scheduleसोमवार श्रावण ११ गते, २०७८

राजनीतिले हुर्काएको ‘रत्नाकर’ र उसको रूपान्तरण

अभि गाउँले

काठमाडौं, १ असार । शीर्षकको कथनलाई एकैछिन थाती राख्दै रत्नाकरबारे संक्षिप्त बयान गरौँ । जंगलमा बसोबास गर्ने भिल जातिको परिवारमा हुर्केका थिए रत्नाकर । यसै कारण उनले भिल्लको परम्परा अपनाए र जीविकाका लागि डाँकु भए । आफ्नो परिवारको पालनपोषणको लागि यात्रीहरू लुट्ने र आवश्यक परेको खण्डमा मार्न पनि पछि नहट्ने उनको स्वभाव बन्दै गयो । यसरी उनले दिनदिनै मानिसहरूका आँसुले आफ्ना पापहरूको भाँडो भरिरहेका थिए।

एक दिन नारद मुनि जंगलबाट बाहिर आउँदै थिए। मुनिलाई देखेपछि रत्नाकरले बन्दी बनाए । नारद मुनिले उनलाई सोधे कि तपाईं किन यस्तो पाप गर्दै हुनुहुन्छ?

रत्नकारले आफ्नो र आफ्नो परिवारको जीविकाको लागि यस्तो गर्नुपरेको जवाफ दिए । तब नारद मुनिले सोधे, ‘जुन परिवारका लागि तपाईंले यी पापहरू गर्दै हुनुहुन्छ, के त्यो परिवारले पनि तपाईंको पापको फल भोग्न तयार छ ?’

यसमा रत्नाकरले उत्साहका साथ भने कि हो, बिल्कुल । मेरो परिवार मसँग सधैं उभिन्छ। नारद मुनिले एकपटक परिवारलाई सोध्न आग्रह गरे । यदि परिवारले समर्थन गरेको खण्डमा आफूसँग भएका सबै पैसा दिने नारदले बाचा गरे ।

त्यसपछि रत्नाकरले आफ्ना परिवारका सबै सदस्यहरूलाई सोधे, तर कोही पनि उनको कुरामा सहमत भएनन्। रत्नकारमा यसबाट गहिरो प्रभाव पर्‍यो र उनमा हत्या र हिंसाको मार्गलाई त्यागेर तपस्या गर्ने ब्रह्मचेत खुल्यो । र, धेरै वर्षसम्म तपस्या गरे, फलस्वरूप ज्ञान पाए र उनले संस्कृत भाषामा महाकाव्य रामायणको रचना गरे ।

यसरी जीवनको एउटा घटनाबाट डाँकू रत्नाकर एक महान् लेखक महर्षि वाल्मीकि भए। खराब मार्गमा हिँडिरहेको एक व्यक्ति समयक्रममा असल मार्गमा हिँड्न सक्छ भन्ने बलियो उदाहरणको रूपमा यो घटनालाई लिन र शिक्षा हासिल गर्न मद्दत पुग्छ ।

यसै घटनामा आधारित रहेर नेपाली राजनीतिले जन्माएका र हुर्काएका रत्नकारहरू के साँच्चिकै वाल्मीकि बन्न सक्छन् त भन्ने जिज्ञासा अहिले समयसान्दर्भिक बहसको विषय बन्न पुगेको छ ।

जनता समाजवादी पार्टी (जसपा) नेपालका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले गण्डकी प्रदेशका स्वतन्त्र सांसद राजीव गुरूङ (दीपक मनाङे) लाई रत्नाकर वाल्मीकिसँग तुलना गर्दै भनेका छन् कि कुनै पनि मान्छे जन्मजात अपराधी नहुने र नयाँ जीवन र नयाँ भूमिका चाहने गुरुङलाई वञ्चित गर्न नहुने तर्क पेश गरेका छन् ।

भट्टराईले आफ्नो तर्कको सैद्धान्तिक पुष्टि गर्न आफ्नो सुविचारित र अनुभवजन्य मान्यतालाई थप बलियो बनाउने प्रयत्न गरेका छन् . उनकै भनाइ जस्ताको तस्तै पढौँ, ‘समाज/राज्यले मान्छेलाई अपराधी बनाउँछ । साथै वर्गीय/जातिय/लैंगिक विभेद भएको समाजमा राज्य/समाजको वर्चस्वशाली तप्काले उत्पीडित/बहिष्कृत तप्कालाई सहजै ‘अपराधी’ बनाइदिन सक्छ । अत:अपराध/अपराधी एक सापेक्ष अवधारणा हो।‘

यौटा देशको नेतृत्व गरिसकेको बौद्धिक जगतका प्रख्यात राजनीतिज्ञले राखेको विषयलाई सीधै नकार्न त हाम्रो बौद्धिक क्षमताले नभ्याउला तर अपराध र हिंसात्मक घटनाप्रति नेपाली समाजको भोगाइ र मनोविज्ञानले डा. भट्टराईको यो भनाइलाई शतप्रतिशत स्विकार्न सक्दैन । किनकी दीपक मनाङेहरूले आफ्नो ‘जीवनको पुस्तक’ लेखिसकेका छन् ,कोरिसकेका छन् । निहत्था जनताको कोखमा छुरा धसेर रक्तपात गर्ने र धनमाल आर्जन गर्ने प्रवृत्तिको पक्षपोषण गर्नु पनि दार्शनिक रटान हुनसक्छ र ?

समाज/राज्यले मान्छेलाई अपराधी बनाउँछ भन्नू यौटा सैद्धान्तिक र पात्रप्रतिको बिचरापन मात्र हो । राज्यले भरपूर सेवासुविधा दिन नसक्दा सरकारी कर्मचारी भ्रष्टाचार गर्न बाध्य हुन्छन् भन्ने तर्कलाई वस्तुपरक कोणबाट त मान्न सकिन्छ तर तलब थोरै छ भन्दैमा कालो धन थोपर्ने छुट कसैलाई हुन्छ ? समाजमा जातीय भेदभाव र सांस्कृतिक उत्पीडनमा परेका समुदायबाट शोषणको चरम उत्कर्षबाट एउटा अपराधको जन्म हुन्छ । राज्यले सधैं अनागरिकको दर्जामा राख्ने र अधिकारबाट कोहि वन्चित भयो भने त्यो पनि अपराधी जन्मिने जन्मस्थल नै हो ।

समाजमा विभिन्न किसिमका अपराधका अवयवहरू छन् । आफू र आफ्नो परिवारको आवश्यकता पूरा गर्ने रत्नकार जस्ता अपराधीहरू छन्, अनावश्यक धन जम्मा गरेर सुखसयलको जीवन जिउने अभिलाषामा अपराध गर्नेहरू छन् र पूँजिपति सामन्तहरूको धनमाल लुटेर गरीबलाई दान दिने अपराधीहरू पनि हुन्छन् ।

अब आफैं भन्नोस् कि ‘दीपक मनाङेहरू’ कुन ‘क्याटेगोरीका’ अपराधी थिए वा मान्न सकिन्छ ? ओठ नकमाइ भन्नुपर्दा विगतलाई न्याय र अन्यायको आँखाबाट हेर्दा मनाङेहरू अभिलाषी आपराधिक क्रियाकलापमा संलग्न व्यक्तिहरू नै हुन् ।

लामो समयको गुण्डागर्दीबाट अकुत सम्पत्ति कमाएपछि मनाङे आफैले ठेक्कापट्टामा हात हाले । उनले होटल, रेस्टुरेन्ट र डान्सबार खोलेर कालो धनलाई सेतो बनाउन लगानी गरेको प्रहरी अधिकारीले बारम्बार बताउने गर्थे । पछि उनले आफ्ना आपराधिक गतिविधिलाई राजनीतिमा ‘सेफ ल्यान्डिङ’ गर्ने उद्देश्य बोकेर बिस्तारै राजनीतिमा आफ्नो पहुँच बनाउन थाले । र अपराध लुकाउने माध्यम राजनीति देखेका मनाङे २०७३ पुस २८ गते राप्रपामा प्रवेश गरे र उनको सपना एक हिसाबले पूरा भयो पनि ।

नेपालाको राजनीति घटनाक्रममा मनाङेको नाम बेलाबेला चर्चामा आउने गर्छ । गण्डकी प्रदेशको सत्तारूढ दलको सरकार ढाल्न ‘किङ्गमेकर’को भूमिकामा देखिएका मनाङेलाई निवर्तमान मुख्यमन्त्री पृथ्बीसुब्बा गुरुङको खरो टिप्पणीले राजनीतिक बजारमा बहसको स्थान पाइरहेको छ । आफैंले सहयोग गरेर राजनीतिमा ल्याएको राजीव गुरुङ ‘दीपक मनाङे’ले आफूलाई धोका दिएको, चुनाव जिताएको, प्रदेशसभा सदस्यको सपथ दिलाउन भूमिका खेलेको र अन्त्यमा सबै डाँकूहरु वाल्मिकी नहुँदा रहेछन् भन्ने अभिव्यक्ति दिनु चासोको विषय बनेको छ ।

अभि गाउँले

एउटा स्वतन्त्र सांसद कुनै अर्को संसदीय दलमा प्रवेश गरेर फेरि स्वतन्त्र हुन नपाइने नियम र ‘यति सुविधा दिउँ न भनेर दिएको’ भन्नू आफैतिर प्रश्न गर्नु हैन र ?

दीपक मनाङेले गरेका कर्तुतका बारेमा बोलिरहँदा त्यसको जवाफदेहिता मनन गर्दै प्रमाण र घटना साक्षीभावमा छन् ।

मनाङ ‘ख’ प्रदेशसभाका स्वतन्त्र सांसद राजीव गुरूङ उर्फ दीपक मनाङे समूहले २०६१ सालमा गुण्डा नाइके मिलन गुरूङ ‘चक्रे’लाई खुकुरी हानेका थिए र सोही घटनामा सर्वोच्च अदालतले ज्यान मुद्दामा पाँच वर्ष जेल सजायको फैसला सुनाएको थियो । काठमाडौं प्रहरी प्रमुख भएर आएका तल्कालीन एसएसपी छविलाल जोशीले काठमाडौंमा भएका गुण्डाको सूची तयार पारेका थिए । प्रहरीले तयार पारेको गुण्डा लिस्टको ‘ए’ ग्रेडको पहिलो नम्बरमा थिए मनाङे । मनाङे त्यसबेला प्रहरीको उच्च निगरानीमा थिए ।

राप्रपा र राप्रपा नेपाल एकीकरण भएपछि उनी मनाङको राप्रपा जिल्ला अध्यक्षमा चुनिएका थिए । उनै मनाङेलाई स्थानीय चुनावमा सुरक्षा थ्रेट भन्दै काठमाडौं प्रहरीले ५ दिन थुमानमा राखेको थियो । तर मनाङेले प्रहरीलाई मात्रै हैन सबैलाई चकित पार्दै प्रदेशसभा चुनावमा उम्मेदवारी मात्रै दिएनन् जितेरै छाडे । मनाङबाट विजयी मनाङे चुनावमा उठ्दा आफूले गरेका वाचा पूरा गर्न नपाई जेल जानुपर्ने अवस्थाबाट जोगिएर यहाँसम्म आइपुगेका छन् ।

काठमाडौंको ठमेलबाट मनाङेको आपराधिक यात्रा सुरू भएको थियो । ठमेलमा मनाङका मानिसले होटल व्यावसाय सुरू गरेसँगै उनले आपराधिक यात्रा सुरेका हुन् । ठमेलमा रवाफ देखाउँदै हप्ता असुली गर्ने मनाङेका दुश्मनीका रूपमा अर्का गुण्डा नाइके चक्रे मिलन देखा परे । व्यवसायीबाट हप्ता उठाउन थालेका मनाङे पटकपटक पक्राउ पर्न थाले । पक्राउ पर्नु र छुट्नु मनाङेका लागि सामान्य जस्तै भएको थियो ।

१५ करोड रूपैयाँ बराबरको अकुत सम्पत्ति जम्मा गरेको आरोपमा सम्पत्ति शुद्धीकरण विभागले उनीविरूद्ध विशेष अदालतमा मुद्दासमेत हालेको थियो । पछि उनले सफाइ पाएका थिए । २०७० मा नेपाली सेनाका एक मेजरलाई कुटपिट गरेको आरोपमा पक्राउ परेका मनाङे १ वर्ष ६ महिना जेल बसेर छुटेका थिए ।

अहिले पनि दीपक मनाङेको नाम लिनासाथ धेरैको मानसपटलमा उनी गुण्डानाइके हुन् भन्ने सोच आउँछ । उनको बिगतलाई हेर्ने हो भने उनलाई गुण्डानाइके नाम दिनु उनकै कर्मको उपज हो, स्वभाविक पनि छ । तर इतिहासले यस्तो जटिल अवस्थामा लगेको छ कि अब मनाङे गुण्डानाइके नै हुन् कि राजनीतिकर्मी ? पैसा असुल्दै हिँड्ने सुकुलगुण्डा कि प्रहरीको सलाम खाने मन्त्री ? उनका यी बहुविशेषताले नेपाली राजनीतिको शुद्धीकरणमा समस्या थपिदिएको छ, अपरिभाषित अन्योलता उब्जेको छ ।

समाज वा राज्यले जबर्जस्त जन्माएको अपराधी ऊ कुनै विन्दुमा पुगेर रोकिन्छ । तर प्रतिशोध र सम्पत्ति आर्जनको ध्येयले अपराधी बनेकाहरू जीवनपर्यन्त गुण्डागर्दीमा रमाउँछन् । अपराध/अपराधी सापेक्ष अवधारणा मान्न सकिन्छ तर पात्र र पात्रता अनि व्यवहारले त्यसलाई पृथक व्याख्या गर्दछ । अपराधको दायरालाई कानुनको फराकिलो ढोकाभित्र छिराउनुपर्छ तर बौद्धिकताको खोपडीमा थुनेर राख्न मिल्दैन ।

अपराध राजनीतिको गर्भमा सुषुप्त अवस्थामा रहेको हुन्छ । यो त्यो बेला गतिशील बन्छ जुन बेला राजनीति गतिहीनताले शिथिल हुन्छ । अहिलेको राजनीतिले यो विषयलाई उजागर गरिरहेको छ । नेपालको राजनीतिक नेतृत्वले मनाङेलाई यौटा कुख्यात अपराधीलाई माननीय पदसम्म पुर्‍याएको छ । थाहा छैन अपराधको खोल ओढेर त्यहाँसम्म पुगेका हुन् या विशुद्ध जनमतले सांसद बनेका हुन् तर यतिचाहिँ भन्न सकिन्छ कि उनले परिस्थितिको प्रतिकूलतामा आफ्नो असली रूप देखाउनेमा शंका छैन ।

अपराधलाई बौद्धिक व्याख्याले मात्र समेट्न सक्दैन भन्नेकुरा सबैले बुझ्न जरूरी छ । देशको प्रधानमन्त्री समेत बनिसकेका व्यक्तिले अपराधलाई राजनीतिको नाङ्गो आँखाले मात्र हेरेर पुग्दैन, अपराध मानसिकताको उदय, त्यसले समाजमा छोडेको छाप र पीडित समुदायको मनोदशाको पनि स्थान राखिदिनुपर्छ । डा. बाबुराम भट्टाराइले चिन्ने अपराधी र जनताले चिन्ने अपराधीमा नितान्त फरक छ । आजसम्म बाबुरामले गुण्डाको संरक्षण गरेको र यस्ता गलत प्रवृत्तिको साथ लिएको सुनेको छैन तर ‘फोहोर’ छोइसकेपछि साबुन पानीले मिचिमिची हात धुनुपर्छ भन्ने सामान्य कुराको हेक्का भने राख्नैपर्छ । किनकि दीपक मनाङ्गेलाई अपराधी कबुल गर्न र मनाङे प्रवृत्तिलाई राजनीतिक बहिष्कार गर्न मनाङेबाट पीडित व्यक्तिहरू बाबुरामकै पार्टीमा हुनुपर्छ भन्ने त पक्कै हैन । विशुद्ध राजनीतिक छवि भएको नेताले खुँखार अपराधीसँग फोटो खिच्न सक्छ तर बौद्धिक चतुर्‍याइँ गरेर जनताको मनमा चोट पुर्‍याउने गल्तीचाहिँ गर्नुहुँदैन ।

विगतमा जनताको ज्यान खतरामा पारेका मनाङेले गण्डकीमा सरकार भत्काएका छन् । एक महिनाअघिदेखि सरकार ढाल्न लागिपर्दैआएको विपक्षी गठबन्धनलाई सार्थक साथ दिन पुगेका मनाङे एकाएक चर्चाको शिखर बने । धेरैलाई यो लागेको छ कि दीपक मनाङेले सहि गरे । नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले त उनलाई बक्सिसको रूपमा बिनाविभागीय मन्त्री समेत दिइसकेका छन् । मनाङेको यो कदमले ओलीको प्रतिगमनको यात्रामा ठूलो अवरोध त खडा गरेकै छ तर मनाङेले राजनीतिलाई अवसरका रूपमा लिएका हुन् भने त्यसको दुष्परिणाम छिट्टै देखापर्नेछ । यसमा सचेत हुन जरूरी छ । यदि गण्डकी सरकारको जङ्गेपिल्लर मनाङे नै हुन् भने नेतृत्वले बेलैमा विचार नपुर्‍याउँदा जुन खम्बा बलियो छ त्यै खम्बा ढल्यो भने त्यससँगै अर्को विपत्ति आइलाग्नेछ ।

भनिन्छ, नेपाली राजनीतिमा दीपक मनाङेहरूभन्दा महागुण्डाहरूले राज गरिआएका छन् । राज्यबाट खटिएका सुरक्षाकर्मीले केवल नेताको रखबारी गर्छन्, तर नेताको सुरक्षा त गुण्डाले गरिरहेको हुन्छ । र गुण्डाको संरक्षण तिनै नेताले गरेका छन् । यहाँ मनाङेलाई सन्दर्भका हिसाबले पात्र बनाइए पनि समाजमा त्यस्ता थुप्रै मनाङेहरू छन् जो अनाहकमा अरूलाई दु:ख दिन दिनरात गल्लीमा ढुकिबस्छन् । त्यसैले राजनीतिमा गुण्डाराजलाई नियन्त्रण गर्न गुण्डानाइकेलाई राजनीतिमा ल्याएर हैन कानुनको कठघरामा उभ्याएर दण्डित गर्नुपर्छ । मान्छे मारेर लुटपाट गरेर राजनीतिमा कोहि डन आउन चाहन्छ भने त्यसमा हाम्रो पूर्वाग्रह रहनेछैन भनेर स्वागत गर्नु भनेकोचाहिँ अपराधीलाई मनोबल बढाउने काम गर्नु हो ।

अन्त्यमा, महर्षि वाल्मीकिको एक वाणी – ‘असल व्यक्ति अरूलाई दु:खबाट मुक्ति दिलाउन आफू दु:ख सहन तयार हुन्छ तर दुष्ट व्यक्ति अरूलाई सधैँ दु:ख दिन प्रयासरत हुन्छ ।’

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय