scheduleसोमवार श्रावण ११ गते, २०७८

के भारत मुस्लिम जनसंख्या बहुल देश हुँदैछ ?

राम पुनियानी

गत जुन ११ मा असमका मुख्यमन्त्री हिमन्ता विश्वा शर्माले एक विवादास्पद भाषण गरे । उनले भने कि मुसलमानले एक राम्रो परिवार कल्याण योजना अपनाउनु पर्दछ ताकी राज्यमा व्याप्त घोर गरिबी र सामाजिक समस्या सामना गर्न सकियोस् ।

मुख्यमन्त्रीको यो भनाईले भारतीय समाजमा व्यप्त मुसलमान जनसंख्या बढ्ने र कुनै दिन भारत मुस्लिम बहुल देश हुने सामान्य बुझाईलाई नै अभिव्यक्त गर्दथ्यो । यस्तै बुझाईबाट भारतमा ‘हामी दुई, हाम्रा दुई’ र ‘उनीहरू पाँच, उनीहरूका पच्चिस’ जस्ता नारा गुन्जिएका हुन् ।

धेरैले यही भन्छन् कि मुसलमानले जानीबुझी तीव्र जनसंख्या वृद्धि गरिरहेका छन् । ताकी भारत मुस्लिम जनसंख्या बहुल देश बनोस् र अन्ततः इस्लामिक राज्य बन्न सकोस् ।

साध्वी प्राची तथा साक्षी महाराजजस्ता कतिपय भाजपा नेताले हिन्दु महिलालाई सकेसम्म धेरै बच्चा पाउन सार्वजनिक आव्हान गर्दै आएका छन् । संघ परिवारका केही नेताहरूको धारणा पनि यस्तै पाइन्छ । उनीहरू बारम्बार भन्छन्– मुसलमान जनसंख्या बढाएर बर्चश्व स्थापित गर्ने योजनामा छन् । यसको समाना गर्ने तरिका हिन्दु महिलाले सकेसम्म धेरै बच्चा जन्माउनु नै हो । समाजमा व्यप्त कुनै सोच कसरी एक दृष्टिकोण र फेरि विस्तारै मानसिकता बन्न पुग्दछ, यसको उदाहरण मुसलमान जनसंख्याको मुद्दा पनि हो ।

यो कुरा ठीक हो कि अहिलेसम्म मुसलमानको जनसंख्या वृद्धिदर हिन्दुको भन्दा धेरै छ । तर, यो पनि उत्तिकै सत्य हो कि मुसलमानको जनसंख्या वृद्धिदर गरिब हिन्दु, दलित, आदिवासी तथा झुपटपट्टीवाला हिन्दुहरूको वृद्धिदरसँग बराबरी छ ।

हिन्दु होस वा मुसलमान अघिल्लो पुस्तामा हरेक परिवारमा ४ देखि ६ बच्चा हुनु आम कुरा थियो । ‘हामी दुई, हाम्रा दुई’ को अवधारणा केही दशक अघि मात्र शुरुवात भएको हो । अब त यस्तो समय आएको छ, धेरैजसो दम्पत्ति एक बच्चा मै सीमित हुन चाहन्छन् ।

सन् १९५१ को जनगणनाअनुसार मुसलमानको जनसंख्या ९.८ प्रतिशत थियो । सन् २०११ को जनगणनामा १४.२ प्रतिशत भयो । यसरी जनसंख्या अनुपात मुस्लिमको मात्र बढेको छैन । आदिवासी जनसंख्या वृद्धिदर सन् १९५१ मा ५.६ प्रतिशत थियो भने सन् २०११ मा ८.६ प्रतिशत पुगेको छ । यी दुवै समुदाय भारतमा अरु समुदायको तुलनामा निर्धन र अशिक्षित छन् । बितेको केही दशकमा उनीहरूको स्थितिमा केही सुधार पनि हुँदैछ ।

मुसलमानको जनसंख्या सन् २००१ को १३.४ बाट बढेर सन् २०११ मा १४.२ प्रतिशत भएको छ । तर, दशकीय वृद्धिदर भने घटेको छ । सन् १९९१ मा मुसलमानको दशकीय जनसंख्या वृद्धिदर ३२.८ प्रतिशत थियो तर घटेर २४.६ भयो ।

हिन्दुको वृद्धिदरमा यसै गरी सने १९९१ र सन् २०११ बीच कमी आएको थियो । यस अवधिमा हिन्दुहरूको दशकीय वृद्धिदर २२.७ बाट घटेर १६.७ प्रतिशत भयो । जनसांख्यिक विज्ञान विज्ञहरू भन्छन् कि वृद्धिदरको प्रवृति दुवै समुदायमा उस्तैउस्तै छ । दुवै समुदायमा वृद्धिदर कमी हुँदैछ । दुई समुदाय वृद्धिदरबीचको अन्तर घटिरहेको छ ।

कतिपयको तर्क छ कि मुसलमानमा बहुपत्नी प्रथाको कारण बालबच्चा धेरै हुन्छन् । यो तर्क गर्नेहरूले के बिर्सेका छन् भने कुनै पनि समुदायको बच्चाको संख्या महिलाको संख्यामा निर्भर गर्दछ । पुरुषले बच्चा पाउने त हैन नि । भारतमा लैङ्गिक अनुपात करिब ९५० छ । यसको अर्थ हो पुरुषको तुलनामा महिलाको संख्या कम छ । यस्तो स्थितिमा सबै पुरुषले बहुपत्नी प्राप्त गर्न सक्दैनन् ।

सत्य हो, मुस्लिम समुदायको कानुनले पुरुषलाई धेरै महिलासंग बिहे गर्ने अनुमति दिन्छ । तर बहुपत्नी प्रथा केवल मुसलमानमा मात्र त छैन । सन् १९७४ मा प्रकाशित एक अध्ययनको प्रतिवेदनले विभिन्न समुदायमा भएको बहुपत्नी प्रथाको अनुपात देखाएको थियो । त्यसअनुसार सबैभन्दा धेरै बहुपत्नी प्रथा आदिबासी समुदायमा १५.२ प्रतिशत छ । बौद्धमा ९.७, जैनमा ६.७, हिन्दुमा ५.८ र सबैभन्दा कम मुसलमानमा ५.७ प्रतिशत देखाएको थियो ।

राम पुनियानी

कुनै पनि समुदायको जनसंख्या वृद्धिदर नाप्ने सबैभन्दा राम्रो तरिका प्रजनन दर हो । सन् २००५–०६ मा भारतीय महिलाको औसत प्रजनन दर ३ थियो । हिन्दु महिलाको २.८ र मुस्लिम महिलाको ३.४ थियो । सन् २०१४ मा कुल प्रजनन दर २.२ मा घट्यो । हिन्दु महिलामा २.१३ अर्थात् यस अघिको भन्दा ०.६७ को कमी आयो भने मुस्लिम महिलामा २.६२ अर्थात् ०.७८ को कमी आयो । यसले के देखाउँछ भने मुस्लिम महिलाको प्रजनन दर हिन्दु महिलाको भन्दा छिटो घटिरहेको छ ।

अर्को यथार्थ के हो भने प्रजनन दरको सम्बन्ध धर्मसँग नभएर सामाजिक, शैक्षणिक स्थितिसँग हुन्छ । विशेषगरी महिला शिक्षासँग यसको प्रत्यक्ष सम्बन्ध हुन्छ ।

यदि संख्यामा कुरा गर्ने हो भने सन् २०११ मा भारतमा १९.२ करोड मुसलमान थिए भने ९६.६ करोड हिन्दु । जनसंख्या विशेषज्ञहरूका अनुसार सन् २०५० सम्म भारतमा हिन्दुको जनसंख्या १३० करोड र मुसलमानको जनसंख्या ३१ करोड पुग्ने छ ।

सन् २०११ को जनगणनामा हिन्दुहरूको जनसंख्या ७९.८ र मुसलमानको जनसंख्या १४.२ प्रतिशत थियो । मुसलमानले परिवार नियोजन गर्दैनन् भन्ने आम धारणा छ । रमाइलो के छ भने तथ्यांकले भारतमा यो धारणा पुष्टि हुँदैन । एसवाइ कुरेशीले आफ्नो पुस्तक ‘द पपुलेशन मिथः इस्लाम, फेमिली प्यानिङ एण्ड पोलिटिक्स इन इन्डिया’ मा यसबारे ठोस र सारगर्वित तथ्यांक उपलब्ध गराएका छन् ।

मुस्लिम जनसंख्या वृद्धिको मनोवैज्ञानिक भय पाल्नु अघि यस्ता तथ्यांकबारे विचार गर्नु जरुरी छ । साथै, मुस्लिम समुदायलाई दोष दिएर हैन, यसमा व्याप्त अशिक्षा, गरिबी, सामाजिक कुरीति हटाएर र विशेषतः महिला शिक्षामा जोड दिएर यो समस्याको वास्तविक समाधान गर्न सकिन्छ ।

(प्रोफेसर राम पुनियानी आईआईटी मुम्बईमा अध्यापन गर्दथे र सन् २००७ को नेशनल कम्युनल हार्मोनी अवार्डबाट सम्मानित भएका थिए । जनचोकबाट अनुवाद गरिएको पुरियानीको आर्टिकल)

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय