scheduleसोमवार श्रावण ११ गते, २०७८

समय नपुग्दै जन्मेर बाँचेका किर्तिमानी बालक, यसरी मनाए पहिलो जन्मदिन

एजेन्सी, ६ आषाढ । अमेरिकाका बेथ र रिक हचिन्सनले गत वर्ष जुन ५ मा आफ्ना छोरा रिचार्ड विलियमलाई यो संसारमा स्वागत गरे। निर्धारित समयभन्दा पहिला नै जन्मिएका रिचार्ड यति साना थिए कि उनलाई एउटा हातको पञ्जामा सजिलै लिन सकिन्थ्यो । उनको शरीर निकै मुलायम थियो र बाहिरैबाट शरीरका करङ देखिन्थे ।

अक्टोबर १३ मा जन्मिनु पर्ने रिचार्डलाई निर्धारित समयभन्दा १३१ दिन अघि नै गर्भबाट निकालिएको थियो । आमा बेथलाई समस्या देखिएपछि समय नपुग्दै उनको जन्म भएको हो ।

जन्मिँदा रिचार्डको तौल केबल ३४० ग्राम थियो । समय पूरा भएर जन्मिने शिशुको औशत तौलभन्दा उनको तौल झण्डै १० गुणाले कम थियो । यही भएर उनी बाँच्छन् भन्ने कसैलाई पनि लागेको थिएन ।

सुरुमा रिचार्डलाई मिनियापोलिसस्थित बाल अस्पतालको नियोनेटल इन्टेन्सिभ केयर युनिट (NICU) राखियो । उनको उपचार गरिरहेका डाक्टरहरुले बेथ र रिकलाई बाँच्ने संभावना कत्ति पनि नरहेको र सोही अनुसार तयार भएर बस्न भनिरहन्थे ।

तर रिचार्डले हरेक प्रतिकूलतालाई जित्दै गए र उनको अवस्था सुधार हुँदै गयो । संभावना कत्ति पनि नभएको अवस्थामा पनि बाँच्न सफल उनलाई ‘चमत्कारिक बाबु’ को नामले समेत पुकार्न थालियो । उनले हालै आफ्नो पहिलो जन्मदिन समेत मनाएका छन् । उनको जन्मदिनमा सबै आफन्तहरु भेला भएका थिए । त्यस्तै उनले खेल्न मन पराउने ठानिएका ३ वटा कुकुर पनि सँगै थिए ।

तर यो एक वर्ष हचिन्सन परिवारका लागि कठिन क्षण बनेको थियो भन्नेमा कुनै शंका छैन । एकातिर प्राकृतिक रुपमै बाँच्ने संभावना नरहेको चिन्ता तथा तनाव र अर्कोतिर कोभिड-१९ को त्रासबाट गुज्रनु पर्‍यो । कोभिडका कारण उनीहरु विलियमलाई लिएर एकरात पनि बाहिर बस्न पाएनन् ।

तर अस्पतालमा हुँदा र घर ल्याउपछि पनि बेथ र रिकले छोरा रिचार्डलाई लिएर कुनै न कुनै ठाउँमा जान्थे । उनीहरुले छोरालाई कहिल्यै पनि एक्लै छोडेनन् । उनीहरुले हरेक पल साथ, सहयोग र माया दिइरहे । यही भएर विलियम बाँच्नुमा बाबुआमाको समर्पण रहेको मिनोसेटा बाल अस्पताल (विलियमलाई राखिएको अपस्पताल) डा. स्टेसी कर्न बताउँछिन् ।

जन्मेको ६ महिनाभन्दा बढी एनआईसियुमा राखेर रिचार्डको उपचार, हेरविचार र स्याहार-सुसार भएको थियो । उनको अवस्थामा अकल्पनीय सुधार हुँदै आएपछि ६ महिनापछि उनलाई घर लगिएको थियो । अस्पतालबाट डिस्चार्ज गरी घर लैजाने क्षण परिवार र उनको उपचारमा रातदिन खटिएका मेडिकल टिमका लागि निकै भावुक क्षण बनेको थियो ।

‘रिचार्ड अस्पतालको एनआईसियुबाट डिस्चार्ज गरेको दिन निकै विशेष थियो’, डा. कर्नले भनिन्, ‘क्रिब (शिशुलाई राख्ने स्थान) बाट उनलाई उठाउँदै हातमा लिएको र हर्षित भएर आँखा भरी आसु आएको उक्त दिन अझै सम्झिन्छु ।’

रिचार्ड बाँच्न मात्र सफल भएका छैनन् । उनले एउटा विश्व किर्तिमान समेत राखेका छन् । गिनिज बुकले उनलाई सबैभन्दा कम समयमा जन्मेर बाँच्न सफल शिशु (most premature baby to survive) भनेर औपचारिक रुपमा मान्यता दिएको छ ।

यसअघि सबैभन्दा कम समयमा जन्मेर बाँच्न सफल शिशुको किर्तिमान क्यानाडाका जेम्स एल्गिन गिलको नाममा थियो । गिलको जन्म सन् १९८७ मे २० मा भएको थियो । उनी निर्धारित सयमभन्दा १२८ अघि जन्मिएका थिए । तर उक्त रेकर्ड विलियनले तोडेका छन् । अर्थात् गिललाई २१ हप्ता ५ दिनपछि र विलियमलाई २१ हप्ता २ दिनपछि गर्भबाट निकालिएको थियो ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय