scheduleबुधवार आश्विन १३ गते, २०७८

भारतका चर्चित ‘इनकाउन्टर स्पेशलिस्ट’ प्रदीप शर्मा पक्राउ

एजेन्सी, ३ आषाढ । भारतको राष्ट्रिय जाँच एजेन्सी (एनआईए) ले पूर्व मुडभेड विशेषज्ञ (encounter specialist) प्रदीप शर्मालाई पक्राउ गरेको छ । शर्मालाई एन्टिलिया बम काण्डमा पक्राउ गरिएको भारतीय समाचार माध्यमले जनाएका छन् ।

एनआईसीले बिहीबार शर्माको मुम्बईस्थित घरमा छापा मारेको थियो । लगत्तै उनलाई यही फेब्रुअरीमा भएको एन्टिलिया बम आतंक काण्ड (Antilia bomb scare) बारे सोधपुछ गरिएको र केही घण्टाको सोधपुछपछि उनलाई गिरफ्तार गरिएको हो ।

एन्टिलिया बम आतंक काण्ड र मनसुख हीरेन हत्याकाण्डमा गिरफ्तार भएका पूर्व प्रहरी अधिकारी सचिन वाजेसँग समेत शर्माको कनेक्शन रहेको छ । कुनै बेला दुबैजना मुम्बई पुलिसको अपराध महाशाखामा सँगै काम गरेका अधिकृत हुन् । हीरेनको हत्या भएको दिन सचिन वाजेको लोकेशन शर्माको घर नजिकै मिलेको थियो । त्यसपछि शर्मामाथि एनआईएले निरन्तर निगरानी बढाएको थियो ।

शर्मा मुम्बई प्रहरी बलको इनकाउन्टर स्क्वायडका पूर्व अधिकृत हुन् । विभिन्न अपराधिक समूहमा आबद्ध ३१२ भन्दा बढी व्यक्तिको हत्या एवं मृत्यु भएको घटनामा उनको संलग्नता रहेको बताइन्छ । त्यही भएर कुनै बेला उनको नाम सुन्नेबित्तिकै अपराधिक समूह हायलकायल हुने गर्थे । उनले दुई वर्षअघि प्रहरी सेवाबाट राजीनामा दिएर शिव सेनामा प्रवेश गरेका थिए ।

सन् २००८ मा शर्मालाई अपराधी समूहसँग संलग्न र सम्पर्क भएको भन्दै महाराष्ट्र सरकारले सेवाबाट बर्खास्त गरेको थियो । दाउद इब्राहिमको समूहसँग कुराकानी भएको आरोपमा उनी बर्खास्त भएका थिए । उनले आफू निर्दोष भएको र छोटा राजनको समूहले यस्तो षडयन्त्र रचेको उनको भनाइ थियो । तर सन् २००९ मा उक्त आरोपमा सफाइ पाएपछि उनी पुन: सेवामा फर्किएका थिए ।

प्रहरी तथा मिडिया स्रोतका अनुसार राजनको ग्याङले निशाना बनाउन सक्ने भएकाले बर्खास्त भएपछि पनि शर्मालाई चौबिसै घण्टा प्रहरी सुरक्षा प्रदान गरिएको थियो । कतिपय मिडियाले उनलाई ‘मुम्बईका फोहोरी ह्यारी’ पनि भन्ने गर्छन् । सन् २००६ मा भएको लखन भैया इनकाउन्टर काण्डसम्बन्धी सबै आरोपबाट समेत उनले सन् २०१३ मा सफाइ पाएका थिए ।

के हो एन्टिलिया बम आतंक ?

यही फेब्रअरी २५ मा अर्बपति मुकेश अम्बानीको मुम्बईस्थित आवास गृह एन्टिलियाबाहिर विस्फोटक जिलेटिनका २० टुक्रासहितको एक कार फेला परेको थियो । कारभित्र अम्बानी र उनकी श्रीमति नीतालाई धम्कीपूर्ण सम्बोधन गर्दै ‘यो ट्रेलर मात्रै भएको र अरु कुरा पछि आउने’ लेखिएको नोट फेला परेको थियो ।

अम्बानीको आवासबाहिर फेला परेको सो कार थानेमा कार सजावट पसल सञ्चालन गर्दै आएका मनसुख हीरेनको थियो । हीरेनले एकहप्ता अघि उक्त कार चोरी भएको जानकारी गराएका थिए । तर अनुसन्धान सुरु भएको एक हप्ताभित्रै मुम्बईस्थित एक खोलामा हीरन मृत अवस्थामा फेला परेका थिए । हीरनसँग चिनजान भएका र घटनाअघि उक्त कार प्रयोग गर्दै आएका प्रहरी अधिकृत वाजेलाई पक्राउ गरिएको थियो ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय