scheduleसोमवार श्रावण ११ गते, २०७८

पात्र र प्रणाली होइन, राजनीतिको प्याराडाइम नै फेरौं

मोहन तिम्सिना

नेपालमा फेरि ‘राजनीतिक अस्थिरता’ को युग शुरु भएको छ । पार्टीहरूमा टुटफुट र विभाजनको श्रृङ्खला दोहोरिएको छ । संसदमा सरकार अदली–बदलीका पुराना नाटक मञ्चन हुन थालेका छन् । भ्रष्टाचार र दण्डहिनता जस्ताको तस्तै छ । राष्ट्रिय ऋण ह्वात्तै बढेको छ । महामारीका नाममा जनतालाई भोकभोकै घरभित्र थुनिएको छ । समग्रमा ‘शिशु गणतन्त्र’ को चाला ठिक देखिएको छैन ।

यहि बेला विद्धान महानुभावले राजनीतिक बहस सिर्जना गर्नु भएको छ । बहसको बिषय छ, राजनीति विकृत हुनुमा को जिम्मेवार ? पात्र कि प्रणाली ? नेपाली बौद्धिक वृत्तमा शुरु भएको यो बहसले लेखकको ध्यानाकर्षण गरेको छ । यो बिषयमा निम्नानुसार आफ्ना धारणा राख्न चाहन्छु-

समस्या पहिचान

हामी केलाई समस्या भनिरहेका छौं ? केलाई समाधान मान्दछौं ? सर्वप्रथम यो प्रश्नको वरिपरि छलफल गर्नु जरुरी हुन्छ । विश्व आर्थिक मञ्चले प्रकाशित गरेको ‘विश्व जोखिम प्रतिवेदन २०१९’ मा, संसारमा देखापरेका जोखिमहरूलाई जम्मा ५ भागमा देखाईएको थियो-

पहिलो, अर्थतन्त्रको जोखिम । विश्वका विकसित भनिएका राष्ट्रहरूले लगातार आर्थिक मन्दिको सामना गरिरहनु, विकासशील वा विकासोन्मुख भनिएका राष्ट्रहरू चर्को ऋणको भारले थिचिनु, विश्वभर मौद्रिक तरलता देखा पर्नु, अवैध व्यापारको धन्दा फस्टाउनु, विश्वव्यापी बेरोजगारी, असमानता, अपराधीकरण, भोकमरी जस्ता समस्या बढ्नुलाई अर्थतन्त्रको जोखिमका रुपमा देखाईएको थियो ।

दोस्रो, पर्यावरणीय जोखिम । जलवायुमा परिवर्तन देखापर्नु, विकास र आर्थिक वृद्धिका नाममा बेलगाम प्रकृतिको दोहन गर्ने प्रवृत्ति बढ्नु, पर्यावरण विनास हुनु, प्राकृतिक प्रकोपहरू देखा पर्नु, नयाँ नयाँ रोगहरू पैदा भई रहनु, जैविक विविधता नष्ट हुनु, जीवजन्तु र मानिसहरू आफ्नै बासस्थानमा असुरक्षित हुने अवस्था सिर्जना हुनु र यस्ता समस्याहरू नियन्त्रण भन्दा बाहिर हुनुलाई पर्यावरणको जोखिम भनिएको थियो ।

मोहन तिम्सिना

तेस्रो, भू–राजनीतिक जोखिम । शक्ति राष्ट्रहरूबीच आणविक हतियारको होडबाजी, हस्तक्षेप, आक्रमण जस्ता क्रियाकलाप जारी रहनु, राज्य केन्द्रित (साम्राज्यवादी) प्रवृत्ति कायम हुनु, जसको प्रतिक्रियामा अतिवादी समूहहरूको जन्म हुने र अतिवादी आक्रमणका घटनाहरू देखापर्ने क्रम बढी रहनुलाई भू-राजनीतिक जोखिमका रुपमा देखाईएको थियो ।

चौथो, सामाजिक जोखिम । आर्थिक, भू-राजनीतिक तथा सामाजिक समस्याका कारण बसाईसराईको क्रम तीव्र हुनु, यसले ‘विकसित’ देशहरूलाई नै अप्ठेरो पार्ने स्थिति पैदा हुनु, वातावरण प्रदूषणको क्रम झन झन बढिरहनु, यसले पिउने पानीको संकट, खाद्य संकट, संक्रामक रोगहरूको प्रसार जस्ता समस्या देखिनुलाई सामाजिक जोखिम भनिएको थियो ।

पाँचौं, प्राविधिक जोखिम । अर्काको वेबसाईट तथा इमेलमा साइबर आक्रमण हुनु, अर्काको गोप्य सामग्री चोर्ने र दुरुपयोग गर्ने प्रवृत्ति बढ्नु, यो समस्याबाट ‘शक्ति राष्ट्रहरू’ वा सर्वसाधारण, सबै पीडित हुनु, झुठो सूचना तयार गर्ने र मानिसहरूलाई भ्रम दिन वा भड्काउन त्यसलाई क्षणभरमा संसारभर फैलाउने अनि अशान्ति र अराजकता मच्चाउने प्रवृत्ति बढ्नु जस्ता समस्यालाई प्राविधिक जोखिम मानिएको थियो । साथै कृतिम बौद्धिकता (आर्टिफिसियल इन्टेलीजेन्स) को आविष्कारले कतै भोली कृतिम मानवहरू जिउँदा मानवप्रति नै जाई लाग्ने खालका त हुँदैनन् ? यस्तो शंका र डर पैदा हुनुलाई प्राविधिक जोखिममा समावेश गरिएको थियो ।

माथिका पाँच खालका जोखिम नै आज हाम्रा समस्या हुन् । प्रचलित राजनीतिले माथिका समस्याहरूको सम्बोधन गर्न सकेन । परिणामतः तिनै समस्या आज वैश्विक संकटमा बदलिएका छन् । हामी विश्व सन्दर्भबाट अलग छैनौं । त्यसैले माथिका समस्या हाम्रो मुलुकका पनि समस्या हुन् । जबसम्म हाम्रो राष्ट्रिय सन्दर्भमा यी समस्याहरूको सम्बोधन हुँदैन, तबसम्म समस्या विद्यमान छ भन्ने मान्नु पर्दछ ।

प्रश्न नै गलत

मुलुकपछि पर्नुमा पात्र दोषी कि प्रणाली ? यस्तो खालको प्रश्नबाट बहसको शुरुवात भएको छ । विद्धान महानुभावहरू शुरुवातमै कित्ताबन्दी हुनु भएको छ । कोही पात्र (नेतृत्व) दोषी हो भन्दै हुनुहुन्छ । कोही प्रणाली (राजनीतिक प्रणाली) दोषी हो भन्दै हुनुहुन्छ ।

तर यो प्रश्न नै गलत भयो । ‘पात्र’ र ‘प्रणाली’ आपसमा टुक्रा गर्न मिल्ने, विपरित तत्व नै होइनन्, बरु अन्तरसम्बन्धित र परिपूरक तत्व हुन् । यसमा अरु दुई तत्व, ‘सामाजिक/आर्थिक संरचना’ र ‘जनता’ लाई पनि जोड्नु पर्दछ । यी चार तत्व मिलेर राज्य बनेको हुन्छ । यी चार तत्वलाई आपसमा अलग–थलग गर्ने र कुनै एउटालाई मात्र दोषी देखाउने तरिका नै अप्राकृतिक हो । किनकी समाज ‘यन्त्र’ होइन, सम्बन्धहरूको ‘जिउँदो सञ्जाल’ हो । जिउँदो चिजलाई टुक्राउन मिल्दैन ।

होइन, यदि समीक्षा नै गर्ने हो भने, पात्र र प्रणाली मात्र होइन, माथि उल्लेखित चारै तत्वको समीक्षा एकसाथ गर्नुपर्छ । चार तत्वलाई टुक्रा गरेर हेर्ने विधि नै दोष पूर्ण छ । त्यसैले शुरुवातको प्रश्न नै गलत भयो ।

किन यस्तो भयो ? किनकी विद्वान महानुभावहरूले बिषयलाई शास्त्रीय दृष्टिकोणबाट हेर्नु भयो । वहाँहरूले ‘विज्ञानको संकट’ को खबर थाहा पाउनु भएन । ‘विचारधारामा संकट’ को खबर थाहा पाउनु भएन । ‘विज्ञानमा क्रान्ति’ को खबर पनि थाहा पाउनु भएन । त्यसैले बहसमा शास्त्रीय विभाजन खडा गर्नु भयो ।

निश्चय नै हाम्रा नेताहरू आलोचना योग्य छन् । मुलुकको राजनीतिक प्रणाली पनि आलोचना योग्य छ । तर विमर्शलाई ‘पात्र दोषी कि प्रणाली’ ? मा केन्द्रित गर्दा त्यो ‘अण्डा पहिला कि कुखुरा पहिला’ ? जस्तै निरर्थक विवादमा रुपान्तरण हुन्छ । यो त शास्त्रीय तरिका हो । यो तरिकाले कुनै सार्थक निष्कर्षमा पुग्नै दिँदैन ।

दोस्रो, पात्र वा प्रणाली वा संरचना वा जनता जे भने पनि यि ‘सामाजिक प्रविधि’ का अंग हुन् । प्रविधि आफैंमा स्वतन्त्र र स्वायत्त हुँदैन । त्यसलाई सिर्जना गर्ने विज्ञानसँग यो अभिन्न हुन्छ । त्यसैले प्रविधिबारे समीक्षा गर्नु पर्‍यो भने त्यसको विज्ञानतर्फ फर्कनु पर्ने हुन्छ । तर हाम्रा विद्धान महानुभावहरू विज्ञान तिर चाहिँ फर्कनु भएको छैन, केवल ‘प्रविधि’ मा गनगन गरिरहनु भएको छ । यो तरिका अर्थहिन छ । त्यसैले शुरुवातको प्रश्न नै गलत भयो ।

दोष चिन्तन प्रणालीमा हो

पुरै शताब्दी भई सक्यो, शास्त्रीय विज्ञानका विधाहरू संकटग्रस्त भएको । यसमा भौतिकशास्त्र, जीवशास्त्र, मनोविज्ञान, समाजशास्त्र, अर्थशास्त्र र राजनीतिका विधाहरू नै पर्दछन् । संकटग्रस्त भन्नुको अर्थ यिनीहरूको पद्धति र अवधारणात्मक ढाँचा खण्डित भएको, नयाँ सैद्धान्तिक विकासको सम्भावना समाप्त भएको ।

यो तथ्यबारे जानकार नभएसम्म हामी राजनीतिक संकटको जरासम्म पुग्न सक्दैनौं । आजको राजनीतिक विकृतिलाई पनि हामीले ‘विज्ञानको संकट’ सँग नै जोडेर हेर्न जरुरी छ ।

स्पष्ट कुरा के हो भने, विगत तीन सय वर्षयता मनुष्यको कल्याणका सम्बन्धमा शास्त्रीय विज्ञानको बुझाई जे थियो, त्यो गलत थियो । प्रकृति, जीवन र समाजको स्वभावका सम्बन्धमा शास्त्रीय विज्ञानले जे मार्गदर्शन गर्‍यो, त्यो गलत थियो । त्यही शास्त्रीय विज्ञानको जगमा खडा भएका राजनीतिक विचाराधाराहरू (उदारवाद, समाजवाद/साम्यवाद, राष्ट्रवाद, कल्याणवाद) ले पनि गलतै बाटो देखाएका थिए । आज राजनीतिमा देखिएको खराबी यिनै शास्त्रीय विचारधाराका खराबी हुन् ।

त्यसैले, दोष ‘सामाजिक प्रविधि’ मा मात्र होइन, यसको पुरै विज्ञानमा हो । अर्थात सिंगो चिन्तन प्रणाली नै खराब छ । जसका कारण हाम्रो राजनीतिमा संकट आइरहन्छ । तर आजका हाम्रा राजनीतिकर्मीहरूलाई यो तथ्य बोध भएको छैन । उनीहरू शास्त्रीय विज्ञान कै चेतनाबाट काम चलाई रहेका छन् । तब राजनीतिमा अनेक खालका विकृत्ति पैदा भई रहेका छन् ।

बहसमा सहभागी विद्वान महानुभावहरू पनि राजनीति सप्रियोस् भन्ने त चाहनु हुन्छ । तर वहाँहरू पनि अहिलेका राजनीतिकर्मी भन्दा भिन्न हुनुहुन्न । अर्थात्, वहाँहरू पनि त्यही शास्त्रीय चैतभित्रै समाधान खोजी रहनु भएको छ । जुन निरर्थक छ ।

प्रविधि होइन, प्याराडाईम फेरौं

हिजोआज ‘विज्ञानमा क्रान्ति’ को परिघटनालाई धेरैले स्वीकार गर्दछन् । तर विज्ञानको क्रान्ति ‘प्राविधिक’ मात्रै हो कि ‘चिन्तनगत’ नै हो भन्ने प्रश्नमा भने अझै विद्वानहरू अस्पष्ट छन् । विज्ञानमा भएको क्रान्ति केवल प्राविधिक परिवर्तनसँग मात्र सम्बन्धित छैन । यसले मुलतः हाम्रो विश्वदृष्टिकोण परिवर्तनको आधार खडा गरी दिएको छ ।

जब विश्वदृष्टिकोण बदलिन्छ, तब तीनवटा कुरामा परिवर्तन आउँछ– अवधारणा/पद्धति, जीवन–मूल्य र प्रविधि । तब जीवन र जगतको परिभाषा बदलिन्छ । मनुष्यका कल्याणका उपायहरू बदलिन्छन् । विश्लेषण पद्धति बदलिन्छ । तब राजनीतिमा पनि तीनवटै कुरा बदलिन्छन्– अवधारणा, जीवन मूल्य र सामाजिक प्रविधि । यो एक स्वभाविक नियम हो ।

हाम्रा दलहरूले इतिहासमा संघर्षशील कालखण्ड त गुजारेका छन् । तर उनीहरू विज्ञानको विकाससँग अद्यावधिक छैनन् । हाल अस्तित्वमा रहेका सबै दलहरूको सैद्धान्तिक धरातल शास्त्रीय विज्ञानमा आधारित छ । अर्थात् उनीहरूको विश्वदृष्टिकोण नै गलत छ ।

त्यसैले हाम्रा दल र नेताहरूसँग आजका राष्ट्रिय/वैश्विक चुनौति समाधान गर्ने चेतको नै अभाव छ । यिनीहरू मात्र पदको लुछाचुँडीमा आ–आफ्नो छिप्पिएको अहंकार जुधाई रहेका छन् । राजनीतिको अपराधिकरण हुनुमा नेता–जनता निर्माण गर्ने चिन्तन पद्धति र मूल्यमान्यता नै जिम्मेवार छ । नेता–जनताको शास्त्रीय सोचका कारण नै संविधानको प्रस्तावना र मूल्यमान्यता पनि शास्त्रीय भएको छ । नेतृत्व, सामाजिक/आर्थिक संरचना, राजनीतिक प्रणाली र जनता सबैमा विकृत्ति देखिएको छ ।

त्यसैले, यो व्यक्ति फेरेर वा राजनीतिक प्रणाली फेरेर समाधान हुने बिषय नै होइन, राजनीतिको समग्र विश्वदृष्टिकोण परिवर्तन (प्याराडाइम सिफ्ट) नै जरुरी छ । तर शताब्दी यता राजनीतिमा जे जे परिमार्जनका उपाय खोजियो, त्यो शास्त्रीय विश्वदृष्टिकोण भित्रै ‘सामाजिक प्रविधि’ को अदला–बदलीबाट खोजियो । त्यसैले समस्या ज्युँ का त्युँ रह्यो ।

आज पनि केहि पात्रहरूले भन्ने ‘समुन्नत समाजवाद’, ‘वैज्ञानिक समाजवाद’, ‘संघीय समाजवाद’ ‘कल्याणकारी लोकतन्त्र’ जस्ता धारणाहरू शास्त्रीय विश्वदृष्टिकोण कै गोलचक्कर हुन् । प्रविधिकै गोलचक्कर हुन् । जुन चिजको पद्धति–विज्ञान नै खण्डित भई सक्यो, वहाँहरू त्यही चिजलाई नयाँ बनाउने निरर्थक प्रयत्न गर्दै हुनु हुन्छ । यो अज्ञानता बाहेक केही होइन ।

उदारवाद/लोकतन्त्र वा समाजवाद/साम्यवाद वा राष्ट्रवाद वा कल्याणवाद जे नाम दिऊँ, यिनीहरूको रुप मात्र अलग हो, सार एउटै हो । यी केवल शाब्दिक आडम्बर मात्र हुन् । साथै अप्राकृतिक निश्कर्ष हुन् जो कहिल्यै लागु हुँदैनन् ।

वास्तविकतामा व्यक्ति र समाज, लोकतन्त्र र अधिनायकत्व, राष्ट्रियता र अन्तर्राष्ट्रियता, एकात्मकता र संघात्मकता, समुदाय र राज्य, नेतृत्व र प्रणाली, जनता र सामाजिक/आर्थिक संरचना जस्ता अवयव जहिल्यै परिपुरक र अविभाज्य भएर काम गर्दछन् । कुनै एकलाई काखी च्याप्ने र अर्कोलाई पर राख्ने गर्नु नै असम्भव छ । राजनीतिको वास्तविक काम यिनीहरूबीचमा गतिशील सन्तुलन मिलाउने हो ।

तर यतिले मात्र काम पुरा हुँदैन । प्रणाली, नेतृत्व, संरचना जस्ता बिषय केवल ‘सामाजिक प्रविधि’ हुन् । प्रविधि त पुरानो जान्छ, नयाँ आउँछ । यो निरन्तर बदली रहन्छ । अर्कोतिर जुनसुकै व्यवस्थामा पनि माथि उल्लेखित ‘सामाजिक प्रविधि’ नै प्रयोग हुने हो । त्यसैले प्रविधि आफैंमा सही र गलत हुँदैन । त्यसलाई सञ्चालन गर्ने सोच र उद्देश्य (विज्ञान) चाहिँ सहि र गलत हुन्छ ।

अर्थात् नेतृत्व, जनता, प्रणाली र संरचनालाई कुन अवधारणा/पद्धति र जीवन–मूल्य भित्र ‘सेटिङ’ गरिएको छ ? यो चाहिँ प्रमुख कुरा हो । जबसम्म भौतिकवादी पद्धति र जीवन–मूल्य भित्र यी बिषय ‘सेटिङ’ हुन्छन्, तबसम्म परिणाम विध्वंशक नै आउँनेछ । चाहे संसदीय व्यवस्था होस् वा गैर संसदीय । चाहे त्यो लोकतन्त्र होस् वा गैरलोकतन्त्र । चाहे संघीयता होस् वा गैरसंघीयता ।

जैविक विश्वदृष्टिकोण, जैविक विचारधारा, जैविक राजनीति र ‘जैविक समाज’ अनुरुपको राजनीतिक सेटिङले मात्र आजका चुनौतिहरूको समाधान हुनेछ । यसका लागि त ‘विज्ञानमा क्रान्ति’ को परिघटनालाई बुझ्नै पर्दछ ।

organicworldview@gmail.com

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय