scheduleशुक्रवार आश्विन १ गते, २०७८

ईन्द्रावती र मेलम्चीमा आकस्मिक बाढीको नालीबेली

डा. महेन्द्र ब. बानियाँ/डा. रकि ताल्चाभडेल/डा. अर्जुन बानियाँ

नेपालको हिमाल, पहाड र तराईका कैयन स्थानहरू प्राकृतिक प्रकोपहरूको अत्यन्त जोखिम क्षेत्रमा पर्दछन् । भीषण वर्षाको कारणले हुने भू-क्षय, भू-स्खलन, बाढी, पहिरो, चट्याङ आदिले बर्सेनि ठूलो जनधनको क्षति हुँदै आएको छ ।

करीब ३६ घण्टाको अविरल वर्षाको कारणले असार १ गते सिन्धुपाल्चोकको ईन्द्रावतीमा आएको बाढीले ठूलो जनधनको क्षति भएको विभिन्न पत्रपत्रिका र सञ्चारमाध्यममा आएका छन्, जुन अत्यन्त दुःखलाग्दो छ ।

मानवीय जीवनको क्षति र निर्माण सम्पन्न भएको राष्ट्रिय गौरवको मेलम्ची आयोजनामा भएको क्षति, मोटरेबल पुल, झोलुङे पुल र भवनहरू बगाएर पूर्वाधारहरूमा भएको नोक्सानीले गर्दा यतिबेला राष्ट्रलाई शोकमा डुबाएको छ । यस्तो ठूलो प्राकृतिक विपत्ति के कति कारणले निम्तिन्छ ? यस्तो प्राकृतिक विपत्तिबाट जोगिन कसरी सकिन्छ ? यहि कुराहरूमा केन्द्रित रहेर यो लेख तयार पारिएको छ ।

उत्तरबाट दक्षिण बहेका याङ्ग्री र लार्के खोलाहरू मिसिएपछिको ईन्द्रावती नदी र उत्तर पश्चिमबाट दक्षिण बहेको मेलम्ची खोलाको संगमस्थलपछि घुमाउरो करीब २०० मीटरको दूरीमा तल्लो तटीय स्थानमा बसेको मेलम्ची बजार ईन्द्रावती नदी किनारामा अवस्थित रहेको छ । मानव बस्तीको चाप सँगसँगै पूर्वाधार विकासको पनि समानान्तर विकास हुने हाम्रो विकासको परिप्रेक्षमा मोटर बाटोको निमार्णसँगै बस्ती विकास भएको पाईन्छ । नदीको किनारामा अव्यवस्थित मेलम्ची बजारमा पनि विगत १० वर्ष अघिसम्म मानव बस्ती निकै नै पातलो रहेको देखिन्छ ।

(हेर्नुहोस् चित्र नं. १ क)

चित्र नं. १: (क) १० वर्ष पहिलेको मानव बस्ती, (ख) बाढीपश्चात् मेलम्ची बजारको अवस्था । (तस्वीर स्रोतः (क) Google Earth, (ख) रासस)

गुगल अर्थको ऐतिहासिक तस्वीरहरूको संग्रह अध्ययन गर्दा विगतमा स्थानीय पदमार्गमा झोलुङ्गे पुल र मोटरेबल पुलको निर्माण सँगसँगै मानव बस्तीहरू बढेको स्पष्टसँग देख्न सकिन्छ । हिमालका साँघुरा खोंचहरूबाट (V-Shaped) बहेका उच्च भू—झुकाव (Gradient) भएका नदीहरूमा कटान क्षमता धेरै हुन्छ । साथै, नदीको ढुंगा, माटो, गिटी, बालुवा बहन गर्ने क्षमता उच्च रहेको हुन्छ । नदीको ढुंगा, माटो, गिटी, बालुवा बहन गर्ने क्षमता, नदीमा आउने पानीको विशिष्ट शक्ति (Specific Power), नदी पिँधमा सिर्जित तनाव (Bed Shear Stress) र बहावको गति (Flow Velocity) माथि निर्भर रहन्छ ।

उपरोक्त तीन गणितीय आयामहरू नदीमा आउने पानीको परिमाण, पानी बग्ने निकासमा पानीले ओगटने परिमिति (Wetted Perimeter), त्यसको क्षेत्रफल (Cross Sectional Area) र नदी पिधको भू-झुकावमा (Gradient) भर पर्दछ । नदीको बहाव कम भू-झुकावमा आउँदा र फिजारिएको ठाउँहरूबाट बहँदा नदीको बहावसँग आउने उपरोक्त तीन आयामहरू घट्न जान्छ । परिणामस्वरुप नदीको बहावसँगै आएका ढुंगा, माटो, गिटी, बालुवा बहन गर्ने क्षमतामा ह्रास आउन गई बहावसँगै आएका नदीजन्य सामग्रीहरूको नदी किनारामा बिसर्जन हुन गई बाढीले छोडेको मैदान (Floodplain) मा परिणत हुन्छ ।

त्यस्ता घाँसे मैदानहरूमा हिउँदमा झारपातहरू उर्मने र वर्षाको शुरुवात सँगसँगै बगरमा परिणत हुने बिशेष गुण रहेको हुन्छ । लामो समयसम्म कम वर्षा र कम बाढी भएको अवस्थामा त्यस्ता घाँसे मैदानमा एक बर्षीय जीवनचक्र प्रणाली भएका घाँसहरू कुहिन गई र नदीसँगै बहेर आएको थेग्रिन जम्मा भएको कारणले माटोलाई उर्वर बनाएको हुन्छ ।

स-साना बाढीसँगै आएका रुखका बिउबिजनहरू, हावाको वा चराचुरुङ्गीको माध्यमबाट उर्वर घाँसे मैदानमा रुखका बिउबिजनहरूको बिजारोपण हुन गई पछि जंगलमा परिणत भएको नेपालबाट तराई झरेका धेरै नदीहरूमा देख्न सकिन्छ । नदीको बाढीले छोडेको मैदानमा मानव अतिक्रमण सँगसँगै बस्ती विकास अहिलेको मानव धनजन क्षतिको प्रमुख कारण हो । यहि बाढीले छाडेको मैदान, उर्वर कृषियोग्य जमीनमा हाल मेलम्ची बजारको बस्ती विकास भएको देखिन्छ ।

नदीहरूको संगमस्थलमा मेलम्ची खोला लम्बाकार तवरले जोडिएको छ । हालको बस्ती त्यही घुमाउरो नदीको किनारामा बसेको छ । गुगल अर्थमा उपलब्ध भएका ऐतिहासिक तस्वीरहरूबाट नै हालको बस्ती बसेको स्थानमा तल्लो तह र उपल्लो तह गरी दुई तहहरू स्पष्टसँग देख्न सकिन्छ । उक्त बस्ती बसेको तल्लो तहको भू-भाग बाढी प्रकोपको अत्यन्त जोखिमस्थल हो भनेर सजिलै ठम्याउन सकिन्छ ।

नेपालमा लगभग बार्षिक १८०० मी. मी. वर्षा हुन्छ भने समुद्री सतहबाट ६२९ मिटरदेखि ६०७५ मिटर उचाईमा अव्यवस्थित रहेको ईन्द्रावती जलाधार क्षेत्रमा बार्षिक १२०० देखि ३००० मी. मी. वर्षा हुने र ८० प्रतिशत वर्षा मनसुन समयमा हुने तथ्याङ्क प्रकाशित अनुसन्धानबाट देखाउँछ ।

ईन्द्रावती जलाधारमा भएको होचो तल्लो तटीय क्षेत्र र उपल्लो तटीय क्षेत्रको उचाई अन्तर करीब ५४४६ मिटर रहेको छ (चित्र नं. २) । सो तथ्याङ्कले मेलम्ची खोलाको भू-झुकाव (Gradient) करीब ८ प्रतिशत हुन आउँछ भने ईन्द्रावती नदीको भू-झुकाव करीब ०.८ प्रतिशत हुन आउँछ । यी दुई नदीबीचको भू-धरातलको भुकाव १० गुणा फरक देखिन्छ । मेलम्ची खोलाको सरदर पानीको बहाव १०.२१ घन मिमटर प्रतिसेकेण्ड छ भने ईन्द्रावती नदीको ७५.०६ घन मिटर प्रतिसेकेण्ड छ । नदीका अन्य ज्यामितिय आयामहरूलाई समान राखेर माथिको सरदर पानीको बहावलाई लिएर गणितिय हिसाब निकाल्दा मेलम्ची खोलामा बग्ने पानीको विशिष्ट शक्ति (Specific Power) ईन्द्रावती नदीमा बग्ने पानीको विशिष्ट शक्तिभन्दा ३६ प्रतिशत बढी हुन आउँछ ।

मेलम्ची खोलामा पहिरो गई खोला थुनिई विस्फोट भई फुटेको पानीको परिमाणलाई आधार मान्ने हो भने मेलम्ची खोलाले गर्न सक्ने क्षति ईन्द्रावती नदीले गर्ने क्षति भन्दा कैयौं गुणा ठूलो हुन आउँछ । मेलम्ची जलाधारको ठूलो हिस्सा पहिरोको अत्यन्त जोखिम र भौगोलिक हिसाबले अत्यन्त कमजोर रहेको विगतमा भएका अनुसन्धानहरूले देखाउँछ । छोटो सतह दूरीबीचको ठूलो भौगोलिक उचाई अन्तर र भौगोलिक उचाई अन्तरबीचको विविध जलवायु आदि कारणहरूले गर्दा पनि ईन्द्रावती जलाधार क्षेत्र पहिरोको उच्च जोखिममा रहेको देखिन्छ ।

२०७२ सालको महाभूकम्पले कमजोर र छिद्र बनाएको चट्टानहरूमा २०७८ जेठ ३१ गते बेलुकीदेखि परेको अविरल वर्षाको कारणले नदीको दायाँ बायाँका डाँडाका भू-भाग पानीले संतृप्त क्षेत्र (Saturated Zone) मा परिणत गरेको कारण नै पहिरो जाने प्रमुख कारण हुन सक्छ । हालै स्थलगत अनुगमनले उपल्लो तटीय क्षेत्रमा मेलम्ची खोला पहिरोको कारणले थुनिएको समाचार आएको छ । भू-उपग्रहबाट निकालिएको तथ्याङ्क अनुसार एक घण्टाको तीब्र वर्षा करीब ५० मी.मी. देखाउँछ, जुन हालको अवस्थाको बाढीको प्रमुख कारण होईन । जल तथा मौसम विज्ञान विभागको गत वर्षको २० देखि ३० मी.मी. सानो वर्षामा पनि पहिरो गएको कारणले गर्दा उक्त क्षेत्र पहिरोको जोखिम क्षेत्रमा रहेको तथ्यलाई उजागर गर्छ । समाचारका श्रव्य दृश्यमा देखिएअनुसार बाढी केही समय घट्ने र बढ्ने भएको कारणले थुनिएको पहिरो एकैचोटी नफुटेको देखिन्छ । बाढीसँगै बहँदै आएका रुखका मुढाहरू र गेग्रानसहितको लेदोले पनि पहिरोले नदीको बहावलाई रोकेको र पहिरोको बाध एक्कासि फुट्न गई विस्फोट भएर अकस्मात बाढी (Flash Flood) आएको तथ्यलाई पुष्टि गर्दछ ।

चित्र नं. २- ईन्द्रावती नदीका सहायक नदीहरू र यसको जलाधार क्षेत्र

समाचारमा आएको सूचनाअनुसार करीब ४५ मिनेटसम्म नदी थुनिएको र जेष्ठ ३१ गते बेलुकी ६.०० बजे देखि ६.४५ बजे सम्ममा नदीको पानीको सतह ४.७ मिटरबाट ३.० मिटरमा घटेको देखिन्छ भने ७.०० बजे अकस्मात बढेर ६.०० मिटर पुगेको देखिन्छ । त्यसपछि राडारले काम गर्न छोडेको र सूचना सम्प्रेषण अवरुद्ध भएको समाचारबाट प्राप्त आधारहरूलाई हेर्दा पानीको सतह बढेर बाढी आउनु पूर्व चेतावनी दिने संयन्त्रले कार्य गरेको देखिन्छ ।

बाढी आउनु पूर्व चेतावनी दिने संयन्त्रमा पानीको सतह बढेको अवस्थामा मात्र घण्टी (साईरन) बज्ने प्रविधि रहेको हुँदा रातको समयमा पहिरो गई नदी थुनिई पानीको सतह घटेको अवस्थामा पनि सूचना दिने प्रणालीको विकास गर्नुपर्ने देखिन्छ । यो नै बाढी पूर्व चेतावनी दिने संयन्त्रमा देखिएको ठूलो कमी कमजोरी हो ।

ईन्द्रावती नदीबाट शुरु भएको बाढी केही समयको अन्तरालमा मेलम्चीमा पनि आउनुले ईन्द्रावती र मेलम्ची खोला दुवै पहिरोले केही समयको अन्तरालमा थुनिएको तथ्यलाई पुष्टि गर्छ । करीब २४ घण्टापछि पनि मेलम्ची खोलामा बहिरहेको लेदो माटोले गर्दा मेलम्चीको उपल्लो तटिय क्षेत्रमा हिमताल फुटेर तालको पिँधमा भएको थेग्रिन बगाउन गई आकस्मिक बाढी (Flash Flood) आएको हो कि भन्नेतर्फ पनि संकेत गर्दछ । गेग्रान, लेदोमाटो र रुखका मुढासहितको पहिरो विस्फोट भई आउने आकस्मिक बाढी तुलनात्मक रुपमा वर्षाद्वारा सीर्जित (Rainfall Triggered) बाढीभन्दा सयौं गुणा शक्तिशाली हुने आकस्मिक बाढी सम्बन्धि प्रकाशित विभिन्न अनुसन्धानत्मक कृतिहरूमा पढ्न पाईन्छन् । ईन्द्रावती नदी र मेलम्ची खोलाको आकस्मिक बाढीको वास्तविक तथ्य भविष्यमा गरिने अध्ययन अनुसन्धानले स्पष्ट गराउनेछ ।

भौतिक पूर्वाधार डिजाईनमा आवश्यक पर्ने धेरै वर्षको ऐतिहासिक जलविज्ञान सम्बन्धि तथ्याङ्कहरू हामीसँग उपलब्ध छैनन्, जुन पूर्वाधार डिजाईनमा अत्यन्त महत्वपूर्ण मानिन्छन् । ठूलो बाढी र बाढी आउन सक्ने समय (Flood Return Period) प्रक्षेपणको लागि यी तथ्याङ्कहरू अत्यन्त आवश्यक हुन्छन् । अझै हामीसँग ईतिहासमा आएका यस्ता आकस्मिक बाढीहरूका तथ्याङ्कहरू त छँदै छैनन् । भौतिक पूर्वाधार डिजाईनमा यस्ता हिमनदीबाट आउने आकस्मिक बाढी र बाढीसहित गेग्रान, लेदो माटोका तथ्याङ्कहरूको बिश्लेषण गरी नदी किनारामा निमार्ण गरिने भौतिक पूर्वाधारहरूको परिकल्पना गर्न सकेमा पूर्वाधारमा दिगोपन आई राष्ट्रको ठूलो जनधनको क्षति कम गर्न सकिनेछ ।

अहिलेको मेलम्चीको बाढीले हामी ईन्जिनियर समुदायहरूलाई नदी किनारामा निर्माण गरिने सडक, सडक सुरक्षा पर्खालहरू, पुल पुलेसाहरूको डिजाईनमा आकस्मिक बाढीहरूका तथ्याङ्कहरू अनिवार्य समावेश गरी डिजाईन गर्नुपर्ने शिक्षा दिएको छ । ऐतिहासिक तथ्याङ्कहरू उपलब्ध नभएमा उस्तै प्रकृतिका हिमनदीहरूको तथ्याङ्कलाई आधार मानी पूर्वाधार डिजाईन गरिएको हुनु पर्दछ ।

अध्ययन अनुसन्धान बिना जथाभावी मानव बस्तीको विकास गर्नु, अत्यावश्यक तथ्यहरू बिना महत्वकांक्षी भौतिक पूर्वाधारको डिजाईन भई संरचनाहरूको निर्माण हुनु, कृषियोग्य जमिन मासेर घडेरीहरू बिक्री हुनु, अनियन्त्रित डोजर विकास प्रविधि, नदीजन्य सामग्रीको अत्याधिक दोहन र वनजङ्गल फडानी आदि कारणहरूले गर्दा नै मानवीय जीवन प्राकृतिक विपत्तिमा परेको देखिन्छ । अध्ययन अनुसन्धान एक खर्चिलो प्रक्रिया हो ।

सबै विकास सम्बन्धि सरकारी कार्यालयहरूमा भू-गर्भ, माटो, नदी, गेग्रान, नदी वातावरणसम्बन्धि अध्ययन अनुसन्धानका जनशक्तिहरू उपलब्ध छैनन्, साथै उपलब्ध भए पनि पर्याप्त छैनन् । भएका जनशक्तिहरू पनि परिमार्जित प्रविधि, प्रणाली र उपकरणमा अभ्यस्त भएका छैनन् । प्रदेश सरकारले अबको दिनमा अध्ययन अनुसन्धानमा केही रकम विनियोजन गरी सम्बन्धित विश्वविद्यालयसँग हातेमालो कार्यक्रमको अबलम्बन गरी प्राकृतिक विपत्तिका हिसाबले जोखिमपूर्ण स्थानहरूको पहिचान गर्नुपर्ने आजको आवश्यकता देखिन्छ ।

विश्वविद्यालयका अन्तिम वर्षका विद्यार्थीहरूबाट प्रदेश सरकार र विश्वविद्यालयको सह-लगानीमा अध्ययन अनुसन्धानका कार्यक्रमहरू सञ्चालन गर्न सके छोटो समयमा भू-गर्भ, माटो, नदी, गेग्रान, नदी वातावरणसम्बन्धि ठूलो परिमाणमा तथ्याङ्कहरू जम्मा गर्न सकिन्छ, जुन भौतिक पूर्वाधार डिजाईनलाई महत्वपूर्ण खजाना हुनेछ ।

अध्ययन अनुसन्धानबाट प्रेषित प्रतिवेदनहरूलाई सतप्रतिशत कार्यान्वयन गर्न सके प्राकृतिक विपत्तिमा कम क्षति हुन सक्छ । यसमा सम्पूर्ण सरोकारवालाहरू आजैबाट सर्तक रही एकजुट भएर सहकार्य गर्नुपर्ने देखिन्छ ।

(बानियाँ बन्धुहरूले जापानको साईतामा विश्वविद्यालयबाट रिभर ईन्भायरोमेन्ट ईन्जिनियरिङ र जियो ईन्भायरोमेन्ट ईन्जिनियरिङ बिषयमा विद्यावारिधी गरेका हुन् भने डा. रकि ताल्चाभडेल अमेरिकाको टेक्सास ए एण्ड एम विश्वविद्यालयमा इन्जिनियरिङका पोष्ट डक्टरल रिसर्चर हुन्)

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय