scheduleबिहिवार श्रावण १४ गते, २०७८

महन्थको बहुमत पुर्‍याउने काइदा, केन्द्रीय कार्यकारिणीमा १७ जना थपे

काठमाडौं, २ असार । जनता समाजवादी पार्टीभित्र अल्पमतमा रहेका महन्थ ठाकुरले केन्द्रीय कार्यकारिणी समितिमा बहुमत जुटाउन १७ जनालाई मनोनित गरेका छन् ।

निर्वाचन आयोगको फैसला विवादमा परिरहेको बेला ठाकुरले लिएको निर्णयलाई अर्थपूर्णरुपमा हेरिएको छ । आयोगले सरकारको कठपुतलीको रुपमा भूमिका खेलीरहेको विपक्षी गठबन्धनले आरोप लगाइरहेका छन् । पूर्व प्रमुख निर्वाचन आयुक्तहरुले पनि आयोगको निष्पक्षतामा प्रश्न उठाइरहेका छन् ।

आयोगले जसपामा अल्पमतमा रहेको ठाकुर पक्षलाई बहुमत जुटाउन लामो समय दिएको थियो । तर बहुमत पुर्‍याउन नसकेपछि ठाकुर पक्षलाई सजिलो हुने गरी निर्णय गरेको थियो । आयोगको निर्णयविरुद्ध आन्दोलनमा जाने र अदालतको ढोका पनि ढकढकाउने जसपाका अर्का अध्यक्ष उपेन्द्र यादवले बताइसकेका छन् ।

यही अवस्थामा ठाकुरले कार्यकारिणी समितिमा आफूनिकट १७ जना व्यक्तिलाई मनोनित गरेका छन् । ठाकुरले मनोनित गरेको सबै जना ठाकुर र राजेन्द्र महतो निकट मात्र छन् । ठाकुरले आफूनिकट ११ जना र महतोनिकट ६ जना नेतालाई कार्यकारिणी समितिको सदस्य बनाएका हुन् ।

ठाकुरले यादवनिकट कार्यकारिणी समितिका सदस्यहरूलाई हटाएर त्यसको ठाउँमा आफूनिकट नेताहरूलाई कार्यकारिणी समितिमा राखेका उनीनिकट एक नेताले जानकारी दिए । उनले जसपाका दुई अध्यक्ष रहने व्यवस्था भने कायमै राख्दै एक अध्यक्षको स्थान भने खाली राखेका छन् ।

पहिलो अध्यक्षमा आफ्नो नाम राखेका ठाकुरले दोस्रो अध्यक्षमा नाम खाली राखेका छन् । जसपाको विधानमा दुई अध्यक्षको व्यवस्था छ तर पहिलो र दोस्रो भनेर खुलाइएको छैन । ठाकुरले थपेको कार्यकारिणी सदस्यहरूमा डा. विजयसिंह, सुरेन्द्र झा, विमल श्रीवास्तव, राजीव झा, उमाशंकर अरगरैया, इकबाल मिया, परमेश्वर साह, सत्रदीप यादव, सुरेश मण्डललगायत छन्। कार्यकारिणी समितिमा थपिएका अरगरैया, श्रीवास्तव, तथा इकबाल वर्तमान सरकारका मन्त्री पनि हुन् ।

ठाकुरले महतो र आफूपक्षीय नेताहरु समेटे पनि अनिला झा, शरत्सिंह भण्डारी र राजकिशोर यादव पक्षका नेताहरुलाई समेटेका छैनन् ।

ठाकुरको गतिविधि बढेपछि अध्यक्ष उपेन्द्र यादवले आज कार्यकारिणी समितिको बैठक बोलाएका छन् । आजको बैठकले केही महत्वपूर्ण निर्णय लिइने बताइएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय