scheduleसोमवार आश्विन ४ गते, २०७८

प्राकृतिक विपदसँग जोडिएको हाम्रो सडक र पूर्वाधार विकास

गोविन्द ओझा ‘असिम’

नेपालमा मनसुन सुरुवाती अवस्थामा छ । प्रायः मनसुनमा अन्य समयभन्दा अत्यधिक बर्साद, नेपालको भू–बनावट, भौगर्भिक अवस्था अनि बदलिँदो मौसमी परिवर्तनका कारण प्राकृतिक विपदहरु जस्तै बाढी, पहिरो, डुबानका घटनाहरु निरन्तर घटिरहन्छन् । सामान्यत बर्सादले भिरालो जमिनहरू बिस्तारै गलाउने भएकाले मनसुनको सुरुवतीमा भन्दापनि मनसुनको बीच या अन्त्यतिर विपदका घटनाहरू प्रायः बढी हुने गर्दछन् ।

तर पछिल्ला केही वर्षदेखि मनसुनको सुरुवात अवस्था नै नेपालले बाढी, पहिरोजस्ता प्राकृतिक विपद्का सामना गरिरहनु परेको छ । यस वर्ष पनि सुरुवातमै मेलम्ची, ईन्द्रावती क्षेत्रको डुबान, तिनाऊ नदीको अत्यधिक बहावले सुकुम्बासी बस्तीको डुबान, मनाङमा Debris flow लगायत सयौं विपदका घटनाहरूका कारणले अरबौं जनधन क्षति हामीले भोग्नु पर्‍यो ।

सुरुवातदेखि नै अलार्म दिइरहेको विपदले अझै करिब दुई महिना थुप्रै घटना घटाउने संकेत देखाइरहेको छ । यसका लागि विपदसँग जोडिएका कारणहरूको अध्ययन गर्नु एकदम जरुरी हुन्छ ।

लगातार भुकम्पका कारणले चलायमान भू–धरातल र हाम्रो भौगर्भिक अवस्था, मौसमी परिवर्तनको कारणले बर्सादीमा आएको बदलाव, अव्यवस्थित पूर्वाधर विकास, बसाईं र प्राकृतिक सम्पदाको दोहन नै बाढीपहिरोजस्ता प्राकृतिक विपत्तिको प्रमुख कारणहरू रहेका छन् । पछिल्लो समयमा पूर्वाधर विकास, प्राकृतिक सम्पदाको दोहन र बसाइको प्रकृति कारणहरूले निम्तिने विपदहरू अत्यधिकरुपमा बढिरहेको पाइन्छ ।

नेपाल एउटा विकासोन्मुख देश हो । विकासोन्मुख देशमा आधारभूत विकासहरू जस्तै- शिक्षा, स्वास्थ्य, सडक सञ्जाल, स्थानीय पूर्वाधार लगायतका पक्षहरूलाई बिशेष प्राथमिकतामा राखेर लगानी गरिन्छ । संघीयता र स्थानीय निकाय जस्ता बिषयहरूमा राजनीतिक कोर्स पुरा गरिसकेपछि अहिले नेपालमा संघ, प्रदेश अनि स्थानीय निकायहरू आधारभूत विकासका पूर्वाधार निर्माणमा एकैचोटि होमिएका छन् । सडक सञ्जाल, शहरीकरण र अन्य पूर्वाधार पछिल्लो समय तीनै तहको प्राथमिकतामा रहेका छन् ।

उदाहरणका लागि सडकलाई लिन सकिन्छ । बर्सेनी तिनै तह मिली हजारौं नयाँ सडकको ट्रयाक खन्ने तथा बिस्तारको काम धामधम भईरहेको छ । तर कपिपेस्ट विकास प्रणाली, डोजरे विकास र दक्ष जनशक्तिको न्यून सहभागिताका कारण थुप्रै समस्याहरू देखापरिरहेका छन् । सडक खन्ने क्रममा डोजरको प्रयोगले हाम्रो भौगर्भिक अवस्था अझै कमजोर बनाइरहेको छ ।

कपिपेस्ट विकास प्रणाली अन्तर्गत सडक खन्ने क्रममा खनेका माटो ढुङ्गाहरू भिरालो जमिनतिर फालिदिने, सडक खनिसकेपछि नालाको उचित व्यस्थापन नगर्ने जस्ता कामहरुले पछिल्लो समयमा मनसुनी विपदलाई थप शक्तिशाली बनाइरहेको पाइन्छ ।

असिम ओझा

भिरालो जमिनतिर फालिएको खुकोलो ढुङ्गा माटोहरू बर्साद हुने बितिकै पानीसँग घुलेर नजिकको खोल्साखोल्सी हुँदै खोला तथा नदीसम्म पुग्ने गर्छ। यसक्रममा मध्यम बर्सादमै खोला वा नदीले सामान्यभन्दा अत्यधिक बढी ढुङ्गा, माटोहरू सँगै बोकेरे ल्याउने हुँदा खोला वा नदीको बहाव अस्वाभाविक रुपमा बढ्ने गर्दछ । यो सफा पानीको बहावभन्दा निकै शक्तिशाली हुने गर्दछ र नदीको वरिपरि कटान सुरु गर्दछ ।

वरिपरिको कटानले अझै बहाव बदाउन मद्दत गर्ने हुँदा नदीको छेउछाउमा रहेको टार र किनारका बस्तीहरूमा डुबान र कटानका समस्या निम्त्याइरहेने र समग्र तराई क्षेत्रमा डुबानका साथै गेग्रान र बालुवाका कारण खेतियोग्य जमिनको ह्रास भईरहेको छ । साथै सडक खन्ने क्रममा डोजरे ईन्जिनियरिङ (डोजर ड्राइभर वा डोजर मालिकका अनुसार खोलिएको मार्ग वा alignment) ले निम्त्याइरहेको पहिरो तथा भू-क्षय र सडक खनिसकेपछि नाला व्यवस्थापनमा कमजोरीका कारणले सडकको ट्रायक (वा कमजोर क्षेत्र) बाट खोल्सा बन्ने र पछि माटो र ढुङ्गा जम्मा गर्दै नदीसम्म पुग्ने हुनाले माथि भनेजस्तै पहिरो, डुबान र कटानका समस्याहरू निम्तिने नेपालमा मनसुन समयमा घटिरहेको पछील्लो विपदका घटनाहरूले पुष्टि गर्दछ ।

माथिका उदाहरणहरुले हाम्रा सडक तथा पूर्वाधार निर्माणको क्रममा चालिएको कदम र प्रणाली पनि हाम्रो प्राकृतिक विपत्तिसँग जोडिएर आउने प्रमुख कारण देखिन्छ । सडक निर्माण सम्बन्धी १०० वर्ष अघि बेलायत भित्राइदिएको प्रविधी आज पनि हामीले तीनै तहमार्फत् अबलम्बन गरिरहेका छौं जुन अवस्भाविक मात्र हैन हाम्रो कमजोर भू-धरातलको हिसाबले अनुपयुक्त पनि देखिन्छ ।

त्यसैले हामीले हाम्राले हाम्रो भू-धरातल र भौगर्भिग अवस्था सुहाउँदो सोच र प्रविधिमा बिशेष ध्यान दिनु र चाँडोभन्दा चाँडो अबलम्बनको पक्षमा जानुपर्ने एकदम जरुरी देखिन्छ ।

पछिल्लो समयमा मनिसहरू आफ्न आवश्यकता पुरा गर्न गाउँबाट बजार र बजारबाट शहर बसाईं सर्ने क्रम बढ्दो छ । बस्ती र नयाँ बजारहरू विभिन्न सुविधाका कारणले खोलाका किनार वा फाँटहरूमा फैलिएका छन् ।

पुर्खाहरूले खेती र बस्ती बसाउने क्रममा मनसुनको बर्सादको पानी उचित व्यवस्थापन गर्नका लागि ठाउँ ठाउँबाट कुलेसो खनी नजिकको खोल्सीसम्म भल तर्काउने गर्ने गरेका थिए तर पछिल्लो समयमा यसको ज्ञानको अभाव र महत्व बुझाउन नसक्दा जमिन भिरालो कारण भू-क्षयीकरण बढदो छ । जसले पनि प्राकृतिक विपदमा टेवा पुराइ राखेको प्रशस्त उदाहरण हामीले देख्न सक्छौं ।

सामान्यता बाढी तथा पहिरो न्युनीकरण, नियन्त्रण गर्न सकिने हुँदा सम्बन्धित निकायहरूले मौसमी परिवर्तनका साथै भू–धरातल मैत्री, वातावरण मैत्री, विकासका निमित्त पूर्वतयारी र व्यवस्थापनमा बिशेष ध्यान दिन जरुरी हुन्छ ।

बिशेषगरी जल, जमिन, विकास र वातावरणको समष्टिगत अध्ययनबाट नै प्रकोपको पूर्व पहिचान, न्युनिकरण र नियन्त्रण गर्ने सकिने हुँदा यससँग सम्बधित निकायहरू गृह मन्त्रालय, भौतिक पूर्वाधर विकास मन्त्रालय, जलस्रोत सम्बन्धि निकाय जल उत्पन्न प्रकोप व्यवस्थापन विभाग, राष्ट्रिय विपद जोखिम न्युनिकरण तथा व्यवस्थापन बोर्ड, मौसम विभाग, स्थानीय निकाय , बातावरण विभाग लागएतका सस्था बिच आवश्यक दक्ष्य जनशक्तीको परिपुर्ती सहित बिशेष प्राकृतिक सम्पदा संरक्षण तथा विपद व्यस्थापन बोर्ड गठन हुनुपर्ने आजको अवस्था रहेको छ ।

वा सम्बधित निकायमा कमी रहेको बिषय दक्ष जनशक्ति परिपूर्ति र नीति, नियमनमा कडाइ गर्नुपर्ने काममा सम्झौता हुनुहुँदैन ।

(ओझा भू-गर्भ इन्जिनियरिङ विषयमा स्नातकोत्तर तह अध्ययनरत छन्)

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय