठन (नेटो) ले इतिहासमै पहिलो पटक चीनलाई आफ्नो एजेण्डा बनाएको छ । ब्रसेल्समा आयोजित एक दिने शिखर सम्मेलनको अन्त्यमा जारी गरिएको संयुक्त विज्ञप्तिमा नेटोले चीनमाथि विभिन्न आरोप लगाएको छ । चीनले समेत नेटोले लगाएका आरोपको खण्डन गरेको छ ।

नेटोले चिनियाँ उपलब्धि तथा विकासलाई अवमूल्यन गर्न खोजेको चीनको आरोप छ । नेटोले चीनका कारण ‘प्रणालीगत चुनौती’ पैदा भइरहेको बताएपछि युरोपेली युनियनका लागि चिनियाँ नियोगले विज्ञप्ति जारी गर्दै भनेको छ- ‘रक्षा तथा सैन्य आधुनिकीकरणको हाम्रो यात्रा सही, विवेकपूर्ण र पारदर्शी छ ।’

त्यस्तै चीनको रक्षा नीति प्रतिरक्षात्मक प्रकृतिको रहेको भन्दै नेटोले आफ्नो अधिकांश सामर्थ्य छलफल एवं संवादमा खर्च गर्न समेत चिनियाँ नियोगको आग्रह छ । चीनले विभिन्न क्षेत्रमा गरेको विकासका कारण कसैमाथि खतरा पैदा नभएको पनि नियोगले प्रस्ट पारेको छ ।

नेटोले चीनको विकासलाई विवेकपूर्ण तरिकाले हेर्नुपर्ने र चिनियाँ अधिकार तथा स्वार्थलाई ध्रुवीकृत राजनीति (bloc politics), टकराव र भू-राजनीतिक प्रतिस्पर्धा पैदा गर्ने बहाना बनाउन नहुने समेत नियोगको भनाइ छ ।

नेटोले संयुक्त विज्ञप्तिमा चीनका कारण प्रणालीगत चुनौती पैदा भएको, आणविक हतियार विस्तार गर्ने लगायतका चिनियाँ क्रियाकलापले ‘नियममा आाधारित अन्तर्राष्ट्रिय व्यवस्था’ खतरामा पारेको उल्लेख गरेको छ।

चीनबाट ‘अभिव्यक्त भएका महत्वाकांक्षा र आक्रामक व्यवहारका कारण नियममा आधारित अन्तर्राष्ट्रिय व्यवस्थाका साथै गठबन्धनको सुरक्षासँग जोडिएका क्षेत्रसामु प्रणालीगत चुनौती पैदा भएको छ’, विज्ञप्तिमा भनिएको छ, ‘चीनको निरन्तर अपारदर्शिता तथा गलत सूचनाको प्रयोगप्रति हामी चिन्तित छौं ।’

शिखर सम्मेलन सुरु हुनुपूर्व नेटोका प्रमुख जेन्स स्टोल्टेनबर्गले ‘हामीहरु नयाँ शीतयुद्धमा प्रवेश गरिरहेका छैनौं, चीन हाम्रो विरोधी एवं दुश्मन दुबै होइन’ भनेका थिए ।

त्यस्तै अमेरिकासहित युरोपेली मुलुकको शक्तिशाली राजनीतिक एवं सैन्य गठबन्धन नेटोले रुसलाई मुख्य खतराको रुपमा औल्याएको छ । यद्यपि, बुधबार रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र उनका अमेरिकी समकक्षी जो बाइडेनबीच जेनेभामा भेटघाट हुँदैछ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय