scheduleसोमवार आश्विन ४ गते, २०७८

नेता यस्तो होस्!

दिवस खनिया

धेरै लामो संघर्ष, त्याग, कष्ट र बलिदानबाट यो देशमा विभिन्न कालखण्डमा विभिन्न राजनीतिक परिवर्तन आएका छन् । विभिन्न व्यवस्था परिवर्तन भएका छन् । तर भूमिका नबाँधी चुरो कुरामा जानु पर्दा; देश अप्ठ्यारोमा परेको बेला, जनतालाई संकट परेको बेला आश्वासन मात्र बाँढ्न र पुरानै व्यवस्थाका प्रवृत्तिहरू कायमै रहनाले राजनीति नेतृत्वप्रति जनतामा सधैं निराशा र आक्रोश रहिरहेको छ।

विभिन्न माध्यमद्वारा विकासमा फड्को मारेका विश्वका विभिन्न देशहरुको राजनीतिक संस्कार र त्यहाँको चलन देखेर नेपालीको मनमा नेपाली राजनीतिदेखि घृणा जागेर आउँछ। हुन पनि यो स्वभाविक नै हो। समाज र राजनीतिलाई डोर्‍याउँछु भन्ने नेतृत्वसँग नेपाली मनहरु विरक्तिएको सत्य हो। आफ्ना नेतृत्वप्रति विरक्तिएका यी मनहरुलाई साँच्चिकै नेतृत्व के हो ? नेतृत्व कस्तो हुनुपर्छ ? कस्तो नेतृत्वमा हामी निर्देशित भइरहेका छौँ भन्ने प्रश्नले बारम्बार घोचिरहेको छ।

२१औं शताब्दीको अहिलेको युगमा नेपाल बाहेक अन्य मुलुकमा भएको विकास देखेर हाम्रो मन थाम्न नसकिने भएको छ। हामीलाई निराश र शंकाका वाणहरुले निरन्तर प्रहार गरी राखिएको छ। यो समाजको समृद्धि र सभ्य संस्कारको पारीकल्पनामा हजुरबुवा पिढीँदेखि अहिले नाती पिढीँसम्मले एउटै स्थितिको बहसमा सामेल हुनुपर्ने नियति भोगिरहेका छन् ।

दिवस खनियाँ

तर पनि हामीले सुन्दर सपना भने छाडेका छैनौं। हाम्रो सपना गन्तव्यसम्म पुर्‍याइदिने त्यो एक अब्बल नेतृत्वको खोजी गर्न पनि हामीले छाडेका छैनौं । संख्यात्मक हिसाबले हामीलाई नेताको कमि महसुस भएको पनि छैन । तर हामी त्यस्तो नेतृत्वको खोजीमा छौँ, हामीलाई संख्यात्मक होइन गुणात्मक नेतृत्व चाहिएको छ । अझै भन्नुपर्दा हाम्रो समाज देश त दिन प्रतिदिन नेताले भरिँदैछ। गाउँका पधेंरीदेखि सिंहदरबारसम्म नेतैनेता छन् । तर पनि गतिलो नेतृत्व हामीले पाउन सकेका छैनौं। हाम्रो समाज अनि हाम्रो देश नेतृत्वविहिन जस्तै बनेको छ।

त्यसैले, कहिलेकाँही एक्लै हुदा कल्पना गर्छु; कस्तो होला त, मैले खोजेको, अझै भनौँ मेरो देशले खोजेको, हामीले खोजेको नेता?

त्यो नेता यस्तो होस्

सिद्धान्त, विचार, एजेन्डाहरु कहींकतैबाट आयातित नभएर मेरै देश र मेरै भूमिबाट मौलाएको मौलिक होस् ।

अनि उसमा इमानदारिता होस्, एकताको भावनाले डोरिएको विचार होस् । उसमा न लोभ होस्, न घमण्ड होस्, न रिस होस्, न राग होस्, उसमा न पक्षपात होस्, न आफ्नो बिरानो होस्, न ठुलो, न सानो होस्, न धनी, न गरिब होस्, न जात होस्, न भात होस्, न भाषा होस्, न धर्म होस् ।

उसका हरेक व्यवहार र काम गर्ने शैलीले जनतादेखि अरु नेताहरुलाई शक्तिशाली प्रेरणा र हौसला दिओस् । उसको राजनीति नाफाघाट नहोस्, जनताको स्वयंसेवक होस् ।

उसको बाचा, कसम अनि संकल्प उसको धर्म र दायित्व होस्। उसका हरेक तर्क समाज र देश परिवर्तन गर्ने खालका हुन्। उसका हरेक विचारहरु एक हतियारका रुपमा प्रयोग भई समाज र देश परिवर्तन होस् । उसका हरेक सोच, व्यवहार र कदमले अरुलाई प्रेरणा दिओस् ।

राष्ट्र र राष्ट्रियता उसको राजनीतिको केन्द्रबिन्दु सधैं बनिरहोस्। उसको हरेक व्यवहार र नैतिकतामा असली लोकतान्त्रिक चरित्र कहिले पनि निभ्न नसक्ने बत्ती जस्तै बनेको होस्। उसका हरेक कर्ममा म होइन हामी भन्ने भावनाको विकास भएको होस्।

यी सबै कल्पना र सपनाहरु हामीले खोजेको नेतामा विपनामै देख्न, भेट्न अनि अनुभूति गर्न पाइयोस् । यो मेरो व्यक्तिगत इच्छा हो। र यो सबै नेपालीको इच्छा हो।

अहिले यो देशमा जनताको शासन छ भनेपनि, गणतन्त्र छ भनेपनि, हातले लेखेको संविधान छ भनेपनि आधा धर्ती ढाकेका युवाको नेतृत्वप्रति, राजनीतिप्रति र सामाजिक न्यायका प्रति धेरै गुनासो र आक्रोश छन् ।

त्यसैले जनताले खोजिरहेको नेता र नेतृत्व कहिले पाउने? नेपाली जनता त्यस्तो नेतृत्व र नेताको खोजीमा छन् जसलाइ विश्वले गर्व गरोस् । कहिले पाउँछौ त हामीले त्यो नेता अनि त्यस्तो नेतृत्व ?

(लेखक टेलिभिजन कार्यक्रम निर्माता तथा प्रस्तोता साथै सामाजिक अभियान्ता हुन्)

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय