scheduleशुक्रवार आश्विन १ गते, २०७८

माधव नेपाल समूहमा तीन धार

साझापोष्ट टिप्पणी

काठमाडौं, ३ असार । एमालेको माधव नेपाल–झलनाथ खनाल पक्षमा कसरी अगाडि बढ्ने भन्ने बिषयमा तीनवटा दृष्टिकोण देखापरेका छन् ।

पहिलो, जसरी हुन्छ ओलीसँग मिल्ने, आगामी निर्वाचनमा एमाले नाम र सूर्य चिन्ह नै लिएर चुनावमा जाने । त्यसका लागि आवश्यक पर्दछ भने केही झुक्न वा सम्झौता गर्न तयार हुने । योगेश भट्टराई र गोकर्ण विष्टलगायत केही युवा नेताहरूले यस्तो धारणा राख्न थालेका छन् ।

दोस्रो, पार्टी एकता जोगाउन अन्तिमसम्म प्रयत्न गर्ने तर ओलीसँग भने नझुक्ने, बरु ओलीलाई एक हदसम्म झुक्न बाध्य पार्ने । भीम रावल, अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, भीम आचार्यलगायतका नेताहरू यो धारमा छन् । पार्टीलाई जेठ २ को स्थितिमा फर्काउने, ओलीलाई पार्टी र प्रधानमन्त्रीमध्ये कुनै एक पद छोड्न बाध्य गर्ने, प्रतिनिधिसभा विघटनको सवालमा ओलीलाई आत्मालोचना गर्न लगाएर माफी दिने यो धारको धारणा छ ।

तेस्रो, भने ओलीसँग मिलेर बस्न नसकिने निष्कर्षमा छ । यो धारका नेताहरू सर्वोच्च अदातलको फैसलापछि कुनै ठोस निर्णय लिन माधव नेपाललाई दवाब दिइरहेका छन् । यी धारका नेताहरू ओली सुध्रिने सम्भावना देख्दैनन । उनले आत्मआलोचना गर्ने सम्भावना नरहेको उनीहरूको धारणा छ । दोस्रोपटक विघटित प्रतिनिधिसभा पुनःस्थापित नभए ओलीले सबैलाई लतारेर लाने जोखिम रहेको यो धारको बुझाई छ । यो धारमा युवराज ज्ञवाली, रामकुमारी झाँक्री, डा. विजय पौडेलजस्ता नेताहरू छन् ।

पहिलो धारका नेताहरूको दृष्टिकोणमा दोस्रो र तेस्रो विचारले अन्ततः विभाजनमा नै पुर्‍याउनेछ । त्यसो भए, ओली धार एमालेको मुलधारका रुपमा रहन्छ । फुटेर जानेहरूले तुरुन्तै बलियो पार्टी बनाउन सक्दैनन् । फुट्ने पक्षको राजनीतिक भबिष्य समाप्त हुन्छ । माले बनाएर फुटेका वामदेव गौतम वा सीपी मैनालीको जस्तो स्थिति हुन सक्दछ । यस्तो अवस्था नआओस् भन्नका लागि नेपाल पक्ष झुक्न राजी हुनु पर्दछ ।

यो धारको विचारमा ओली सजिलै झुक्ने स्वभावका मानिस हैन । प्रतिनिधिसभा विघटनको मुद्दामा उनले आत्मआलोचना गर्ने सम्भावना छैन । तत्काल अध्यक्ष पद पनि छोड्ने छैनन् । बरु ओलीलाई साथ दिएर ‘बैगुनीलाई गुनले मार्ने’ नीति उचित हुन्छ । तसर्थ, कुनै लचिलो सम्झौतापरस्त बाटो खोजी हुनु पर्दछ । त्यो बाटो के हो ? त्यो भने उनीहरूले सुझाउन सकिरहेका छैनन् ।

दोस्रो धारणा राख्नेहरू ओली गल्न बाध्य हुने निष्कर्षमा छन् । यो धारको विचारमा पार्टी विभाजित भए दुवै पक्ष अगामी निर्वाचनमा कमजोर हुनेछन् । माधव नेपाल पक्ष मात्र कमजोर हुने, ओली पक्षले मूलधारको नेतृत्व गर्ने सम्भावना छैन । बरु माधव नेपाल पक्ष माओवादी र जसपाको यादव समूहसँगको गठबन्धनबाट केही संख्यामा आउन सक्दछ, तर ओली समूह झनै चौतर्फी घेराबन्दीमा पर्ने छ ।

दोस्रो समूहको विश्वासमा ओली कुनै न कुनै सम्मानजनक निकास खोज्न अब बाध्य हुनेछन् । सर्वोच्च अदालतको निर्णयपछि उनले प्रधानमन्त्री र पार्टी अध्यक्षमध्ये कुनै एक पद छोड्नै पार्ने हुन्छ । अन्यथा सर्वोच्च अदालतको पछिल्लो निर्णयअनुरुप ओली पक्षको दशौं महाधिवशेन कमिटीले बैधानिकता पाउने छैन । एमाले नाम र सूर्य चिन्ह पनि ओली पक्षले नपाउने सम्भावना बढेर जान्छ । एमाले नवौं महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिलाई मान्यता दिनु बाहेक ओलीसँग अब कुनै विकल्प बाँकी छैन ।

तेस्रो पक्ष भने ओलीसँग कुनै प्रकारको विश्वास र आशा राख्न नसकिने ठान्दछन् । आफूलाई अप्ठ्यारो पर्दा ओली थोरै झुकेजस्तो गर्दछन् तर मौका आउने बित्तिकै उनले कसैलाई बाँकी राख्ने छैनन् । अहिले पनि ओली कुनै ग्लानी, पश्चाताप र रियलाइजेशन आएको छैन । प्रतिनिधिसभा पुनःस्थापित भए जसपाको एउटा हाँगोको साथ लिएर आफैं सत्तामा टिक्ने, पुनःस्थापित नभए सबैलाई लतारेर चुनावमा जाने ओलीको रणनीति छ ।

तेस्रो पक्ष सर्वोच्च अदालतको फैसलापछि फुट्नु पर्ने पक्षमा छ । फुटेको एमाले माओवादी केन्द्रबीच एकता गरी नयाँ कम्युनिष्ट पार्टी बनाउनु पर्ने उनीहरूको धारणा छ । तर, त्यस्तो नयाँ पार्टीको नेतृत्व प्रचण्डले नछोड्ने हुँदा त्यो जनताको आँखामा पूर्व माओवादी जस्तो देखिने र त्यो पार्टीले खासै चुनावी सफलता हासिल नगर्ने डर भने उनीहरूको मनमा छ । माधव नेपाल पक्षका तेस्रो धारमा नेताहरू एमाले फुट र माओवादी केन्द्रको एकताबाट बन्ने नयाँ कम्युनिष्ट पार्टीको नेतृत्व माधव नेपाललाई दिन प्रचण्ड राजी भए मात्र त्यो पार्टीको चुनावी भविष्य हुने ठान्दछन् । त्यस्तो सम्भावना भने छैन ।

प्रचण्ड भने माधव नेपाल पक्षले एमाले मै ओलीलाई बर्खास्त गर्न सकोस्, एमाले र माओवादी केन्द्रको फेरि विधिवत र औपचारिक एकता हुन सकोस् भन्ने चाहन्छन्, यो भने लगभग असम्भव जस्तो देखिएको छ । ओलीले आत्मसमर्पण गरेको अवस्थामा बाहेक माधव नेपाल पक्षले एमालेबाट ओलीलाई बर्खास्त गर्ने र एकल नेतृत्व हात पार्ने सम्भावना क्षीण छ । ओली समूह यस्तो अवस्थाका लागि मनोवैज्ञानिक रुपले तयार छैन ।

एमाले पहाडमा एक्लै बलियो हुन सक्ने र मधेशमा महन्थ ठाकुर–राजेन्द्र महतोसँगको सहकार्य तथा गठबन्धनले फाइदा गर्ने ओली पक्षको बुझाई छ । ओली प्रधानमन्त्रीमा बरु सुवासचन्द्र नेम्बाङलाई छोड्न सक्ने तर पार्टी अध्यक्ष कुनै हालतमा नछोड्ने मनस्थितिमा छन् ।

ओली पनि सर्वोच्च अदालतको फैसला नै पर्खिरहेको छन् ।

जताबाटे नापे पनि आगामी चुनावमा तीन पक्षबीच त्रिकोणात्मक प्रतिस्पर्धा हुने देखिन्छ । पहिलो- गठबन्धन, कांग्रेस वा कांग्रेसको नेतृत्वमा हुनेछ । मुख्य प्रतिस्पर्धी कम्युनिष्ट शक्ति चिराचिरा भएको विद्यमान स्थितिमा कांग्रेस एक्लै चुनाव लडेर पनि बहुमत ल्याउने वा पहिलो पार्टी हुन सक्ने मनस्थितिमा छ । तर, एमाले एकता भएमा भने कांग्रेस गठबन्धन साझेदारका खोजी गर्न सक्दछ ।

दोस्रो गठबन्धन ओलीको नेतृत्वमा हुनेछ । यस गठबन्धनमा एमालेका अतिरिक्त जसपाको ठाकुर–महतो र स्वतन्त्र मधेशका हृदयेश त्रिपाठी समूह हुनेछ । सीके राउत नेतृत्वको जनमत पार्टीलाई समेत यो गठबन्धनमा मिसाउने प्रयत्न हुनेछ ।

तेस्रो गठबन्धन भने प्रचण्ड, माधव नेपाल र जसपाको डा. बाबुराम भट्टाई, उपेन्द्र यादव समुह बीच हुने देखिन्छ । माधव नेपाल समूह ओलीसँग एकता गर्ने स्थितिमा पुगेमा यो तेस्रो गठबन्धनमा माओवादी केन्द्र र जसपालगायत केही साना दल हुन सक्दछ ।

यतिखेर माओवादी केन्द्र र जसपा पनि सर्वोच्च अदालतको निर्णय पर्खिरहेका छन् । सर्वोच्च अदालतको निर्णयको प्रभाव कानुनी तथा संवैधानिक मात्र हैन, राजनीतिक कोर्स नै फरक पर्ने खालको हुनेछ । दोस्रोपटक पनि प्रतिनिधिसभा पुनःस्थापित भए सबै दलले एउटा प्रकारको रणनीति बनाउने छन् नभए अर्को प्रकारको ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय