scheduleबिहिवार श्रावण १४ गते, २०७८

फ्रान्सको क्षेत्रीय चुनावमा म्याँक्रो र ले पेनलाई झड्का

एजेन्सी, ७ आषाढ । पहिलो चरण अन्तर्गत आइतबार भएको फ्रान्सको क्षेत्रीय चुनावमा राष्ट्रपति इमानुएल म्याँक्रो र उनकी कट्टर विरोधी मरिन ले पेनलाई अनपेक्षित झड्का लागेको छ ।

चुनावको प्रारम्भिक मत परिणामले म्याँक्रोको मध्यमार्गी दल ला रिपब्लिक एन मार्चेले क्षेत्रीय निर्वाचनको पहिलो चरणमा सोचे अनुसारको उपलब्धी हात पार्न नसकेको अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएका छन् । एन मार्चेले आगामी हप्ता हुने दोस्रो चरणको निर्वाचनमा सहभागी हुन चाहिने १० प्रतिशतभन्दा मत भने हासिल गर्ने अपेक्षा गरिएको छ ।

त्यस्तै, उग्र-दक्षिणपन्थी नेतृ ले पेनको दल नेशनल र्‍यालीले समेत अपेक्षा अनुसार मत परिणाम हासिल गर्न सकेको छैन । सो दलले आइतबारको निर्वाचनमा सबैभन्दा बढी मत प्राप्त गर्ने अपेक्षा गरिएको थियो । तर प्रारम्भिक मत परिणाम अनुसार दोस्रो स्थानमा आउने देखिएको छ ।

समाचार अनुसार एन मार्च र नेशनल र्‍यालीलाई पछाडि पार्दै कन्जर्भेटिभ दल लेस रिपब्लिकन्सले अग्रता लिइरहेको छ ।

उम्मेदवार नबनेकी तर चुनावी अभियानको नेतृत्व गरिरहेकी ले पेनले चुनावमा अहिलेसम्मकै न्यून सहभागिता भएको भन्दै राजनीतिक संस्थाप्रति विश्वास निर्माण गर्न सरकार असमर्थ रहेको आरोप लगाएकी छन् ।

यता म्याँक्रोको दल एन मार्चेकी सांसद अरोरे बर्जेले दलको कमजोर प्रदर्शनलाई सबैका लागि लोकतान्त्रिक झापड भएको प्रतिक्रिया दिएकी छन् ।

फ्रान्सका १२ वटा आन्तरिक क्षेत्र, कोर्सिका तथा ४ वटा अन्य बाह्य क्षेत्रका नयाँ परिषद्का लागि मतदाताहरुले मतदान गरिरहेका छन् । क्षेत्रीय निर्वाचनलाई चासोका साथ हेरिएको छ किनभने एक वर्षभन्दा कम अवधिमा राष्ट्रपतीय निर्वाचन हुँदैछ । यो निर्वाचनबाट मतदाताको मुड समेत परीक्षण हुनेछ ।

इप्ससको मत सर्वेक्षण अनुसार कन्जर्भेटिभ दल लेस रिपब्लिकन्सले खसेको मध्ये सबैभन्दा बढी अर्थात् २७ प्रतिशत प्राप्त गर्ने देखिन्छ । उक्त दललाई ले पेनको दल नेशनल र्‍यालीले १९ प्रतिशत मतसहित पछ्याइरहेको छ । ग्रिन, सोसलिस्ट पार्टी र म्याँक्रोको ला रिपपब्लिक एन मार्चेले ११-११ प्रतिशत मत प्राप्त गर्ने आंकलन गरिएको छ ।

राष्ट्रपति म्याँक्रोको दल पहिलो पटक क्षेत्रीय निर्वाचनमा सहभागी भएको हो । तर यसले आसन्न राष्ट्रपतीय निर्वाचनमा अर्थ राख्नेछ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय