scheduleसोमवार श्रावण ११ गते, २०७८

चुनावको मुखमा आदित्यनाथ आलोचित: मौकाको फाइदा उठाउँदै अमित, मोदी मौन

नयाँ दिल्ली, १ असार । उत्तर प्रदेश विधानसभा निर्वाचन आउँन ९ महिना मात्र बाँकी रहँदा मुख्यमन्त्री आदित्यनाथ योगीको राजनीति भविष्य शंकाको घेरामा तानिएको छ । भारतीय जनता पार्टीभित्र योगीलाई मुख्यमन्त्रीमा दोहोर्याउन नहुने जनमत बढ्न थालेका छन् ।

प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री तथा पूर्व अध्यक्ष अमित शाह तथा अध्यक्ष जेपी नड्डा नै योगीलाई मुख्यमन्त्रीका रुपमा नदोहोर्याउने मनस्थितिमा रहेको भारतीय समाचार माध्यमले उल्लेख गरेका छन् ।

करिब ३ महिनादेखि मोदी–शाहसँग योगीको बोलचाल नै रोकिएको थियो । गत हप्ता उच्चस्तरको भेटभाटका लागि योगी नयाँ दिल्ली गए । उनले राष्ट्रपति कोविद, प्रधानमन्त्री मोदी, गृहमन्त्री शाह र पार्टी अध्यक्ष नड्डासँग भेटेका तस्वीरहरु सामाजिक सञ्जालमा पोष्ट गरेका छन् । तर, ती भेटघाटमा के कुराकानी भयो भन्ने बिषय खुलाइएको छैन ।

भाजपाले आगामी विधानसभा निर्वाचनको आन्तरिक तयारी शुरुवात गरिसकेको बताइन्छ । सन् २०१४ को लोकसभा निर्वाचनमा पार्टी केन्द्रको तर्फबाट उत्तरप्रदेशका लागि प्रभारी रहेका अमित शाहको गृहप्रदेश गुजरात भए पनि उत्तरप्रदेशको भाजपा संगठनमा उनको बलियो पकड रहेको विश्वास गरिन्छ । बितेका केही महिनायता शाह र योगबीचको सम्बन्ध कुनै सरसल्लाह र बोलचाल नै नहुने बिन्दूमा पुगेको थियो ।

योगीसँगको सम्बन्ध बिग्रिएपछि शाह र नड्डाले पार्टी संगठन सम्बन्धी निर्णयमा योगीको सल्लाह लिन छोडेका थिए । यसले मुख्यमन्त्री योगीलाई झनै निरास र असन्तुष्ट बनाएको थियो । शाह र योगीलाई भाजपामा प्रधानमन्त्री नरेन्द्र मोदीपछिका सम्भावित उत्तराधिकारका प्रतिस्पर्धी मानिन्छ ।

शाह गुजरात र उत्तर प्रदेशलगायत अधिकांश प्रादेशिक पार्टी संगठनमा बलियो पकड राख्दछन् । योगीको पकड भने उत्तरप्रदेशमा नै सीमित छ । तर, उत्तर प्रदेश भारतको सबैभन्दा धेरै जनसंख्या र लोकसभा सिट भएको प्रदेश हो । योगीलाई किनारीकरण गर्न भने भाजपालाई सजिलो छैन ।

करिब ५ वर्ष अघि उत्तर प्रदेशको सत्तामा आउँदा आदित्यनाथ योगी लोकप्रिय नेता मानिन्थे । सत्तामा आएपछि उनको साख गिर्दै गएको छ । योगी शासनकाललाई मुख्य ५ कारणले आलोचना गर्ने गरिन्छ ।

पहिलो– उनको शासनकालमा सीमान्तकृत समुदायका माग र भावनालाई अस्वीकार गरियो । मुस्लिम समुदायलाई चित्त दुख्ने गरी उनले ‘लव जेहाद’ को कानुन ल्याए । यो कानुन मुताविक हिन्दु केटीसँग प्रेम विवाह गर्ने मुस्लिम केटालाई १५ वर्षसम्म जेल सजाय हुन सक्दछ ।

दोस्रो– उत्तर प्रदेशमा भाजपाको जग मानिएको ब्राह्मण समुदायलाई उनले शासन प्रक्रियाबाट बाहिर राखे । प्रदेशमा करिब १३ प्रतिशत ब्राह्मणहरु छन् । जनसंख्याले थोरै भए पनि राजनीति तथा सामाजिक भूमिकाले उनीहरु बर्चश्वशाली छन् । योगी विष्ट क्षेत्री हुन् । उनले जातिवादी शासन गरेको र ‘राजपुतना’ मनोभावनालाई प्रेरित गरेको आरोप ब्राह्मण समुदायको छ ।

तेस्रो– योगीमाथि भाजपा पार्टीको संगठन शक्तिलाई आफू अनुकुल पार्न यसको मातृ संगठन आरएसएसको शक्तिलाई नाजायज प्रयोग गरेको वा भाजपा मामिलामा आरएसएसको हस्तक्षेप बढाएको आरोप छ ।

चौथो– योगी शासनकालमा प्रदेशको शान्ति, सुरक्षाको स्थिति राम्रो नभएको ठानिएको छ ।

र, पाँचौं– कोरोना महामारी नियन्त्रणको सही योजना र रणनीति बनाउन नसकेको आरोप छ ।

यी कारणले ५ वर्ष अघिभन्दा अहिले योगीको लोकप्रियता निक्कै घटेको बताइन्छ । अमित शाह यही मौकाको उपयोग गरी आफ्ना प्रतिस्पर्धी योगीलाई किनारा लगाउने योजनामा हुनसक्ने बताइन्छ । योगी मुख्यमन्त्रीमा नदोहोरिने हो भने सन् २०२४ मा हुने लोकसभा निर्वाचनसम्ममा उनी ओझलमा पर्ने सोच शाह र नड्डाले राखेको हुन सक्ने अनुमान गरिंदैछ ।

भारतीय राजनीतिको गहिरो ज्ञान राख्ने कतिपय विश्लेषकहरुका अनुसार प्रधानमन्त्री नरेन्द्र मोदी अझै एक चुनाव आफैं प्रधानमन्त्रीको उम्मेद्वार हुन चाहन्छन् । तसर्थ अहिले नै उनी अमित शाहलाई ग्रिन सिग्नल दिने पक्षमा छैनन् ।

मोदीलाई अझै शाह र योगीको आवश्यकता छ । तसर्थ गत हप्ता मोदी आफैंले योगीलाई दिल्ली बोलाएर शाहसंगको सम्बन्ध सहजीकरण गरिदिने प्रयास गरेका थिए । ठूलो जनसंख्या र धेरै सीट भएको उत्तर प्रदेशलाई चिड्याई हाल्ने पक्षमा मोदी छैनन् ।

तर, शाह भने योगीसँग अझै खुलस्त हुन सकेका छैनन् । केही दिन अघि उत्तरप्रदेश ब्राह्मण समाजमा राम्रो प्रभाव भएका कांग्रेस नेता तथा पूर्वमन्त्री जितन प्रसादलाई उनले भाजपा प्रवेश गराएका छन् । जितन प्रसाद उत्तर प्रदेशमा शाह–नड्डाको नयाँ सहयोगी हुन सक्ने बताइन्छ ।

शाह पक्षधर भाजपा कार्यकर्ताले योगी राजनीतिक अभियानकर्ताका रुपमा उचित पात्र भए भने शासन प्रशासन सञ्चालनको ज्ञान र क्षमता उनमा नभएको भन्दैछन् ।

उनको शासनशैली तानाशाही र एकलकाँटे भएको, आफ्नै पार्टी संगठन र संसदीय दललाई समेत विश्वासमा लिने प्रयत्न नगरेको आरोप योगीमाथि बढ्दै गएको छ ।
तर, योगीले अझै आत्मविश्वास भने गुमाएका छैनन् । उनले आफ्नो शक्तिका रुपमा आरएसएसलाई देखेका छन् । अन्तिम चरणमा आरएसएसले हस्तक्षेप गर्ने र मुख्यमन्त्रीमा दोहोरिने उनको विश्वास छ ।

उत्तर प्रदेशमा विपक्षी दल कांग्रेस खासै बलियो छैन । तथापि कांग्रेस प्रभारीको जिम्मेदारी महासचिव प्रियंका गान्धीले आफैं लिएकी छन् । गान्धीकै कमाण्डमा अगामी विधानसभा निर्वाचन लड्ने मुडमा कांग्रेस छ । अर्को प्रतिस्पर्धी भने समाजवादी पार्टी हो । सपा अध्यक्ष तथा पूर्वमुख्यमन्त्री अखिलेश यादव आगामी चुनावबाट सत्तामा फर्किने आशासहित सक्रिय छन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय