scheduleशुक्रवार आश्विन १ गते, २०७८

खोपपछि कोरोना ट्याबलेट बनाउँदै अमेरिका, अनुसन्धानमा ३ अर्ब डलर लगानी

न्यूयोर्क, ४ असार । अमेरिकी सरकारले कोभिड-१९ को भ्याक्सिन बनाउनको लागि औषधि निर्माता कम्पनिलाई १८ अर्ब डलर दिएको थियो । अहिले अमेरिकासँग कोभिडविरुद्ध ५ प्रकारका खोपहरु छन् ।

अब अमेरिका कोभिडविरुद्ध ट्याबलेट बनाउने काममा अगाडि बढ्ने भएको छ । यसको लागि राष्ट्रपति जो बाइडेन प्रशासनले ३ अरब डलर कोष दिएको छ । यो औषधिले सुरुवातमै भाइरसको असर नियन्त्रण गर्नेछ । उक्त ट्याबलेटको विकासपछि लाखौं मानिसले आफ्नो ज्यान जोगाउन सक्ने बताइएको छ ।

औषधिको क्लिनिकल परीक्षण छिट्टै

न्यूयोर्क टाइम्सका अनुसार डिपार्टमेन्ट अफ हेल्ड एण्ड ह्युमन सर्भिस (डिएचएचएस) ले यस्तो कोभिड-१९ ट्याबलेट कार्यक्रमको घोषणा गरेको छ । केही कम्पनीहरुले यसको परीक्षण छिट्टै गर्ने तयारी सुरु गरेका छन् ।

यदि सोचेजस्तै भएमा यस्तो ट्याबलेट यही वर्षको अन्तिमसम्म बजारमा आउनेछ ।

यो भन्दा पनि विशेषकुरा यो अनुसन्धान परियोजनामा केवल कोरोनाविरुद्ध मात्र काम हुने छैन, यसमा त आगामी दिनमा मानवतालाई नै चुनौति दिनसक्ने विभिन्न रोगहरुबारे पनि अनुसन्धान हुनेछ । यसका लागि एन्टी भाइरल प्रोग्राम फर पेन्डेमिक चलाउन लागिएको हो ।

अन्य भाइरसको पनि उपचार खोजिने

रिपोर्टहरुमा उल्लेख गरिएअनुसार यो कार्यक्रममा इन्फ्लुएन्जा, एचआईभी र हेपाटाइटिस जस्ता प्राणघात रोगहरुका लागि पनि पिल्स अर्थात् ट्याबलेट बनाउने गरी काम भइरहेको छ ।

यसबारे एक वर्ष अघिदेखि अनुसन्धान भइरहेको थियो । तर कोरोना महामारीसँगै अन्य काम छायामा परे । अब रोकिएका कामहरु अगाडि बढ्नेछन् ।

नेशनल इन्स्टिच्युट अफ एलर्जी एण्ड एन्फेक्सियस डिसिजेसका निर्देशक डा. एन्थनी फौसी भन्छन्, ‘छिट्टै नै कोभिड-१९ का बिरामीलाई एन्टीभाइरल पिल्सबाट उपचार गर्न सकियोस् भन्ने हामी चाहन्छौं ।’

उनले अगाडि थपे, ‘एक बिहान म ब्युँझन्छु । मलाई सञ्चो भइरहेको हुँदैन । सुघ्ने क्षमता र स्वाद थाहा पाउने क्षमता गुमाएको हुन्छु । गलामा पनि पीडा हुन्छ । तब म आफ्नो चिकित्सकलाई फोन गरेर भन्नेछु- मलाई कोभिड भयो र मलाई औषधि भनिदिनुहोस् ।’

एन्टीभाइरल औषधिले काम गरेको थिएन
रिपोर्टहरुका अनुसार, कोभिड-१९ को सुरुवाती क्रममा अनुसन्धानबाट केही एन्टीभाइरल औषधि प्रयोग गरिएको थियो तर गम्भीर बिरामीमा यसले कुनै सकरात्मक नतिजा दिएन ।

अहिले अनुसन्धानदाताहरूलाई कोभिड संक्रमणको सुरुवाती दिनमा यसको प्रयोगबाट फाइदा हुनेछ भन्ने लागेको छ । उनीहरु यस्तो निष्कर्षको नजिक छन् ।

अहिलेसम्म रेमडेसिभिर केही हदसम्म सफल थियो । अस्पतालहरुमा यसलाई प्रयोग गरिँदै आइएको छ । यसमा पनि चिकित्सकहरुको निगरानीको अत्यधिक जरुरी छ । डब्ल्युएचओले नोभेम्बरमा यसको प्रयोगमा साबधानी अपनाउन भनेको थियो ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय