scheduleबिहिवार श्रावण १४ गते, २०७८

नयाँ सरकारको घोषणा- गम्भीर रोगका बिरामीलाई मासिक चार हजार उपचार खर्च

काठमाडौं, १ असार । भर्खरै बनेको गण्डकी प्रदेश सरकारले गम्भीर रोगका बिरामीलाई राहत हुने गरी नयाँ कार्यक्रम ल्याएको छ । एमाले नेतृत्वको सरकारलाई विस्थापित गर्दै बनेको सरकारले कमजोर आर्थिक अवस्था भएका क्यान्सर, अल्जाइमर, मुटुरोग, मिर्गौलालगायतका गम्भीर बिरामीको उपचारका लागि मासिक चार हजार रुपैयाँ सहयोग गर्ने निर्णय गरेको हो ।

मंगलबार गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गर्दै प्रदेश अस्पतालमा ६५ वर्षमाथिका जेष्ठ नागरिकलाई निःशुल्क उपचार गराउने घोषणा पनि गरेका छन् ।

बजेटमा प्रदेशभरका जिल्ला अस्पताललाई ५० शैय्या र धौलागिरी अस्पताललाई २ सय शैय्या हुने गरी स्तरोन्नति गरिने योजना समेटिएको छ । नयाँ क्याबिनेटका सदस्यहरुलाई मन्त्रालय जिम्मा दिइ नसकेको अवस्थामा आफैं बजेट प्रस्तुत गर्दै मुख्यमन्त्री पोखरेलले स्वास्थ्य स्वयम् सेविकालाई वार्षिक ६ हजार प्रोत्साहन भत्ता उपल्व्ध गराउने घोषणा गरेका छन् ।

त्यस्तै उनले ढुङ्गा, बालुवा र माटोलगायतका बस्तु उत्खनन् नियन्त्रण गर्ने उत्खनन्मा नियन्त्रण गर्ने कार्यक्रम बजेटमा समेटेका छन् ।

पोखरेलले पोषण कार्यक्रमलाई निरन्तरता दिइएको बताएका छन् । बालबालिका, गर्भवती र अपाङ्गका लागि पोषण पु¥याउन कार्यक्रमलाई निरन्तरता दिइएको उनले बताए ।

संघ सरकराको सहयोगमा सबै जिल्ला अस्पताललाई २५ देखि ५० शैय्या र धौलागिरि अस्पताललाई स्तरोन्नती गरिने उनले बताए । सबै जिल्ला अस्पतालमा २ देखि ५ शैय्याको सघन उपचार कक्ष स्थापना हुने पोखरेलले बताए ।

सबै जिल्ला अस्पतालमा आँखा, डायलाइसिस र ज्येष्ठ नागरिक वार्ड बनाउन बजेट विनियोजन भएको छ ।

नवलपुरको मध्यविन्दू अस्पताल, तनहुँको दमौली अस्पताल, बागलुङको धौलागिरि अस्पताल, पर्वतको भिरकोट अस्पताललाई ट्रमा सेन्टरको रुपमा स्तरोन्नती गरिने बताए । गोरखाको आँपपिपल अस्पताललाई ५० शैय्याको बनाइने बताए ।

गण्डकी विश्वविद्यालयमा ३५० शैय्याको जनरल, ५० शैय्याको मुटु रोग, ५० शैय्याको अर्बुद र ५० शैय्याको मिगौला रोगको उपचार हुने शिक्षण अस्पतालको निर्माणका लागि बजेट विनियोजन भएको छ ।

गण्डकी सरकारले आगामी वर्षका लागि ३० अर्व ३ करोड ९४ लाखको बजेट सार्वजनिक गरेको छ । १३ अर्ब ६ करोड ४७ लाख चालू तर्फ र १६ अर्ब ७३ करोड ४६ लाख पुँजीगत तथा २४ करोड वित्तिय व्यवस्थापन तर्फ बजेट विनियोजन गरिएको छ ।

पूरा बजेट मध्ये नेपाल सरकारबाट वित्तिय समानीकरण अनुदान ७ अर्व ४२ करोड पाएको छ । शसर्त अनुदान ४ अर्व १८ करोड, समपुरक अनुदान ८७ करोड, विशेष अनुदान ५४ करोड, राजश्व बाँडफाँट ७ अर्व ६२ करोड र रोयल्टीबाट ३० करोड पाउने अनुमान छ ।

प्रदेशले ४ अर्व ९७ करोड आन्तरिक आम्दानीबाट व्यहोर्ने छ । यो वर्ष खर्च नहुने २ अर्व १० करोड पनि बजेटमा समावेश गरिएको छ । अपुग २ अर्व मध्ये आन्तरिक ऋण १ अर्व र नेपाल सरकारबाट १ अर्व ऋणबाट पुर्ति गरिने अर्थमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले बताए ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय