scheduleबिहिवार श्रावण १४ गते, २०७८

गोप्य रुपमा कर्मचारीको चियोचर्चो गरेको भन्दै १४ करोड जरिवाना

एजेन्सी, १ आषाढ । स्विडेनको चर्चित फर्निचर कम्पनी इकेआले गोप्य रुपमा कर्मचारीको चियोचर्चो एवं जासुसी गरेको पाइएको छ ।

कर्मचारीको जाजुसी गरेको मुद्दामा दोषी पाइएपछि फ्रान्सको एक अदालतले इकेआलाई १.२ मिलियन डलर (१४ करोड नेपाली रुपैयाँ) जरिवाना तिर्न भनेको छ ।

यसबाहेक, इकेआको फ्रान्स शाखाका सिईओलाई दुई वर्षको निलम्बित जेल सजायँ तथा ५० हजार युरो जरिवाना सुनाइएको छ । कर्मचारीको जासुसीमा संलग्न निजी कम्पनी इअरपेसका प्रमुख जाँ पियरे फुरेसलाई समेत दुई वर्षको निलम्बित जेल सजायँ एवं २० हजार युरो जरिवाना सुनाइएको छ ।

फ्रान्सस्थित इकेआको शाखाले निजी जासुस र प्रहरी अधिकारी प्रयोग गरी कर्मचारीको निजी विवरण संकलन गरेको पाइएपछि उक्त जरिवाना सुनाइएको हो ।

अभियोजनकर्ताका अनुसार व्यवस्थापहरुले २००९ देखि २०१२ सम्म इअरपेस नामक प्राइभेट सेक्युरिटी फर्म प्रयोग गरी प्रहरीमार्फत् कर्मचारीको गोप्य विवरण संकलन गरेका थिए । यस क्रममा कर्मचारीको जीवनशैली कस्तो छ, अपराधिक पृष्ठभूमि छ/छैन जस्ता विषयबारे गोप्य रुपमा सूचना संकलन गरिएको थियो ।

कम्पनीले तीन वर्षदेखि आफ्ना कर्मचारीमाथि गोप्य रुपमा निगरानी गरेको तथ्य बाहिर आएपछि चार जना व्यवस्थापकलाई कामबाट हटाउँदै नयाँ आचारसंहिता लागू गरेको थियो ।

मुद्दाको सुनुवाइका क्रममा भर्साइलस्थित अदालतमा कम्पनीका वरिष्ठ कार्यकारी र स्टोरकिपरसहित १५ जनालाई उपस्थित गराइएको थियो । त्यस्तै गोप्य सूचना उपलब्ध गराएका चारजना प्रहरी अधिकारीमाथि समेत सुनुवाइ भएको थियो ।

कम्पनीका स्टोर किपरले निगरानी प्रणाली (surveillance system) को प्रयोग गरी रोजगारीका लागि आवेदन दिने मानिसको गोप्य रुपमा परीक्षण तथा आफ्नै कर्मचारीमाथि चेकजाँच गरेका थिए । यस क्रममा झण्डै ४ सय जनालाई निगरानी गरिएको अभियोजनकर्ता पामेला टाबरडेलले बताइन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय